ज्ञानेन्द्र विवश | साहित्य | माघ २७, २०८०
हिउँदको जाडोमा पनि चिसो नभनी
निर्मल तलाउमा निर्धक्क डुबेर
न्यानो पानीका तरङ्गहरूमा तैरिँदै
पानीले हैन शब्दहरूले निर्थुक्क हुँदै
किनारमा बसी आह्लादित अनुभूतिसँगै
पढ्न खोजेको किताब पाएपछि
हर्षले गदगद हुँदै पढ्न आतुर
शीर्षकमै प्रकृतिप्रेमले प्रफुल्ल मन
शशीका कवितामाथि कविता लेख्दै
कति प्रभावित, कति प्रेरित
कवितामाथि यो कविता ।
पाठकीय चेतनाले वशीभूत
शब्दका बिस्कुनमा चर्दै
आहा मीठा शब्द–विम्बका
विछट्टका बान्की र सजावट
सागरभन्दा तल
‘प्रेम’ को कति ‘गहिराइ ?’
सगरमाथाभन्दा अग्लो
‘माया’ को कति ‘उचाइ ?’
सुन्दर भावभङ्गीका
काव्यपानले अघाउँजी हुँदै
निर्मल तलाउमा डुबुल्किँदै
कविताका खास तरङ्गमा तैरिँदै
आधुनिक चेतनाले ओतप्रोत
अनुभूति र अध्ययन उत्तिकै
तिनैलाई अभिव्यक्तिमा पोख्नु
ती शब्दका सौन्दर्यमा अभिव्यञ्जित
शैली आफ्नो, मौलिकता आफ्नै
कवितामय क्षमता देखाउनु
अनि त्यो सम्प्रेषणीय हुनु
आहा ! कविता पढ्नु त पढ्नु
यस्तो पो पढ्नु, दोहो¥याएर पढिरहनु
कविताका शब्द–संसारमा घुम्नु
घुमिरहनु काव्यभावहरूका मुर्छनाहरूमा
तरङ्गित हुँदै आफैँलाई अनुदित गरी हेर्नु
कति मर्म, माया र अनुभूतिहरू
कति हार्दिकताका मायालु आभासहरू
जीवनका अनेकौँ जीवन्त भोगाइहरू
विम्बका विशाल आयतनमा आवाद
जीवनप्रतिको आस्था
र, समयचेतका गुञ्जन
प्रेमिल विम्ब–विधानमा पृथक प्रस्तुति
आहा कविता ! वाह कविता !
शशी, तिम्रा निश्चल भावनालाई
सतत् नमन शशी !
सतत् नमन ।
कवयित्री शशी भट्टराई श्रेष्ठको कविता कृति ‘निर्मल तलाउमा तरङ्ग’ कवितामाथि कविता को यो पहिलो श्रृङ्खला ।