ज्ञानेन्द्र विवश | साहित्य | मंसिर १६, २०८०
थोक्लामा चिया चाउचाउ खाँदा बिहानै थियो । एकछिन बिसाएर उकालो चढ्दा घाम निकै छिप्पिसकेको रहेछ । दुई, चार पाइला सार्दा खलखली पसिनाले भिजाउन थाल्यो । अचम्मै थियो चार हजार मिटरमाथिको उचाइमा पनि गर्मी । किनभने मध्य दिन त्यसमाथि दक्षिणतिर फर्केको पहाडमा पारिलो घाम लागेको थियो ।
हिउँदमा त यो पाखोमा हिउँले ढाकेर हिमाल बन्छ रे । पहाडलाई नामेट पारेर हिमाल बनेपछि यसको शान–मान नै अर्कै हुन्छ रे । त्यतिबेला मान्छे हिँड्नै सक्दैनन् । बन्यजन्तुको आउजाउ पनि बन्द हुन्छ । हिमालको चिसोले कोही पनि बस्न सक्दैनन् । हिमाल आरोहणको बन्दोबस्तीका साथ आउँदा पनि अत्यन्तै कठिन हुन्छ उकालो छिचोल्न ।
त्यतिबेला थोक्ला भञ्ज्याङ अर्कै रूपरङमा परिणत भइसकेको हुन्छ । भञ्ज्याङबाट हिमालय पर्वमा रूपान्तरित भइसकेको हुन्छ । भञ्ज्याङका स्मारकहरू हिउँका ढिस्का बनेर उभिएका हुन्छन् । भञ्ज्याङ्मा जताततै हिउँ जमेर उरूङ्गखात हिमालकै साम्राज्य बनेको हुन्छ । कतै अग्लो चुली चुलिएको हुन्छ हिउँको । कहीँ हिउँ जमेर थुप्रो–थुप्रो धेरै थुप्रो थुप्रिएको हुन्छ । हिउँबाहेक देख्नु र हेर्नु अर्थोक केही हुँदैन भञ्ज्याङमा ।
बल्लतल्ल पुग्ने पर्यटक थरथर काम्दै तर मन्त्रमुग्ध मन । हेर्नुसम्म हेरेर तृप्त नयन । किनभने त्यहाँ हिउँका स्निग्ध ढिकाहरूले सौन्दर्यको मादक रूप पस्किरहेको हुन्छ ।
हिउँपरीको मोहनी रूप देखाइरहेको हुन्छ । हेरेर अघाइन्न दृश्यमान स्वरूपहरूलाई । भेटेर भेट्न सकिँदैन मन परेकी परीलाई । पुगेर पुग्न सकिँदैन पुग्नुपर्ने गन्तव्यसम्म । नजिकै पुगेर पनि झन् टाढा हुँदै जाने । पर भाग्दै यात्रीलाई पछ्याउन लगाउने । स्पर्श–सुखको महसुस गर्नै नदिई मायाको आभासबाट टाढै राख्ने ।
यतिबेला भने फुङ्ग उडेको रूखो पहाडबाहेक केही थिएन । न बोटविरूवा हलक्क हुर्किएका थिए । न त पहाडको सुरम्य फाँट नै दृष्टिगोचर हुन्थ्यो । देखिन्थ्यो केवल कहालीलाग्दो उकालोको काल आकाश नै छोऊला झै गरी चुलिएको चुचुरो बनेर । ढुङ्गाका थुप्रो र अस्तव्यस्त बाटोको हालत के बयान गर्नु ? जहाँ पदयात्रीका पाइला पर्नु त स्वाभाविक हो । ‘पोर्टर’ र ‘गाइड’ ले त्यहाँ हिँड्नु पनि उचित हो ।
त्यो ढुङ्गे उकालोमा भाह्रीको बोझले पिल्सिएका चौपायाहरूको ओहोर–दोहोर भइरहन्थ्यो । तिनलाई स–सम्मान बाटो छोड्नै पर्यो । अन्यथा तिनले बोकेका भाह्रीले हुत्याएर लडाउन सक्थ्यो । हेर्दै डरलाग्दो सिङले घोचेर घाइते बनाउन पनि के बेर ! तिनैले मलमुत्र त्याग गरेका फोहोरले बाटो घिनलाग्दै थियो । तिनैमाथि पाइलाले टेकेर हिँड्नुपथ्र्यो ।
तेङ्बोचेपछि थोक्लाको यो अर्काे कठिन उकालोको फेला परियो । यो उकालो काटेर थोक्ला भञ्ज्याङ पुग्न पनि मरितरी मरिहत्ते नै भयो । लगातार पाँच दिनको पदयात्राले खुट्टा र घुँडा दुख्न छोडिसकेको थियोे । तर जिउज्यान फतक्कै गलेको । यस्तो अवस्थामा उकालो उक्लिनु भनेको मरेतुल्य हुने नै भयो । एकपाइला सार्न पनि हम्मेहम्मे हुने । सास बढेर स्वाँस्वाँ मात्र । थचक्कै बसिहाल्न मन लाग्ने ।
बडो मुस्किलले । ठूलै साहसले । हिम्मतको साथले । आत्मबलको भरले । फकाउँदै मनलाई । सम्झाउँदै तनलाई । लम्काउँदै पाइलालाई । हिमाल देखाउँदै आँखालाई । उत्साह उमार्दै खुट्टालाई । धैर्य बढाउँदै पुग्नलाई । हिँड्नु छ अझ कति भन्दै । पुग्नु छ सौन्दर्यको खानीमै भन्दै । मुख बुझो लाउँदै । चित्त बुझाएर लम्काउँदै । हिँडाउँदै–हिँडाउँदै उकालो । उकालो काटेपछि भञ्ज्याङ पुग्ने । धित मरून्ज्याल त्यहाँ बस्ने भनेर फकाउँदै ।
त्यसैले लखतरान भएर बल्ल थोक्ला भञ्ज्याङमा सास फेर्न पुगियो । सास फेर्नुसँगै दृश्यहरू देख्नुसम्म देखियो ।
भरियाहरूले अब भोलि बिहान गोरकशेप पुगेर दिउँसो ‘एभरेष्ट बेस क्याम्प’ सजिलोसँग पुगिन्छ भनिरहेका थिए ।
थोक्ला भञ्ज्याङ पुग्ने ठाडो उकालो कठिनको थियो । हिजो दिङ्बोचेमै सुनिएको हो– ‘अब थोक्ला भञ्ज्याङ पुग्ने उकालो चढ्न निकै गाह्रो छ । फिरजे र थोक्लाको उकालो चढेर थोक्ला भञ्ज्याङ काटेपछि गोरकशोप पुगियो भनेर बुझे हुन्छ । गोरकशेप पुग्नु भनेको सगरमाथा फेँदीमै पुगे सरह हो । त्यहाँबाट उता कुनै बस्ती छैन ।’
साँच्चै थोक्लाको उकालो ज्यान खाने किसिमको थियो । एउटा घुम्ती बल्लतल्ल छिचोल्यो । बिसायो । पसिना पुछ्यो । पानी पियो । चक्लेट चपायो । लामो श्वास फेरेर खुइया गर्यो । झोला बोक्यो । लट्ठी टेक्यो । अनि सुस्तरी उकालो चढ्यो । अब त उकालो निख्रियो होला भन्यो । यसो मास्तिर हेर्यो । फेरि उस्तै उकालो देखिन्छ । बाफ रे बाफ !
बडेबडे ढुङ्गा, भिरालो बाटो वरपर स–साना पोथ्राबाहेक अरू केही बनस्पति छैनन् । यसले गर्दा पनि पद यात्रीहरूलाई अक्सिजनको मात्रा कम हुँदै जाने रहेछ । तापक्रम बढ्दै जाने तर अक्सिजन घट्दै जाँदा मानिसलाई श्वासप्रश्वासमा असजिलो हुन्छ । केही विदेशीलाई भरियाले हात समातेर बिस्तारै ओह्रालो झारिरहेको देखिएको थियो । सायद यही कारणले होला उनीहरूको शरीरमा अक्सिज कम भयो र उचाइतिर उक्लिन गाह्रो भयो । र, उनीहरू तुरुन्तै तलतिर फर्किए ।
सुविधा सम्पन्न देशका मान्छे यो भत्केविग्रेको अस्तव्यस्त बाटोमा पनि कसरी सजिलै हिँड्न सकिरहेका होलान् ? के पाउनका लागि, कसलाई भेट्न होला । यो स्वाँ, स्वाँ र फ्वाँ, फ्वाँ, भाह्रीको सास्ती किन र के का लागि ?
वास्तवमा यस्तो अवस्था आएपछि तत्कालै मास्तिर निस्किने आँट कुनै हालतमा पनि गर्नु कदापि उचित हुँदैन । शरीरलाई नै असजिलो हुन थालेपछि कम उचाइतिर फर्किनु नै बुद्धिमानी हुन्छ । अन्यथा ज्यान नै तल माथि पर्न सक्छ । माथिको तापक्रमसँग सन्तुलन कायम हुन नसक्दा झन् उकालो चढ्न मुस्किल हुनु स्वाभाविक हो ।
‘सास फेर्न गाह्रो भएपछि अगाडि बढ्नु हुँदैन । तुरुन्तै तलतिर फर्कि हाल्नुपर्छ । यही हो ‘हाइ अल्टिच्यूड’ अर्थात् मानिसलाई लेक लागेको यसैलाई भनिन्छ ।’ कतिपय पर्यटकहरू यही उकालोमा उक्लिन खोज्दा लेक लागेर ओर्लिरहेका देखेकै हो ।
कठिन उकालो चढ्दै जाँदा मनले हरेश खान थाल्छ । मुटुको धडकनलाई हत्केलामा राखेर उचाइ छुन खोज्दा मन भरङ्ग पनि हुन्छ । मन तरङ्गित पनि हुन्छ । उकालो सिद्धिएपछिको आराम र आनन्द महसुस गर्दानगर्दै मन झस्किन पुग्छ । भञ्ज्याङमा स्थापित स्मारकहरूले मन खिन्न मात्रै होइन कि छिन्न–भिन्न नै पार्ने रहेछ । भावुक बनाउने रहेछ । संवेदनाले आहत् मन हुन पुग्ने रहेछ ।
थोक्ला भञ्ज्याङमा दिवङ्गत आरोहीहरूको नाममा निर्मित स्मारकहरू थिए । प्रायः सगरमाथा आरोहण गरी फर्किदा दिवङ्गत भएका नेपाली र विदेशी आरोहीहरूको स्मारक त्यहाँ निर्माण गरिएको थियो । आरोहीहरूका नाम र आरोहण मिति लेखिएका शिलालेखहरू ।
४६२० मिटरभन्दा माथिको थोक्ला भञ्ज्याङको उकालो उक्लिरहँदा मैले सोच्दै गएँ– दुःखलाई टेकेर सुखलाई भेट्न मानिसहरूको कति दौडादौड हो ! सुखको खोजीमा मानिस मरिमेट्छ । तर त्यो सुख पाउन आफैँलाई कति पटक मार्नुपर्छ त्यो कुरा मान्छे स्वयम्लाई थाहा छैन । हजार दुःखका जङ्घार छिचोलेपछि बल्ल सुख भेटिन्छ । त्यो पनि एकै छिनका लागि । त्यही छिनभरको सुख पाउन मान्छेको कत्रो लगानी ?
सुविधा सम्पन्न देशका मान्छे यो भत्केविग्रेको अस्तव्यस्त बाटोमा पनि कसरी सजिलै हिँड्न सकिरहेका होलान् ? के पाउनका लागि, कसलाई भेट्न होला । यो स्वाँ, स्वाँ र फ्वाँ, फ्वाँ, भाह्रीको सास्ती किन र के का लागि ?
प्रश्नहरू निरूत्तर रहे । जिज्ञासाहरू जहाँको तही जीवितै रहे ।
सायद दुःखलाई टेकेर सुख भेट्नलाई होला ।
भौगोलिक विकटता तर यस्तैमा रमाउन जानेकाहरू । ओइरिनुसम्म ओइरिएका छन् पर्यटकहरूका हुल । अनेक देशका, विविध भाषी, विभिन्न जाति, अनेक धर्म र सम्प्रदायका मानिस । तर पदयात्रामा एउटा भाषा, धर्म र कर्म भइरहेको छ । जस्तो कि सबैको ध्येय र धोको सगरमाथा आधार शिविरमा पुगेर रमाउने । हिमाल हेरेर नतमस्तक मई आनन्दले विभोर हुने ।
पिँजडाबाट उम्केका चरा झैँ स्वतन्त्र, उन्मुक्त उडानमा प्रत्येक पाइलापिच्छे नौलो प्रकृतिसँग नाता गाँस्दै, हाँस्दै । मैले काल जत्तिकै कठोर थोक्ला भञ्ज्याङलाई लात मारेर बाजी जितेँ । जर्बजस्तीको पहाडसँग पौठेजोरी खेलेर आखिर मैले विजय हासिल गरेँ । यो मेरो साहसी सफलता हो । यो मेरो यात्राको सर्वोत्तम खुसीको यादगार यात्रा हो ।
भाह्रीको बोझले थिचिएर पसिनाले निथ्रुक्क भएर पनि हिँडिरहेका ज्यान विचरा । भरिया जीवन दुःख टेकेर सुखकै प्राप्तिमा दिनरात नभनी, घामपानीमा उकाली–ओह्राली गरिरहेका । तिनलाई न रोगको डर, न शोकको डर । एकछाक खान पाए, एकनिद्रा सुत्न पाए पुग्यो । कति ज्ञानी, कति सन्तोषी ।
मानिसका लागि दुःख कति अप्रिय ? सुख चाहिँ कति प्रिय । तर त्यही दुःखको धरातलमाथि टेकेरै सुखको अनुभूति गर्न पाउनु सबैको अभिप्राय हुने रहेछ । जीवन भरिकै ठूलो उपलब्धि हुने रहेछ ।
देख्नु अगाडि, हेर्छु आँखै सामुन्ने दरिद्र जीवनको साक्षात रूप । त्यही रूप सम्पन्न सुखको सिँढी चढ्न आतुर कस्तै कष्ट पनि सहेर । बाँच्नुको नाम रहेछ यही जिन्दगी ! हाँस्नुको पल रहेछ यस्तै जिन्दगी ! कति फरक छ अभावको हाहाकार र सम्पन्न सुखको आनन्द ?!
थोक्ला भञ्ज्याङ पुगि सकेपछि म सगरमाथा आधार शिविर पुग्न कुनै कठिनाइ हुने छैन । किन कि यहाँसम्म आइपुग्दा उचाइ पनि नापियो । कठिनाइ पनि व्यहोर्यो । शारीरिक तापक्रमलाई सन्तुलनमा पनि राखियो । अन्ततः मैले खोजेको हिमाली खुस्बु, हिमाली माया र हिमाली हार्दिकताको स्पर्श पाएर म खुसीले गद्गद् छु ।