सूर्य चिन्ह राखिएको भन्दै विवादमा पर्‍यो राष्ट्रपतिले वितरण गरेको पदक

सूर्य चिन्ह राखिएको भन्दै  विवादमा पर्‍यो  राष्ट्रपतिले वितरण गरेको पदक

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७६

संविधानसभा २०६४ र २०७० सालमा निर्वाचित सभासद्लाई गत बिहीबार शितलनिवासमा पदक वितरण गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको पदक तथा प्रमाणपत्र अहिले विवादमा परेको छ । 
सभासदले संविधान जारी गर्न सफल भएको उपलक्ष्यमा उक्त पदक वितरण गरेको बुझिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संविधान निर्माण गर्नु साँसदको नियमित काम भएकाले यसका लागि कदर स्वरुप पदक दिनु गलत हो तथा जो जो कांग्रेस सांसदले पदक लिएका छन् उनीहरुले पनि  फिर्ता गर्नुपर्छ भन्ने आवाज उठीरहेको छ । 
कांग्रेस सांसद मीनेन्द्र रिजालले मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै संविधान निर्माता सभासदलाई पदक वितरण गर्ने शैलीमाथि प्रश्न उठाए।

‘संविधान निर्मातालाई चिनारी पदक वितरण गर्ने सुशोभनको शैली ‘स्याबासी’ दिनेजस्तो भयो, चित्त बुझेन, उनले भने ।  
अझ पदकमा संविधानलाई आड दिने गरी कुदिँएका रेखाहरूको कलात्मक प्रस्तुतिले संविधान निर्माण र स्वामित्वबारे अन्यथा सन्देश दियो भन्ने आमचर्चा छ,’ रिजालले भने, ‘सुशोभनको शैली र पदकको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्ष संविधानको मर्मभावना र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो छ। सम्बन्धित सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।’

पदक पाउने सूचीमा सांसद रिजाल भएपनि उनले पदक भने लिएका छैनन्। आफ्नो असन्तुष्टि जाहेर गर्दै उनले भने, संविधान बनाएकोमा स्याबासी लिने गरी पदक बाँड्नु हुँदैनथ्यो,’  ‘पदकको डिजाइन पनि मन परेन। त्यहाँ सूर्य चिन्ह छ।’

पदक बनाउन झन्डै दुई लाख खर्च भएको पनि रिजालको दाबी छ । 

‘पदकभित्र प्रष्ट देखिने गरी सूर्यको चिन्ह राखिएको छ। एउटा पार्टीले संविधानलाई मोनोपोलाइज गर्न पाइन्छ ?,’ उनले भने, ‘आफूले मात्रै संविधान ल्याएको जस्तो गर्ने ? मैले सभापति शेरबहादुर देउवालाई यसबारे आज जानकारी गराइसकेको छु। पार्टीले पदकबारे छलफल गरी निर्णय लिनुपर्छ। कसैले लिएका छन् भने फिर्ता गर्नुपर्छ।’

कांग्रेसका अर्का सांसद गगन थापाले पनि पदक लिएका छैनन्। 

हामी त जनप्रतिनिधि हो, मानसम्मान खोज्ने होइन,’ उनले भने, ‘यो राष्ट्रिय ठाँट भयो। त्यो पदक लगाएर हामी भोज खान हिँड्ने हो कि ? हाम्रो माइन्डसेट नै गणतन्त्रतात्मक भएन। संविधान बनाएर आएपछि जनताले यसै पनि मान्नुहुन्छ नि। संविधानसभा सदस्यको रुपमा संविधानसभाले हामीलाई लोगो दिइहाल्यो सकियो त।’


पदकमा सूर्यको लोगो अंकित भएको सम्बन्धमा पदकको डिजाइन बनाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव महादेव पन्थले पदकमा कहीँ पनि सूर्य नराखिएको बताए, सबैभन्दा बाहिरी घेरामा ७७ वटा तारा छ, यसले ७७ जिल्ला बुझाउँछ। त्यसभित्र लालिगुँरास छ। सात वटा लालिगुँरासले सात प्रदेशको अर्थ दिन्छ तथा ‘बीचमा धर्का भएको स्थानीय तह हो। यसले ७५३ स्थानीय तह बुझाउँछ।’
उनले सूर्यजस्तो देखिएको त्यो धर्काहरु सूर्य नभएको बताए। ‘स्थानीय तह बुझाउने धर्कालाई सुनौलो बनाइएको छ यसको अर्थ स्थानीय तहको भविष्य उज्वल छ भनेको हो। यो सूर्य होइन,’ उनले भने।
साथै सभासद्लाई दिएको पदकमा दुइटा हात पनि छ। यसले महिला र पुरूष जनाउँछ भने संविधान समावेशी छ भन्ने अर्थ लगाउने उनले बताए।