‘योगदानको मूल्याङ्कन नगरी फटाहा, दलालले ठगे भनेर हाम्रो मागप्रति सुनवाई नगर्ने हो भने व्यवसाय नै बन्द गर्छौं’

‘योगदानको मूल्याङ्कन नगरी फटाहा, दलालले ठगे भनेर हाम्रो मागप्रति सुनवाई नगर्ने हो भने व्यवसाय नै बन्द गर्छौं’

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  जेठ २३, २०७६

रोहन गुरुङ 
रोहन गुरुङ नेपाल वैदेशिक व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ । संघले अहिलो आन्दोलन गरेर ७ दिनसम्म वैदेशिक रोजगारीका काम ठप्प पारिरहेको छ । सरदर दैनिक १३ सयको हाराहारी नेपाली श्रमिक खाडी मुलक गइरहेको सन्दर्भमा गत वर्ष सरकारले नेपाली कामदारलाई मलेसिया जान रोक लगायो । त्यसको करिब ५ महिनापछि नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौतामा मलेसिया रोक्का फुकुवा गर्ने सहमति भयो । तर, त्यसबारे नेपाल सरकारले चासो नदेखाएपछि पाँच बुँदे माग राखेर वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा छन् । व्यवसायीले २०७६ जेठ १७ देखि २३ सम्म सम्पूर्ण कामकाजलाई ठप्प गरेका छन् । २०७६ साउन १५ भित्र सरकारले सबै समस्याको समाधान नगरे कुनै पनि म्यानपावर कम्पनीले सरकारले तोकेको धरौटी नबुझाउने र अपमानित भएर यो पेसा नगर्ने मनस्थितिमा पुगेको सन्दर्भलाई लिएर लोकसंवाद डटकमले नेपाल वैदेशिक व्यावसायी संघको अध्यक्ष रोहन गुरुङसँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ उक्त अन्तर्मन्थनको मूल अंशः

नेपाल वैदेशिक रोजगार व्यावसायी संघले आन्दोलन गरिरहेको छ, त्यसको खास कारण के हो ?

हामीले अहिले पाँच बुँदे विषय वस्तुलाई अगाडि बढाएका छौं । पहिलो, हामीले करोडांै रकम धरौटी राख्न पर्ने व्यवस्था गरिएकोे छ । यो २०७६ भदौ १८ गतेसम्म हामीले नगद धरौटी न्यूूनतम ५० लाख रूपैयाँ एउटा म्यानपावर कम्पनीले राख्नु पर्ने भनिएको छ । अरु जतिसुकै निजी क्षेत्र स्कुल, बिमा समितिलगायत विभिन्न कम्पनीलाई नगद धरौटीको ब्याज दिने व्यवस्था गरेको देखियो । तर, म्यानपावर कम्पनीलाई धरौटीको ब्याज दिन सरकारले मानेन । हामीले पटक–पटक मन्त्रालयमा कुरा राख्यौं । तर, सुनुवाइ भएन । 

दोस्रो, व्यवसायी मर्जरमा जान सक्ने एउटा व्यवस्था पनि गरिएको छ । मर्जरमा जाने व्यवसायीलाई के सहुलियत दिने त राज्यले ? त्यो प्रष्ट छैन । 

तेस्रो, मलेसियाको रोजगारी नै हो । २०७५ जेठ २ गते के–कति कारणले रोकियो ? नेपाल सरकारको माग के थियो ? मलेसिया जाने नेपाली श्रमिकलाई विभिन्न ठाउँमा मलेसिया सरकारले राखेका कार्यालयले आर्थिक भार पार्‍यो भनियो ।  त्यो आर्थिक भार पार्नु भएन भनेर त्यो संस्थाको खारेजी नेपाल सरकारले जेठ २ गते गरेको थियो ।

२०७५ कात्तिक १२ गते मलेसिया सरकारसँग श्रम सम्झौता भयो । त्यो श्रम सम्झौतामा के भयो भने नेपाली श्रमिकलाई आर्थिक व्ययभार पर्‍यो भनेर जुन नेपाल सरकारले उठाएको विषयवस्तु हामीले सुन्यौ । अब उपरान्त ती संस्थामा कही कतै कुनै पनि रकम तिर्नु पर्दैन भनेर मलेसिया सरकारले लिखितम गरिसकेपछि अब रोक्नु पर्ने कारण के हो त ? सरकारले हामीलाई भनिदिनु पयो ।  एमओयुमा भएका केही बँुदाको अध्ययन गर्दा यो–यो आधारमा नेपाली श्रमिकलाई पठाउँदाखेरि त अप्ठेरो पर्ने देखियो भनेर कि भन्नुपर्‍यो । त्यहाँनिर हाम्रो कमीकमजोरी देखियो अथवा हामी चुक्यौ भन्न सक्नुपर्‍यो । यो परिमार्जन गर्न  अनुरोध गर्नु पर्ने देखियो भनेर अथवा स्पष्टसँग भन्न सक्नु पर्‍यो । त्यो पनि भनिँदैन । खाली हुँदैछ, प्रयास हुँदैछ, त्यो मलेसिया सरकारले रोकेको हो भनिन्छ । मलेसिया सरकारले बारम्बार भनिसक्यो कि, हामीले रोकेको होइनौ, हामी पर्खिराखेका छौं । लिखितरूपमा कति पटक पठाइसक्यो भनेपछि यहाँभित्र के स्वार्थ लुकेको  छ सरकारमा बसेकाको भन्ने हाम्रो भनाई हो ।

म बारम्बार भन्ने गर्छु भने गाईका दुध मिठो, घ्यू पनि मिठो पवित्र, गौंत पवित्र, गोवर पनि शुद्ध तर गोठालोचाहिँ खराब ?

 

राज्य सञ्चालकमा केही नियत लुकेको छ भन्ने यहाँहरूको ठम्याइ हो ?

त्यो त मैले भनिराख्नु पर्दैन होला । व्यवहारले देखाउने कुरा हो । लगभग यो पुष्टि भइसकेको अवस्था छ । राज्य सञ्चालनमा रहेका व्यक्तिको अझै पनि बुद्धि पलाउँदैन भने अब स्पष्ट भाषामा बोल्नुपर्ने स्थिति आउँछ । 

राज्य सञ्चालकको नियतमाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ । खासगरि रेमिट्यान्सबाट देश चलाउँछौ भनेर उहाँहरूले शब्दमा भन्ने तर राज्यले व्यवसायीलाई अथवा वैदेशिक रोजगारीमा जानेलाई सहजीकरण गर्नमा किन कन्जुस्याइ हुने गर्छ पटक–पटक ?

तपाईंले उठाउनुभएको विषय वस्तुको उत्तरचाहिँ अबको तीन महिना अर्थात् साउनको १५ गतेभित्र हामीलाई राज्यले जवाफ दिनुपर्‍यो । हामीले यो समस्यालाई टुंगोमा पुर्‍याउन भनेर नै सांकेतिक रूपमा आन्दोलन गरेका हौं । वैदेशिक रोजगार राज्यलाई आवश्यक छ भने यसमा कहाँ के समस्या छन् त्यो समाधान गर्दै जाऊ । 

हाम्रा कमी–कमजोरी कहाँ छन् ? कहाँनिर सुधार्नु पर्ने हो ? त्यो पनि हामीलाई भन्दिनुस् ।  हामी पनि सुधार गर्न तयार छौं ।

होइन, वैदेशिक रोजगार राज्यलाई आवश्यकता छैन भन्ने लागेको हो भने पनि भनिदिए हुन्छ । यदि आवश्यकता छैन भन्छ भने करोडौं लगानी गरेर व्यवसाय गर्नलाई किन लाइसेन्स दिएको त ? करोडांै धरौटी लगाएर पेसा, व्यवसाय गर्न नसक्ने नीति नियम बनाएर राखेर, लाइसेन्स दिएर फेरि प्रमुख गन्तव्य मुलुकमा कामदार पठाउन बन्द गराएर अनि करोडौ करोड धरौटी राखेर लाइसेन्स दिन आवश्यक किन प¥यो ? 

राज्य वैदेशिक रोजगारीको व्यवसायलाई धरासायी बनाउन  लागि रहेकाे छ भन्न खाेज्नु भएको हो  ?

त्यो कुरालाई अब टुंगोमा पुर्‍याउनु पर्छ भनेर हामी अगाडि बढेका हौं । सरकारी पक्षले स्पष्ट बोलेको छैन । व्यवहार त्योतर्फ उन्मुख छ । त्यही कारणले स्पष्ट भाषामा भनिदिनुपर्यो कि अब उपरान्त वैदेशिक रोजगारीमा नेपाली श्रमिक जाँदैनन् । यसबारे राज्यले सूचना जारी गरिदियोस् । 

अहिलेसम्म यी म्यानपावर व्यवसायीले पठाएका नेपाली कामदारको सम्पूर्ण जिम्मेवारी सरकारले लिइदेओस् । ती कामदारको करार नसकिएसम्म हामीले जवाफ दिएर बसिरहेका छौं ।  हामीले पठाएका कामदारको केही करार अवधि समाप्त नभएका युवामाथि भैपरी आउने विदेशी समस्या त्यसको जवाफी राज्यले जिम्मा लिनुस् । हामीसँग हाम्रो कार्यालयमा कार्यरत रहेका ६०/७० हजारलाई रोजगारी दिइरहेका छौं । हाम्रा कर्मचारीको हिसाबले यिनीहरूको रोजगारीको ग्यारेन्टी गर्नुस् । हामीले राखेको धरौटी फिर्ता गरिदिनुस् । हामी छोडिदिन तयार छौं । यो अपहेलित भएर हामीले गरेको योगदानको कुनै पनि मूल्यांकन हुँदैन । बेरोजगारी समस्याको समाधान गरिदिनुपर्ने यी व्यवसायले, वर्षको ७ खर्ब रेमिट्यान्स ल्याउने बाटो बनाइदिने पुलको काम गरिदिने यी व्यवसाय, ५६ प्रतिशत घरधुरीको चुलो यही पेसा व्यवसायबाट रोजगारी प्राप्त गरेर आएको रेमिट्यान्सबाट चलेको छ । यी व्यवसायीको मागको कुनै सुनुवाइ हुँदैन । यी व्यवसायीले उठाएका जायज कुराको पनि सुनुवाइ हुने कि नहुने भने कुरा साउन १५ गतेभित्र टुंग्याउनुपर्‍यो । 

राज्य सञ्चालक तपाईंहरूका माग नसुन्ने अवस्थामा पुग्नको लागि व्यवसायी कति जिम्मेवार छन् जस्तो लाग्छ ?

व्यवसायीका पनि कमी कमजोरी होलान् । तर, एउटा कुरा म के भन्न चाहान्छु भने हामीले २०७२ सालमा १० हजार सेवा शुल्क तोकिँदादेखि नै आन्दोलन गरिरहेका छौं । दुई पटक आन्दोलन गर्‍यौ । कार्यदल गठन भयो । विभिन्न ३१ बुँदे सहमति भयो । व्यवसायलाई विभिन्न आश्वासन दिइए । तर, ती कुनै कार्यन्वयन भएनन् । हामीले त्यही दिनदेखि भनिरहेका छौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई एक रूपैयाँ नलिएर पठाउन हामी पनि तयार छौं । तर, त्यो चिज प्राप्त गर्न कहाँ चुनौती छ त ? त्यो चुनौतीलाई अध्ययन गरेर कसरी त्यो चिज प्राप्त गर्न सकिन्छ भन्ने कुरामा छलफल हुनु पर्‍यो, तयारी हुनु पर्‍यो, अध्ययन हुनु पर्‍यो । 

बिना अध्ययन सिंहदरवारमा बसेर निर्णय गरिदिने । रोजगार तथा गन्तव्य मुलुकको नीति नियम के छ त ? नेपालबाट मात्रै जान्छन् वैदेशिक रोजगारमा कामदार ? 

लगभग १२/१५ मुलुकबाट मानिस वैदेशिक रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा पुगिरहेको अवस्था छ । वैदेशिक रोजगार कसैले रोकेर रोकिने विषय होइन । एउटा कुरा गरौं न । यहाँचाहिँ २५ हजार तलब पाएर काम गरिरहेको कुनै युवाले दुबईमा तथा साउदीमा गएर त्यहाँ ६० हजार तलब पायो भने ऊ त्यहि जान्छ । कसैले रोकेर रोकिन्छ ? यो विदेश पनि तपाईंको खाडीमा अहिले विभिन्न विकसित मुलुकमा लाखौ नागरिक त्यहाँ कार्यरत छन् । हो, हामी तल्लो दर्जाको लेवरको काममा गए होला अथवा हाम्रा मानिस लेबर तहका उनीहरू कन्सल्टेन भएका होलान् । ठूलो प्रोजेक्ट म्यानेजरमा होलान् ।  उनीहरू पनि त्यहाँ आएका छन् । किन आए त भन्दा आर्कषक तलव पाएर आको त हो । नत्र खाडीको त्यो ५० डिग्री घाममा किन आए त युकेबाट, किन आए अमेरिकाबाट, किन आए जापानबाट, किन कोरियाबाट त्यहाँ पुगे । स्पष्ट छ– आर्कषक तलव र सेवा सुविधा पाएर गएका त हुन् नि । 

नेपालमा पनि जबसम्म एउटा कुरा के छ भने रोजगारीको अवसर यही सृजना गर्नलाई सरकार प्रयत्नशील छ, त्यसलाई आम नागरिकको हिसाबमा हामीले साथ सहयोग गर्नुपर्छ भन्नेमा दुई मत नै छैन । तर, वैदेशिक रोजगारलाई पनि जोगाऊ है । हामीसँग विदेशी मुद्रा आर्जन गर्ने अर्को भरपर्दो स्रोत साधन राज्यसँग छैन । कुनै वस्तु उत्पादन गरेर पैठारी गरेर विदेशी मुद्रा कमाउने अवस्था छैन । विस्तारै गर्दै बनाउँदै जाऊ, गर्दै जाऊ, टुरिजम लाइनका कुरालाई विकसित गर्दै जाऊ । पर्यटक भित्रायाएर पर्यटन व्यवसाय फस्टाएपछि डलर प्राप्त होला । तर, सँगसँगै के भने वैदेशिक रोजगारी जोगाऊ । देशप्रतिको चिन्ता हामीलाई पनि छ । तर, कुनै व्यक्तिको सनकको भरमा उसले भन्दैमा जे–जे भन्छ त्यो हुनुहुँदैन । हामीले समयमा कोट्याउनु पर्ने कुरा के हो भन्दिनुहोस भनेर र वारम्बार भन्दै आउदा पनि सुनुवाइ नभएपछि अहिले अब अन्तिम टुङगोमा पुर्‍याउनको लागि यो पहिलो सांकेतिक ध्यानार्कषण गर्ने कार्यक्रम हो । साउन १५ गतेसम्म हामी टुंग्याउँछौं भनेर लागेका छौं ।

यो अन्तिम आन्दोलन हो भन्न खोज्नुभएको हो ?

साउन १५ गतेभित्र हामी टुंग्याउँछौ । बीचमा केही छलफल र बहसका कुरा होलान् । नभएको खण्डमा पनि साउन १५ गतेसम्ममा टुंग्याउँछौ ।

टुंग्याउने भनेको तपाईंहरू सबैखाले काम बन्द गर्नुहुन्छ ?

यो कुरा मैले अघि नै भनिसके दोहोर्‍याइरहनुु आवश्यकता छैन होला । 

सरकारले केही पनि गरेन, के तपाईंहरूले अहिलेजस्तै श्रमिक पठाउने काम बन्द गछौं भन्ने हो ? 

हामी कोही व्यवसायीले पनि धरौटीको रकम राख्दैनौ । यो करोडौं धरौटी रकम राखेर अपहेलित भएर हामी यो काम गर्ने पक्षमा छैनौं । 

वैदेशिक रोजगारीमा जनस्तरमा आकर्षण पनि भइरहेको देखिन्छ । जो–जो गइरहेका छन् ऊ अथवा उसका परिवारका सदस्यले म्यानपावर व्यवसायीलाई नै नकरात्मक ढंगले लिने र बुझ्ने गरिरहेको र राज्य सञ्चालक जसले व्यवसायी सहजीकरण गर्नुपथ्र्याे, नगर्नुमा वा नकारात्मक रूपमा बुझ्नमा चाहिँ व्यावसायीको भूमिका जिम्मेवार छ कि छैन ? जस्तैः जुन परिवारको सदस्य वैदेशिक रोजगारीमा छ, त्यो पनि व्यवसायलाई अथवा म्यानपावर कम्पनीकै कडा आलोचना गरिरहेको भेटिन्छ । आम जनमानसदेखि राज्यको व्यवहारले नै त्यस्तो देखाइरहेको छ, त्यसमा संघको के बुुझाइ छ ?

म बारम्बार भन्ने गर्छु भने गाईका दुध मिठो, घ्यू पनि मिठो पवित्र, गौंत पवित्र, गोवर पनि शुद्ध तर गोठालोचाहिँ खराब ? म के भन्न चाहान्छु भने अहिले बेलाबेला विभिन्न सामाजिक सञ्जालमा विदेशमा कार्यरत रहेका युवाले धेरै कमेन्ट लेख्ने गरेको देख्छु । विदेशमा नआऊ, विदेशमा आएर केही काम छैन, यो वा त्यो म्यानपावर दलाल फटाहा छन् लगायतक लेखेको पाइन्छ । 

म्यानपावर व्यवसाय तपाईंहरूका लागि दलाल रहेछ । यही दलालले खोजेको जागिर खाएर किन बस्नुहुन्छ त ? त्यहाँबाट फर्केर आउनुस् न ।  दलालले ठगे वा भनेको तलब पाएन भने किन बस्नुहुन्छ त त्यहाँ ? आउनुस फर्केर । त्यो मलेसिया देश खराब छ, साउदी खराब छ, खाडी मुलुक सबै खराब छ भनेर तपाईंचाहिँ किन बस्नु हुन्छ त्यहाँ फेरि । यहाँ नआउनुस् भनेर किन लेख्नुहुन्छ । तपाईंचाहिँ त्यहाँ खुरुखुरु कमाएर आफ्नो परिवार पाल्न, बालबच्चालाई राम्रो स्कुलमा पढाउने, सम्पत्तिचाहिँ जोड्ने अनि अरुलाई चाहिँ यहाँ नआउनुस्, यो खत्तम ठाउँ छ भन्ने तपाईं किन फर्किनु हुन्न त ? 

म्यानपावर व्यवसायीले घरघरमा गएर विदेश जान्छौं भनेर खोज्न गएको हो ? तपाई‌लाई जागिरको आवश्यकता थियो, हामीसँग जागिर थियो हामीले जागिर दिलाएबापत त्यसको मूल्य तपाईंलाई इच्छा भएर तिरेर जानुभएको हो, होइन र ? त्यो चिज पाउनु भएन भने हामी व्यावसायलाई भन्नुुस् यदि त्यो चिज पाउनुभएको छ भने फाल्तुमा पछि गएर यो वा त्यो भनेर किन चोर औंला ठड्याउनुपर्‍यो हामीप्रति । 

तर, कतिपय श्रमिक सम्झौता अनुसारको सेवा सुविधा नपाएको अवस्था पनि छ नि ?

नपाएको छ भने भन्नुस् । भनेको तलब, सेवा, सुविधा पाएन भने जुन म्यानपावरले पठाएको हो त्यसलाई भन्नुस् । फोन गर्नुस् । अहिलेको जमानामा विभिन्न माध्यम छन्, सजिलो छ । यदि कुनै रेस्पोन्स गरेन भने सरकारलाई भन्नुस् । अझै पनि सरकार वा म्यानपावर कम्पनीले रेस्पोन्स गरेन भने मलाई फोन गर्नुस् । तर, एग्रिमेन्टमा भनेको तलव तथा सेवा सुविधा पाउनुपर्छ । 

यहाँ एक खलाको सम्झौता गर्ने त्यहाँ गएर अर्को र ठूलो अपेक्षा राख्दा समस्या भएको त होइन ?

समस्या यही हुन्छ । यहाँ त्यतिसम्म भए हुन्छ भनेर जाने अनि त्यहाँ पुुगेपछि पुरानो साथीहरुले बढी बढी तलब पाएको देखेर त्यति नै चाहियो भनेर त पाइँदैन नि ।  उसले त वर्षौ काम गरेर बढी तलब पाएको हो । तपाई पनि वर्षौ काम गर्नु न तपाईंको पनि तलब बढ्छ नि । पहिलेदेखि त्यहाँ काम गरिरहेका साथी उच्च ओहदामा पुुगेका पनि होलान् । सुकिला–मुकिला भएर काम गरेको देखेर डाह लागेर मेरोचाहिँ भएन मेहेनत गरन फल तपाईंले पनि पाउनु हुन्छ । 

अहिले जुन आन्दोलन गरिरहनुभएको छ खासगरि आन्दोलनमा यहाँहरूको तर्फबाट जस्तै श्रमिक नपठाएर त समस्याको समाधान हुँदैन, यहाँहरूले स्टेप त अगाडि बढाइसक्नु भएको छ । अब यहाँहरूको तर्फबाट यो बाटो फुकाउनलाई के पहल गरिरहनु भएको छ त ?

हामीले प्रधानमन्त्री र मन्त्रीज्यूलाई हाम्रो मागको विषयमा ज्ञापनपत्र बुझाइसकेका छौ । उहाँहरूलाई अनुरोध पनि गरिसकेका छौ । जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म सबै उडान बन्दको आज छैटौं दिन हो । अब हप्ता वा १० दिनमा हाम्रो फेरि उडानको प्रक्रिया अगाडि बढ्छ । यो बीचमा पनि कुनै सकारात्मक कुरा हुँदैन भने फेरि हामी काम बन्द गर्छौ । र, साउन १५ गतेसम्म टुंग्याऊ भन्ने हिसाबमा हामी लागिरहेका छौं । वैदेशिक रोजगार आवश्यकता हो भने गाँठो फुकाउदै जाऊ । कहाँ–कहाँ सुधार गर्नुपर्ने हो ? कहाँ–कहाँ जिम्मेवार बन्नु पर्ने हो, हामी तयार छौं । कहाँ–कहाँ समस्या छन्, राज्यले पनि फुकाइदिनु प¥यो होइन आवश्यकता छैन भने मैले अघि नै पनि भने फेरि दोहो¥याएर भन्छुु साउन १५ गतेसम्म तपाईंहरूले चासो दिनुहुन्न भने हामी धरौटी राख्दैनौ र त्यो व्यवसाय पनि बन्द गर्छौं । त्यो पछि हेरौं न त टेस्ट गरौं न त !  यी फटाहा, दलालहरूले ठगे, हामीले गरेको योगदानको कुनै मूल्यांकन हुँदैन । यो वा त्यो खालको कुरा आइरहेको अवस्थामा टेस्टमा गरौं न, ठिक छ ।  हामी पनि अरु नै पेशा गरौंला ।