हरिविनोद अधिकारी | दृष्टिकोण | माघ १३, २०८०
प्राणी मात्रका लागि आशाको स्थान बाँच्ने भरोसाको रुपमा रहेको हुन्छ । झन् मानिसहरूका लागि त आशा या अपेक्षा जीवनको आड भरोस नै हुने गर्छ । हाम्रा पुर्खाले मानव सभ्यताको विकासको क्रममा मानव जीवनलाई कसरी अभ्यासमा ल्याउने भन्ने कल्पना गरे । सभ्य, कसैको हानि नोक्सान नगरी आफ्नो सामाजिक दायित्व कसरी निर्वाह गर्ने भन्ने बारेमा अनुसन्धान गरे । त्यसका लागि मानवीय मनोविज्ञानको मिहिन तरिकाले अध्ययन गरे ।
अहिलेको जस्तो जीवनको विविधीकरण पनि थिएन र पनि जीवनको जटिलताका बारेमा अनुमान गरे र भने-ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रम।
ब्रह्मचर्याश्रमले बाल्यावस्था, अध्ययन तथा अनुसन्धानावस्था समेतलाई समेटेको पाइन्छ । यसका लागि सर्सर्ती समय २५ वर्षसम्मको मानिन्छ । त्यसपछिको अर्को २५ वर्ष करिब चाहिँ गृहस्थाश्रमको मानिन्छ । ब्रह्मचर्याश्रममा सिकेका कुराहरू,जानेका ज्ञानहरूको समाजका हितका लागि गरिने प्रयोगको समय पनि त चाहियो । त्यसलाई गृहस्थ श्रमले सदुपयोग गर्न समय दिएको पाइन्छ । ब्रह्मचर्यका समयको अध्ययनपश्चात् भावी पुस्ताको उत्पादन, पुनरुत्पादन, लालन पालन तथा अध्ययन अनुसन्धानका लागि व्यवस्था गर्ने समयको सङ्केत गरेको पाइन्छ । गृहस्थाश्रम नै जीवनको प्रयोगशील समय हो जसले जीवनको महत्वलाई कसरी सदुपयोग गर्ने भन्नेमा योजनाको आवश्यकता देखिने रहेछ । त्यो समयको कुरा हो, हाम्रो समाजलाई चार वर्गमा बाँडिएको थियो ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र । कर्मका आधारमा वर्गको वर्गीकरण भए पनि समयको अन्तरालमा शासकहरूलाई वस्तुगतरुपमा वर्गीकरण गर्न अप्ठेरा पर्न थालेपछि जन्मका आधारमा वर्गीकरण गरियो , जुन वर्गीकरण आज पनि हाम्रो समाजमा देखिने गरी छँदै छ र आजको २१औँ शताब्दीमा पनि त्यसलाई आरक्षणको नाउँमा झन् टड्कारो रुपमा ब्यूँझाइएको छ । आरक्षणका सकारात्मक पक्ष पनि छन् र हिजोका दिनका कुनै कारणले शिक्षा, सम्पत्ति र समान सहभागितामा मानवीय पक्षलाई समेत वास्ता नगरी गरिएको विभेदलाई समानतामा बराबरी पार्न आजको समयमा सकारात्मक विभेदको नीति तयार गरिएको हुनुपर्छ तर जस्तो विभेद पनि विभेद नै हो र त्यसले पार्ने दुष्प्रभावको परिणामले पछिसम्म समाजमा डोब छोड्ने छ । हिजोको विभेदलाई चिर्न आज फेरि विभेदको नीतिलाई हामीले अभ्यासमा ल्याउँदा हामीले तिनीहरूको नैराश्ययतालाई आशामा बदल्न सकेको छैनौँ ।
यसरी वर्गीय आधारमा प्रयुक्त ती आश्रमहरूको पहिले फरक फरक तरिकाले अभ्यास गरिएको पाइन्छ । अर्थात् ब्राह्मणको ब्रह्मचर्याश्रम, क्षत्रियको ब्रह्मचर्याश्रम, वैश्यको ब्रह्मचर्याश्रम र शूद्रको ब्रह्मचर्या श्रमका फरक फरक नीति नियम थिए सामाजिक रुपमा । त्यस्तै गरी अरु आश्रमका पनि त्यस्तै थिए अभ्यासका नियमहरू । गृहस्थ श्रमले घर व्यवहारको व्यवस्थापन, विवाह, बच्चा उत्पादन ,लालन पालन र भावी पुस्ताको आवश्यक तयारी गर्ने हो । गुरुकुलको व्यवस्थापन पनि गुरुहरूका लागि गृहस्थाश्रम नै हो तर त्यहाँ आउने शिक्षार्थीहरू भने ब्रह्मचर्याश्रममा रहनु जरुरी छ । अझ यसो पनि भन्न सकिन्छ,ब्रह्मचर्याश्रमले गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रमको तयारी सिकाइ गर्ने बेला पनि हो ।
मानिसका अपेक्षा समय अनुसारका हुन्छन् । हिजो हामीसँग अरूको अपेक्षा थियो , आज हाम्रा अपेक्षाहरू अरूसँग छन् तर अपेक्षा नै जीवन हो । फरक के मात्र हो भने सापेक्ष अपेक्षा र निरपेक्ष अपेक्षाको कुरा हो । कुनै अपेक्षा नराख्नु पनि निरपेक्ष अपेक्षा हो र कुनै कुराको जरुरत कसैले पूरा गर्छ कि भन्ने व्यक्त अव्यक्त आशा सापेक्ष अपेक्षा हो ।
नयाँ पुस्ताबाट अपेक्षा अभिभावकलाई हुन्छ भावी समयका लागि । आखिर झन् त्यो बेलामा संयुक्त परिवारको कर्तव्यलाई जोड दिइन्थ्यो तर आज त्यो अपेक्षा अनपेक्षित आशाको रुपमा लिइन्छ र विभिन्न आश्रमका बारेमा अब अभ्यासमा लिइँदै । तर समयको आधारमा भावनाको जुन विकास हुन्छ, मानवीय स्वभाव त उही हो , समयको बहाव त उही हो , उमेरको सोचाइ त उस्तै हुने हो । त्यसैले समयको परिवर्तनसँगै आजको अपेक्षा भनेको जहिले पनि आदर्श नै हुने गर्छ । आफ्ना सन्तानप्रति बढी नै आशा गरिन्छ तर समय क्रममा त्यो अपेक्षा बिस्तारै अनपेक्षामा बदलिने रहेछ ।
वानप्रस्थाश्रम भनेको बिस्तारै परिवारप्रतिको मोहलाई छोड्ने हो र एकान्तमा बसेर आफ्ना अनुभवहरूको सङ्ग्रह गर्ने बेला पनि हो । एक जना मित्रले आफ्नो लेखमा यसो भनेका रहेछन्-आजभोलि पूर्व प्रशासकहरूको आत्मकथाहरूको बाढी आउने थालेको छ घोस्ट लेखकहरुमार्फत् । उनीहरूमध्ये तत्कालीन अवस्थामा बदनामहरूले पनि आफूलाई एकदम चोखो, त्यो बेलाको समयमा उनी नभएको भए नेपाल खत्तम भइसकेको हुन्थ्यो भन्ने आशयका लेखाइ लेख्ने अनि त्यो बेलामा कमाएको कालो कमाइलाई अनेक लोलो पोतो पोतेर आफू मात्र इमानदार कर्मचारी रहेको प्रस्ताव समाजमा वितरण गर्ने अनि पुस्तक विक्रीको गफ हाँकेर पुरानो सम्पत्तिको गणना आधुनिक बेलामा गर्ने गर्न थाले , त्यसैले असल कर्मचारीको समेत अनुभव सबै त्यस्तै जस्तो लाग्न थाल्यो । त्यसो त कुनै कर्मचारीले लेखेको , कूटनीतिज्ञले लेखेको अनुभवले त समाजलाई बाटो देखाउने पनि गरेको छ तर ती कूटनीतिज्ञहरूको अतीत पनि कहाँ पो सरल र सहज थियो र ? सबै यदुनाथ खनाल, भीमबहादुर पाण्डे, भीमबहादुर अधिकारी , बद्रीविक्रम थापा हुँदैनन्, छैनन् भन्ने सबैलाई थाहा छ तर पनि अनुभवहरूको सँगालोले कम्तीमा अर्धसत्य भने पनि थाहा पाइन्छ भन्ने सकारात्मक पक्ष लिन सकिन्छ ।
वानप्रस्थ श्रमको आधुनिक समय भनेको पेन्सन पाउने उमेर हो । चाहे सेवापछिको होस् या सरकारले दिने सहयोगको रकम होस् । वन नै जानु परेन तर सक्रिय जीवनको उत्तरार्द्धमा सबैले संन्यास ग्रहण गरेका हुँदैनन् । अब सन्यासाश्रमको नयाँ परिभाषाको बेला आएको छ । हजारौँ मठ, मन्दिर, चर्च, मस्जिदहरूको लालन पालनमा र रक्षार्थ ज्ञान बाँड्नु नै सन्यासाश्रमको रुपमा लिनु पर्ने भएको छ ।
तर प्रत्येक आश्रममा अपेक्षा हुन्छ । ब्रह्मचर्या श्रमको अपेक्षा ज्ञानको हुन्छ असल गुरुबाट ज्ञानको अपेक्षा जसले जीवनलाई सत्मार्गमा लैजाने छ । गृहस्थाश्रममा असल जोडीको अपेक्षा हुन्छ, कमाइको अपेक्षा हुन्छ र आफ्ना सन्तानले जीवनलाई सत्मार्गमा लगेर समाजको हित गरेको हेर्ने मन अभिभावकको हुन्छ र बालबच्चाहरूको अपेक्षा सही मार्गदर्शनको हुन्छ जसले जीवनलाई सहज तरिकाले चलाउन सकियोस् । वानाप्रस्थाश्रममा कसरी जीवन बाँच्ने र भगवानको भजन गर्ने भन्ने हुन्थ्यो भने अहिले वानप्रस्थाश्रम र सन्यासाश्रमको उमेरले सेवा खोज्छ । ३ करोड जनसङ्ख्याको युवापुस्तामध्ये १ करोड भन्दा बढी सङ्ख्या संसारका विभिन्न मुलुकमा काम र ज्ञान खोज्न जाने अनि उतै बसेर सेवाको रकम नेपाल पठाउने नयाँ संस्कृति बनेको बेला छ ।
त्यसो त हिजोको गुरुकुलको समय रहेन । हिजोको विभिन्न आश्रमको अभ्यास र समय पनि अब रहेन । तर उमेरका आधारमा भनिएका आश्रमहरूको उपादेयता त उस्तै हो । सबै दुःख बिर्सेर , संसार यस्तै हो, एक दिन जानु नै ध्रुव सत्य हो भनेर भावी जन्मका बारेमा चिन्तन गर्ने बेलालाई सन्यासाश्रमको रुपमा व्यक्त गरिएको हो । युधिष्ठिरलाई जब यक्षले संसारमा सबैभन्दा अचम्म के हो भनेर प्रश्न गर्दा उनले भनेका थिए-संसारमा सधैँ मानिसहरू मरिरहेका छन्, मर्नु सत्यमध्येको सर्व सत्य हो तर किन मानिस अधर्म, असत्य र मोहको जालमा जाकिएको होला ? स्पष्ट सत्यलाई पनि कसरी मानिसले नदेखेको , नबुझेको जस्तो गरेको होला ? वास्तवमा आज पनि सत्य त त्यही हो चाहे धार्मिक प्रवृत्तिको पक्ष होस् या भौतिक पक्ष होस् ।
मानिसका अपेक्षा समय अनुसारका हुन्छन् । हिजो हामीसँग अरूको अपेक्षा थियो , आज हाम्रा अपेक्षाहरू अरूसँग छन् तर अपेक्षा नै जीवन हो । फरक के मात्र हो भने सापेक्ष अपेक्षा र निरपेक्ष अपेक्षाको कुरा हो । कुनै अपेक्षा नराख्नु पनि निरपेक्ष अपेक्षा हो र कुनै कुराको जरुरत कसैले पूरा गर्छ कि भन्ने व्यक्त अव्यक्त आशा सापेक्ष अपेक्षा हो ।
अहिले आश्रमको प्रणाली मेटिएको भए पनि तर समय अनुसारको अपेक्षा हुन्छ हुन्छ । मेरा पनि केही अपेक्षाहरू थिए कति लुप्त, कति देखिने तर ती सबै आफ्ना मनमा राखेर गुम्स्याउनु परेको छ ।
प्रसङ्ग बदलौँ, गणतन्त्र आए पछि गणतन्त्र दिवस बिहीबार परेको कुनै गणतन्त्र दिवसमा लेखिएको एउटा सरल कविता यहाँ प्रस्तुत गरेको छु । यो लेख्नु पनि सापेक्ष अपेक्षा हो जसले पाठकहरूले पडुन् भन्ने अव्यक्त चाहना यसको ऊर्जा हो, अपेक्षा हो ।
आज विदा छ
आज विदा छ ।
आज बिहीवार हो तर पनि आज विदा छ ।
आज गणतन्त्र दिवस हो ।
केटाकेटीहरूलाई विदा छ ।
सबैलाई विदा छ ।
तर पेन्सन लिएकालाई नि ?
उनीहरूलाई पनि विदा छ ।
किनभने उनीहरूलाई पनि आज बैङ्कले पेन्सन भुक्तानी दिँदैन ।
विदा एउटा सापेक्ष कुरा हो
विदा निरपेक्ष कुरा हुनै सक्दैन
काममा जानेका लागि यो विदाको महत्व होला
जसको काम नै छैन उसका लागि यो दिन
काम खोज्न नजाने दिन पो भयो त ।
साँझ र बिहान छाक टार्न काममा जाने दैनिक ज्यालादारीलाई
यस्तो विदाले के असर पारेको होला ?
जीवनको उत्तराद्र्धमा पुगेकालाई पनि यो विदाले
कस्तो मनोरञ्जन दिइरहेको होला ?
विदाको साधारण रसायनको कुरा यस्तै हो क्या रे ,
विदा तर सबैलाई आफ्ना आफ्ना बेलामा रमाइलो नै लाग्ने हुन्छ
किनभने विदा आखिर विदा नै हो, विदा जस्तै विदा हुन्छ
त्यही विदा विदाइमा कस्तो हुन्छ
विदाइ पनि हेर्नुका हुन्छन्
अन्तिम विदाइ हो कि जागिरमा जाने विदाइ हो ?
छोरी विदाइ हो कि ?
छोराको ससुराली जाने विदाइ हो ?
घर ज्वाँईँ बस्नका लागि पो हो कि ?
जीवनले जहिले पनि अन्तिम विदाइको पर्खाइ गरिरहेको हुन्छ
त्यो अवश्यंभावी हो र पनि हामीमा त्यही चैँ आउँदैन भन्ने भ्रम हुन्छ
युधिष्ठिरले त्यसैमा अचम्भ मानेका थिए रे कि एकदिन मृत्यु आउँछ आउँछ
तर मान्छे त्यसैलाई छल्ने कुरा गर्छ, तर कसैले आजसम्म छल्नचाहिँ सकेको छैन
विदा आज विदा । तर विदा त्यो विदा हुने दिन त आउँछ तर कहिले थाहा छैन
आउँछ भन्ने चाहिँ थाहा छ र पनि भाग्दै भाग्दै जाँदा कहाँ फेला परिन्छ ?
क्रमशः