माता-पिताको सम्झना र सम्मानमा सिम्ता बहुमुखी क्याम्पसलाई १ लाख ७१ हजार प्रदान

माता-पिताको सम्झना र सम्मानमा सिम्ता बहुमुखी क्याम्पसलाई १ लाख ७१ हजार प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १६, २०८०

सुर्खेत।  सिम्ता बहुमुखी क्याम्पस, सिम्ता-४, सुर्खेतमा नारायण-भागीरथी सेवा समाज, सुर्खेतको १३ औंं वार्षिक साधारण सभा तथा १४औँ स्मृति दिवस कार्यक्रम  सम्पन्न गरिएको छ।

दिवङ्गत नारायण-भागीरथी गिरीका पाँच भाइ छोराहरू प्रा.डा.जीवेन्द्रदेव, गोपालदेव, एकदेव, भाष्करदेव र रमेश गिरीले आफ्ना माता-पिताको सम्झना र सम्मानमा वि.सं.२०६७ सालमा नारायण-भागीरथी सेवा समाज नामक संस्थाको स्थापना गरी सो मार्फत वीरेन्द्रनगर उपत्यकाभित्रका विभिन्न विद्यालय,क्याम्पस,पुस्तकालय, लोकवार्ता परिषद् लगायतलाई सानोतिनो सहयोग रकमसहित सम्मान पत्रद्वारा सम्मान गर्दै आइरहेका थिए।

त्यसैको निरन्तरता स्वरूप यस वर्ष उपत्यकाबाहिरको आफ्नो जन्मथलो क्षेत्रको उक्त क्याम्पसलाई सम्मान गरिएको हो।सम्मानको राशी संस्थाको नियमित  २१ हजार संस्थाका अध्यक्ष गोपालदेवका छोराबाट ५०हजार  र संरक्षक जीवेन्द्रदेवबाट १ लाख  गरी जम्मा १ लाख ७१ हजार  रहेको थियो।कार्यक्रम समाजका अध्यक्ष गोपालदेव गिरीको अध्यक्षता र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो।

सिम्ता गाउँ पालिकाका अध्यक्ष ऐनबहादुर चन्द र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य-सचिव प्रा.डा.जीवेन्द्रदेव गिरीको विशेष आतिथ्यता रहेको सो कार्यक्रममा पूर्व अध्यक्ष कवीन्द्रकुमार के.सी., पूर्व उपाध्यक्ष चन्द्रकला शाही, समाज सेवीहरू पूर्णबहादुर शाही, डण्डीप्रसाद शर्मा,  टेकबहादुर सिंह,कोकिला सिंह,क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल महतारा, क्याम्पस प्रमुख वकिल बस्नेत, त्रि.वि. प्रतिनिधि दीपेन्द्र खत्री,साहित्यकार यदुप्रसाद शर्मा, पृथ्वीबहादुर सिंहलगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा यदुप्रसाद शर्माले हिउँदे भाकाको गीत र 'कामना' शीर्षकको कविता तथा लक्ष्मण देव गिरीले दिवङ्गत नारायण(भागीरथीको जीवनीमा आधारित गीतिकविता प्रस्तुत गरेका थिए।यामराज गिरीले स्वागत मन्तव्य र थानेश्वर  लामिछानेले धन्यवाद मन्तव्य प्रस्तुत गरेको सो कार्यक्रमको सञ्चालन प्रकाश शर्मा आत्रेयले गरेका थिए।

त्यस्तै,पहिलो कार्यक्रमको समापन लगत्तै 'सिम्तामा पर्यटन विकासका सम्भावना' विषयक सङ्गोष्ठी कार्यक्रम सुरु गरिएको थियो।सो कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल महताराको अध्यक्षता र क्याम्पस प्रमुख वकिल बस्नेतको सन्चालनमा सुरु गरिएको थियो भने प्रमुख अतिथिलगायत अरू अघिल्लो कार्यक्रमकै व्यक्तिहरू यथावत रहेका थिए।सङ्गोष्ठीमा सिम्ता गाउँ पालिकाका पूर्व अध्यक्ष कवीन्द्रकुमार के.सी.ले सिम्तामा पर्यटन विकासका सम्भावनाका विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए

लगत्तै सो विषयमा  प्रमुख अतिथि प्रा।डा।सिंहले पर्यटन विकासका लागि Gis map, Tormy structure हुनुपर्ने, Education र Tourism लाई जोड्नु पर्ने, ब्रुसर निर्माण गर्नुपर्ने,प्रचार(प्रसार गर्नुपर्नेलगायतका सुझावहरू प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रा. डा.जीवेन्द्रदेव गिरी,गाउँ पालिका अध्यक्ष ऐनबहादुर चन्दलगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए।यी कार्यक्रम मध्ये पहिलोबाट ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने,मृत्यु संस्कारमा समय सापेक्ष  परिवर्तन गर्नुपर्ने र पितृकार्य गर्दा 'सर्वजन हिताय' हुनेगरी खर्च गर्नुपर्ने सन्देश प्राप्त भएको र सिम्तामा पर्यटन विकासको प्रचुर सम्भावना भएकाले स्थानीय सरकार र सरोकारवाला सबै त्यसतर्फ लाग्नुपर्ने पृष्ठपोषण प्राप्त भएको कार्यक्रमका सहभागी सिम्ता बहुमुखी क्याम्पसमा  प्राध्यापनरत प्रकाश शर्मा आत्रेयले बताएका छन्।