धनगढी विमानस्थल सञ्चालमा आउन अझ सात दिन लाग्ने

धनगढी विमानस्थल सञ्चालमा आउन अझ सात दिन लाग्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७६

  कैलाली । एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ ।

निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । 

२०७६ साल वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले जानकारी दिनु भएको छ । बुड्थापाका अनुसार विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको  हो । तीन मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नतिपछि चार ठूलै जहाज पार्किङ गर्न सकिने बनाउन लागिएको हो । 

मौसमले साथ दिएमा अबका पाँच दिनमा विमानस्थलमा हवाई उडान सञ्चालन हुने गरी काम भइरहेको निर्माण कम्पनी लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इञ्जिनीयर सचिन थापाले बताउनुभयो । उहाँले वर्षा भएमा विमानस्थल मर्मत तथा स्तरोन्नति कार्य लम्बिन पनि सक्ने जानकारी दिनुभयो । काठमाडौँ–धनगढी–काठमाडौँ दैनिक पाँच हवाई उडान हुँदै आएका थिए ।