पोल्याण्डमा नेपाली दूतावास खोल्ने प्रकृया प्रति संघसंस्थाद्वारा खुसी प्रकट

पोल्याण्डमा नेपाली दूतावास खोल्ने प्रकृया प्रति संघसंस्थाद्वारा खुसी प्रकट

शेरबहादुर परियार  |  समाचार  |  कात्तिक १८, २०८०

पोल्याण्ड/ सरकारले पोल्याण्ड लगायत विभिन्न मुलुकहरुमा नेपाली राजदूतावास खोल्ने प्रकृया अगाडि बढाए पछि पोल्याण्डमा रहेका नेपाली समुदायले खुसी व्यक्त गरेका छन्।

गैरआवासीय नेपाल संघ (एनआरएनए) पोल्याण्डका अध्यक्ष नरेश सापकोटा र महासचिव पवन खड्काद्वारा आज संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा पोल्याण्ड लगायत  विभिन्न मुलुकहरुमा कूटनीतिक नियोग (दूतावास) स्थापना गर्ने प्रकृया सुरु गरेकोमा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गरेको छ। यो महान कार्यका लागि पोल्याण्डमा क्रियाशील संघसंस्थाको तर्फबाट एनआरएनए पोल्याण्ड नेतृत्व गर्दे सबै सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपालमा गठबन्धन सरकारको प्रमुख घटक नेपाली काँग्रेसको विदेश स्थित संगठन नेपाली जनसम्पर्क समिति पोल्याण्डका सभापति नारायण चालिसेले पोल्याण्ड जस्तो धेरै नेपाली रहेको मुलुकमा नेपाली दूतावास आवश्यक छ।ढिलै भए पनि नेपाल सरकारले पोल्याण्डमा दूतावास खोल्ने प्रकृयाको स्वागत गर्दे संस्थागत सहयोग गर्न जनसम्पर्क समिति तयार रहेको बताए।

यसै गरी नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका अध्यक्ष रमेश लामा र सचिव निश्कर्ष लामाले प्रेस विज्ञप्तिमा जारी गर्दे  दूतावास स्थापना गर्ने सम्बन्धि मन्त्रिपरिषदबाट चाँडो निर्णय गरी कार्यान्वयन गर्नका लागि माग गर्दे दूतावास स्थापनाले मजबुत कुटनीतिक संरचनामार्फत पोल्याण्ड र नेपालको द्विपक्षीय कुटनीतिक सम्बन्ध घनिष्ट, मैत्रीपूर्ण एवं बहुआयामिक हुने विश्वास गरिएको भनेका छन्।नेपालमा वाम लोकतान्त्रिक गठबन्धन सरकारले गरेको यो निर्णयको हिस्सा हुन पाएकोमा आफ्नो संगठन गौरवान्वित भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

नेकपा एमाओवादी केन्द्रका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्रीलाई प्रचण्डको पालामा पोल्याण्ड लगायत मुलुकहरुमा दूतावासको आवश्यक्ता महसुस गरि  प्रकृया अघि बढाइएकोमा पोल्याण्डका नेपाली समुदायको तर्फबाट आभार व्यक्त गर्दै र यसको सबै कानुनी प्रावधान चाँडो पूरा भएर कार्यान्वयन होस्" जन प्रगतिशिल मञ्च पोल्याण्डका अध्यक्ष विश्वास कट्टेलले बताए।

आफू एनआरएनए पोल्याण्डको अध्यक्ष हुँदा देखि नै पोल्याण्डमा नेपाली दूतावासको लिखित तथा मौखिक माग गरेका गरिएकोमा अहिले हाम्रो माग सम्बोधन भएको ठानेको छु भन्छन् एनआरएनए पोल्याण्डका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य गोपाल राई। यसले पोल्याण्डमा रहेका नेपालीलाई सहजता र दुई देश बीचको व्यापारिक तथा कुटनीतिक सम्बन्ध बढ्ने उनको विश्वास छ।

नेपाली दूतावास पोल्याण्डमा आवस्यक थियो। यस कार्यको लागि इनास पोल्याण्को तर्फबाट नेपाल सरकारलाई धन्यबाद दिंदै यसको लागि समाजको तर्फबाट समर्थन र सहयोग हुने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्याण्डका अध्यक्ष विबेक पौड्यालले बताए।

पानी अभियान्ता मित्रलाल पार्दे हामी पोल्याण्डमा बस्ने नेपालीहरुको लागि यहाँ दूतावास खुल्नु सुखद पक्ष हो जसको कारणले धेरै जसो कागजी झमेलाबाट मुक्त हुन्छ र सबै नेपालीलाई राहत हुन्छ भन्छन्।

गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक पछि सरकारले पोर्चुगल, पोल्याण्ड, रोमानिया, माल्टा, साईप्रस, क्रोएशिया, माल्दिभ्स, टर्की लगायतका मुलुकमा ड्राई पोस्टिङमार्फत दूतावास स्थापना गर्ने प्रकृया अघि बढाएको छ।