नागरिकले नेताको बचाउ र सुरक्षा गर्दै ‘गणतन्त्र जिन्दाबाद’ किन भन्ने !?

लोकसंवाद टिप्पणी

नागरिकले नेताको बचाउ र सुरक्षा गर्दै  ‘गणतन्त्र जिन्दाबाद’ किन भन्ने !?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ११, २०८०

नेपाललाई गणतन्त्र अफाव सिद्ध भएको भन्दै यतिबेला दुर्गा प्रसाई राजतन्त्र ल्याउने दाबीसहित आन्दोलनमा छन् । भलै उनको प्रदर्शनमा मंसिर ७ गतेपछि उल्लेख्य सहभागिता देखिएको  छैन ।

काठमाडौंमा राजतन्त्रको पक्षमा आन्दोलन हुँदै गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जिल्ला झापामा पृथ्वीनारायण शाहको शालिक बनाएर ज्ञानेन्द्रलाई नै अनावरण गर्न लगाइएको छ । प्रसाईं र लिङ्देनको जिल्ला झापामा राप्रपाको बलियो उपस्थिति छ । राजावादीहरुको बढ्दो सलबलाहट पछि आफूलाई गणतन्त्रवादी भनिने दलहरु भित्र एकप्रकारको आक्रोश र छटपट्‌याहट देखिएको छ । काँग्रेसभित्र सुरुवाती दिनहरुमा गणतन्त्रको नारा लगाउने गगन थापाले शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई च्याँखे थापेर नबसी पार्टी खोलेर चुनाव लड्न चुनौती दिए । 

शनिबार कांग्रेसको गुल्मी जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘पूर्वराजाले पनि जुवाको च्याँखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ । जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ, बहुमत ल्याउने संविधान बदल्ने, राजतन्त्र फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’

थापाको यो भनाई पछिल्लो समयमा राजतन्त्रको नारामा प्रदर्शन र अन्य गतिविधि गरिरहेका राप्रपा र दुर्गा प्रसाईं समूहप्रति पनि लक्षित थियो । कतिपयले बीपीले राजतन्त्र मानेको र कांग्रेसले बीपीको बाटो छाड्यो भन्दा कांग्रेस कार्यकर्ता नाजवाफ हुन आवश्यक नभएको भन्दै थापाले नेपालमा राजाहरूकै बदनियतका कारण राजसंस्था गएको बताए । गणतन्त्रमा गणतन्त्रमाथि नै प्रश्न उठाउन, गणतन्त्र चाहिँदैन भन्न र गणतन्त्र फाल्छु भन्न पाइने भन्दै उनले सरकार आत्तिन नहुने पनि उल्लेख गरे । 

अब पनि राजनीतिक द्वन्द्व र भागबण्डाका नाममा एकले अर्काको उछित्तो काडेर, बिरालोले खाँबो चिथोरेजस्तो नागरिकको जीवनमा चिथोरेर बस्ने अवस्था छैन । गणतन्त्र कसैका कारण खतरामा छ भने, त्यो नेताहरुका कारण खतरामा छ ।नागरिकको लागि काम गरेका दिन नागरिक  आफैं सडकमा उत्रिएर नेताको बचाउ र सुरक्षा गरिहाल्छन् नि !  जसरी हिजो हतियार बोक्दा देखि जनआन्दोलनसम्म जनताले साथ दिए, भोलि पनि दिन्छन् । नेताहरु सुध्रिएनन् भने व्यवस्था त के हुन्छ भन्न सकिन्न, तर देश अनेकौं छद्मभेषीहरुले प्रयोगशाला बनाउने पक्कापक्की छ । बेलैमा सचेत हुने हो कि !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसम्मले पछिल्लो समयमा राजतन्त्र ल्याउने भन्दै भइरहेको प्रदर्शनप्रति कडा टिप्पणी गरिरहेका छन् । नेपालमा २४० वर्षसम्म रहेको शाह तन्त्रमा देशले कुनै फड्को नमारेको भन्दै गणतन्त्रका १५ वर्षमा त्यो सबै अपेक्षा पूरा नहुने दाबी गरिरहेका छन् ।

तर राजनीतिक दलहरुले जसरी टिप्पणी गरे पनि नेपालमा राजावादीहरुको मनोबल उक्साउने र गणतन्त्रप्रति नै नकारात्मक धारणा विकास हुने अवस्थाको सिर्जना गर्नमा दलहरु कुनै न कुनै रुपमा जिम्मेवार छन् । २०६३/६३ को जनआन्दोलन र माओवादीले सञ्चालन गरेको १० वर्षको सशस्त्र युद्धले राजतन्त्रको जग नराम्ररी खल्बलियो । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गर्‍यो । 

अहिले सत्ता र यसको वरिपरी रहेका काँग्रेस, एमाले, माओवादी र समाजवादी नै गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेका पार्टी हुन् । यी पार्टीसँग जनताका केही गुनासा र धेरै अपेक्षा थिए । तर यी दलहरुले २०४६ सालको परिवर्तनपछि जसरी देशलाई सही नेतृत्व दिन असफल भए, त्यसरी नै गणतन्त्र आएपछि देशलाई अघि बढाउन सकेनन् । २०६३ पछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको चरित्र पनि पुरानै संसदवादी दलहरुको भन्दा भिन्न भएन ।

गणतन्त्रका १५ वर्षमा झण्डै १ दर्जन सरकार बने । प्रचण्ड, देउवा, केपी शर्मा ओली, माधवकुमार नेपालजस्ता नेताको वरिपरी गणतन्त्रका १५ वर्ष बिते । तर देशले नयाँ दिशा पाउन सकेन । भलै देशका गाउँगाउँमा मोटरबाटा पुगेका छन्, देश संघीयतामा गएको छ, शैक्षिक र स्वास्थ्य संस्थाहरु उल्लेख्य रुपमा बढेका छन्, सञ्चार क्षेत्रमा त क्रान्ति र भ्रान्ति दुवै यति तीव्र गतिमा भयो कि कसैले सोच्न पनि सक्दैनन् । तर के विकास यति नै हो त ? जनताको सुख र समृद्धि खै ? सहरी र ग्रामीण अर्थतन्त्रको विकास र मोडल खै ? जनताले समृद्धि आफ्नो भान्सामा खोज्छ, के गणतन्त्रपछि नेपाली जनताको भान्सामा कुनै सुधार भयो त अर्थात् जनताले सर्वसुलभ जीवन बाँच्न पाएनन् । महंगी, भ्रष्टाचार, कालोबजारी, तस्करी र बिचौलियाको कब्जामा जनताको जीवन पुग्यो । अब प्रश्न उठ्छ, राजतन्त्रमा चै यस्तो थिएन त ?

यसको उत्तर पनि सहज छ,–थियो, तर यति अचाक्ली थिएन । भए पनि जनताले विगतमा भुल्दै गए । अर्को कुरा यस्तै राजतन्त्रमा यस्तै बिकृति भएर त गणतन्त्र ल्याएको । दलहरुले हिजो राजतन्त्रमा पनि त यस्तै थियो नि भनेर छुट पाउँदैनन् । गणतन्त्र जनताका लागि ल्याएको हो, न कि सीमित घरानियाँ नेताहरुका लागि । तर गणतन्त्र सिंहदरबार, बालुवाटार र शीतल निवासका लागि मात्रै आएको होइन । संघीयता देशको समृद्धिको माध्यम बन्नु पर्दथ्यो । तर प्रदेश र स्थानीय सरकारसँगै केन्द्रका बिकृति पो गाउँगाउँ पुगेका छन् । 
गणतन्त्रमा भूमिको रक्षा हुन सकेन, भारतसँग सीमा जोडिएका कतिपय क्षेत्रका नेपाली जनता अझै पनि भारतीय बाटो र बजारमा आश्रित हुनुपरेको छ । शिक्षा, स्वास्थ्य सहर केन्द्रित छन् । शिक्षा र स्वास्थ्यमा व्यापार गर्नेहरुले त सहर मै राख्ने हुन् । तर सरकारले राज्यको लगानीमा ग्रामीण जनताका लागि शिक्षा र स्वास्थ्यको प्रबन्ध गर्न सक्दैन र ? यो २१औं शताब्दीमा पनि गर्भवतीले सुत्केरी हुन नसकेर बाटैमा मृत्युवरण गर्नुपर्ने अवस्थाले राज्यलाई नै कुरीकुरी गरेको छैन र ? 

कृषिको व्यवसायीकरण गर्न किन सकिएन ? देशलाई कृषि उपजमा समेत परनिर्भर बनाइराख्ने अवस्था गणतन्त्रका लागि सुहाउँदो हो र ? युवाहरुको लर्को बिदेश तिर लाग्ने र नेपाल बसेका बा आमाले मलामी पनि नपाउने अवस्थाले गणतन्त्रलाई गिज्याएको हैन र ? सहरमा व्यवस्थित सहरीकरण र समृद्ध गाउँ निर्माण गर्ने, ठूला र अत्याधुनिक कृषि फार्महरू सञ्चालन गर्ने, युवाहरुलाई स्वदेशमा रोजगारीको सिर्जना गर्ने, उत्पादन भएका वस्तुहरुको ‘सप्लाई चेन’ निर्माण गर्न गणतन्त्रलाई कसले रोक्छ ? भर्खरै तिहारमा भारतीय बजारबाट ल्याएका कागजका फूल महंगो मूल्यमा बिक्दा नेपाली किसानको फूल बजारमै फालेर जानुपर्ने अवस्था बनेका किसानले ‘गणतन्त्र जिन्दावाद’ भन्छ त ? 

अब नेताहरुका पनि आफ्नै बाध्यता होलान् । तर्क गरिहाल्छन्– रातारात छुमन्तर हुँदैन । त्यो त जनतालाई थाहा छ । १५ वर्षमा छुमन्तर नहुने कुन कुन काम भए त ? नेताको नेतृत्व कौशलको परीक्षण अप्ठ्यारो अवस्थामै हुन्छ । तर दलहरुले संविधान र शान्ति प्रक्रिया भन्दै १५ वर्ष बिताउने अनि जनताले भोको पेट, नाङ्गो जिउ र खाली खुट्टा लिएर लाखौं नेता, हजारौं मन्त्री र सांसद, तिनका आसेपासे, हुक्के, चम्चे र बैठके जिन्दावाद भन्न सक्दैनन् नि  !

 त्यसकारण यो नेताहरु सुध्रिने उपयुक्त समय हो । अब पनि राजनीतिक द्वन्द्व र भागबण्डाका नाममा एकले अर्काको उछित्तो काडेर, बिरालोले खाँबो चिथोरेजस्तो नागरिकको जीवनमा चिथोरेर बस्ने अवस्था छैन । गणतन्त्र कसैका कारण खतरामा छ भने, त्यो नेताहरुका कारण खतरामा छ ।नागरिकको लागि काम गरेका दिन नागरिक  आफैं सडकमा उत्रिएर नेताको बचाउ र सुरक्षा गरिहाल्छन् नि !  जसरी हिजो हतियार बोक्दा देखि जनआन्दोलनसम्म जनताले साथ दिए, भोलि पनि दिन्छन् । नेताहरु सुध्रिएनन् भने व्यवस्था त के हुन्छ भन्न सकिन्न, तर देश अनेकौं छद्मभेषीहरुले प्रयोगशाला बनाउने पक्कापक्की छ । बेलैमा सचेत हुने हो कि !