लोकसंवाद संवाददाता | समाचार | मंसिर ०६, २०८०
नयाँ शक्तिको भुत र भ्रममा भौँतारिएका डा.बाबुराम भट्टराई अन्ततः पुरानै घर फर्किने निश्चित जस्तै देखिएको छ ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को कार्यकारिणी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि अन्ततः माओवादी छाडेको ८ वर्षपछि पुनः माओवादीमै फर्किने भएका हुन् ।
बैठकले पार्टी एकताका लागि अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको छ । संयोजन समितिमा अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव र उपाध्यक्ष दुर्गा सोप रहने छन् ।
८ वर्षअघि नै कम्युनिस्ट पार्टी छाडेका भट्टराईको पार्टीको नाम पनि नेपाल समाजवादी पार्टीबाट नेकपा (समाजवादी) बनाउने सहमति भएको छ । यसअघि माओवादी र नेसपाको वार्ता टोलीको संयुक्त बैठकले एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
गत निर्वाचनमै नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकता गर्नेगरी निर्वाचनमा सहकार्य भएको थियो । सोही अनुसार भट्टराईको नेसपाका उम्मेदवारहरुले एकै पार्टीका रुपमा एउटै चुनाव चिह्नमा चुनाव लडेका थिए । नेसपाबाट महेन्द्र राय यादव संघीय संसदमा र गंगानारायण श्रेष्ठले बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएर संघीय र प्रदेश सरकारमा मन्त्री छन् ।
तर निर्वाचनपछि सरकार गठन लगत्तै माओवादी केन्द्र र नेसपा बीच दुरी बढ्दा पार्टी एकता अन्योलमा परेको थियो । गत वर्ष भएको निर्वाचनमा डा.भट्टराईले काठमाडौंमा आफ्नी छोरी मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएर गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सहयोग गरेका थिए । गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डलाई उम्मेदवार बनाएर लगाएको गुन प्रचण्डले बिर्सिएको भन्दै उनी प्रचण्डसँग रुष्ट देखिन्थे ।
उपेन्द्र यादव पार्टी अध्यक्ष र बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष भएको यो पार्टी पनि सग्लो रहेन । पार्टीभित्र विवाद बढ्दै जाँदा दुई वर्षअघि भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए । नेपालमा विभाजित भएर गएका अन्य पार्टीजस्तै भट्टराईको पार्टीले पनि त्राण लिन सकेन । तर देश अब कम्युनिस्ट विचारधाराबाट अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका भट्टराई अन्ततः कम्युनिस्ट बन्दै पुनः माओवादी बन्न तयार भएका छन् ।
उनले माओवादी केन्द्रसँग एकताका लागि उत्साह नदेखाएपछि माओवादी केन्द्रले पनि महेन्द्रराय यादव सहितको समूहलाई माओवादीमा भित्र्याउने तयारी गरेको थियो । तर यो प्रक्रिया पनि अवरुद्ध भएका बेला सिंगो नेसपाले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको हो । नेसपाले एकता संयोजन समिति बनाएपछि अब माओवादी केन्द्रले पनि अध्यक्ष प्रचण्डको नेतृत्वमा एकता संयोजन समिति बनाउनेछ ।
योजन समिति कति सदस्यीय बन्ने भन्ने निश्चित भइसकेको छैन । माओवादी केन्द्रले ५ सदस्यीय समिति बनाए नेसपाबाट पनि ५ जना रहने एक नेताले जानकारी दिए । यही समितिले एकीकृत पार्टीको राजनीतिक, वैचारिक दृष्टिकोण, संगठनात्मक स्वरुप, पार्टीको नाम, झण्डा, विधानलगायतका विषयको टुंगो लगाउनेछ ।
यसअघि बाबुराम भट्टराईको निवास टोखामा बसेको शीर्ष चार नेताको बैठकले एकताको विषयमा टुंगो लगाएको थियो । एकताको निर्णयलाई बुधबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ । नेसपाले विधान संशोधनका लागि मस्यौदा समिति बनाउने पनि निर्णय गरेको छ ।
नेसपामा ९ जना पदाधिकारी, २४ सदस्यीय कार्यकारिणी समिति र १८९ सदस्यीय केन्द्रीय समिति छ । एकताको निर्णयसँगै ८ वर्षअघि माओवादी छाडेका डा.बाबुराम भट्टराई, नेतृ हिसिला यमी, गंगा श्रेष्ठ लगायतका नेताहरु पुरानै घर फर्किने छन् । २०७२ सालमा संविधान जारी भएलगत्तै तत्कालीन एकीकृत माओवादी छाडेका भट्टराईले त्यसपछि निकै तामझाम सहित दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा गरेका थिए । २०७४ को निर्वाचनमा केही स्थानीय तह र प्रदेशमा नयाँ शक्तिका रुपमा चुनावमा भाग लिए पनि अपेक्षाकृत सफलता हात परेन । संघीय संसदमा भट्टराई एक्लैले गोरखाबाट माओवादीकै नारायणकाजी श्रेष्ठलाई हराएर सांसद बने । तर राष्ट्रिय पार्टीको हैसियत प्राप्त गर्न सकेनन् ।
त्यसपछि उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरमसँग एकता गरे । यही पार्टीले मधेसको अर्को शक्ति महन्थ ठाकुर नेतृत्वको पार्टीसँग पनि एकता गर्यो । तर यी एकता लामो समय टिक्न सकेनन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई सघाउने कि नसघाउने भन्ने विषयमा विवादमा उपेन्द्र र बाबुरामको ओलीको विपक्षमा उभिए भने महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा उभिए । यो विवादमा महन्थ समूहले पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत सदस्य जुटाउन सकेन र नयाँ पार्टी गठन गर्यो ।
उपेन्द्र यादव पार्टी अध्यक्ष र बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष भएको यो पार्टी पनि सग्लो रहेन । पार्टीभित्र विवाद बढ्दै जाँदा दुई वर्षअघि भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए । नेपालमा विभाजित भएर गएका अन्य पार्टीजस्तै भट्टराईको पार्टीले पनि त्राण लिन सकेन । तर देश अब कम्युनिस्ट विचारधाराबाट अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका भट्टराई अन्ततः कम्युनिस्ट बन्दै पुनः माओवादी बन्न तयार भएका छन् ।