लोकसंवाद संवाददाता | विदेश | कात्तिक १५, २०८०
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिक्सले गाजाको जबालिया हमलाको निशाना हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारी भएको दाबी गरेका छन् । उनले हमलाका हमासका केही लडाकू अन्डरग्राउन्ड सुरुङमा मारिएको पनि दाबी गरेका छन् । इजरायली सेनाले भनेजस्तो गाजामा हमास मात्रै निशानामा छैन ।
हमास विरुद्धको हमलाले सिंगो गाजा क्षेत्रमा विध्वंस मच्चिएको छ । २० लाख प्यालेस्टिनीको बसोबास भएको गाजा हजारौं भवनहरु धुलोमा परिणत भएका छन् । लाखौं मानिसलाई मानवीय सहायताको जरुरत छ । तर मानवीय सहायताका लागि समेत इजरायलले युद्धविराम रोक्न अस्वीकार गरेको छ ।
जसलाई अमेरिकाले साथ दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले समेत गाजामा युद्धविरामको माग गर्नेले हमासलाई चिन्न नसकेको टिप्पणी गरेका छन् । इजरायलले गाजामाथि गरेको अमानवीय हमलापछि दक्षिण अमेरिकी देश बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोडेको छ ।
इजरायलको हमलाले गाजा सहर खण्डहरमा परिणत भएको छ । यो आक्रमणमा कति मानिस मारिए कुनै स्पष्ट तथ्यांक छैन । गाजाको सञ्चारसम्बन्धी सम्पूर्ण रुपमा टुटेको छ भने गाजाको क्षतिलाई पश्चिमा सञ्चारमाध्यमले महत्व कम दिएका छन् । फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटकजस्ता सामाजिक सञ्जालले गाजाको क्षति, विध्वंश र इजरायलको अमानवीय आक्रमणलाई सार्वजनिक गर्न निषेध गरेका छन् । कुनै सामग्री पोस्ट भएमा तत्कालै हटाइदिने गरेको छ । पश्चिमाको सूचना सेन्सरले गाजाको विध्वंसमाथि मजाक गरिरहेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले मध्यपूर्वलाई नै बदलिदिने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले अब फर्किने कुरै नभएको टिप्पणी गरेका छन् । यसलगत्तै इजरायली सेनाले गाजा स्ट्रिपमा हमलालाई अझ सघन बनाउँदै लगेको छ । उसले प्यालेस्टिनीहरूलाई आफ्नो बाटोमा नआउन चेतावनी नै जारी गरेको छ । जसले गाजामाथि इजरायलले कब्जा गर्ने आशंका बढेको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायली अधिकारीहरूले हमासलाई गाजा स्ट्रिपबाट सैनिक तथा राजनीतिक दुवै क्षेत्रबाट निर्मूल पार्ने घोषणा गरिसकेका छन् । तर सैन्य बलको प्रयोगसँगै उनीहरुले आफ्नो चाहाना कसरी पूरा गर्छन् भन्ने स्पष्ट छैन । युद्धबाट निहत्था प्यालेस्टिनीलाई हराउनु कुनै ठूलो बहादुरी नै हैन । सुरुङमा रहेका हमासले पनि यहाँ ठूलो प्रतिरोध गर्ने सम्भावना छैन । तर मुख्य कुरा कब्जा गरेको भोलिपल्ट गाजामा के गर्ने भन्ने हो ।
गाजापमा सैन्य योजना छ । जसमा हमासको सैन्य क्षमतालाई कमजोर बनाउने, गाजा स्ट्रिपको ठूलो भागलाई नियन्त्रणमा लिनेसम्मका योजना छन् । हमासलाई पराजित गर्नुपर्नेमा इजरायलीको एकमत छ । अब हमासलाई गाजाको शासनबाट सधैंका लागि टाढा बनाउने उनीहरुको योजना छ । तर विश्वले हेर्दा हमास एउटा हतियारधारी विद्रोही÷आतंकवादी संगठन हो ।
कुनै देशमा सत्तारुढ शक्तिलाई सिध्याउने र त्यहाँका जनताको सोचमै परिवर्तन ल्याउने भन्ने कुरा सहज छैन । हमास गाजामा तल्लो स्तरसम्म लोकप्रियता भएको संगठन हो । त्यसैले भनिएको हो कि हमासलाई हटाउन इजरायलले सम्पूर्ण गाजाको जातीय सफाया गर्नुपर्ने हुन्छ ।
तर गाजाकै आँखाबाट हेर्दा हमास एउटा विचार हो । जसलाई मेट्न गाजामा बस्ने मुस्लिम समुदायलाई मेट्नुपर्ने हुन्छ । यो भनेको गाजामा जातीय नरसंहार हो । अमेरिकाले सन् २००३ मा इराकमा सद्दाम हुसेनको शासनका सबै अवशेषहरुलाई मेटाउने कोशिस गरेको थियो । जसलाई ‘बाथीकरणबाट मुक्ति’ भनिएको थियो । सद्दामलाई अमेरिकाले खडा गरेको प्रशासनले फाँसी दियो । तर यसले विनाशकारी विद्रोहको बीउ रोप्यो । आईएसआईएसजस्तो खतरनाक आतंकवादी संगठनले इराक र सिरियाको ठूलो क्षेत्रमाथि नियन्त्रण जमायो । फलुजा र मोसुलका हिंसाले अझै आङ सिरिङ्ग पार्छन् ।
कुनै देशमा सत्तारुढ शक्तिलाई सिध्याउने र त्यहाँका जनताको सोचमै परिवर्तन ल्याउने भन्ने कुरा सहज छैन । हमास गाजामा तल्लो स्तरसम्म लोकप्रियता भएको संगठन हो । त्यसैले भनिएको हो कि हमासलाई हटाउन इजरायलले सम्पूर्ण गाजाको जातीय सफाया गर्नुपर्ने हुन्छ ।
यदि यो लडाई सकिदा गाजा स्ट्रिपमा गाजाबासी प्यालेस्टिनीहरु बाँकी रहने छन् भन्ने तथ्यलाई स्वीकार गर्ने हो भने पनि त्यसको भोलिपल्ट उनीहरुमाथि कसले शासन गर्छ भन्ने प्रश्न जिवितै हुन्छ । सामान्य लागे पनि यो निकै ठूलो प्रश्न हो । कि त यहाँ इजरायलले कब्जा गरेर डन्डाको भरमा आफ्नो प्रशासन सञ्चालन गर्नुपर्छ वा गाजाबासीले सञ्चालन गर्ने नयाँ प्रशासनलाई स्वीकार गर्नुपर्छ । जसमा वेस्ट बैंकमा शासन गरिरहेको फतह पनि हुनसक्छ ।
जुन समूहलाई हमासले सन् २००६ मा निर्वाचनमा विजयी भएपछि गाजाबाट हराएको थियो । हमास गाजामा जति लोकप्रिय छ, त्यसको ठीक उल्टो फतहका नेता वेस्ट बैंकस्थित रमल्लाहमा रहेको प्यालेस्टिनी प्रशासनका राष्ट्रपति महमुद अब्बास वेस्ट बैंक र गाजा स्ट्रिप दुवै स्थानमा प्यालेस्टिनीहरूमाझ अलोकप्रिय छन् । तर अर्को सत्य के पनि हो भने जबसम्म गाजाबासीहरु रहन्छन्, त्यहाँ कुनै न कुनै रुपमा हमास हुन्छ ।
जसबाट इजरायलले नयाँ मूल्य चुकाउनुपर्ने हुन्छ । अनुभवी प्यालेस्टिनी राजनीतिज्ञ तथा सन् १९९० को दशकमा प्यालेस्टिनी प्रशासनमा काम गरेकी हनान अश्रावी इजरायलसहित बाहिरियाहरूले फेरि पनि प्यालेस्टिनीहरूले कसरी बाँच्नुपर्छ भन्ने कुरा निर्धारण गर्ने सोचप्रति नै आक्रोश व्यक्त गर्छिन् । उनी भन्छिन्, ‘यो एउटा चेस खेल हो र केही प्यादाहरूलाई यताउता चलाएर अन्त्यमा चेकमेट हासिल गर्न सकिन्छ भनेर मानिसहरू सोच्छन् । त्यस्तो हुनेवाला छैन । नयाँ साझेदारहरू त फेला पर्लान् । तर गाजावासीहरूले त्यसलाई सहज स्वीकार गर्ने छैनन् ।’