उमेर विवादमा तानिएपछि उपरथी ताराध्वज पाण्डे राजीनामा दिन बाध्य

उमेर विवादमा तानिएपछि उपरथी ताराध्वज पाण्डे राजीनामा दिन बाध्य

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक २४, २०८०

उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनलाई भावी प्रधानसेनापतिका रुपमा अघि सार्दै रथीमा बढुवाका लागि सिफारिस गरिएको थियो । तर, उमेर विवादमा परेपछि नेपाली सेनाभित्रै रहँदा ‘कोर्ट मार्सल’ मा पर्ने डरका कारण उनले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा दिएका हुन् । 

पाण्डेको उमेर विवाद छानबिनका लागि नेपाली सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति बनाएको थियो । उनलाई प्रधानसेनापति शर्मा नेतृत्वको बढुवा समितिले सिफारिस गरे पनि उनको फाइल जंगीअड्डाबाट अघि बढेको थिएन । नेपाली सेनाको छानबिनबाट समेत उपरथी पाण्डेको जन्ममिति केरमेट गरेको पाइएपछि उनले राजीनामा गरेका हुन् ।

पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरी करिब दुई वर्ष उमेर घटाएको पाइएको थियो । पाण्डेको उमेर विवाद सञ्चारमाध्यममा आएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।

पाण्डेलाई रथीमा बढुवाका लागि २९ असोजमा सिफारिस गरेको थियो । तर चाडपर्व र प्रधानसेनापतिको चीन भ्रमणका कारण सिफारिस अघि बढेन । यहीबीचमा जन्म मितिको विवाद आएपछि छानबिनका लागि दबाब बढेको थियो । पाण्डेको उमेर विवादलाई लिएर १ वर्ष ९ महिनाअघि अवकाश पाउने समय भए पनि यदि उनको जन्ममिति १२ माघ, २०२१ कायम हुने हो भने उनी २०४३ सालमा अधिकृत क्याडेटमा भर्ना हुनै पाउने थिएनन् ।

आयोगले चार दिन अघिमात्रै रक्षा मन्त्रालय हुँदै जंगी अड्डामा पाण्डेको उमेर विवादको छानबिन गर्न पत्र पठाएपछि उमेर विवादसम्बन्धी छानबिनका लागि बलाध्यक्ष रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनाइएको थियो ।

समितिले नागरिकता र शैक्षिक प्रमाणपत्रमा कैफियत फेला पारेपछि पाण्डे अप्ठ्यारोमा परेका हुन् । पाण्डेको जन्ममिति पहिले १२ माघ २०२१ र पछि त्यसलाई कोरेर २३ मंसिर, २०२३ बनाएको पाइएको छ । उपरथीको उमेरहद ५७ वर्ष रहेका कारण उनको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिनाअघि नै अवकाश पाउने थिए । 

पाण्डेलाई रथीमा बढुवाका लागि २९ असोजमा सिफारिस गरेको थियो । तर चाडपर्व र प्रधानसेनापतिको चीन भ्रमणका कारण सिफारिस अघि बढेन । यहीबीचमा जन्म मितिको विवाद आएपछि छानबिनका लागि दबाब बढेको थियो । पाण्डेको उमेर विवादलाई लिएर १ वर्ष ९ महिनाअघि अवकाश पाउने समय भए पनि यदि उनको जन्ममिति १२ माघ, २०२१ कायम हुने हो भने उनी २०४३ सालमा अधिकृत क्याडेटमा भर्ना हुनै पाउने थिएनन् । त्यसैले यो पनि एउटा सेफ ल्याण्डिङमात्रै हुने देखिन्छ । 

यद्यपि नेपाली सेनाभित्र उमेर विवाद उपरथी ताराध्वज पाण्डेको मात्र यो पहिलो घटना भने होइन । यसअघि पनि प्रधानसेनापतिहरू गौरव शमशेर राणा, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा रहेका बेला तत्कालीन उपरथीहरू जगदीशचन्द्र पोखरेल, देवकुमार सुवेदी, दिपक भारती, सहायक रथीहरू प्रदीप अधिकारी, रवीन्द्र दास श्रेष्ठ, ज्ञानेन्द्र रायमाझीलाई अवकाश दिइएको थियो । 

थापाका समयमा पनि पाण्डेको जन्म मितिमा प्रश्न उठेको थियो । त्यसबेला धेरै अधिकृतहरु छानबिनमा परेका थिए । तर पाण्डे उपरथीसम्म आउँदा कुनै कारबाहीमा परेनन् । तर प्रधानसेनापति हुने लाइनमा पुगेपछि भने उनले पद गुमाउन पुगेका छन् ।