अन्तत: बीपी प्रतिष्ठानको भेन्टिलेटर खरिदमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियारमा उजुरी

अन्तत:  बीपी प्रतिष्ठानको भेन्टिलेटर खरिदमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियारमा उजुरी

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक २३, २०८०

काठमाडाैँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  भ्रष्टाचार गरेको आरोप लगाउँदै उजुरी दर्ता भएको छ।

विवादस्पद छवि भएका उपकुलपति डा. गिरी विरुद्ध भ्रष्टाचार गरेको छानविनकाे आरोप सहित  उजुरी नम्बर C-०२८४४६ दर्ता भएको हो  ।

बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा करिब १० करोड मूल्य बराबरको २० थान भेन्टिलेटर खरिदमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद लगायतका आधा दर्जन व्यक्तिहरुको मिलोमतोमा व्यापक अनियमिता भएको ठहर प्रतिष्ठानद्वारा गठित एक छानविन समितिले गरेपछि सो प्रतिवेदन सहित उजुर परेकाे अख्तियार स्रोतले जनाएकाे छ । 

धरान उपहानगरपालिका र स्थानीय सर्वसाधरणले करोडौँ मूल्यका उपकरणहरु मेडिकल स्टोरमा थन्काएर राखेको भनी विरोध हुन थालेपछि वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०८० साउन २४ गते ७ दिन भित्र राय सुझाव सहित प्रतिवेदन दिन आन्तरिक रुपमा अप्थाल्मोलाेजी विभागका प्रा.डा. पुनम लाभाजुकाे संयोजकत्वमा गठित  ७ सदस्यीय छानविन समितिले व्यापक अनियमिता भएको ठहर गर्दै उक्त खरिद प्रकृया नै रद्द गर्न सिफरिस गरेको थियाे  ।

यस सम्बन्धमा लाेकसंवाद डटकमले २०८० आश्विन २९ मा छानविन प्रतिवेदनलाई लिएर 'भेन्टिलेटर खरिदमा फर्जी कागजात ! १० करोड नियम विपरीत भुक्तानीमा एक दर्जनको संलग्नता पुष्टि' शिर्षकमा त समाचार प्रकाशन गरेको थियो । 

गिरीविरुद्ध किर्ते कागजात सम्वन्धि मुद्दासमेत विशेष अदालतमा विचाराधिन छ । डा. गिरीले आफू ‘प्रोफेसर’ भएको भन्दै प्राध्यापक पद प्रयोग गर्दै आएका थिए। तर, छानबिनका क्रममा उनले कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक पद नपाएको देखिएकोले 'नपाएको ओहोदा पाएको भनी भष्टाचार गरेको' भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा विशेष अदालतमा विचाराधिन अवस्थामा रहेको छ । 

यस सम्बन्धमा लाेकसंवाद डटकमले २०८० आश्विन २९ मा  'डा. ज्ञानेन्द्र गिरी: उपकुलपति कै हैसियतमा २०८० सालको दशैँ मनाउने सपनामा तुषारापात !'  शिर्षकमा त समाचार प्रकाशन गरेको थियो । 

अख्तियारले दायर गरेकाे मुद्दामा ‘डा. ज्ञानेन्द्र गिरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियत साथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूर भएकाले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दाबी'  गरिएकाे छ । 

यो पनि  

भेन्टिलेटर खरिदमा फर्जी कागजात ! १० करोड नियम विपरीत भुक्तानीमा एक दर्जनको संलग्नता पुष्टि

डा. ज्ञानेन्द्र गिरी: उपकुलपति कै हैसियतमा २०८० सालको दशैँ मनाउने सपनामा तुषारापात !