हरिविनोद अधिकारी | साहित्य | मंसिर ०९, २०८०
जीवनको रथ चलिरहने रहेछ । जे भए पनि, जस्तोसुकै परिस्थिति आए पनि जीवन भनेको चलिरहने प्रक्रिया रहेछ । त्यसो त जीवन एउटा भवितव्यमा प्राप्त संयोग हो । न चाहेर जन्मन पाइने हो, न नचाहेरै जन्मन नपाइने हो ।
भन्छन् नि, कि पढेर जान्ने, कि परेर जान्ने । त्यसो भन्ने चलनमात्र होइन रहेछ, साँच्चै हो रहेछ । पढेर केही जानिन्छ तर प्रत्येक व्यक्तिका समस्याहरु हुन्छन्, मानिसहरुका प्रत्येक पलपलका समस्याहरु पुस्तकमा पाइँदैनन् तर अनुभवहरूले भने समस्याहरुको समाधानका लागि उपाय दिन सक्छन् । किन उपाय मात्रै भनेको भने सबैका उस्तै समस्याहरु भए पनि परिवेश फरक फरक हुन्छन् । व्यक्ति नै फरक, समस्या नै फरक र पनि जीवन अनुभवका आधारमा चलिरहेको हुन्छ ।
जीवनको समयलाई बालापन, किशोरावस्था, युवावस्था, प्रौढावस्था, बृद्धावस्थाका रुपमा बाँडिएको पाइन्छ समयक्रमलाई भाग लगाएर । बालापनको एउटा रहर थियो , सम्झँदा छक्क पनि लाग्छ र त्यो समयमा फर्केर जान मन लाग्छ । अनुभवहीन कल्पना गरिन्थ्यो । नबुझेको कुरामा पनि कल्पना गरिन्थ्यो जुन सामयिक र जीवन सहजीकरणका लागि बाटो बनेको हुँदो रहेछ । अब फेरि त्यो अवस्थामा फर्केर जान सकिँदैन । पुग्न जुन असम्भव छ र पनि अतीतको पातलो पर्दाले त्यसलाई सञ्चित गरेर राखेको हुन्छ । त्यो अतीतको पातलो जालोभित्र जब चियाउन थालिन्छ, पक्कै पनि रमाइलो लाग्छ । सबै अतीत सम्झनलायक हुँदैनन् र पनि अतीतका डोबहरूले आजको वर्तमानलाई बाटो खनेका हुन्छन् जसले भविष्यको बाटोसमेत कोरेको हुन्छ ।
जब प्रौढावस्थाबाट वृद्धावस्थामा पुगिन्छ, आफूलाई कहाँ लाग्छ र म बुढो भएँ भनेर । तर शारीरिक अशक्तता जब आन्तरिक र वाह्य रुपमा अनुभूत गर्न थालिन्छ, अनि उमेरसँग मान्नै पर्छ अब म बुढो भएँछु । बुढो पन भनेको शारीरिक अवस्था हो कि, परिपक्वताको आवरण रुप ? स्पष्ट छैन तर वृद्धावस्था या वरिष्ठ नागरिकका रुपमा लिँदा उमेरलाई आधार मानिन्छ । र पनि शरीरले असक्तताको संकेत दिँदा पनि आफूमा भने बुढो पन आएको जस्तो लाग्दो रहेछ । आजको ओखती मुलोका कारणले र स्वास्थ्यसेवाको सामान्य पहुँचले उमेर बढेको हो भन्ने अनुसन्धानले देखाएको छ । अझ जापान जस्तो देशमा एक सय वर्ष उमेर कटेकाहरुको संख्या संसारका अन्य देशको अनुपातमा धेरै छ भन्ने छ । अझ ओकिनावा टापुमा सय वर्ष कटेकाहरुको अनुपात जापानका अन्य प्रदेशभन्दा बढी रहेछ ।
जे होस् बालापनको झझल्को छोरा छोरी, नाति नातिनीको उमेरसँग खेलेर स्मृतिमा बालापन आउने रहेछ । अचेल मेरो बालापनको झझल्को त पाइँदैन तर लाग्छ मेरा छोरा र छोरीहरूका छोरीहरूसँग मेरो वृद्धावस्थाको समय व्यतीत हुँदैछ । ती मेरा हालसम्मका पाँचवटा नातिनीहरुमध्ये घरमा नै रहेका दुईवटा नातिनीहरु साथी जस्ता छन् । उनीहरुको मनका कुरा भन्ने म सहज साथी हुँ । मेरो आफ्नो ल्यापटप उनीहरुकै हो । मेरा कलम तथा कापी उनीहरुकै आफ्ना हुन् । मेरो डेक्सटपमा काम गर्दाको कुर्सी पनि उनीहरुकै साझा कुर्सी हो । विहान विद्यालय जाने बेलामा सँगै जाने मेरो दैनिकी जस्तै हो र बाटामा कथा भन्दै जाने, विद्यालयको भ्यान ढिलो हुँदा चालक दाइलाई फोन गर्नुपर्ने नत्र रिसाउने । त्यतिमात्र होइन, मेरो मोबाइल उनीहरुकै हो । कहिले झगडा गर्छौँ, तत्काल मिल्छौँ , असल साथी हौँ सबै पाँचवटी नातिनीहरुसँग मेरो । मलाई छक्क लाग्छ, मसँग मेरा भाइबहिनी, छोराछोरी डराउँथे , किन हो, पिटेँ कि उनीहरुलाई बेला मौकामा । तर नातिनीहरु डराउँदैनन् । कम्तीमा म त त्यस्तो मान्छे रहेँछु उनीहरुको कि मसँग उनीहरु झगडा गर्न पनि तयार हुन्छन् अनि आफ्ना मनका कुराहरु सहज तरिकाले भन्ने पनि गर्छन् । प्रसंग कस्तो परेको छ भने जहाँ जहाँ उनीहरु पढ्छन् ,मेरा विद्यार्थीहरुले सफलताका साथ चलाएको विद्यालयमा उनीहरु भर्ना भएका छन् । सायद मेरो वृद्धावस्थाको रमाइलो भनेको उनीहरुसँगको सामीप्ययता हो ।
ती कहाँबाट आए ? ती कसरी मेरा साथी भए ? तर ती मेरा सन्तान हुन् र उनीहरुसँग म जोडिएको छु । उनीहरुसँगै म हुर्किरहेको छु उनीहरुको बालापनसँगै, म उनीहरुसँग किशोरावस्थामा पुग्नेछु फेरि र यौवनावस्थामा पनि फर्कने छु । म थाहै नपाई आफ्नो परिपक्वता बाँड्दैछु बारम्बार आफ्ना उपदेश र गाली मार्फत् । र उनीहरुको अपरिपक्वतासँगै माया गाँस्दैछु । माया अचम्मको हुने रहेछ सन्ततिको । माया कस्तो पो लाग्दो रहेछ नि, ती सन्ततिको । आफ्नो भन्दा बढी माया लाग्ने ।
अनुभवको नयाँ नयाँ गोरेटो मेरो समय क्रम अहिलेको । तीसँग एकदिन मेरो बिछोड हुनेछ काल क्रममा । अनि हामी को कहाँ पुग्नेछौँ तर सन्तति तन्तुले मेरो अमरत्व बाँकी रहनेछ जस्तो कि कश्यप ऋषिको सन्तति तन्तुको रुपमा म छु, मेरा सन्तान छन् र अरु पनि भविष्यमा लाखौँ हुनेछन् र लाखौँ छौँ अहिले पनि ।
पौरस्त्य संस्कारको एउटा अचम्मको परिपाटी रहेछ गोत्रको चलन । गोत्रले कसको सन्तति हौँ भनेर जानकारी पाइन्छ , पश्चिमाले थाहा पाउने बेलाभन्दा धेरै हजार वर्ष पहिलेदेखि कोसँग कसले किन विवाह गर्न नहुने या गर्न हुने भन्ने परम्परा राखेको रहेछ । सगोत्रीमा विवाह नहुने चलन । वास्तवमा आर्यावर्तका आर्यहरुमा यस्तो चलन कहिले राखियो , थाहा छैन । सुर र असुर, राक्षस र यक्ष , देवता, मानिस । निशाचर तर प्राणीहरुको वयान महाभारतका प्रशस्त पाइँदो रहेछ ।
सन्ततिको माया र सन्ततिले गर्ने मायामा पक्कै अन्तर आउँदो होला तर आफ्ना सन्तानको माया भनेको संवेदनशीलता हो जुन मानवीय या प्राणीहरूमा रहेको जन्मसिद्ध गुण हुनुपर्छ जुनु पशुमा पनि पाइन्छ हरेकमा । धेरै प्राणीविद्हरुका नयाँ नयाँ सिद्धान्तका प्रतिपादनले हामीलाई सन्ततिका बारेमा अरु जानकारी राख्न सहज हुन्छ जस्तो लाग्छ ।
प्रसङ्ग बदलौँ । म लेख्ने तर पुस्तकाकारका रुपमा तयार गर्न अल्छी मान्छे । सायद यसले मलाई जीवनमा धोखा पाउने पालो आउला । बाँचुन्जेल कोसिस गरौँला थुप्रै रचनाहरू छन् कथा, कविता तथा स्वतन्त्र निवन्धहरुका । पौराणिक साहित्यका बारेमा लेखिएका स्वतन्त्र लेखहरु ।
एकपटक भट्टी कथा लेखेँ । आफ्नो लेखहरूमा जोडेर त्यसलाई पाठक समक्ष पनि पुर्याएँ । एउटा अकथालाई कथाको रुपमा प्रस्तुत गरेको थिएँ । वास्तवमा लेखिएका कुराहरुले समाजलाई सन्देश दिनु जरुरी छ भन्ने भावना संसार भर छ । त्यसैले होला, कथालाई समाजलाई चियाउने आँखीझ्याल हो भनिएको । भट्टी कथा लेखेपछि मलाई लाग्यो, कुनै सकारात्मक सन्देशका लागि पनि भट्टीलाई किन प्रयोग नगर्ने ? अनि लेखेँ नयाँ भट्टी ।
कथा
नयाँ भट्टी
१. मेरो गाउँको पूर्वी छेउमा फेरि अर्को भट्टी खुलेछ । नयाँ भट्टी । नयाँ भट्टी कसको हो त मलाई खासै थाहा छैन तर बाहिरबाटै आएकी नयाँ पसल्नीले खोलेको भनेर गाउँमा गाईँगुईँ सुनेको हुँ । राम्री पनि छिन् रे र सबैलाई एकदमै राम्रो व्यवहार गर्छिन् रे !
२. गाउँको विशेषता भनेको नै सबैलाई सबैका वारेमा थाहा हुनु हो । जो नयाँ आउँछ, ऊ मात्र नयाँ हुन्छ, बाँकी त सबै गाउँका नै हुने भएकाले नयाँ कोही आयो भने या पसल थाप्यो भने सबैलाई त्यसको जानकारी यस कारणले पनि हुन्छ कि केही दिनसम्म त्यही मात्र चिया पसल या चौतारीतिर छलफलको विषय हुन्छ । केटी रहिछ भने कसकी छोरी , नातिनी या विहे भएकी रहिछन् भने कसकी बुहारी वा कसकी पत्नी हो भनेर जानकारी नराख्ने कमै हुन्छन् । केटा रहेछ भने कहाँको हो,कसको छोरो वा नाति हो र किन हाम्रै गाउँमा आएछ त ? भन्नेसमेत चियो चर्चो गरिन्छ । झन एक्लै केटीले रक्सीसहितको होटेल थापे पनि चर्चा नहुने कुरै भएन । राम्री छिन्, रक्सी धित मर्नेगरी खान दिन्छिन् र पैसा पनि त्यस्तो महङ्गो लिन्नन् भन्ने चर्चाले फेरि गाउँमा नयाँ तरङ्ग ल्याएकै हो ।
तिम्रो नाम के हो त नानी ? तत्कालै चिनीविनाको हर्बल चिया दिँदै उनले भनिन्-म उषा मगर । यसै गाउँका जेठा मगरकी कान्छी छोरी । म बाबासँगै सानैमा यो गाउँबाट बाहिर गएकी रहेछु । पछि थाहा भयो, यहाँ हाम्रो जग्गा छ र घर पनि थियो । घर त भत्किएछ तर जग्गामा आएर यो पसल भनौँ कि भट्टी भनौँ थापेर बसेकी हुँ । होटेल कस्तो चलाउनु पर्छ र भट्टी नै भने पनि कुन अनुशासनमा चलाउनु पर्छ भनेर मैले सुरु गरेकी हुँ । मेरो सानीमाको छोरो पनि सँगै आउने छ र मेरा बुढा पनि अब मलाई सहयोग गर्न आउने छन् ।
३. न धेरै अग्ली, न धेरै होची, न धेरै मोटी , न धेरै दुब्ली । ठिक्ककी । न धेरै गोरी , न धेरै काली । ठिक्ककी । हँसिली । जे दिँदा पनि दुईहातले दिने। हाँसेरै बोलाउने, हाँसेरै बोल्ने। चिटिक्क परेकी बान्कीकी । लुगा पनि त्यति धेरै नलगाउने । जाडोमा पनि हाफ चोलो र स्कर्टमात्र लगाउने । घुँडामुनि कुनै पनि लुगा आउन नपाउने गरी चरिचिट्ट परेर बस्ने भनेपछि र हाँसेरमात्र बोल्ने भनेपछि अरु पसल्नीहरुले डाहा गर्न थालेको पनि सुनिन थालियो । अनि चिया र सियाका पसल्नीहरुले कुनै पुराना ग्राहक पसलतिर नहेरी कतै हिँड्न लागेको देखे भने भन्न थाले—त्यही नयाँ पसल्नीका तिर त जान लागेका हौला नि । पुरानो बाँकीचाहिँ छिटै तिर है , नत्र कठालो समाएर बेइज्जत गर्नु पर्ला नि ।
४.अनि केटाहरु पनि हाँसेर भन्थे—कति तिम्रोमात्र अनुहार हेर्नु नि । यसो उनको पनि कुरा सुनौँ, अनुहार पनि हेरौँ । साँच्चै पो राम्री छे त है । बानी पनि तिमीहरुको भन्दा त असल छ । रिसाउँदिनन् । पैसा पनि एकपैसा पनि छोड्दिनन् अनि उधारो पनि पटक्कै दिन्नन् । बरु हात हालेरै चल्नुपर्ने भने बानी रहेछ। काउकुती लगाउने र लुगा तानेर बस्नुस् भन्दै घन्टौँ राख्ने चलन चाहिँ रहेछ । रक्सी खान मन नभए नखाओ भन्ने तर बसेर बात मारूँ भनेर ढिपी गर्ने बानी रहेछ ।
५. सायद त्यसो गर्नुमा ग्राहकहरु भरिभराउ छन् है भन्ने पार्न पनि हुनसक्छ र बिस्तारै बानी पार्नका लागि अलमल्याएको पनि हुनसक्छ । तर एकजनामात्र पसलमा कसरी भ्याएको होला भनेरचाहिँ सबैलाई अचम्भ लागेको रहेछ । अरु कोही पनि छन् कि भन्दा सबैले उसैलाई देखेका कुरा गर्छन् । हामी भट्टीतिर नजानेलाई पनि एकपटक त हेर्न जाउँ जाउँ जस्तो गरी कुरा गरेको सुनियो ।
६.कोही भन्थे -यो त बम्बईबाट आएकी केटी हो , कताकी हो कसैलाई थाहा छैन । कोही भन्थे-यो दार्जीलिङतिरबाट आएकी गोरुको मम बेच्ने केटी हो । कोही भन्थे-यस्ती हँसिली केटी त यताकी हुँदै होइन, पक्कै नै भारततिरबाट नै आएकी हुनुपर्छ । तर उसको मिजासले भने सबैले मानेको के हो भने केटी सभ्य छे, चलाख छे, सिपयुक्त छे, पकाएको कुरा स्वादिष्ट बनाउँछे र ग्राहकलाई माया पनि गर्छे । रक्सी बेच्दा नापेरमात्र दिन्छे । तोकेको औँसमात्र बेच्छे । बाहिरबाट न त रक्सी लिएर आउन दिन्छे, न त बढी नै भयो भनेर आफ्ना पसलबाट रक्सी बाहिर लिएर जान दिन्छे , न त मातेर कसैलाई केही दुर्बचन बोल्न नै दिन्छे । मातेर जथाभाबी बोल्न थाले भने तत्कालै प्रहरीलाई बोलाउन पनि पछि पर्दिन भनेर केटाहरु डराउँथे रे पनि । अझ खासै विशेषता त उसको पसलमा चुरोट खान पनि दिन्न , आफू पनि चुरोट बेच्दिन रे । अनि खैनी, बिडी, पान पनि खान बन्देज लगाएकी छिन् रे । जति बोले पनि बोल, जति जिस्किए पनि जिस्केऊ , हात हालेर चले पनि चल तर फोहोर बचन बोल्न र सीमा नाघेर चल्न पनि बन्देज लगाएकी छिन् रे ।
७. रक्सी, ग्राहक र माया । रक्सी पसलका यी स्थायी भ्रम हुन् र निरन्तर चल्ने भयानक वृत्तको पाटो पनि हुन् । नियमित आकस्मिकता । रक्सी ग्राहक विना चल्दैन, ग्राहक रक्सी खाएपछि मायाका कुरा नगरी रहन सक्दैन र एकछिनपछि ती सबै आफैँ हराउँछन् भन्ने पनि उसलाई थाहा छ । कुनै माया त स्थायी पनि हुनसक्ला तर मनभित्रमात्रै । बाहिर भन्न नमिल्ने । तर उसको पसलमा एउटा भ्रम भने पाल्न पाइने रहेछ-भट्टीवाल्नी सबैलाई माया गर्छिन् । सबै ग्राहकलाई रक्सीसँगै माया बाँड्छिन् । तर त्यो माया क्षणिकमात्र हो कि स्थायी हो भनेर छान्ने समय अझै आएको छैन ।
८.हाम्रो गाउँका बीचैबाट पहाडी राजमार्गको बाटोमा मोटर दौडन थालेको छ । पहिले नेपाल भनौँ न राजधानी पुग्न हिँड्ने लाठेलाई पनि ३ दिन लाग्थ्यो , अहिले सामान्य बसमा पनि ४ घन्टामा काठमाडौँ पुगिन्छ । बाटोमा गाडीहरु दौडिरहेका हुन्छन् । उनको नयाँ होटल भनौँ कि भट्टीमा दसौँ गाडी रोकिन्छन् र सबैले खाना खान्छन् । कसरी एक्लैले त्यो व्यवस्था गरेकी होलिन् भनेर सबै छक्क परेका छन् । एक्लै केटी, नयाँ पसल भनौँ कि भट्टी छ अनि गाडीका लागि पनि रोकिने व्यवस्था छ र सबैलाई स्वादिष्ट र ताजा खान दिन सक्ने अनि परिचयका वारेमा खासै थाहा नभएको कसरी होला ?
९. कसले दियो त त्यो पसल या होटेल वा भट्टी राख्ने ठाउँ ? त्यो घर त पहिले जेठा मगर दाइको थियो अनि कसले कसलाई बेच्यो र अहिले कसको नाउँमा थियो र भाडामा कसले कसरी दियो ? अझ सुनियो-रक्सी नखानेहरुका लागि उसले चिया दिन नयाँ बेग्लै काँचका या स्टिलको कप राखेकी छन् रे र मधुमेह हुनेहरुका लागि बेग्लै हर्बल चियाको व्यवस्था गरेकी छिन् रे । सबैभन्दा ठूलो विशेषता त गाउँहरुमा उधारोमा केही पनि नदिनु नै हो नि त । उधारोमा त दिँदै नदिने भनेपछि एकथरि उधारोमा खान पल्केकाहरुलाई त्यो पसलको ढोका नै बन्द भएको मानिने भएछ । तर पनि उनको व्यवहारले भने सबै त्यतै ढल्किएका देखिए रे ।
१०. एकदिन त्यो पसल भनौँ कि भट्टी कस्तो रहेछ भनेर म पनि पुगेँ । यसो अनुहार हेरेको कता कता जेठा मगर दाइकी श्रीमती जेठी भाउजुको अनुहारसँग पो उनको अनुहार मिलेको जस्तो लाग्यो । अनि मैले सोधेँ- तिम्रो नाम के हो त नानी ? तत्कालै चिनीविनाको हर्बल चिया दिँदै उनले भनिन्-म उषा मगर । यसै गाउँका जेठा मगरकी कान्छी छोरी । म बाबासँगै सानैमा यो गाउँबाट बाहिर गएकी रहेछु । पछि थाहा भयो, यहाँ हाम्रो जग्गा छ र घर पनि थियो । घर त भत्किएछ तर जग्गामा आएर यो पसल भनौँ कि भट्टी भनौँ थापेर बसेकी हुँ । होटेल कस्तो चलाउनु पर्छ र भट्टी नै भने पनि कुन अनुशासनमा चलाउनु पर्छ भनेर मैले सुरु गरेकी हुँ । मेरो सानीमाको छोरो पनि सँगै आउने छ र मेरा बुढा पनि अब मलाई सहयोग गर्न आउने छन् । भट्टीवाल्नी भनेकी चरित्रहीन नारीमात्र हुन्छे भन्ने र होटेल भनेको फोहोर र खराब खानामात्र खुवाउने ठाउँ हो भन्ने धारणा परिवर्तन गर्न जन्म गाउँमा मैले सकेँ भने म आफूलाई भाग्यमानी सम्झने थिएँ ।
११. सुनेँ मैले-भट्टी चलाउने हुनाले म सबैकी हुनेछु भन्ने गलत धारणा पनि रहेछ गाउँमा । कृपया अबदेखि हजुरहरुले पनि त्यस्तो धारणा नराख्न अरुलाई पनि भन्नुहोला र मेरो पसललाई उदाहरणीय बनाउने सहयोग गर्नुहोला ।
१२. हाम्रो गाउँमा जहाँ सहरको पनि केही गुण देखिन थालेको थियो, अब झन होटेल वा भट्टीका वारेमा पनि नयाँ धारणा बन्न थालेको पाइयो ।
१३. उषाको भट्टीलाई हाम्रो गाउँमा नयाँ भट्टी भनिए पनि अब आदर्श चेलीको आश्रमको रुपमा लिइन थालेको छ । बेच्न त रक्सी नै बेचिन्छ , त्यो पनि साँझ पछिमात्र । साँझ ९ बजेसम्ममात्र । होहल्ला हुँदैन । झगडा हुन पाउँदैन । अब त उषाका बुढा कमल थापा मगर पनि उसलाई सघाउन आइसकेका छन् जो पूर्व प्रहरी निरीक्षकसमेत रहेछन् ।
१४. अनि भट्टी त गाउँमा नरहेको राम्रो तर रहे पनि नयाँ भट्टी जस्तो हुँदा त के भयो र ? भन्ने पनि देखिन थालेका छन् ।
क्रमशः