लोकसंवाद संवाददाता | समाचार | मंसिर १२, २०८०
आफ्ना चर्का अभिव्यक्तिका कारण सधैं विवादमा आउने पात्र हुन्, दुर्गा प्रसाईं । उनी कसैको समर्थन र विरोधमा जस्तोसुकै कठोर बचन बोल्न पछि पर्दैनन् । उनको बोलीले नै उनलाई विवादमा ल्याइरहन्छ ।
कुनै समयमा एमाले अध्यक्ष केपी ओलीलाई ‘हजुरबुवा’ भन्दै सार्वजनिक रुपमै प्रशंसा गर्ने प्रसाईं यतिबेला कट्टर विरोधीका रुपमा प्रस्तुत भइरहेका छन् । केपी ओलीको विदेशी कम्पनीमा समेत करोडौं लगानी रहेको दाबी गरेका प्रसाईंको आरोपलाई केपी ओलीले सार्वजनिक कार्यक्रमबाटै खण्डन गर्नुपर्यो । त्यतिमात्रै होइन उनी ओलीविरुद्ध अनेकौं पटक खनिएका छन् ।
त्यसअघि माओवादी अध्यक्ष प्रचण्डसँग निकट भएका प्रसाईं प्रचण्डको खुबै प्रशंसा गर्थे । तर एमाले र माओवादी एकतापछि ओलीसँग निकट बनेका उनी प्रचण्डको आलोचकका रुपमा देखा परे । ओलीको आलोचक बन्दा भने उनी प्रचण्डमा राजनीतिक संस्कार पाएको भन्दै प्रशंसामा उत्रिए ।
प्रसाईं तिनै पात्र हुन्, जसलाई प्रचण्डले राजनीतिमा पुलपुल्याए र ओलीले एमालेको केन्द्रीय सदस्य बनाएर राजनीतिक हैसियत प्रदान गरे । आफ्नै राजनीतिक उचाई बढाउन सहयोग गरेका ओली र एमालेका अर्का नेता महेश बस्नेतको चर्को आलोचना गर्ने उनले गत बिहीबार राजधानीमा व्यवस्था फाल्नै भन्दै प्रदर्शन गराए । तर यो कार्यक्रम महेश बस्नेत इन्चार्ज भएको युवा संघको कार्यक्रमकै दिन पारे । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं समूहलाई बल्खुमा प्रदर्शन गर्न ठाउँ तोकिदियो ।
यो कुनै व्यवस्था विरुद्ध भन्दा पनि दुवैको एक अर्कालाई शक्ति देखाउने होडका रुपमा देखियो । सम्भावित झडप रोक्न दुई फरक स्थानमा प्रदर्शनको ठाउँ तोकिदिए पनि त्यो दिन झडप रोक्न सकेन र सामान्य झडपहरू भए । एमाले अध्यक्ष ओली र महेश बस्नेतको चर्को आलोचना गर्ने प्रसाईलाई सरकारले नियन्त्रण र कारबाही गर्नुपर्ने माग एमालेको छ । तर विगतमा एमाले सरकारमा हुँदा प्रसाईंले प्रचण्डसहितका नेताको मानमर्दन र चर्को गालीगलौज गर्दा प्रसाईलाई ओलीले नै केन्द्रीय सदस्य बनाएर पुरस्कृत गरेका थिए । काँग्रेसबाट माओवादी र एमाले हुँदै उनी यतिबेला गणतन्त्र विरोधी अभियन्ता र हिन्दूराष्ट्र तथा राजतन्त्रको पक्षमा उभिएका छन् ।
उनी एमाले विरोधी हुनुमा उनको स्वार्थमा ओलीबाट कुनै काम नहुनु नै भएको विश्लेषण गरिन्छ । उनले २०७४ सालमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाएको तस्बिर भाइरल बनेको थियो । उनले आफूले झापामा स्थापना गरेको मेडिकल कलेजलाई सम्बन्धन लिने कोसिसमा ओली र प्रचण्डलाई एकै ठाउँमा राखेर मार्सी भात खुवाएका थिए ।
ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर प्रशस्तै चर्चा पाएका प्रसाईं एमालेको दशौं महाधिवेशनपछि एमालेको केन्द्रीय सदस्य बने । उनले त्यसबेला पनि सरकारमा रहेको एमालेका नेतामार्फत सम्बन्धन लिने कोशिस गरे । तर सफल भएनन् । गत निर्वाचनमा झापामा चुनाव लड्न चाहेका उनलाई ओलीले टिकट नदिएपछि झनै रुष्ट बने ।
मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्साशास्त्र अध्यापन गराउन सम्बन्धन दिन नहुने सहितका माग राखेर प्रा.डा.गोविन्द केसीले पटक पटक अनसन गरेपछि प्रसाईंको मेडिकल कलेजलाई पनि सम्बन्धन नदिन सरकारमाथि दबाब पर्यो ।
ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर प्रशस्तै चर्चा पाएका प्रसाईं एमालेको दशौं महाधिवेशनपछि एमालेको केन्द्रीय सदस्य बने । उनले त्यसबेला पनि सरकारमा रहेको एमालेका नेतामार्फत सम्बन्धन लिने कोशिस गरे । तर सफल भएनन् । गत निर्वाचनमा झापामा चुनाव लड्न चाहेका उनलाई ओलीले टिकट नदिएपछि झनै रुष्ट बने ।
एमालेको केन्द्रीय सदस्य भएकै समयमा झापाको काँकरभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सुरु गरेपछि एमालेले उनलाई निष्काशन गरेको हो । त्यसपछि उनी एमाले विरुद्ध झनै उग्र रुपमा प्रस्तुत हुन थाले । केही समयअघि एमालेकै कार्यकर्ताले प्रसाईलाई कालोमोसो पनि दले । आफूमाथि कालोमोसो दलिएपछि उनी युवा संघ विरुद्ध खनिए ।
बैंकको ब्याज र किस्ता नतिर्न आग्रह गर्दै देशव्यापी अभियान चलाएका प्रसाईंले लघुवित्त, सहकारीदेखि बैँकसम्मको ऋण मिनाह हुनुपर्ने आवाज उठाइरहेका छन् । उनको आन्दोलनमा यस्तै ऋणीहरू पनि सहभागी छन् । व्यवस्था परिवर्तन गर्ने भनेको उनको आन्दोलनको प्रमुख मागमध्ये २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्ने र २० लाख रुपैयाँभन्दा माथिको ऋण पनि २० वर्षभित्र ६ प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने भन्ने पनि छ ।
आफूलाई कालोमोसो दलिएपछि ओलीप्रति उग्र बनेका प्रसाईंले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको तर ओलीमा नभएको टिप्पणी गरे । केही समयअघि उनले क्याम्बोडियाको टेलिकम क्षेत्रमा ओलीको लगानी रहेको अभिव्यक्ति दिएपछि त एमाले झनै आक्रामक भयो । एमाले अध्यक्ष ओलीले सर्वदलीय बैठकमै प्रसाईलाई पक्राउ नगरेकोमा सरकारको आलोचना गरे । प्रसाईंको कार्यक्रम राखेकै ठाउँमा युवा संघले कार्यक्रम राख्यो । जसलाई एमालेप्रति आक्रामक बनेका प्रसाईलाई चुनौती दिने युवा संघको योजनाका रुपमा हेरिएको थियो । युवा संघले भने यो कुरा अस्वीकार गर्यो ।
राजनीतिक विश्लेषकहरु एमाले र केपी ओलीबाट धेरै अपेक्षा पूरा नभएपछि उनको विरोधी भएको बताउँछन् । प्रचण्डबाट अपेक्षा पूरा नभएपछि शक्तिशाली र सत्तामा रहेका ओलीको पक्षमा उभिएका प्रसाई उनीबाट पनि स्वार्थ पूरा नभएपछि राजावादी बनेको उनीहरुको भनाई छ । तर यतिबेला प्रसाईविरुद्ध एमालेले आक्रामकताले एक व्यक्तिविरुद्ध सिंगो पार्टी लागेजस्तो गरी राजनीतिक रंग दिएकोमा धेरैले आश्चर्य मानेका छन् ।
सार्वजनिक अभिव्यक्तिहरूमा प्रसाईं आफू कुनै पनि स्वार्थ लिएर नेताहरूको पछि नलागेको र अहिले देश सिध्याउन लागेकाले नागरिक बचाउनका लागि सडकमा आउनुपरेको दाबी गरी रहेका छन् ।