हरिविनोद अधिकारी | दृष्टिकोण | माघ ०१, २०८०
मानिसको मस्तिष्कले कसरी काम गर्छ ? यसबारेमा कहिलेदेखि अनुसन्धान सुरु भयो भन्ने कुनै तिथिमिति थाहा छैन । थाहा नभए पनि तर जबदेखि मानिसमा आफ्ना बारेमा जिज्ञासा हुन थाल्यो, त्यही बेलादेखि आफ्ना बारेमा आफैँले विचार गर्न थाल्यो । यो क्रमले बुझ्न सकिन्छ, हजारौँ वर्षदेखि अनुसन्धान भइरहेको छ र जति परिणाम प्राप्त भएको छ, ती विभिन्न माध्यमबाट जानकारी पाइएकै छ ।
तर विभिन्न अनुसन्धाताहरुले विभिन्न तरिकाले अनुसन्धान गरिरहेका छन् र परिणाम पनि फरक फरक देखिन्छ । मलाई कहिलेकाहीँ आफैँदेखि छक्क लाग्छ, पहिलेका कस्ता कस्ता साना साना मिहिन कुराहरु पनि याद आउँछ तर निकट अतीतका महत्वपूर्ण मानिने कुराहरुको भने कुनै स्मरण हुँदैन । त्यतिमात्र होइन , बारम्बार सम्झाउँदा पनि सम्झन सकिँदैन । आखिर यस्तो किन हुन्छ ? सायद यससम्बन्धमा मस्तिष्क वैज्ञानिक तथा शरीर अनुसन्धाताहरुले पनि भन्न सक्दैनन् जस्तो लाग्छ । कारण हो,प्रत्येक व्यक्ति आफैँमा पूर्ण एकाइ हो । त्यसो त दार्शनिक अर्थमा संसार कतै पनि र कुनै पनि अर्थमा पूर्ण हुँदैन ।
दर्शन पनि अनेक तरिकाले अर्थ्याइएका छन् र कसैले व्यक्तिलाई सधैँ पूर्ण एकाइको रुपमा मानेको पाइन्छ । अस्तित्ववादले पनि त्यही भन्छ, प्रत्येक व्यक्तिको आफ्नै महत्व छ, आफ्नै अर्थ छ र उसमा रहेको क्षमता अरुमा कहाँ पाइन्छ र ? उसलाई पनि थाहा हुँदैन कि उसमा कति क्षमता छ । त्यसको असल उदाहरणका रुपमा रामायणमा हनुमानलाई उनको क्षमताका बारेमा अरुले भनेका छन् तिमी त सानामा रोटी सम्झेर सूर्यलाई नै निल्न गएका थियौ , तिमीमा अप्रतिभ क्षमता छ । त्यसैले यो समुद्र नाघ्न सक्छौ, नाघेर लङ्का पुगेर माता सीताको जानकारी लिएर आऊ । नभन्दै हनुमानले सय योजन अर्थात् चार सय कोसको समुद्र नाघेर लङ्का पुगेर सीता माताको खबर लिएर आए भन्नेछ ।
दाहिने तर्फको मस्तिष्क र देब्रेतर्फको मस्तिष्कको कति प्रयोग कसरी भएको छ भन्ने कुराको अझै खोजी जारी छ । मानवीय नियतलाई कसरी व्याख्या गर्ने भन्ने पनि अझै संशयको विषय बनेकै छ । किन युद्ध हुन्छ ? किन युद्धप्रति मानवीय चाहना बढ्छ ? जित्नका लागि कि अहम् तुष्टिका लागि ? सधैँ कोही पनि बाँच्दैन भन्ने पनि थाहा छ र पनि किन विवाद, झगडा र हत्या हिंसा ?
प्राणी मात्रमा त्यस्तो के विशेषता छ जसको क्षमता, आकार, स्मृति , विस्मृत, मोटाइ, गोलाइ, सोचाइ र भविष्यमा के हुने हो भन्ने आधार पुर्खाहरूको क्षमतामा निर्धारण गर्छ भन्ने छ । जस्तो कि दौडन सक्ने क्षमता, पानी कम पिए पनि हुने क्षमता, आदि अनेक विशेषताको कुरा छ । वनस्पतिहरूको कलमी गर्ने पनि त्यही क्षमताको स्थानान्तरण गर्ने हो, पशुहरुको गुण परिवर्तन गर्ने पनि त्यही सिद्धान्तका आधारमा हो । त्यस्तो सिद्धान्तहरू थपिँदै छन् र जटिलता पनि थपिँदै छन् । तर मानिसहरुमा कसको कति प्रभाव परेको हुन्छ भन्ने कुराको भने अझै अनुसन्धान हुँदैछ । भइरहला अझै कति सदियौँ सम्म । हजारौँ वर्षमा पत्ता लागेका कुराहरु छिनमा नै गलत साबित हुन्छन् र नयाँ तथ्य फेला पर्छन् जुन सधैंका लागि सत्य नहुन सक्छन् ।
हाम्रा पुर्खाले पत्ता लगाएका थिए, आहार निद्रा भय मैथुन यी चार तत्वहरु भने साझा विशेषता हुनेछन् सचेत प्राणीहरूमा । त्यसले अझैसम्म सत्यापन कायम गरेको छ । मानिसमा, या अन्य प्राणीमा कसरी सही र गलत थाहा हुने सचेतना प्राप्त हुन्छ जबकि सही र गलत नै परिवेश, ठाउँ र समयअनुसार फरक फरक हुन्छन् ।
दाहिने तर्फको मस्तिष्क र देब्रेतर्फको मस्तिष्कको कति प्रयोग कसरी भएको छ भन्ने कुराको अझै खोजी जारी छ । मानवीय नियतलाई कसरी व्याख्या गर्ने भन्ने पनि अझै संशयको विषय बनेकै छ । किन युद्ध हुन्छ ? किन युद्धप्रति मानवीय चाहना बढ्छ ? जित्नका लागि कि अहम् तुष्टिका लागि ? सधैँ कोही पनि बाँच्दैन भन्ने पनि थाहा छ र पनि किन विवाद, झगडा र हत्या हिंसा ?
मानवीय क्षमताको बारेमा श्रीमद्भगवत गीताले विश्वरुपका माध्यमबाट अस्तित्वको खोजीलाई राम्रोसँग व्याख्या गरेको छ । भीष्म पर्वका ती १८ अध्यायले मानवीय चरित्र र विशेषताका बारेमा अत्यन्त मिहिन तरिकाले सम्झाएको छ । सायद त्यही भएर २१ औँ शताब्दीमा सबैभन्दा बढी पढिने दर्शनका रुपमा गीतालाई लिइएको छ । झन अहिले ओपन हाइमरको विषयमा सिनेमा बनेकोले पनि गीताको चर्चा झम बढी भएको छ जसले मानवीय समस्याको नयाँ नयाँ व्याख्यालाई बाटो खुलाएको छ ।
र्को प्रसङ्गका बारेमा कुरा गरौँ । मैले आजभन्दा १५वर्ष अघिको वैश्विक परिवेश र नेपाली अवस्थाका बारेमा एउटा कविता लेखेको थिएँ, हालै कतै फेला पर्यो। त्यसलाई प्रस्तुत गरेको छु ।
कविता
२०६५।७।२८ रातको ११ बजे
सडक नै कारागार भएको छ
१. झ्याउँकिरी कराएर रातमा
चन्द्रमालाई जिस्क्याइरहेका छन् ।
आकाश गङ्गामा आज मात्रै रकेट पसेछ
मान्छेहरू नाङ्गै खुट्टा आकाशमा दौडिरहेका छन्
हिमाल पग्लँदो छ, प्रशान्त महासागर फैलँदो छ
सिल मरिरहेकोमा ठुलो कोलाहल छ
प्रत्येक दिन, प्रत्येक छिन घरघरबाट मान्छे थुतेर
मारिँदा छन्, तर त्यो मौनताको विषय बनेको छ ।
मान्छे भोकैछन्, मान्छे रोगी छन्, मान्छेले मान्छे मारिरहेका छन्
हिउँ पग्लेको छ, झ्याउँकिरी अहिले अलिअलि दयालु भएका छन्
भ्यागुता सडकमा छन् र सडक लमतन्न सुतिरहेको छ ।
२. रोजी रोजी पद छान्दैछन्
रोजी रोजी कारागारका कोठाहरू छान्नु पर्ने थियो होला ।
कारागर खालि गर्नु परेको छ ।
सडकमा अपराधीहरू छताछुल्ल पोखिएका छन्
कारागार सडकजस्तै भएको छ
बाटो खुल्ला छ कारागारसम्मको बाटो पातलो भएको छ
सबै सडकमा घुमिरहेका छन् , सडक नै कारागार भएको छ ।
३. संस्मरण पातलो पातलो पारदर्शी छ
बिर्सनु जरुरी छ
वञ्चनम् चापमानम् च मतिमान्नप्रकाशयेत्......
कुरो खोल्नु जरुरी छैन
सम्झना पातलो नभए त बिर्सनु कसरी र ?
४. सपिण्डीमा मारामार छ, काटाकाट छ, हानाहान छ
जोसँग विचारमा प्रतिस्पर्धा हुनुपर्ने हो
ती गला मिलेका छन् आगो र खरानीजस्तै
खरानी अन्तिम विन्दु हो, जहाँ आगो लुकेर बस्छ
धुवैँ धुवाँ आउँछ, तर खरानी भित्र आगो लुकेर बस्छ
धुवाँ आउँछ तर खरानीभित्र आगो लुकेर बस्छ
जीवन त खरानी हुने हो, त्यसैले जीवनभित्र पनि
आगो लुकेर बसेको छ, ताक हेदैँछ धुवाँ आउन
अलिकति पेट्रोल , अलिकति मट्टीतेल
कोइला, झ्वार्र झ्वार्र जीवनको आगो बल्न थाल्छ
आखिर हुने त खरानी न हो ।
५. निष्पट्ट रातमा जुनकिरी टिमिक टिमिक टल्कँदा
आशाको गहिरो भुमरीमा मीठो बासनासहित
जीवन बाँच्न रहर जागेको बेलामा
निष्पट्ट रात आफैँ उज्यालो हुँदैहुँदै
आकाशगङ्गा जस्तै निर्मल र तातो तातो बाटो
छर्लङ्ग लाखौँ वर्षसम्म उज्यालोमात्रै
जीवन लाखौँ वर्षसम्म अनवरत अनवरत सन्ततिहरू मार्फत्
आशाका दीपहरू बाल्दै
निष्पट्ट निराशामा आशाको दियो बाल्दै झलमल्ल
जीवन बाँच्नेहरूको जीवन कति मोहक छ ?
खोइ, निष्पट्टरातमा जूनको टहक सेलायो
आँैशीको रातमा टहक हराएजस्तो भए पनि
कतै न कतै सुदूर घडीमा जूनहरूका साथ
आशाको त्यान्द्रो बोकेर जीवन बाँचिरहेको देखिन्छ ।
६. ओबामा , नसिद मेरा आशाका प्रतीकहरू
आकाशमा कताकता हराएका ताराहरू
मैले भर्खरैमात्र अनुसन्धान गरेर फेलापारेँ
एउटा समुद्रमा हराएको सिपी हो
अर्को पातालमा भेटिएको कोइलाको हीरा हो
गहिरो समुद्रमा नसिद कतै सिपीजस्तै कतै शीत थापेर कतै बसेको थियो
जीवनलाई संघर्षमा होमेर समुद्रमा जीवन होमेर सारा
जीवनलाई संघर्षमा होमेर
ओबामा कालो कोइला खानीमा कतै हराएको थियो कहिलो सिकागो र हिन्दचीनमा लुकामारी
जीवनको महान बलीवेदीमा लुकामारी खेल्दै हीरा बन्दै कोइला कोइलाको खानीमा विस्तारै
टलक्क टल्केर सबैको आँखामा चकाचौँध पार्दै
परिवर्तनको बाहक, प्रजातन्त्रको रक्षक बनेर
पातालमा टिमटिमायो मेरो आँगनको मखमलीको माला लाएर
अफ्रिका , अमेरिका र एसियामा नाता छरेर र उमारेर
पातालमा नागहरूको , काली नाग काली दहमा
फँुकार भर्दै जीवनलाई आशाको गोरेटोमा हालेर
नयाँ इतिहास बनाउँदैछ पातालको कोइला हीरा
जीवन छिनछिनमा बन्दोरहेछ संघर्षको गाथामा
संघर्ष कहिले पानी माग्छ, कहिले आगो माग्छ
क्हिले रगत माग्छ र कहिले पसिना माग्छ
जे माग्छ, तत्काल दिनुपर्दछ नत्र त्यसले विनाश गर्दछ
ठीक छ, — जीवनको एउटा नियम हुन्छ
त्यो चलिरहन्छ आफ्नै गुरुत्वाकर्षणभित्रको आकर्षण—विकर्षणमा
जीवन चलिरहन्छ चलिरहन्छ । अनवरत । अनवरत ।
२०६५।०६।१७ रातको ११.१०बजे