हरिविनोद अधिकारी | दृष्टिकोण | माघ २७, २०८०
मलाई लाग्न थालेको छ, उमेर अनुसार भावनामा परिवर्तन पनि आउँछ । त्यसो त आफू जहिले पनि आफू नै हो । भन्ने गरिन्छ, मानिस अतीतमा रमाउँछ, वर्तमानमा बाँच्छ र भविष्यको आशामा आफूलाई आजभन्दा भोलि, भोलि भन्दा पर्सि अझ असल समय आउला भनेर कल्पना गरिरहेको हुन्छ ।
म पनि एउटा सामान्य मानिस भएकाले र निम्न मध्यम परिवारमा जन्मेर, हुर्केर साधारण जीवन बिताउन पनि संघर्ष गर्दै आएको समाजको सदस्य रहेकाले मेरा मनमा त्यति धेरै महत्वाकांक्षा जन्मिएको मलाई अनुभूत भएन । तर महत्वाकांक्षा नभएको त कुनै प्राणी नै हुँदैन । फरक के हो भने मानिसको जीवन चल्ने तरिका भनेको परिवेश, नियति र कर्मको निरन्तरताले पनि हो ।
अचेल विभिन्न रियालिटी सो चलिरहेका हुन्छन् । पहिले पनि र अहिले पनि चिट्ठा मार्फत् मानिस छिनमा नै करोडपति, अर्बपति भएको सुनेका छौँ र देखेका छौँ । हिजोसम्मको कमजोर आर्थिक अवस्था तत्काल परिवर्तन भएर जीवनको नयाँ मोडमा पुगेको देख्न पाइन्छ, सुनिएको पनि छ ।
मानिसहरुले आफ्ना बारेमा भविष्य जान्न चाहन्छन् । हाम्रो समाजमा निस्कने पत्रिका या अनलाइनहरूमा समेत भविष्यको बारेमा जानकारी दिने गरी राशि फल राखिन्छ । कतिपय नाम चलेका दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रिकाहरूमा राशि फल गणना गरेर राखेको पाइन्छ । अझ राशि फल राख्ने भनेर एकपटकका राशि फलको गणनालाई त्यसै मिलाएर राख्नेहरु पनि हुन्छन् किनभने सामान्यतः छोटो रुपमा राखिने राशि फल करिब करिब मिलेको पाइन्छ पालैसँग ।
कहिले त्यो एउटा राशिको लागि राखिन्छ त कहिले त्यो अर्कोमा मिलेको हुन्छ, मिलेको पाइन्छ । त्यो संयोग होला या ग्रह गतिको गणकको क्षमताको करामत होला ? भन्न गाह्रो छ तर हाम्रो समाजमा, हाम्रो संस्कृतिमा ज्योतिष शास्त्र एउटा शिक्षाको अंग नै हो ।
पौरस्त्य शास्त्रमा ज्योतिष शास्त्रलाई गणित विज्ञानका रुपमा र त्यही गणितका आधारमा प्राप्त ग्रह गतिको गणनामा फलित ज्योतिषको पनि कुरा आउने रहेछ । हिन्दू संस्कृतिमा चिना बनाउने चलन पनि छ जसले जन्मको सही जानकारी दिन्छ र भविष्यका बारेमा पनि त्यसले केही भनक दिएको हुन्छ ग्रह गतिका आधारमा, जन्मका आधारमा ग्रह गतिको गणनाका आधारमा ।
विशेषज्ञताको आधारमा दैवज्ञहरुको मूल्याङ्कन गरिन्थ्यो । कतिपय दैवज्ञहरुको भविष्यवाणी ठ्याक्कै मिल्थ्यो भन्ने पनि छ र कतिपयको अहिले पनि मिल्छ भन्ने पनि सुनिन्छ । किन हो किन, मानिसहरुको एउटा भावना जहिले पनि प्रतिबिम्बित हुन्छ प्रकट रुपमा, अप्रकट रुपमा, आफ्नो भोलि कस्तो होला ? अहिलेको अवस्था कतिसम्म निरन्तर रहला ? अचानक हुने आरोह र अवरोहले के देखाउँछ भने पक्कै नियतिको खेल मानिसको जीवनमा रहन्छ । यसरी नियतिप्रति आस्था राख्नलाई भाग्य वाद पनि भनिन्छ होला तर भाग्यको कुरा भनेको अचानक भवितव्य मा कुनै आरोह अवरोहलाई लिन सकिन्छ भनिन्छ ।
चिना लेख्ने कागत नै फरक हुन्थ्यो सायद, भनिन्थ्यो त्यो कागतमा हरिताल दलेर राखिन्थ्यो । किन रे भने, त्यो कागतमा कीराले नखाओस् । हरिताल एकप्रकारको विष नै हो । गाउँ घरमा हरिताल खुवाउने र बिस्तारै मानिस मार्ने विषको प्रयोग गरिन्थ्यो भन्ने चलन थियो । त्यो घरमा राखे पछि कराउँथ्यो रे र अनि त्यसलाई प्रयोग गरिहाल्नु पर्थ्यो रे ! नत्र त्यसले घरैमा हानि पुर्याउने रहेछ भन्ने पनि थियो रे !
अनि राम्रैसँग ग्रहको गतिका आधारमा मेरो राशि मिथुन मानिन्छ । 'ह' बाट नामाकरण भएकाले त्यसलाई पुनर्वसु नक्षत्रको तेस्रो पाउ मान्दा त्यो मिथुन राशि हुने रहेछ । अझ नेपाली परम्परामा समयको गणना अलि फरक नै रहेछ । दिन भनेको ६० घडीको मानिन्छ । प्रत्येक नक्षत्रको भोगमा ४ भाग हुने मान्यता छ पहिलो, दोस्रो, तेस्रो र चौथो । १५ घडी एउटा पाउले पाउँछ काल्पनिक गणनामा । तर पूर्वीय मान्यतामा त्यसको गणनामा घटबढ पनि हुने रहेछ र त अधिक मास र क्षय मासको गणना गरिन्छ । अ
नि पश्चिमाहको आधारमा ग्रिन विच समय मानियो किनभने अंग्रेजहरुको सूर्य कहिल्यै नअस्ताउने बेला थियो । उनीहरुको मध्यरातको १२ बजेपछिको समयलाई नयाँ दिन मानियो तर हाम्रो विहानको घाम झुल्के पछिको समयलाई समयसीमाको आधार बनाएको थियो र सबै ज्योतिषी गणना त्यही आधारमा गरिएको छ, गरिँदै छ । नेपालमा दुवै समय मानिँदै आएको पाइन्छ ।
नयाँ दिनको सुरुवात कहिले हो भन्ने एउटा सामान्य समझदारी रातको १२ बजे पछिलाई मानिन्छ तर पौरस्त्य गणना त्यसको आधारमा होइन नै । अचम्म त केमा लाग्छ भने त्यसरी काल्पनिकताका आधारमा, अझ सूर्य चलायमान छन्, पृथ्वी चाहिँ स्थिर छ भन्ने सिद्धान्तलाई आधार मानेर हिजोका दिनमा, हजारौँ वर्ष अघि गणना गरिएको नक्षत्र- ग्रह गतिका आधारमा ताराको गति आज पनि मिल्छ, ग्रहणको समय ठ्याक्कै मिल्छ , वृहस्पति, शुक्र, शनिको उदय, अस्तय ठ्याक्कै मिल्छ । कति ज्ञानका भण्डार राजनीतिक आरोह अवरोहमा, विभिन्न समयमा भारतवर्षमा गरिएको आक्रमणमा नासिएका रहेछन् ।
युद्धको सबैभन्दा ठुलो जित भनेको अरुलाई पराजित गर्ने हो , चाहे त्यसको परिणाम जस्तोसुकै होस् । जय पराजयसँगै पराजितहरुका प्रयासले तयार गरिएका कला, साहित्य, संस्कृतिको नाश भएको पाइन्छ , हाम्रो क्षेत्रमा पनि त्यसरी नै साँस्कृतिक मूल्यवान सामग्रीहरु नष्ट गरिए । त्यसरी नष्ट भएका सामग्रीहरु तयार गर्नका लागि कति मानिसहरुको क्षमता प्रयोग भएको हुन्थ्यो, कति समय लागेको हुन्थ्यो । अनि पौरस्त्य साहित्य, साँस्कृतिक सम्पदा नष्ट भएको बारेमा अहिले चिन्ता लिएर मात्र हुँदैन । त्यसो त सलिल ज्ञवालीजीले गरेको सङ्कलनमा पूर्वीय सभ्यताका बारेमा पश्चिमाहरूको अभूतपूर्व धारणा पाइन्छ ।
खासमा साहित्यको फाँटमा पनि त रामायण, महाभारतजस्ता महाकाव्यहरू कहिले तयार भए भन्ने बारेमा अहिले पनि अनुसन्धान गर्नु परेको छ । हामीले त्यहाँ वर्णित अवस्थाका आधारमा आजको खोजी अनुसार अर्थ्याउनु परेको छ । पश्चिमाहरूको खोजीप्रति हामीले नतमस्तक हुनैपर्छ किनभने उनीहरुले हाम्रो पनि खोजी गरिरहेका छन् र कतिपय कुरामा हामीले उनीहरुकै अनुसन्धानलाई आधार बनाएर आफूलाई नियाल्नु परेको छ र आफ्नो यथार्थ मूल्यांकन गर्नु पर्ने समेत देखिन्छ ।
मेरो पनि चिना लेख्नु भएको थियो दैवज्ञ टीकाहरि काफ्लेले । उहाँ मेरो पहिलो गुरु पनि हो जसले क ख ग चिनाउनु भयो । त्यो बेलामा हाम्रो गाउँमा विद्यालय थिएन । गुरु पालेर छोराछोरीहरूलाई पढाउने चलन थियो पालैपालो पालेर गुरु राख्ने । उहाँले नै मेरो चिना लेख्नु भएको थियो करिब ७ हात लामो चिना । अझै पनि छ पुरानो । उहाँले गरेको गणनाले मेरो मनमा केही महत्वाकांक्षा जन्मने अवस्था पनि थियो तर जब मैले थाहा पाएँ , चिना एउटा समयको गणना हो, जन्मेको समयको गणना हो । त्यो मिलेको पनि हुनसक्छ समय , नमिलेको पनि हुनसक्छ ।
यसरी समयको गणनाका बारेमा र फलित ज्योतिषीका बारेमा हाम्रो समाजमा केही लोक कथाहरु पनि प्रचलनमा छन् । एउटा कथा यस्तो छ । एउटा राजाले सपनामा आफ्ना सबै दाँतहरु फुक्लेको देखेछन् । अनि राज ज्योतिषीलाई बुलाएर सोधेछन्, गुरु आज राती मैले सबै दाँत झरेको देखेँ,के होला यसको फल ? राज ज्योतिषीले सामान्य रुपमा लिएर भनेछन्, महाराज, सबै सन्तानहरूको नाश हुनेछ अब । यो राम्रो होइन । तर राजाले रिसाएर उनलाई तत्कालै जेलमा हालेछन् र नयाँ ज्योतिषीको खोजीमा लागेछन् ।
ज्योतिषीकी पत्नी साह्रै चलाख थिइन् र रुप बदलेर नयाँ ज्योतिषी राजधानीमा आएको छ भनेर हल्ला चलाइन् । राजाले ती ज्योतिषीलाई बोलाएर त्यही प्रश्न सोधेछन् । अनि नयाँ ज्योतिषीले भनिछन् पुरुषको भेषमा रहेकी ज्योतिषिनी बज्यैले । सरकार, अत्यन्त राम्रो फल दिने सपना रहेछ । हजुरको आयु १०० वर्षभन्दा बढी नै हुने देखिन्छ । हजुरको मृत्यु त महारानीको भन्दा पनि पछि हुनेछ, राजकुमार राजकुमारीहरूको भन्दा पनि पछि हुनेछ । आहा कति लामो आयु, यो देशका जनता भाग्यमानी रहेछन्, हजुरबाट नै शासित भइरहने रहेछन् धेरै वर्षसम्म ।
राजा खुसी भएर ती नयाँ ज्योतिषीलाई हीराको हार उपहार दिएछन् र अरु के माग्नुहुन्छ, म दिन्छु भनेर माग्नका लागि भनेछन् । अनि ती ज्योतिषीले आफ्नो असली रुपमा आउँदै जेलमा परेका राज ज्योतिषीको तत्काल रिहाईको माग गरिछन् भनिछन्-महाराज, हामी दुवै जनाले एउटै कुरा भनेका हौँ तर भन्ने तरिकामा फरक तरिका अपनाएका मात्र थियौँ ।
सरकारबाहेक अरु परिवारका सदस्यहरु सबै मर्ने छन भन्नु र हजुरको आयु सबैभन्दा बढी हुनेछ भन्नु एउटै कुरा हो । अनि राजाले लज्जित भएर राज ज्योतिषीसँग माफी माग्दै ज्योतिषिनी बज्यैलाई एकलाख असर्फी पुरस्कार दिएछन् रे !
जन्मको आधारमा लेखिने चिना भविष्यवाणी नै हो । चिना लेख्ने कागत नै फरक हुन्थ्यो सायद, भनिन्थ्यो त्यो कागतमा हरिताल दलेर राखिन्थ्यो । किन रे भने, त्यो कागतमा कीराले नखाओस् । हरिताल एकप्रकारको विष नै हो । गाउँ घरमा हरिताल खुवाउने र बिस्तारै मानिस मार्ने विषको प्रयोग गरिन्थ्यो भन्ने चलन थियो । त्यो घरमा राखे पछि कराउँथ्यो रे र अनि त्यसलाई प्रयोग गरिहाल्नु पर्थ्यो रे ! नत्र त्यसले घरैमा हानि पुर्याउने रहेछ भन्ने पनि थियो रे ! त्यसरी पुराना पुस्तकहरु पाना पाना पल्टाएर पढ्ने र बाक्सामा बाँधेर राख्ने चलन थियो । समय अनुसार परिवर्तन हुँदै जाँदा आज अनलाइन चिना बनाउने गरी सफ्टवेयर तयारी गरिएको छ तर गणना त उही हो । भविष्य प्रतिको जिज्ञासा उस्तै छ । अब त कृत्रिम बुद्धिले (आर्टिफिसियल इन्टेलिजेन्स) सबै गणना गरेर भविष्य भन्ने छ । उसलाई मिलोस् या नमिलोस् मतलब हुनेछैन । तर मानिसलाई त लोभ हुन्छ, आशा हुन्छ मेरो भविष्य पक्कै अहिले भन्दा अझ उच्चतम सुख र खुसीको आधारमा चल्नेछ ।
क्रमशः