हरिविनोद अधिकारी | दृष्टिकोण | पुस ०७, २०८०
समयको के कुरा भयो र ? समय भनेको सम्झना नै रहेछ । इतिहासको कुरा गर्दा पनि त स्मरणको भाग मात्रै त हो रहेछ । जीवनको अनेक आयाम हुने रहेछन् र समयले सबैको सम्भावना र परिणाम देखाउने रहेछ ।
लेखिने प्रत्येक शब्दहरूले आफैँलाई संबोधन गर्ने हुन् । दर्शनका अनेकानेक पाटाहरू छन्, कसैले आफूलाई बिर्सनु भन्छन् त कसैले आफूलाई सम्झनु भन्छन् । हामीलाई सानामा क ख ग घ सिकाउँदा सहजीकरण गर्दै गुरुले भन्नुहुन्थ्यो, राम्रो म ! प, फ, ब , भ पछि आउने अक्षर साह्रै मन पर्थ्यो किनभने त्यो भनेको म थियो ।
आज पनि सबैभन्दा बढी माया लाग्ने भनेको मलाई मेरो नै हो । उदाहरण दिँदा भन्छन् नि, भूकम्प आयो भने पहिले आफू दौडन्छ मान्छे र अनि अरुको खोजी गर्छ। या कुनै पनि आपत्विपत्मा मान्छेले आफूलाई सुरक्षित गर्छ अनि बल्ल अरुको बारेमा सोच्छ । तर एकथरी दार्शनिकहरूले भन्ने गरेका छन्, आफूलाई मात्र सम्झने स्वार्थी हो, ऊ त कहिले पनि जीवनमा सफल हुँदैन ।
अर्का थरी दार्शनिकहरू भन्दा रहेछन्, आफूलाई बिर्सनेले अरुलाई झन किन सम्झँदो हो र ? ऊ झन पापी हो किनभने ऊ आफैँलाई नै बिर्सन्छ र अरुलाई त झन किन सम्झनु पर्ने हो र ? तर मानिस मात्र होइन, सम्पूर्ण सचेत प्राणीहरूमा अपनत्वको भाव हुन्छ र आफूलाई संरक्षण गर्ने सोच अचानक पलाएको देख्न, अनुभव गर्न सकिन्छ ।
एउटा बेला थियो, जब घर घर जस्तो लाग्थ्यो । बा आमा, भाइ बहिनी अनि इष्टमित्रको आवत जावत हुन्थ्यो । अझ साउने सङ्क्रान्तिमा लुतो फालिन्थ्यो । कर्कट राशिमा सूर्य प्रवेश गरेको दिनमा चाडको रुपमा मनाइन्थ्यो र वर्षाको बेलामा जंगलमा काँडाले कोर्ने भएकाले त्यो दिन काँडा जतीलाई पोलिन्थ्यो । अहिले लाग्छ, जसले यो चलन चलायो, कति वैज्ञानिक तरिकाले त्यसलाई जनमानसमा भिजाइएको रहेछ । त्यो त सूर्यको गतिको बारेमा नभई पृथ्वीको गतिको गणना रहेछ । कति डिग्री पृथ्वी झुक्ने अनि त्यसको समय सारिणीका लागि साउने संक्रान्ति,माघे सङ्क्रान्तिको दिनलाई चाडको रुपमा मनाइने रहेछ ।
वैशाख १ गतेका रुपमा हाम्रा घरमा नयाँ वर्ष मानिने कुरा मैले सचेत भएदेखि थाहा पाएको हुँ किनभने पात्रो हुन्थ्यो । सौरमास र चान्द्र मास दुवैको सम्मिश्रणमा हाम्रा दैनिकी चलेका रहेछन् । नेपालमा शक सम्बत पनि चलेको रहेछ । अचेल हामीले नेपालको मौलिकताका आधारमा धेरैवटा वर्षहरुको ह्लोसार भन्दै मान्दै आएका छौँ ।
क्षत्रीयको छोरो राजा भएकाले त युद्ध पो गर्छन्, तागत भए मलाई हराउनु , होइन भने यो मणिपुर मेरो राज्य मान्नु । यसरी आफ्नी आमाको सतित्व, अस्तित्वमाथि प्रहार गर्ने अर्जुनलाई बभूरबाहनले आफ्नै आमाको सतित्वको शपथ लिँदै हानेको वाणले अर्जुनको शिरच्छेदन भएको थियो ।
नेपालमा बढी चल्तीका सम्बत्हरु हुन् , विक्रम सम्बत् , नेपाल सम्बत् र इस्वी सम्बत् । अचेल हामीले नेपाली सम्पदाका रुपमा शेर्पा नयाँ वर्ष, तामाङ नयाँ वर्ष, गुरुङ नयाँ वर्ष र मगर नयाँ वर्ष मनाउँछौँ । अझ नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्रले दर्जनौँ भाषालाई जीवित राख्नका लागि प्रकाशन गरिरहेको छ पालैसँग महिना भरीमा । सम्बत्, भाषा, सँस्कृति हाम्रा साझा सम्पत्ति हुन् । सक्दा त तिनको प्रारम्भिक लिपि समेतको विकास गरिनु पर्छ जसले नेपालको संस्कृतिको बहुआयामिक स्वरुपको जानकारी विश्व सम्पदाका रुपमा दिनसक्छ ।
न त विक्रम सम्बत बाहुन क्षेत्री र दलितहरूको मात्र सम्बत हो, नेपाल सम्बत न त नेपाल भाषी समुदायको मात्र हो, या कुनै पनि साँस्कृतिक सम्पदा कसैको होइन, सबैको हो । यी सबै मिलेर मात्र नेपालको समष्टिगत स्वरुपको एउटा पुञ्ज विकास हुन्छ ।
अनि साउने सङ्क्रान्तिबाट बिस्तारै हाम्रा घरमा चाड आउँथ्यो । एउटा चाड त हरिशयनी एकादशीमा नै हुन्थ्यो । त्यो पनि प्रकृतिप्रति नै समर्पण गरिएको एकादशीको चाड थियो । साउने र माघे सङ्क्रान्तिलाई किन त्यति बढी महत्व दिएका होलान् हाम्रा पुर्खाले भन्ने लाग्थ्यो, त्यो त समयको परिवर्तनको द्योतकका रुपमा स्मरण गर्ने चलन रहेछ । अनि कृष्णाष्टमी, हरितालिका तीज ।
आमाहरुले कृष्णाष्टमी पूजा गर्नुहुन्थ्यो रातीमात्र कृष्णको । कारण रहेछ, श्रीकृष्णको जन्म पनि मध्यरातमा कारागारमा भएको रहेछ । श्रीकृष्णको चित्र सायद काठमाडौँ , जसलाई हामीले सुन्दा जान्दा नेपाल भनिन्थ्यो, नेपालबाट ल्याएका चित्रहरु हुन्थे। बाकसमा राखेका ती श्रीकृष्णले दही चोरेका फोटा, श्रीकृष्णले काली नागलाई दमन गरेका फोटा, राधा र कृष्ण सँगै उभिएका फोटा जहाँ राधा अग्ली थिइन् र गोरी थिइन् अनि कृष्ण काला थिए ।
आमाले भन्नुहुन्थ्यो, राधा र कृष्णको बिहे हुँदै भएन रे तर राधा विना कृष्ण र कृष्णबिना राधाको कुनै अस्तित्व हुँदैन । अनि आमा त कृष्ण प्रणामी हुनु हुँदो रहेछ अनि मलाई राती सुत्ने बेलामा राधाको प्राकट्यका बारेमा केके भन्नुहुन्थ्यो । राधाको जीवन चक्र लाखौँ वर्ष पहिलेदेखि थियो, उनी परमधाममा थिइन्, उनको आराधना शिव, ब्रह्मा, विष्णु र कृष्णले गर्थे रे भन्नुहुन्थ्यो ।
पछि मेरा आमाले अठार पुराण सुन्नुभयो र मलाई भन्नुहुन्थ्यो, हेर तँलाई मैले सानामा भनेको राधा र कृष्णको कथा ब्रह्मवैवर्त महापुराणमा छ, तैँले त्यो पुस्तक पढ्नू है । आमामा ती पुराणहरूका मिहिन कथाहरुको पनि सम्झना थियो । त्यसो त मेरा घरमा उपदेश मञ्जरी भन्ने एउटा नैतिक शिक्षाको पुस्तक थियो पौराणिक कथाहरुको बारेमा जानकारी दिने । मैले त्यही बेलामा, सानामा नै महाभारतको आश्वमेधिक पर्वमा बभ्रूबाहन र अर्जुनको युद्ध अनि अर्जुनको मृत्युको कथा सुनेको थिएँ ।
बभूरबाहनले जब आफ्नी आमा चित्राङ्गदाको सतीत्वलाई अर्जुने स्वीकार गरेनन् र रानीको रुपमा उनको अस्तित्वसमेत मानेनन् अनि बभूरबाहनलाई छोराको रुपमा स्वीकार नगरेपछि उनले आफ्नी आमाको सतीत्वको नाममा जब वाण हाने, त्यही वाणले अर्जुनको वध भयो । पछि अर्जुनको टाउको कसरी फिर्ता भयो भन्ने कुरामा आमाले भनेको कथाले मलाई अहिले पनि महाभारतको लालित्य र सत्यताको महिमा याद आउँछ ।
एकातिर मणिपुरसम्म अर्जुन पुग्नु, अर्कोतिर आफ्ना बडाबा चक्रवर्ती महाराज युधिष्ठिरको नाममा अश्वमेध यज्ञका लागि छोडिएको घोडा आउनू, त्यसको रक्षाका लागि आफ्नै पिताजी अर्जुन आएकाले उनले आफूले पक्रिएको घोडा बुझाउन जाँदा अर्जुनले भनेका रहेछन् । कुन थिई चित्राङ्गदा भन्ने मेरी रानी, त्यस्तो कोही पनि मेरी रानी थिइनन् , तँ त कस्को छोरा होस् मलाई थाहा छैन, कसैसँग लागेर तँ जन्मेको होलास्, त्यसैले म तेरो अस्तित्व मान्दिन मेरो छोराको रुपमा ।
क्षत्रीयको छोरो राजा भएकाले त युद्ध पो गर्छन्, तागत भए मलाई हराउनु , होइन भने यो मणिपुर मेरो राज्य मान्नु । यसरी आफ्नी आमाको सतित्व, अस्तित्वमाथि प्रहार गर्ने अर्जुनलाई बभूरबाहनले आफ्नै आमाको सतित्वको शपथ लिँदै हानेको वाणले अर्जुनको शिरच्छेदन भएको थियो ।
शत्रुहरू कसरी समय पर्खेर बसेका हुँदा रहेछन् भने धृतराष्ट्र नागको छोरो दुर्बुद्धिले अर्जुनको शिर त्यहीँ रह्यो भने कसैले जोड्लान् भनेर लिएर भागेछ आफ्ना मित दाइहरुको बदला लिन । अनि श्रीकृष्णले आफू सधैँ ब्रह्मचर्या श्रममा रहेको भए अर्जुनको शिर तत्कालै आओस् र धडमा जोडियोस् भनेको कथा आमाले जुन विस्तारसँग भन्नुभएको थियो मलाई सुत्ने बेलामा, आज पनि त्यति मिठो र जिज्ञासा पूर्ण महाभारत पढ्दा पनि लागेन ।
अनि आमाले रहस्य पनि भन्नुभएको थियो, हेर छोरा,त्यो बेलामा बच्चा पाएपछि आमाको हक कि बाबुको भन्ने विवाद नरहोस् भनेर पहिले नै मणिपुरका नागा जातिलाई राजा बनाउन भनेर बभूरबाहन दिएको रहेछ तर अर्जुनले श्रापका कारणले बिर्सिएका रहेछन् । अनि माता महारानी चित्राङ्गदाले जब छोराले बाबु मारेका सुनिन् , रुँदै भन्न थालिन् मलाई पनि मार । अनि हस्तिनापुरबाट कुन्ती पनि आइन्, अरु सैन्य बल पनि आयो र सुलह भयो ।
कथाको कुरा गर्दा महाभारतको पहिलो श्रोता भनेका पैल, जैमिनि, बैशम्पायन, सुमन्तु र शुकदेव स्वामी थिए । सबैले महाभारतको पुर्न पाठ लेखेका थिए होलान् तर वैशम्पायनको चाहिँ हामीसँग अहिले पनि चल्तीमा छ । जैमिनिको बाँकी रहेको भनेको आश्वमेधिक पर्व हो जुन वैशम्पायनको भन्दा फरक स्वादमा छ । भनिन्छ, कन्नड भाषामा बाँकी रहेको संस्कृतको मूल तर कन्नडमा टीका रहेको जैमिनि भारतमात्र हो । पूरा महाभारत नष्ट भएको मानिन्छ । तर मेरा आमामा त्यो ज्ञान कसरी भयो पहिले नै अठार पुराण सुन्नुभन्दा पनि पहिले नै । थाहा छैन र मैले सोध्दा पनि सोधिन किनभने आमाको भौतिक उपस्थितिमा मैले अठार पुराणको अध्ययन गरेकै थिएन र महाभारतको पनि अध्ययन ध्यान दिएर गरेकै थिएन ।
हामी आज पनि महाभारत युगको छिपछिपे प्रभावमा छौँ किनभने त्यसपछि चन्द्र गुप्त मौर्यको शासनले मात्र पुनर्जागरण ल्याएको रहेछ अनि बाँकी रहेका सांस्कृतिक सम्पदाको अध्ययन भएको रहेछ । आदि शंकाराचार्यले एउटा पुनर्जागरणको शंख घोष गरे जुन आजसम्म प्रति ध्वनित छ । महाभारतका वैज्ञानिक तथ्य र प्रगतिशील कानुनी राज्यका बारेका पछि वयान गरुँ ला ।
अहिलेलाई एउटा कविता ।
प्रकृति र प्राणी
२०७६.११.२८
१. फूलहरु फुलून्
बास्ना पनि आओस्
ती फूलहरु त्यसै नझरुन्
फल नलागिकन
फल पनि लटरम्मै लागून्
ती फलको बैँस आओस्
पाकून् र फेरि पुनरुत्पादन हुन सकून्
फेरि फूल फुलोस्
फेरि फल लागोस्
यो क्रम निरन्तर भइरहोस्
सृष्टिको यो क्रम
नखल्बलियोस् , अविरल यात्रा
चलिरहोस् चलिरहोस् ।
२. सृष्टिको अविराम गणित
चक्रवत् चक्रवत्
घुमिरहन्छ, घुमिरहन्छ फन्फनी
थाक्दैन कहिल्यै पनि अविरल
प्रकृति र प्राणी अन्योन्याश्रित
प्रकृति मौनताका साथ
प्राणीको रक्षा गर्छ
प्राणी सचेतताका साथ
प्रकृतिको दोहन गर्छ
अनि क्षतिपूर्तिका लागि
रक्षा गरेकै हुन्छ
३. प्रकृतिको गणित अकाट्य हुन्छ
मान्छेको गणितचाहिँँ बेलामौकामा
फेरिन्छ, फेरिई रहन्छ
सचेत प्राणी मान्छे
कहिले सहृदयी हुन्छ
कहिले स्वार्थी हुन्छ
तर मान्छेविनाको
यो मत्र्यलोकको
कल्पना कसरी हुन्छ र ?
४. होला कतै अर्को लोक
त्यो पनि त प्रकृतिभित्रै हो
ब्रह्माण्ड पनि त ज्ञात अज्ञात प्रकृति हो
त्यसैले प्रकृति र प्राणी पूरक
हुनैपर्छ र त सम्वन्ध रहेकै छ
तर पनि मानवताको एउटा बाटो
प्रकृतिप्रति बढी नै संवेदनशील छ
त्यही नै मौनता र कोलाहलका बीचको
अनौठो सन्तुलन बनेको छ प्रकृति र प्राणीको ।
क्रमशः