रातो नदी

रातो नदी

जुनु दिव्य राना  |  साहित्य  |  मंसिर ०९, २०८०

हरेक महिना शरीरबाट
एउटा रातो नदी बगाएर
नित्य दिनचर्या
विश्व समाजको चिन्तन
र चासोसहितको चट्टानी आँट लिएर
जीवनको युद्ध लडिरहेकी
रणभूमिकी एक योद्धा म ।

रातो नदीको निरन्तर बहावले
निश्चित अवधिभर गलेको यो देहमा
केही दिनपछि अनायास
अनौठो ऊर्जा तरङ्गित भएको पाउँछु
कोमलताले सुसज्जित छु
तथापि भित्रभित्रै सूक्ष्म रूपमा
आगो दन्किरहेको महसुस गर्छु ।

हरेक महिना मेरो शरीरबाट
बग्दछ उही रातो नदी
कतै हीनताको पातपतिङ्गर बगाउँदै
कतै कुरीतिको बाँध भत्काउँदै
कतै संस्कृति/परम्परा जोगाउँदै । 

यसरी बग्दै बग्दै रातो नदी
प्रत्येक महिना मलाई
पुनः माटो बनाएर जान्छ
तर आफैँभित्र म
अनन्त तेजिलो ताकत पाउँछु
अजस्र उर्वरता अनुभूति गर्छु ।

हरेक महिना दोहोरिने
रातो नदीको बहावको चरणबद्ध दबाबले
म चट्टानी आकारमा परिणत हुन्छु
आफैँ भित्रको सुन्दर सृष्टिले मलाई
पुनः परिपक्व जिन्दगी दिन्छ ।

लाज, घिन र हीनताबोध
अब रातो नदीको अस्तित्वमा रहनुहुन्न
जसले आफ्नै अस्तित्वको अर्थ दिएको छ
धर्म, संस्कृति र समाजले बनाएका सीमा
रातो नदीको बहावमा बग्ने
आँधीले अब नामेट पार्नुपर्दछ ।

भो अब नगर
विज्ञानको काँध टेकेर
धर्मका ठुला–ठुला व्याख्याहरू
तिम्रो खोज सुरु हुनुभन्दा अगावै
मैले मभित्र बाह्रै महिना
रातो नदी बगाइ रहनुपर्छ
सृष्टिलाई जोगाइ रहनुपर्छ ।
 मलाई गर्व छ
रातो नदीको अस्तित्वमा
सक्षम छु म आफैँ
रातो नदीको परिभाषा बोध गर्न ।

रातो नदी
नारी सौन्दर्यको चिनारी हो
सृष्टिको अनुपम परिभाषा हो
जहाँ म हुनुको अर्थ अलग छ
हो, यो रातो नदीले
प्रकृतिको सौन्दर्य बोक्दछ
ब्रह्माण्डको अस्तित्व थाम्दछ ।


हङकङ