लोकसंवाद संवाददाता | अपराध | पुस ०६, २०८०
काठमाडौं र वैदेशिक रोजगारीका निम्ति पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–७ का २५ वर्षीय प्रदीप बुढाथोकी छन् ।
उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–१३, बालकोटमा बस्दै आएका थिए । बिहीबार साँझ उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीका निम्ति पोल्यान्ड पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति सात लाख ७५ हजार रुपैयाँ लाग्ने भनेका थिए ।पीडित’बाट पटक–पटक गरी एक लाख ८० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए ।
पोल्यान्डमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने उनको आश्वासन थियो । त्यहाँ मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको खुलेको थियो।पक्राउपछि थप अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।