हरि उप्रेती | साहित्य | मंसिर २५, २०८०
प्रत्येक बम गोलाका आवाज संगै
कोलाहल र चिच्याहट छरिन्छन्
क्रन्दन र पीडाका आँसुहरू झर्छन्
दया माया करुणामा धावा बोल्छन्
धर्मान्धता होस् पहिचानको इतिहास
बहिर्गमन र आगमनका अट्टहास
देखिदैन जीवनको मूल्य
स्वीकारिदैन अर्काको अस्तित्व
शक्तिको उन्मादको हुङ्कार एकातिर
प्रतिशोधी क्रोधका ज्वाला अर्कातिर
व्यापारको वृध्दिका हतियार
सत्ता विस्तारको तुच्छ स्वार्थ
बारुदी धुवाँ भित्र साँटिदो जीवन
पानीको अभावमा रगतको खोलो
भोको पेटमा गोलीको खुराक
अध्यारो भविष्यमा आगोका लप्का
कल्पनातित क्रुरताका प्रहार
लाशहरूको थुपारिएका पहाड
पल पल चल्ने गन्धको बहाव
टाढैबाट देख्दा पनि हुन्छ तनाव
उफ् ! कति भयङ्कर छ युध्द
दुई अक्षर भित्र साटिने
उत्थान र पतन संग बाटिने
एक युग र एक पहिचान नै सक्किने
कापिरहेका औँलाहरू
आत्तिएका कोमल मनहरू
दुखी रहेका मुटुहरू
प्रार्थनाका हातहरू
एकै स्वरमा कराउँछन्
यस्तो युद्ध !
कहिल्यै देख्नु नपरोस्
कहिल्यै नदोहोरियोस्
कसैले भोग्नु नपरोस्
कहिल्यै सुन्नु नपरोस् !!