लोकसंवाद संवाददाता | साहित्य | माघ ०७, २०८०
पूर्वी पहाडतिर घरको सबैभन्दा माथिल्लो तलामा छाना अड्याउन मिल्ने गरी दुईतिर त्रिभुजाकार गारो राखिन्छ जसलाई चुच्ची गारो भनिन्छ । दिलबहादुरको नयाँ बन्दै गरेको घरको त्यही चुच्ची गारो उठाउने काम धमाधम चलिरहेको थियो । कामदारहरुलाई भ्याइनभ्याइ थियो । भोलिसम्म त सबै गारोको काम सकेर लिउन अर्थात माटोको प्लास्टर सुरु गर्नु पर्छ भनिएको थियो ।
कार्यस्थलमै खाजा आइपुग्यो । सबै खाजा खान बसे ।
त्यतिकैमा रकम बहादुर बोले 'हैन यो चुच्ची गारो त बाङ्गो बाङ्गो पो देख्छु त ! मेरो आँखा उस्तो कि , हेड मिस्तिरीले गारै लाउन जानेन हो !' वीरमानले पनि थप्यो 'हो त, यो त टेढो नै छ त ! '
भुटेको मकै चपाउँदै अर्को ज्यामीले पनि गारो नमिलेकै निष्कर्ष निकाल्यो । ऊ छक्क पर्दै बोल्यो "गारो लाउने हेड मिस्तिरी त धेरै अनुभवी पो भन्ने सुनेको थिएँ त !'
खाजा खाने काम सकिएको पनि थिएन कि एकापटिको चुच्ची गारो थोरै धस्कियो । नभन्दै त्यो अलि अली गर्दै ढल्कन थाल्यो । सबै ज्यामीहरूले एकै स्वरमा 'आहा...आहा...आहा.....' भन्दै मात्र के थिए चुच्ची गारो गर्ल्याम्मै ढल्यो । स्थितिमा सन्नाटा छायो ।
ज्यामीहरुले एकै साथ मुन्टो फर्काएर गारो लाउने हेड मिस्त्रीतिर त्रास मिश्रित प्रश्नवाचक नजर लाए । हेड मिस्त्री झनक्क रिसायो र बडो झर्को मान्दै कड्कियो:
' के, नि ? एक छिन थामिएको भए त थामिहालेको नि !'
सबैजना गलल हाँसे । हेड मिस्त्री रुनु न हाँस्नु , कालोनिलो भो ।
यहाँ कयौं पटक यस्तो हुन्छ कि आम जनताका घरधुरीहरू उभ्याउने जिम्मा लिएका नेता, कर्मचारी र प्रशासकहरू आफ्नो अकुशलतामा यसरी नै हेडमिस्त्री झैँ गैरजिम्मेवार जवाफ दिन्छन् र बाँकीहरू लाज पचाएर गलल हाँस्छन् । दु:ख भोग्छौँ हामी सबै दिल बहादुरहरू ।