गणतन्त्रमा बहुदलीय व्यवस्थाको विकल्प: पात्रको कि व्यवस्थाको ?

फर्कलान् र ती  दिनहरु-१९३

गणतन्त्रमा बहुदलीय व्यवस्थाको विकल्प: पात्रको कि व्यवस्थाको ?

हरिविनोद अधिकारी  |  साहित्य  |  पुस १४, २०८०

स्मृतिमा यस्ता कुराहरु पनि आउँछन् जुन अक्षरमा लेख्न पनि गाह्रो हुन्छ, बाहिर भन्न पनि मुस्किल हुन्छ । जीवनमा थाहा पाएर या नपाएर घटेका कति घटनाले ,  घटेका कुराले जीवनमा अचम्मको प्रभाव पारेको हुन्छ तर कसरी प्रभाव पारेको थियो अनि त्यसबाट केके प्रभाव पर्‍यो र जीवन सुखमय र खुसयाली भयो भन्ने कसरी र कसले मूल्याङ्कन गर्ने र ? आफ्नो बारेमा आफूभन्दा ठुलो  प्रयोगकर्ता पनि अर्को हुँदैन तर कसरी कुन तरिकाले जीवनमा त्यसको प्रभाव प¥यो भन्ने बारेमा थाहा नै नहुने रहेछ । 

मानिस सामाजिक प्राणी हो भनेर विद्यालयमा पहिले नै सुनियो, पढियो र त्यस्तै लेखियो तर वास्तवमा मानिस सामाजिक प्राणी हो कि आफैँमा मख्ख पर्ने व्यक्तिगत जीवन बाँच्न चाहने, स्वतन्त्रता प्रेमी प्राणी हो ? कहिले लाग्छ मानिस आफैँमा एउटा पूर्ण व्यक्ति हो, कहिले लाग्छ मानिस कहिले पनि पूर्ण हुन सक्दैन होला ।

पूर्णताका अनेकानेक मानक बनाएका छौँ हामी मानिसहरुले । कहिले कस्तो मानक बनाउँछौँ त कहिले ती मानकहरु भत्केका हुन्छन् र नयाँ नयाँ मानकहरु तयार गरिन्छन् । मानिसहरुको जीवन त्यही मानकका आधारमा चल्ने गरेको पाइन्छ । कति मानक सामाजिक पनि हुन्छन्, कति मानक आर्थिक पनि हुन्छन्, कति मानक कानुनी पनि हुन्छन् र कति त नैतिक मानक पनि हुन्छन् ।

कति कुरा संविधानले तोकेका मानक मान्नुपर्ने हुन्छ । कति संविधानअनुसार बनाइएका कानुन, नीति, नियमका आधारमा जीवनका मानक तयार गरिएका हुन्छन् । कति मानक आफ्नै तरिकाले बनाइएका हुन्छन् जसका कुनै कानुनी मान्यता भन्दा पनि पारिवारिक र सामाजिक प्रक्रियामा आफैँले पूरा गर्नुपर्ने पनि छन् । 

मैले पनि जीवनको पूर्वार्द्ध देखि नै प्रजातन्त्र प्रतिको आफ्नो दृढता कायम गर्ने कोसिस गरेको हुँ । मेरो आफ्नो विचारमा मैले त्यो बाटो परिवर्तन गर्नुपर्ने कुनै कारण पनि देखिन । प्रजातन्त्रप्रति आस्था राख्ने भनेको जीवनका हरेक मोडमा त्यसप्रति आस्था र विश्वास गर्नु हो । प्रजातन्त्रका लागि हाम्रो विश्वासले भन्छ, दलीय स्वरुपमा मात्र प्रजातन्त्र जीवित रहन्छ ।

दलहरुका विभिन्न क्रियाकलापका आधारमा प्रतिस्पर्धात्मक तरिकाले शासन सञ्चालन गरिन्छ जसको मुख्य आधार भनेको जनताको हितमात्र हुन्छ । मानिस स्वतन्त्र जन्मन्छ, उसले आफ्नो स्वतन्त्रता कायम गर्न पाउनु पर्छ र त्यसका लागि संवैधानिक प्रत्याभूति समेत गरिएको हुन्छ । प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ । अभिव्यक्ति स्वतन्त्रताको कतिसम्म महत्व हुन्छ भने उसको मालिक ऊ आफैँ हुन्छ । कानुनले केही सीमा तोकेको होला तर सामान्य रुपमा नागरिक शासन भनेको नागरिक प्रतिको अति सम्मान हो । हाम्रो समसामयिक समाजमा दलको यति धेरै प्रभाव छ कि मानिसहरु विचारका आधारमा दलप्रति आस्थावान् हुने गरेको पाइन्छ । कतिसम्म भने विचारको आधारमा दलको गठन हुन्छ, गठन भएका दलहरुले तर संविधानको ढाँचाभन्दा बाहिर गएर कुनै कार्यक्रम गर्न पाइँदैन । 

हिजो यहाँ निर्दलीय पञ्चायती व्यवस्था थियो ।  त्यहाँ दलीय संगठन वर्जित थियो तर भूमिगत रुपमा दलीय क्रियाकलाप भइरहेका थिए । नत्र  २०३६साल जेठ १० गते जुन बेला जनमत संग्रहको घोषणा गरिएको थियो, त्यसो गर्ने दबाब सायद आउँदैन थियो यदि दलहरु आफैँ भूमिगत रुपमा भए पनि संगठित नरहेका भए । २०१७साल पुस १ गतेबाट राजा महेन्द्रले निर्दलीय व्यवस्था भनेर घोषणा गरे पनि जनताले आफ्ना विचारका लागि दलहरुको संरचना बनाई रहेका रहेछन् ।

जनमत संग्रहले तत्कालीन निर्दलीय र निर्विकल्प व्यवस्थाको रुपमा मानिएको पञ्चायती व्यवस्थामा प्रश्न उठाए पछि राजा वीरेन्द्रले सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था भनेर जनमत संग्रहको घोषणा गरेको अवस्थामा जनता दलीय स्वरुपमा नै सडकमा निस्केर बहुदलीय व्यवस्थाको पक्षमा आफूलाई उभ्याए । त्यसो त केही दलहरु चाहिँ बहुदल र निर्दल एउटै हो भन्ने पनि देखिए र जनमत संग्रह धोका हो भन्ने पनि देखिए ।  

तत्कालीन अवस्थामा निर्विकल्प राजनीतिक व्यवस्थाको विकल्प देखियो र कतिले राजनीतिक रुपमा जोखिम मोलेर भए पनि पञ्चायतको विरुद्ध आफूलाई होमे । कतिलाई पञ्चायतले कारबाही गर्‍यो , कतिलाई विभिन्न सेवाबाट हटायो र कतिलाई कारागारमा समेत राख्यो । कारण के पनि हो भने २०४६साल चैत २६ गते रातीसम्म त पञ्चायत नै थियो किनभने २०३७साल वैशाख २० गते भएको राष्ट्रिय जनमत संग्रहको निर्वाचनमा सुधारिएको पञ्चायतको पक्षमा ५५ प्रतिशत मत आयो भने बहुदलीय पक्षमा ४५प्रतिशतमात्र मत आयो । 

हामीले बहुदलीय व्यवस्था पुनस्र्थापना गर्‍यौँ । ठिक गरेका हौँ । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा मात्र मानिसको मानव अधिकारको रक्षा गर्ने क्षमता हुन्छ किनभने त्यो व्यवस्था खुला हुन्छ,जनताको प्रत्यक्ष मतबाट चुनिएका प्रतिनिधिहरुको सरकार हुन्छ जसले जनताका घरमा आवधिक रुपमा जानुपर्छ र उत्तरदायी नहुने हो भने तिनको प्रभाव जनतामा शून्य हुन जाने डरले जनताप्रति उत्तरदायी हुनैपर्छ ।

दलीय व्यवस्था भनेको दलहरुको संगठन मार्फत् देश विकासका लागि योजना बनाउने, योजना कार्यान्वयन गर्ने जसका लागि दलको सरकार नै आधार हुने भयो । हुन त अहिलेको समाजमा दलहरुको काम कारबाहीप्रति जनतामा किन हो, निराशा देखिएको छ भनिन्छ । त्यसो हुनुमा दलहरुले सही मानिसहरुको चयन गर्न नसक्नु हो । कार्यकर्ताहरु भनेका दलका लागि खट्ने महत्वाकांक्षी जमात हो । महत्वाकांक्षा भनेको तत्काल मन्त्री हुने भन्दा पनि मेरो दल जब सत्तामा जानेछ, त्यसले यो यो काम गर्नेछ भन्ने अपेक्षा लिएको हो । त्यसैको नारामा उसले दलका लागि मत मागेको हुन्छ अनि जब दल सत्तामा जान्छ र ती बाचाहरू पूरा हुँदैनन् , स्थानीयहरुले चिनेकाहरूलाई नै सोध्ने हुन् खोइ त  पहिले भनेका कुराहरु किन पूरा भएनन् ? आजको अवस्था सायद त्यही हो । 

दलले भ्रष्टाचार गर्ने त होइन तर नेपाली राजनीतिको विशेषता के हो भने यहाँ जताततै दलीय प्रभाव परेको छ । त्यसो त कम्युनिस्ट व्यवस्थामा दलको सदस्य नभएको व्यक्तिले कुनै पनि पदमा, संगठनमा ठाउँ पाउँदैन । सेना, प्रहरीमा समेत आफ्नो कम्युनिस्ट पार्टीप्रति सम्मान गर्ने पार्टी संगठित सदस्यले मात्र ठाउँ  पाउँछ । प्रजातान्त्रिक व्यवस्थामा त्यसो नहोस् भनेर राजनीतिक दलको सदस्यता त्यागेर मात्र सार्वजनिक पदमा ठाउँ पाइने चलन कानुनमा छ । तर सर्वत्र दलीय प्रभाव परेको पाइन्छ ।

अनि दलको जहाँ  बिगबिगी हुन्छ, त्यहाँ चाकडी र चुक्लीले ठाउँ स्वतः बनाउँछ । जसले बढी जानकारी दिन्छ अर्थात् अरुका कुरा लाउन आउँछ, त्यही नै प्यारो हुन्छ । विवेकको प्रयोग नगर्ने दलको नेतृत्वलाई टिक्न गाह्रो होला भन्ने लाग्छ । मैले आज सैद्धान्तिक कुरामात्र भनेको हुँ । कतिपय बेलामा त नेतृत्वको गल्तीले गर्दा राज्य नै असफल हुने अवस्था आउँदो रहेछ जस्तो कि हामीले चुच्चे नक्सा त तयार ग¥यौँ तर अतीतमा भारतसँग दोहोरो कुरा गरेर आफ्नो भूमिको रक्षा गरेको भए सायद आज नक्सामा मात्र चुच्चो राखेर बस्नु पर्ने थिएन । 

हामीले बहुदलीय व्यवस्था पुनस्र्थापना गर्‍यौँ । ठिक गरेका हौँ । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा मात्र मानिसको मानव अधिकारको रक्षा गर्ने क्षमता हुन्छ किनभने त्यो व्यवस्था खुला हुन्छ,जनताको प्रत्यक्ष मतबाट चुनिएका प्रतिनिधिहरुको सरकार हुन्छ जसले जनताका घरमा आवधिक रुपमा जानुपर्छ र उत्तरदायी नहुने हो भने तिनको प्रभाव जनतामा शून्य हुन जाने डरले जनताप्रति उत्तरदायी हुनैपर्छ ।पात्रको कारणले विश्वभर नै प्रजातन्त्रप्रति प्रश्न उठ्न थालेको हो र पनि प्रजातन्त्र बराबर अर्को कुनै राजनीतिक व्यवस्था छैन जसले जनताको अस्मितामाथि पूर्ण विश्वास गरेको होस् । 
अब एउटा कविताको स्वाद दिएको छु । 

जीवन चक्रपथ 
२०७७.५.१०(२६ अगस्ट २०२०)
१.बाटुलो  समय पनि छ
समय चेप्टो पनि हुन्छ
तर घुमी घुमी एकै ठाउँमा
आउने एउटा चक्रपथ छ ।

२.घुमीफिरी रुम्जाटार भन्थे
रुम्जाटार त ओखलढुङ्गामा छ
तर यो उखान नेपालभर 
दोहोरिन्छ उही ठाउँमा आउँदा ।

३. नेपालीहरु जहाँ जहाँ छन् 
त्यहाँ रुम्जाटार पुगेकै छ
चक्रपथको बिम्बमा घुस्रेर
चक्रपथ एउटा घुमाउरो समय ।
 
४. गन्तव्य कसरी निर्धारण हुन्छ र ?
समयले सधैँ पखेटा हाल्छ नि त,
एउटै समय हुन्छ तर विभाजित
मनस्थितिसँगै घुमी घुमी ।

५. वादल मुनिको साम्राज्य
अनि पातालमाथिको असीमित राज्य
घुमी घुमी एउटै जीवनको
परिधिभित्रै बारम्बार घुमिरहेको छ ।

६.न घाम छ, न पानी छ
न खुसी छ , न दुःख छ
सबैतिर निराकार छ 
आकारसँगै निराकारको चक्रपथ छ ।

७.जीवनको परिधि एउटा चक्रपथ
परिधिभित्र एउटा दैनिकी जीवन
जीवनको परिधिभित्र नयाँ दैनिकी
बारम्बार दोहोरिन्छ एउटा परिधि ।

८. व्योमपथसँगै जीवनको परिधि
खगोलसँगै भूगोलको नयाँ परिधि
भूस्वर्गसँगै जीवनको परिधि मापन
चाहिएन त्यस्तो झुठो जीवन ।

९. सीमितता भित्र असीमितताको परिधि
व्यष्टिसँग समष्टिको परिधिभित्र
एउटा जीवनको चक्रपथ 
बारम्बार दोहोरिने तर नयाँ परिवर्तन ।

१०.जहाँ जे सम्भव छ त्योमात्र
अपेक्षित हुन्छ व्यवहारमा, तर
महत्वाकांक्षाको चक्रपथभित्र 
असम्भव के छ र ?

११.जीवनको चक्रपथमा 
सम्यक परिधिभित्र , तर 
आइरहने व्यवधानसँगै 
खुम्चिएको वर्तमान । 

१२. महिना र वार उस्तै छन्
प्रकृतिका सम्पूर्ण व्यवहारहरु
आफैँमा चक्रपथको परिधिभित्रै 
बाँधिएका छन् सौर्य कक्षको सीमानामा । 
क्रमशः