लोकसंवाद संवाददाता | समाचार | माघ ०४, २०८०
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले पछिल्ला वर्षमा आफ्नो शक्ति बलियो बनाएको छ । आईआरजीसीले मध्यपूर्वमा अमेरिकी बेस, तेल अभिभ र हाफियामा इजरायली बेस आफ्नो मिसाइलको रेन्जभित्र रहेको खुलेआम बताउँदै आएको छ । सोमबारराति इरानको रिभोल्युसनी गार्डले इराको अर्धस्वायत्त कुर्दिस्तानको राजधानी इरबिलमा ११ ब्यालिस्टिक मिसाइल प्रहार गर्यो । कुर्दिस्तान प्रशासनका अनुसार यो आक्रमणमा कम्तीमा चार जना आम मानिसको मृत्यु भयो भने ६ जना घाइते भए ।
कुर्दिस्तान इलाकाका प्रधानमन्त्री मसरुर बरजानीले यो आक्रमण कुर्दिश जनताविरुद्धको अपराध भएको बताएका छन् । आईआरजीसी निकट फार्स न्युज एजेन्सीले यो आक्रमणमा इजरायलको गुप्तचर एजेन्सी मोसाजसँग जोडिएका तीन अड्डा नष्ट गरेको दाबी गरेको छ । कुर्दिस्तान सरकारले आफ्नो भूमिमा विदेशी एजेन्टको उपस्थिति अस्वीकार गरेको छ ।
आईसीआरजीसीले चर्चित कुर्दिस करोडपति व्यापारी पेश्राव डियाजीलाई उनकै आवासमा हमला गरी हत्या गरिदिएको छ । इरानले यो आक्रमणबाट आफ्ना हतियार टार्गेट हमलामा अचुक रहेको संकेत दिएको छ । सन् २००३ मा इराकमाथि अमेरिकी आक्रमणपछि डियाजीले फाल्कन ग्रुप र एम्पायर वल्र्ड नामका दुई कम्पनी बनाएका थिए । डियाजी कुर्दिस्तानका प्रधानमन्त्री बरजानी परिवारका निकट थिए । इराकमा अझै पनि २ हजार ५ सय अमेरिकी सैनिक रहेका छन् । जसमध्ये केही सैनिक इरबिलमा पनि छन् । उनीहरु इस्लामिक स्टेटविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनका हिस्सा हुन् ।
इरानले २५ डिसेम्बरमा सिरियाको राजधानी दमास्कसको बाहिरी इलाकामा हमला गरी एक वरिष्ठ कमाण्डको हत्या गरिदियो । १५ जनवरीमा आईआरजीसीले उत्तर–पश्चिम सिरियाको इदलिब प्रान्तमा ब्यालिस्टिक मिसाइल हमला गरेको थियो । यो हमलामा इरानले आईएस र आतंकवादी संगठनलाई निशाना बनाएको थियो । इदलिब करिब ३० लाख विस्थापित सिरियाली नागरिकको इलाका हो । जसले सन् २०११ मा राष्ट्रपति बसर अल असद विरुद्धको विद्रोहको समर्थन गरेका थिए । इरान बसर अल असदको समर्थन गर्छ । इरान शिया मुस्लिम देश शो र बसर अल असद सुन्नी बहुल सिरियाका शिया प्रधानमन्त्री हुन् ।
पाकिस्तान र इरानले दशकौंदेखि जैश अल अदल लगायतका विभिन्न पृथकतावादी समूहहरू विरुद्ध लड्दै आएका छन् । झन्डै ९०० किलोमिटर लामो साझा सीमावरपर सुरक्षा व्यवस्था दुवै देशको सरकारहरूका लागि चिन्ताको विषय बन्दै आएको छ ।
इदलिबमा इस्लामिक ग्रुप हयात तहरिर अल–शर्मको बलियो उपस्थिति छ भने यहाँ आईएस र अलकायदाजस्ता आतंकवादी संगठन पनि सक्रिय छन् । आईआरजीसीले इदलिबको मिसाइल हमला ३ जनवरीमा दक्षिण इरानको कर्मनमा आत्मघाती हमलाको जवाफ भएको बताएको छ । कर्मनमा आईआरजीसीका कमाण्डर कासिम सुलेमानीलाई श्रद्धान्जली दिन आएका मानिसको संख्यामा आत्मघाती हमला हुँदा ठूलो संख्यामा सर्वसाधारण मारिएका थिए ।
इदलिब हमलामा आईआरजीसीले प्रयोग गरेका् क्यास्टल बस्टर मिसाइलले १ हजार ४५० किलोमिटर टाढासम्म मार हान्नसक्छ । यो हमला इरानले दक्षिणी खुजेस्तानबाट गरेको हो । तर इरानले यहाँ इदलिबबाट नजिक पर्ने अजरबैजान प्रान्तबाट पनि गर्नसक्थ्यो । तर जुन स्थानबाट इरानले यो हमला ग¥यो, त्यसबाट उसले संसारलाई इजरायलका केही इलाका आफ्ना मिसाइलको रेन्जभित्र रहेको देखाउन खोजेको देखिन्छ ।
इरानले इराक र सिरियापछि अर्को छिमेकी देश पाकिस्तानको बलुचिस्तान प्रान्तमा पनि चरमपन्थी संगठनमाथि हमला गरेको छ । पाकिस्तानले यो हमलामा २ बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको भन्दै यो हमलाले पाकिस्तानको सम्प्रभुता उल्लंघन भएको बताएको छ । उसले इरानलाई यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिएको छ । इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाई सीमाको ‘पूर्णतः अस्वीकार्य उल्लंघन’ गरिएको भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी दिएको हो ।
यो घटनापछि दुई छिमेकी देशबीच तनाव बढेको छ । पाकिस्तानले तेहरानका चार्ज डे अफेयर्सलाई विदेश मन्त्रालयमा बोलाएर घटनाप्रति विरोध जनाएको थियो । त्यस लगत्तै उसले तेहरानस्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने इरानी राजदूतलाई तत्कालका लागि पाकिस्तान आउन रोक लगाइदिएको छ ।
इरानको सरकारी सञ्चार माध्यमले एक उग्रवादी समूह जैश अल अदलका अखडाहरूमा हमला गर्न ड्रोन र मिसाइलहरूको प्रयोग गरिएको दाबी गरेका थिए । उक्त समूहले सीमा क्षेत्रमा रहेका इरानी सुरक्षा फौजमाथि हमला गरेका थिए । तर पाकिस्तानले त्यस्तो दाबीलाई अस्वीकार गर्दै त्यस्तो कार्य गैरकानुनी भएको भन्दै त्यसले गम्भीर परिणामहरू निम्त्याउने जनाएको छ ।
पाकिस्तान गत केही दिनमा इरानी हमला भएको इरान र सिरियापछि तेस्रो देश बनेको छ । गाजामा इजरायलले इरानको समर्थनप्राप्त प्यालेस्टिनी समूह हमासलाई लक्षित गरी युद्ध गरिरहेका बेला इरानले यी हमला गरेको हो ।
पाकिस्तान र इरानले दशकौंदेखि जैश अल अदल लगायतका विभिन्न पृथकतावादी समूहहरू विरुद्ध लड्दै आएका छन् । झन्डै ९०० किलोमिटर लामो साझा सीमावरपर सुरक्षा व्यवस्था दुवै देशको सरकारहरूका लागि चिन्ताको विषय बन्दै आएको छ ।