लोकसंवाद संवाददाता | समाचार | मंसिर ०५, २०८०
राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको डेढ दशकपछि पुनः राजसंस्था ब्यूँताउनु पर्ने आवाज चर्को रुपमा उठिरहेको छ । खासगरी गणतन्त्रका लागि नै संघर्ष गरेका शक्तिहरु व्यवस्था सञ्चालनमा असफल भएपछि राजसंस्थाका पक्षधरहरु हौसिएका छन् । गणतन्त्रको पक्षमा अभूतपूर्व रुपमा सडकमा उत्रिएका जनतामा निराशा छाएको छ ।
यही मौकामा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कुनै कुनाबाट सत्तामा फर्किन सकिन्छ कि भनेर कहिले देश दौडाहा त कहिले भारत यात्रामा निस्किने गरेका छन् । २०५८ मा दाजु वीरेन्द्रको वंश बिनास पछि राजगद्दीमा आएका ज्ञानेन्द्रले त्यसपछि आफ्ना बाबु महेन्द्रको बाटो पछ्याउँदै प्रत्यक्ष शासनको रहर गरेपछि देशबाट राजतन्त्र नै समाप्त हुने अवस्था सिर्जना भयो ।
पञ्चायतलाई दीर्घ जीवन दिन असफल भएका कीर्तिनिधि बिष्ट र डा.तुलसी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएर प्रत्यक्ष शासन सञ्चालनमा आएका ज्ञानेन्द्रलाई तत्कालीन ७ राजनीतिक दल र माओवादी मिलेर गरेको १९ दिने दोस्रो जनआन्दोलनले घुँडा टेकायो । ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा गृहमन्त्री बनेका कमल थापाले गणतन्त्रपछि राप्रपा नेपाल खोलेर राजसंस्था र हिन्दु राष्ट्रको वकालत गरे ।
यही मुद्दा लिएर उनले २०७० सालको निर्वाचनमा चौथो ठूलो शक्तिको हैसियत प्राप्त गरे । तर उनले पनि राजसंस्थाको एजेण्डालाई बलियो गरी उठाउन सकेनन् । यही जगमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा यतिबेला राजतन्त्र पक्षधर शक्तिका रुपमा संसदमा पाँचौं ठूलो शक्तिका रुपमा रहेको छ ।
लिङ्देन राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा रहेका शक्तिलाई एकजुट पारेर आफ्नो राजनीतिलाई अघि बढाउने योजनामा रहेकै बेला माओवादी हुँदै एमालेको केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईले ९ महिना अघि झापाको काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यलाई बोलाएर ‘नागरिक बचाउ महाअभियान’ सुरु गरे ।
मेडिकल व्यवसायी प्रसाईंको बदमासीका बाबजुद एउटा पंक्ति उनको पछि लागेको देखिन्छ । जसले राजतन्त्रको पक्षमा र गणतन्त्रका विरुद्धमा आवाज उठाइरहेको छ । प्रसाईँले ७ मंसिरमा काठमाडौंमा प्रदर्शनको तयारी गरेका छन् । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई काठमाडौंमा उतार्ने हुँकार गरिरहँदा गणतन्त्रवादी शक्तिहरु पनि नराम्ररी झस्किएका छन् ।
पूर्वराजा र परिवारको उपस्थिति गराएर अभियान सुरु गरेका दुर्गा प्रसाई त्यसयता निरन्तर राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन् । उनी विभिन्न बैंकबाट लिएको ६ अर्बभन्दा बढी ऋण नतिर्नका लागि यो अभियानमा लागेको सूचनाहरु सम्प्रेषण भइरहेका छन् । कुनै व्यक्तिले बैंकबाट ऋण लिएर नतिर्नका लागि व्यवस्थाकै विरुद्धमा आन्दोलन गर्छ भने त्यसलाई राज्यले छुट दिन सक्दैन ।
तर मेडिकल व्यवसायी प्रसाईंको बदमासीका बाबजुद एउटा पंक्ति उनको पछि लागेको देखिन्छ । जसले राजतन्त्रको पक्षमा र गणतन्त्रका विरुद्धमा आवाज उठाइरहेको छ । प्रसाईँले ७ मंसिरमा काठमाडौंमा प्रदर्शनको तयारी गरेका छन् । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई काठमाडौंमा उतार्ने हुँकार गरिरहँदा गणतन्त्रवादी शक्तिहरु पनि नराम्ररी झस्किएका छन् ।
यसरी झस्किनेमा राजतन्त्रकै पक्षमा रहेको राजेन्द्र लिङ्देनको राप्रपा पनि परेको छ । लिङ्देन प्रसाईंको आन्दोलनको उद्देश्य स्पष्ट नरहेकाले उनलाई साथ दिन नहुने पक्षमा छन् । तर राप्रपाकै एउटा समूह प्रसाईंको कार्यक्रममा सक्रियताका साथ सहभागी हुनुपर्ने पक्षमा छ । यो अन्योलता दलहरुमा मात्रै होइन, पूर्वराजा ज्ञानेन्द्रलाई पनि छ । उनी आफू राजा भएदेखि नै स्वार्थ समूहबाट टाढा हुन सकेनन् । जसका कारण ज्ञानेन्द्रलाई देखाएर धेरैले आफ्नो अभिष्ट पूरा गरे ।
कतिपय गणतन्त्रवादीलाई प्रसाईंको आन्दोलनले गणतन्त्र खतरामा पर्छ भन्ने लागेको छ । कांग्रेस, एमाले, माओवादी सहितका राजनीतिक दलहरु जनताको निराशालाई राजतन्त्र पक्षधरहरुले आफ्नो पक्षमा पार्छन् भन्ने त्रास छ भने राप्रपालाई त्यही लाभ प्रसाइँले लिइदिए र पूर्व राजा ज्ञानेन्द्रले पनि विश्वास गरिदिए भने पार्टीको भविश्य के हुन्छ भन्ने चिन्ताले सताएको छ ।