लोकसंवाद संवाददाता | समाचार | मंसिर १९, २०८०
मध्य प्रदेश, राजस्थान र छत्तीसगढको नतिजापछि आइतबार साँझ दिल्लीस्थित भाजपाको मुख्यालयमा पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘आजको ह्याट्रिकले २४ (२०२४ को लोकसभा चुनाव) को ह्याट्रिकको ग्यारेन्टी दियो ।’ उनले यो चुनावी नतिजा प्रगति र जन कल्याणको राजनीतिको विरुद्ध रहेका विपक्षीका लागि चेतावनी भएको पनि बताए ।
भारतका पाँच राज्यमा विधानसभा निर्वाचन भयो । जसमध्ये तीन राज्यमा भाजपाले बहुमत ल्याएको छ । भाजपाले बहुमत पाएका तीनवटै राज्य लोकसभा निर्वाचनका लागि निकै महत्वपूर्ण मानिन्छ । १८ वर्षदेखि सत्तामा रहेको मध्य प्रदेशमा भाजपाले बहुमत हासिल गरेको छ । यसका साथै राजस्थान र छत्तीसगढमा आएको नतिजाले राजनीतिक विश्लेषकलाई समेत अचम्मित पारेको छ ।
किनकि पछिल्लो केही समयदेखि यी राज्यमा भाजपा कमजोर भएको उनीहरुको अनुमान थियो । यस्तो अवस्थामा अब प्रश्न उठेको छ, यो जितको असर सन् २०२४ को आम चुनावमा कति पर्छ ? के यी तीन राज्यको नतिजाले भाजपाको मिसन २०२४ सहज बनायो ? के प्रधानमन्त्री मोदीले भने झै लोकसभामा ह्याट्रिक गर्दैछन् ?
लोकसभा चुनावभन्दा अघि हुने यी अन्तिम विधानसभा निर्वाचन हुन् । यही कारण यी पाँच राज्यको परिणामलाई २०२४ को निर्वाचनका लागि सेमिफाइनलका रुपमा समेत लिने गरिन्छ । यी तीन राज्यमा मात्रै लोकसभाको ८३ सिट रहेका छन् । जसले कुनै पनि पार्टीलाई केन्द्रको सत्ता हासिल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ ।
भारतका वरिष्ठ पत्रकार हेमन्त अत्रीका अनुसार मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको यो जितले भाजपाको मिसन २०२४ का लागि हिन्दी भाषी क्षेत्रमा मात्रै होइन मनोवैज्ञानिक रुपमा निर्णायक अग्रता प्राप्त भएको छ । अब भाजपाको २०२४ को लडाई धेरै सहज भएको छ । यी तीन राज्यको जितले भाजपालाई आगामी निर्वाचन अभियान अघि बढाउन ठूलो मनोबल दिएको छ ।
विधानसभा निर्वाचनमा गठबन्धनमा रहेका सबै पार्टीले अलग अलग चुनाव लडे । यस्तोमा अब के भाजपाको जितले इण्डिया गठबन्धनको राजनीति र उसको भविष्यमा कुनै असर पार्दैन ? विधानसभा निर्वाचनमा अलग अलग लडेका यी शक्ति आगामी चुनावमा एकजुट हुँदा काँग्रेसले मनोवैज्ञानिक लाभ लिन सक्ने अनुमान गर्न थालिएको छ । मध्य प्रदेशमा पाँच देखि ७ प्रतिशतको जुन अन्तर देखिएको छ ।
सन् २०१४ मा लोकसभा निर्वाचनमा पहिलो पटक मोदीले पाइला राख्दा भाजपाले भारतीय राजनीतिमा नयाँ इतिहास बनायो । पहिलो पटक भाजपाले पूर्ण बहुमतसहितको केन्द्रीय सरकार बनायो । सन् १९८४ मा काँग्रेसको जितपछि २०१४ मा पहिलो पटक भाजपा यस्तो पार्टी बन्यो, जसले तीस वर्षको रेकर्ड तोड्दै आफ्नै शक्तिमा २८३ सिटमा जित हासिल गरेको थियो ।
दोस्रो परीक्षा २०१९ मा भयो र यसपटक पनि प्रधानमन्त्री मोदीले पूर्ण बहुमत प्राप्त गरे । अब प्रश्न २०२४ मा के होला भन्ने छ । भाजपाले अझै पनि मोदीको व्यक्तित्व र चर्चाका कारण चुनाव जितिरहेको छ । पाँच राज्यको निर्वाचनमा भाजपाले मुख्यमन्त्रीको प्रमुख उम्मेदवार घोषणा नगरीकनै मोदीको अनुहारले चुनाव लड्यो । हिन्दीभाषी राज्यमा अहिले पनि मोदी एक्लै सबैभन्दा ठूलो ‘भोट क्याचर’ नेता हुन् । राजस्थानमा मोदीले आफ्नो चुनावी अभियानमा पेपर लिकदेखि महिलामाथिको अपराधाजस्ता मुद्दा बारम्बार उठाए । तर मध्य प्रदेशमा भाजपा १८ वर्षदेखि सत्तामा थियो । तर सत्तामा भएका कारण हुने चुनावमा खेप्नुपर्ने कुनै आरोप लागेन । शिवराज सिंह चौहानको काम र नरेन्द्र मोदीको व्यक्तित्वले मध्य प्रदेशको चुनावी जित सहज बनाइदियो ।
गत जुलाईमा भाजपालाई २०२४ मा पछार्ने रणनीति सहित ‘इण्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसिभ अलायन्स (इण्डिया) बन्यो । विपक्षीको यो गठबन्धन २०२४ को चुनावका लागि बनाइएको हो । विधानसभा निर्वाचनमा गठबन्धनमा रहेका सबै पार्टीले अलग अलग चुनाव लडे । यस्तोमा अब के भाजपाको जितले इण्डिया गठबन्धनको राजनीति र उसको भविष्यमा कुनै असर पार्दैन ? विधानसभा निर्वाचनमा अलग अलग लडेका यी शक्ति आगामी चुनावमा एकजुट हुँदा काँग्रेसले मनोवैज्ञानिक लाभ लिन सक्ने अनुमान गर्न थालिएको छ । मध्य प्रदेशमा पाँच देखि ७ प्रतिशतको जुन अन्तर देखिएको छ । यसको कारण समाजवादी पार्टी र काँग्रेसको बेमेल हो । यदि सपा र इण्डिया गठबन्धन एकसाथ अघि बढेको भए यति नोक्सानी काँग्रेसले भोग्नु नपर्ने हुनसक्थ्यो ।
सन् २०१९ को लोकसभा निर्वाचनअघि यिनै पाँच राज्यमा विधानसभा निर्वाचन भएको थियो । त्यसबेला भाजपाले नराम्रो हारको सामना गर्नुपरेको थियो । तर त्यो हारको असर भाजपालाई लोकसभा निर्वाचनमा भएन । त्यसैले भारतमा विधानसभाको नतिजा लोकसभामा पनि दोहोरिन्छ भनेर ग्यारेन्टी गर्न भने सकिदैन ।