लोकसंवाद संवाददाता | समाचार | मंसिर ०८, २०८०
काठमाडौँ । बिहीबार काठमाडौंको तीनकुनेमा एमाले निकट राष्ट्रिय युवा संघ र बल्खुमा दुर्गा प्रसाईंको दुबैले समूहले शक्ति प्रदर्शन गरे ।
तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन हुँदा बल्खुमा एक पटक एमाले युवा संघ र एक पटक प्रहरीसँग गरी दई पटक झडप भयो । झडपकै कारण बल्खुमा प्रसाईंको कार्यक्रम समेत बिथोलिन पुग्यो ।
कार्यक्रम बिथोलिएपछि बल्खुमा छोटो सम्बोधन गरेर आफ्नै निवासबाट पत्रकार सम्मेलन गर्दै प्रसाईंले आन्दोलन अनिश्चितकाल सम्म जारी रहने र ७७ वटै जिल्लामा विस्तार गर्ने बताए । अब शुक्रबारदेखि आन्दोलन काठमाडौंको तीनकुनेमा हुने भएको छ । उनले पत्रकार सम्मेलनमा बोल्दै अब ‘श्रीलंका स्टाइल’ ले अघि बढ्ने समेत दाबी गरे ।
गत वर्ष श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालय समेत नियन्त्रणमा लिएका थिए । प्रसाईले भने, ‘यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुँदैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’
प्रसाईंले काठमाडौं आउँदै गरेकाहरुलाई प्रहरीले अनावश्यक दुःख दिएको र आउँदै गरेकाहरु काठमाडौं आइपुग्ने क्रममा रहेकाले भोलिबाट जनसहभागिता दोब्बर हुने दाबी गरे । उनले भने, ‘अब ७७ वटै जिल्लामा जन विद्रोह सुरु हुन्छ । हामी श्रीलंका स्टाइलले जाने प्लानमा छौं । श्रीलंकामा जस्तै नेतालाई जनताले जहाँ भेट्छन्, त्यही मसाज गर्छन् ।’
त्यसो त नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघरमा एकै दिन प्रदर्शनको घोषणा गरेपछि सबैको चासो बढेको थियो । एमाले निकट युवा संघका इन्चार्ज महेश बस्नेत र प्रसाईं बीच प्रदर्शनलाई लिएर चलिरहेको दोहोरीका कारण यसलाई महेश बस्नेत भर्सेस प्रसाई आन्दोलनका रुपमा समेत हेरिएको थियो ।
सम्भावित झडप रोक्न प्रशासनले माइतीघरदेखि बानेश्वर सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै प्रसाईलाई बल्खु र युवा संघलाई बल्खु क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएको थियो । तर प्रशासनको तयारीबीच बल्खुको झडप रोक्न सम्भव भएन र तीन पटक झडपको अवस्था आयो ।
एमालेले त प्रदर्शनमा पार्टीको सबै शक्ति परिचालित गर्ने उद्घोष गरेको थियो । प्रसाईंको आन्दोलनमा टक्कर दिएर एमालेले आफ्नो कमजोर धरातल भएको संकेत दिएको छ । सिंगो पार्टीलाई दुर्गा प्रसाई विरुद्ध सडकमा उतार्दा आउने सम्भावित जोखिमबारे एमालेले राम्रोसँग योजना नबनाएको कतिपयको टिप्पणी देखिन्छ । एमालेले विगतमा प्रसाईलाई दिएको स्पेस, त्यसपछि प्रसाईँसँगको टकरावले एमाले किन प्रसाईँसँग भिड्ने तहमा आइपुग्यो भन्ने जिज्ञासा सुरु भएको छ
झापाको बिर्तामोडमा आफूले बनाएको बीएन्डसी मेडिकल कलेज र अस्पतालका सञ्चालक प्रसाई मुख्य राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध राख्नुका साथै पार्टीमै सक्रिय भए पनि सम्बन्धन पाउन नसकेपछि दलहरुसँग रुष्ट बनेका हुन् । एमालेको केन्द्रीय सदस्य समेत भइसकेका प्रसाईले गत वर्ष पार्टी परित्याग गर्दैै झापाबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ को सुरु गरे । अहिले यही अभियानका नाममा उनले व्यवस्था परिवर्तनको सपना देखिरहेका छन् । उनले प्रदर्शनलाई सम्बोधन गर्दै नेपालमा विद्रोहको बिरुवा रोपिएको उल्लेख गर्दै नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउने र सिंहदरबारदेखि संसदसम्म कब्जा गर्ने चेतावनी दिए ।
बिहीबार नै तीनकुनेमा भएको प्रदर्शनका क्रममा एमाले नेता महेश बस्नेत प्रधानमन्त्री प्रचण्ड र दुर्गा प्रसाईं प्रति आक्रामक रुपमा प्रस्तुत भए । बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईं आजैबाट पतन भएको उद्घोष मात्रै गरेनन् पाँच दलको गठबन्धन र एमालेका दुई टिप्पर आइरहेका बेला प्रसाई चेपुवामा पर्ने टिप्पणी गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नसच्चिए प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी समेत दिए । उनले भोलिदेखि कार्यक्रम तीनकुनेमा सीमित नहुने र निषेधाज्ञा तोड्ने बताए । उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे । कुनै समय नेपालमा गणतन्त्र आउनु र बयलगाढा चढेर अमेरिका पुग्नु एउटै भएको बताउने एमाले प्रसाईंको आन्दोलन सुरु भएलगत्तै त्यसको प्रतिरोधमा उत्रिएको हो ।
गत वर्षसम्म एमालेमै रहेका र चुनावमा टिकट नपाएपछि पार्टीबाट अलग भएका प्रसाईंको बढ्दो शक्तिलाई छाँट्न पनि युवा संघले कार्यक्रम जुधाएको देखिन्छ । केही समयअघि त युवा संघका एक नेताले प्रसाईलाई माइतीघरमा नभएर काठमाडौं उपत्यकामा कार्यक्रम गरेर देखाउन चुनौती दिएका थिए । तर बिहीबार प्रसाईले सारा एमालेको शक्ति सहितको युवा संघका भन्दा बढी मानिस बल्खुमा उतारिदिए ।
एमालेले त प्रदर्शनमा पार्टीको सबै शक्ति परिचालित गर्ने उद्घोष गरेको थियो । प्रसाईंको आन्दोलनमा टक्कर दिएर एमालेले आफ्नो कमजोर धरातल भएको संकेत दिएको छ । सिंगो पार्टीलाई दुर्गा प्रसाई विरुद्ध सडकमा उतार्दा आउने सम्भावित जोखिमबारे एमालेले राम्रोसँग योजना नबनाएको कतिपयको टिप्पणी देखिन्छ । एमालेले विगतमा प्रसाईलाई दिएको स्पेस, त्यसपछि प्रसाईँसँगको टकरावले एमाले किन प्रसाईँसँग भिड्ने तहमा आइपुग्यो भन्ने जिज्ञासा सुरु भएको छ ।