लोकसंवाद संवाददाता | समाचार | मंसिर १८, २०८०
काठमाडौँ । देशका बौद्धिक बर्गले जब जब विवेक गुमाउँछन् त्यसवेला देशको अधोगतिलाई कसैले पनि रोक्न सक्दैन । बौद्धिक बर्ग जहाँ पायो त्यहाँ अवसर नपाएको अवसर पाएको खण्डमा यो वा उ गर्ने थिए भनेर बौद्धिकता छाँट्ने गरेको यत्रतत्र सुन्न पाइन्छ । तर त्यस्ता बौद्धिक बर्गले अवसर पाउना साथ कसरी विवेक गुमाउँछन् र समग्र बौद्धिक बर्गलाई लज्जित बनाउने हरकतका सयौँ उदाहरणहरु पाइने गरेको छ ।
त्यसरी अवसर प्राप्तीका लागि व्यवस्थादेखि नेतृत्व परिवर्तनका लागि राजनीति र प्रशासनिक पहुँच प्रयोग गरी आफू स्वार्थ अनुकुल नेतृत्व ल्याउन मरि मेट्ने गरेका छन् । जसले विगतले नेतृत्वले गरेकाे दण्ड सजाएको समान्य ख्याल समेत नगरी पुरस्कृत गर्न बाध्य बनाउने गरेका छन् । कति सम्म भने एउटा नेतृत्वले कारर्वाही गरेकाे व्यक्तिलाई सात महिना पनि नबित्दै नेतृत्व परिवर्तन हुन साथ पुरस्कृत गरेको तथ्यसहितका बैठक पुस्तिकाका छाँया प्रति लोकसंवादलाई प्राप्त भएकाे हाे ।
सन्दर्भ हो, ‘लोकसंवाद डटकम’ मा प्रकाशित समाचार नेपाल प्रज्ञा–प्रतिष्ठान समेतको मिलेमतोमा लेखक डा. खगेन्द्रप्रसाद लुइँटेलद्वारा 'बौद्धिक चोरी'को विषयमा यस भन्दा पहिलाको कुलपति गङ्गाप्रसाद उप्रेती नेतृत्वले नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्ले छानबिन समिति नै बनाएर प्रतिवेदनका आधारमा कारबाही गरेका डा. खगेन्द्रप्रसाद लुइटेल कुलपति भूपाल राईको नेतृत्वले सात महिना पनि नबित्दै सल्लाहकारमा नियुक्ती गरेर पुरस्कृत गरिएकाे छ ।
कुलपति भूपाल राईको नेतृत्वको नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्को २०७९ चैत्र १ गते बसेको तेस्रोे बैठक बैठक संख्या ३/०७९ को पहिलो एजेण्डा 'विभागीय समिति गठन बारे' काे ११ नम्बरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्का सदस्यसचिव डा.धनप्रसाद सुवेदीको नेतृत्वमा गठित भाषा (नेपाली भाषा,कोष तथा व्याकरण) विभागको सल्लाहकारमा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई मनोनयन गरिएको छ ।
ढिलो गरी लाेकसंवादलाई प्राप्त बैठक पुस्तिकाको छायाँ प्रति अनुसार कुलपति गङ्गाप्रसाद उप्रेती नेतृत्वले नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्ले कारबाही गरेकाे सात महिनामा भूपाल राईको नेतृत्वले सात महिना मै पुरस्कृत गरेको हाे । यस सम्बन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्का सदस्यसचिव डा.धनप्रसाद सुवेदीले अघिल्लो प्राज्ञ परिषद्ले नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशनमा केहि समस्या भएकाे भनी पुस्तकहरू पुनः प्रकाशन नगर्ने र साबिकका पुस्तकहरूको समेत बिक्री–वितरण नगर्ने निर्णय गरेको तर अन्य योगदानका आधारमा राख्दा नै उपयुक्त हुन्छ भनेर राखेको बताउनु भएको छ
नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्ले 'बौद्धिक चोरी'मा कारबाहीमा परेका डा. खगेन्द्रप्रसाद लुइटेल प्रज्ञा–प्रतिष्ठानले मात्र होइन त्रिभुवन विश्वविद्यालयले समेत पुरस्कृत गरेको छ । 'बौद्धिक चोरी'मा कारबाहीमा परेका तीनै डा. खगेन्द्रप्रसाद लुइटेल अहिले त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग प्रमुखका रुपमा कार्यरत छन् ।
‘लोकसंवाद डटकम’ मा २०७७ असोज १६ गते शुक्रवारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानसमेतको मिलेमतोमा लेखक लुइटेलद्वारा बौद्धिक चोरी गरिएको भनी समाचार प्रकाशन गरेकाे थियो । सोही समाचारलाई लिएर २०७७ असोज १८ कुलपति गङ्गाप्रसाद उप्रेती नेतृत्वले नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्ले परिषद्को बैठक सङ्ख्या–२१/०७७ को निर्णय नं. ३० अनुसार प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्तको संयोजकत्वमा प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहनेको छानबिन समिति समिति गठन गरेको थियो ।
सोही छानबिन समितिको प्रतिवेदनका आधारमा ०७९ भदौ २२ गते कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको बैठक सङ्ख्या– ४८/०७९ निर्णय नं. १९ मा भनिएकाे छ 'डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूमा नेपाल प्रज्ञा–प्रतिष्ठानसमेतको मिलेमतोमा लेखक लुइटेलद्वारा बौद्धिक चोरी गरिएको भनी २०७७ असोज १६ गते शुक्रवारका दिन ‘लोकसंवाद’ अनलाइन समाचार पत्रिकामा छापिएको समाचारबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन प्रस्तुत गर्न मिति २०७७ असोज १८ गते बसेको नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्को बैठक सङ्ख्या–२१÷०७७ को निर्णय नं. ३० अनुसार प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्तको संयोजकत्वमा प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहनुभएको समिति गठन गरिएकोमा उक्त समितिले कुलपतिज्यूलाई सम्बोधन गरी मिति २०७९ श्रावण ३१ गते मङ्गलवार प्रतिवेदन प्रस्तुत गरेको बेहोरा बैठकले अवगत गर्यो । उक्त प्रतिवेदनमा लेखक लुइटेलद्वारा लिखित र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न पुस्तकहरूमा नेपालको प्रतिलिपि अधिकार ऐनर्नियमको प्रतिकूल हुने गरी तथा प्रचलित शोधविधिको अवलम्बन नगरी लेखकले आफ्नै पूर्व प्रकाशित पुस्तकहरूबाट समेत अनेकौँ पृष्ठ हुबहु उतार गरेको पाइएको भनी औँल्याइएकाले निजबाट उक्त पुस्तकहरूमा विधिसम्मत हुने गरी परिमार्जन नभएसम्म उक्त पुस्तकहरू पुनः प्रकाशन नगर्ने र साबिकका पुस्तकहरूको समेत बिक्री–वितरण नगर्ने निर्णय गरियो । साथै यस प्रतिवेदनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवको निजी सचिवालय एवम् प्रज्ञा पुस्तकालयमा अभिलेखका रूपमा सुरक्षित राख्ने र कसैले प्रतिलिपि लिन चाहेमा सूचनाको हकसम्बन्धी प्रचलित विधि/व्यवस्थाअनुसार निर्धारित शुल्क तिरी प्रज्ञा पुस्तकालयबाट लिन पाउने व्यवस्था मिलाउने समेत निर्णय गरियो । आगामी दिनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका केन्द्रीय र विभागीय योजनाअन्तर्गत सञ्चालन हुने अनुसन्धान परियोजना र प्रकाशन हुने ग्रन्थहरूका सम्बन्धमा अनुसन्धाता र लेखकहरूबाट आफ्ना अनुसन्धान र ग्रन्थहरूमा प्रचलित शोधविधिलाई पूर्णतः अवलम्बन गरिएको र प्रतिलिपि अधिकार ऐन/नियमको अक्षरशः पालना गरिएको प्रतिबद्धता–पत्र लिएर मात्र अनुसन्धान प्रतिवेदन स्वीकृति सहित प्रकाशन गर्ने निर्णय गरियो ।'
यो पनि
प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !