हरिविनोद अधिकारी | साहित्य | मंसिर २३, २०८०
समयको गतिले मानिस परिवर्तन हुन्छ कि मानिसले समय परिवर्तन गराउँछ भन्ने स्पष्ट उत्तर कतै पाइँदैन । समयले त के भन्छ होला र ? तर हामी समयलाई भन्छौँ समय परिवर्तन भएपछि मानिस पनि आफैँ रूपान्तरित हुने रहेछ भन्ने भनाइ छ । समयक्रममा मानिसहरुले अनेक अनुसन्धान गरेर जीवनलाई सहज बनाउन थालेका रहेछन् ।
हामीले थाहा पाउँदाको बेला र अहिलेको बेलामा कति फरक परेको छ । तर त्यो परिवर्तन कसले गरेको होला ? समयले हो या समयक्रममा मानिसले गरेका प्रगति र उन्नतिका कारणले त भएको होला । जस्तो कि पुरातन कालमा जाँतोको आविष्कार गरेको बेलामा पिठो बनाउन कति सजिलो भएको थियो होला तर ठुलो परिवारमा त्यति पिठो तयार गर्नका लागि समय लाग्यो होल र पानीको बलले घुम्ने गरी घट्ट थियो बनाएका थिए होलान् र त्यही घट्टको आविष्कारका आधारमा आज पानीले घुम्ने टर्बाइनमार्फत् आधुनिक तरिकाको विद्युत गृह तयार भएको छ ।
त्यसरी विद्युत गृह मार्फत् सबैतिर बिजुली पुर्याउन मुस्किल भएपछि मानिसले आणविक भट्टीमार्फत् इन्धनको नयाँ प्रक्रिया तयार गरेको छ र भावी समय फेरि घामको ज्योति मार्फत् त्यसको सदुपयोग गर्ने नै होला जस्तो छ किनभने अहिलेसम्मको प्राकृतिक श्रोतमा सबैभन्दा विश्वसनीय श्रोत हाम्रो पृथ्वीका लागि हामीले बिहानै झुल्किने सूर्य र तापको श्रोतलाई मानेका छौँ ।
हाम्रो ओजोन तहको पातलोपनबाट अहिले हामी बसेको बासस्थान पृथ्वी धेरै तात्न थालेको छ जसले गर्दा पानीको मुख्य श्रोत पृथ्वीको गर्भ र हिमालय सुक्ने क्रममा छ ।
हिमालयका कारणले हामी दक्षिण एसिया, उत्तर एसिया र पश्चिम एसियाका अनि युरोपका करिब ४ अर्ब जनसंख्याको भविष्य अन्धकार हुने देखिन्छ । त्यतिमात्र होइन, तापक्रमको तातोपन बढ्दै जाँदा हिमालयको हिउँ पग्लने र नजम्ने अवस्थामा पुग्ने , अन्टार्कटिकाको या भनौ दक्षिणी ध्रुव र उत्तरी ध्रुवको हिउँ पग्लने अनि समुद्रमा जाने जसले गर्दा समुद्रको पानीको तह बढ्ने ।
त्यसले गर्दा समुद्रका तटमा रहेका उर्वर टापुहरु समुद्रमा विलीन हुने । समुद्रको तातो पानी सधैँ चिसो हुने अनि घामको तातोले वाष्पीकृत नभएर बेलामा पानी नपर्ने , या कुबेलामा पर्ने अनि सबैतिर हाहाकार पार्ने । समुद्रको तातो पानीमा बाँच्ने जीवन र वनस्पतिहरु आफैँ समाप्त हुने , विलीन हुने जसले गर्दा इकोसिस्टममा परिवर्तन हुनेछ ।
एकातिर नयाँ नयाँ आविष्कार गर्दैछौँ र मानव जीवनसहित अन्य प्राणी तथा वनस्पतिको सन्तुलित विकासका लागि हामी लागि रहेका छौँ भन्ने हामी मानिसहरु आफैँ बाँच्न नयाँ नयाँ जुक्ति अपनाउने बेला हुन थालेको छ । यसैलाई भन्ने हो कि समयको चक्र ? यही पो हो कि नयाँ प्रलयको तयारी ?
हामीले थाहा पाउँदाको विकासक्रम भन्दा पक्कै नै अहिले समयको क्रम परिवर्तन भएको छ । मानिसहरुका बिचमा तत्काल पहुँचका विभिन्न आधारहरु तयार भएका छन् । कतिपय मामिलामा मानिस भाग्यमानी पनि भएको छ र प्रकृतिको अत्यन्त दोहन गरेर भए पनि आफूलाई सुखी सम्पन्न ठानेको छ एकातिर भने अर्काेतिर प्रकृतिको असन्तुलन बनाएर हामी मानिसले आफैँलाई आत्म समीक्षा गरेर अब सकेसम्म प्रकृतिलाई पुरानै स्थानमा फर्काउने बिचारमा पुगेका छौँ । यसमा हामी नेपालीको कुनै दोष छैन र पनि सबैभन्दा बढी हाम्रै हिमालय सुक्ने क्रममा छ र पानीको श्रोतको कमीले नेपाल ,भारत र बाङ्लादेशसमेतलाई त्यसले पार्ने प्रभाव भयावह छ ।
एकछिनपछि म उसले दिएको निर्देशन अनुसार ठमेलको होटेलमा पुगेँ । वास्तवमा त्यही केटी रहिछे । उसले एकदम परिचित झैँ मसँग हात मिलाई र भनी-म नेपाल आएँ । म नेपालमा घरजम गरेर बस्न चाहन्छु । मसँग नेपालका लागि पुग्ने थुप्रो पैसा छ । घर किन्न, गाडी किन्न, ग्याँस स्टेसन किन्न र पसल चलाउन वा त्यस्तै व्यापार गर्न ।
आज संसार एउटा गाउँ जस्तो भएको छ र हाम्रो हातमा रहेको सानो यन्त्रमा हामी ब्रह्माण्ड चियाउने भएका छौँ । त्यसले दिने कृत्रिम बौद्धिकताले (आर्टिफिसियल इन्टेलिजेन्स) सजग बनाएको छ र समाधानको रुपमा प्रकृतिको रक्षा नै हो भन्ने निर्क्यौलमा हामी पुगेका छौँ । आफ्नो दोषभन्दा अरुले गरेका विकासको कारणले हाम्रो क्षति भएको छ प्रकृतिलाई । त्यसलाई तत्काल समाधान गर्न त नसकिएला तर कसरी त्यसको क्षतिपूर्ति पाउने भन्नेमा त हामी सजग र सतर्क छौँ ।
मैले एउटा कथा लेखेको थिएँ विकसित देश अमेरिकाकी हामीले सम्झने सम्पन्न एउटी नारीको । उनको मनका भावहरूलाई कल्पना गर्दै कथा लेखेको थिएँ जसमा विकासको नयाँ परिभाषा र सन्तुष्टिको नयाँ मापन ।
कथा
स्पेस निडलको सुई ठमेलतिर घुम्दा..
१. मैले रोजीलाई सियाटलको टावर मुनि एक्लै बसेको भेटेँ । अनायास आँखा जुधेपछि अमेरिकन पारामा हाई हेलो भनियो । संयोग कस्तो पर्यो भने उसले कफी खाने ठाउँ र हाम्रो , एउटै पसलमा एउटै लाइनमा परिएछ । फेरि आँखा जुधे , अबको हाई दोस्रो भयो र लाइनमा उभिँदा उसले सोधी-तपाईँ कहाँबाट ? मैले भनेँ-म नेपालबाट । उसले आँखीभौँ खुम्च्याई, केही सम्झेझैँ गरी र भनी टाउको झट्कार्दै-इटलीमा हो ? मैले हाँसेर भनेँ-म माउन्ट एभरेस्टबाट । हिमालयको देशबाट । उसले केही फरासिँदै भनी- एजिया ? मैले उसलाई पुलुक्क हेर्दा भित्तामा एसियाको नक्शा देखेपछि उसले त्यतै इसारा गरी र मैले पनि नेपालतर्फ इसारा गर्दै भनेँ-भारत र चीनको बिचमा रहेको एउटा स्वतन्त्र देश नेपाल हो ।
२. रोजीले आफ्नो भूगोल कमजोर भएको ठानी क्यारे । कफीको भाँडो लिएर त्यही नक्शामा पुगी अनि टावरको अर्को कुनामा गएर यसो हातले के सुम्सुम्याएकी थिई -त्यहाँ एसियाको नक्शा देखियो , नेपालमा छोई र नेपालको नक्शामा हातले छुँदै मलाई ठूलो स्वरले आकर्षित गरी र भनी-मैले तिम्रो देश फेला पारेँ । म हाँसेँ, ऊ पनि हाँसी ।
३. एकछिन पछि हामी स्पेस निडलको ठ्याक्कै तल थियौँ र फेरि उसले मलाई नेपाल, हिमाल , नदी, गैंडा र टाटे बाघको वारेमा सोधी जुन उसले एकछिन अघि पढेकी थिई । अनि उसले खुइय गर्दै भनी—अपरिचित नेपाली, मैले तिम्रो देश त आज भेटेँ तर मैले आफ्नो देशचाहिँ भेट्न सकेकी छैन । अनि उसले परिचय दिँदै भनी-मेरो नाम रोजमेरी डन्कन हो । हामी ड्यालसमा जन्मियौँ । ह्युस्टनमा हुर्कियौँ , न्यु मेक्सिकोमा पढ्यौँ र अहिले सियाटलमा बस्दैछौँ ।
हामी भनेका म र मेरी बहिनी हौँ । त्यसैले म आफूलाई रोजी भन्छु र बहिनीलाई मेरी भन्छु । उसको आँखा तालपारिको पहाडमा थुप्रिएको हिउँमा गाडिएका थिए र ऊ यन्त्रवत् मलाई आफ्नो जीवन गाथा सुनाउन लागेकी थिई । तर उसले किन मलाई त्यो सुनाउन थाली , मेरो समय कति छ र त्यसपछि के हुन्छ ? उसलाई थाहा नभएझैँ गरी एकोहोरो बोल्दै थिई र मचाहिँ त्यहाँबाट फुत्किने सुरमा ऊसँग नम्रताका साथ विदा माग्ने दाउमा थिएँ -रोजी, कृपया हामी फेरि कहीँ भेटौँला न भविष्यमा र कुरा गरौँला ।
४. उसले मलाई एकछिन रोकिन अनुरोध गरी , दौडेर गएर दुई ओटा कफी लिएर आई र कफी नसिद्धियुन्जेलसम्मका लागि उसका कुरा सुन्न अनुरोध गरी - ए अपरिचित नेपाली दाइ, मेरो दुःख त सुन । आज म घरबारविहीन, बहिनीविहीन , जागिरविहीन सुनसान वर्तमानमा छु । हामी ऋणमा पालिने अमेरिकीहरु ऋणलाई जीवन मान्नेहरु, हामीजस्ता मध्यमवर्गीय मान्छेहरु घरका न घाटका भएका छौँ । उसले मलाई पुलुक्क हेरी र मेरो निरपेक्ष भावलाई पढी र भनी- मैले मनोविज्ञानमा बी ए गरेकी छु , एउटा हस्पिटलमा जागिर खान्थेँ , खुइय गर्दै भनी—त्यो जागिर पनि एउटा बदमासले गर्दा हिजैमात्र गयो । बहिनी पनि उसैसँग गई र ऊ मलाई माया गर्छु भन्दै धोखा दिँदै बहिनीलाई पो लिएर हिँड्यो । ऊ रुँदै रुँदै कफीको तातो घुट्को पिउँदै, एकजना अपरिचितसँग किन किन आफ्ने मनको बह पोख्दै थिई , अनि म अन्यमनस्क भावमा उसको अंग्रेजी कति बुझ्दै , कति नबुझ्दै टाउको हल्लाउँदै थिएँ । अचानक उसले मलाई सोधी—तिम्रो देशमा महिनाको कति डलरमा खान बस्न पुग्छ ? मसँग केही डलर छ , यदि उतै गएर अमेरिका बिर्सन पाए पनि हुन्थ्यो । बहिनी , बहिनीको मायालु-त्यो बदमास डाक्टर र त्यो मेरो पोल लगाउने बिरामी बुढो । भो अपरिचित-मलाई ती कसैलाई सम्झन मन छैन । तिम्रो ठेगाना छ अपरिचित ? उसले यी सबैकुरा एक सासमा बोली र मेरो कार्डका लागि हात पसारी ।
५.मेरो हातले यन्त्रवत् आफ्नो परिचय कार्ड दियो , ऊ त्यहाँबाट रन्थनिँदै हिँडी र मानिसहरुको भीडमा मिसिई । टावरमुनि संसारका सबै जात,धर्म र स्वरुपका मानिसहरुको घुइँचो थियो । म र रोजी पनि त्यही घुइँचोभित्रका मनुवाहरु थियौँ ।
६.केही महिना पछि एकदिन मलाई घरमा एकाबिहानै फोन आयो-म रोजी , तपाईँसँग भेट्न चाहन्छु । म छक्क परेँ र सम्झिएँ -त्यो एक्ली केटी सहारा खोज्दै नेपाल आईछे ।
७. एकछिनपछि म उसले दिएको निर्देशन अनुसार ठमेलको होटेलमा पुगेँ । वास्तवमा त्यही केटी रहिछे । उसले एकदम परिचित झैँ मसँग हात मिलाई र भनी-म नेपाल आएँ । म नेपालमा घरजम गरेर बस्न चाहन्छु । मसँग नेपालका लागि पुग्ने थुप्रो पैसा छ । घर किन्न, गाडी किन्न, ग्याँस स्टेसन किन्न र पसल चलाउन वा त्यस्तै व्यापार गर्न । उसले एकसासमा सबै कुरा भनी र उसको किन हो त्यस्तो विश्वास थोपरेकी मलाई । मैले विश्वास नै गर्न सकिन ।
क्रमशः