कला किताबमाथिको कविता

कला किताबमाथिको कविता

ज्ञानेन्द्र विवश  |  साहित्य  |  फागुन १२, २०८०

महङ्गो कागज, स्तरीय छपाई प्रविधि 
र, दुर्लभ रङ्गीन चित्रहरूसहितको पुस्तक
हेर्दै पढौँ–पढौँ भइजाने मनले 
देख्दै मन लोभिने, पढ्दै कलाइतिहास बुझिने
‘नेपाली आर्टः थट्स एन्ड म्युजिङ्स’
मदन चित्रकारको गहकिलो कृति कलाको
कलाकार, कला लेखक र कला प्राध्यापक उनी
नेपाली कलामै जीवन समर्पण उनको
कलाकै उन्नति, प्रगतिमा निमग्न
कलाकै चिन्ता र चासोमा रातदिन उनी
पूजनीय कलाकार पिताका कलाकार पुत्र उनी
उनैको किताब यो अङ्ग्रेजी भाषाको
विविध शीर्षकका कला रचनाहरूको सङ्गालो 
आजसम्म नलेखिएको नेपाली कलाको 
तिनै पाटोलाई उजागर गरिएको शब्दमा
साथै पहिले कतै प्रकाशित, प्रसारित 
र, कहीँ पनि सार्वजनिक नभएका 
यस पुस्तकमा देख्न पाइन्छ दुर्लभ चित्रहरू

तर कसले पढिदिने, कसले बुझिदिने
लेख्नेहरूले लेखिरहेछन् गहिरो
कलाकार पनि चर्चा विना एक्लै
कला लेखन पनि विना चर्चा उस्तै
‘नेपाली आर्टः थट्स एन्ड म्युजिङ्स’ 
पुस्तकको यो अभिलेख, यो इतिहास 
र, यो दस्तावेज नेपाली कलाको
कला विकासको सिलसिलाबद्ध चरण
यो अलिखित पाटो थियो 
यो लिखित रूपमा आउनुपर्ने थियो 
आयो बल्ल यौटा इतिहास बोकेर
आयो नेपाली कलाको तस्बिर लिएर
गरिमामय ओजलाई स्थापित गराउँदै
मरिसकेको इतिहासलाई बिउँझाउँदै
बौराएर कला लेखनको शक्तिलाई
कलाका पुर्खा पुस्ताहरूलाई सम्झाउँदै
अग्रज कला कर्मीप्रति हार्दिकता जनाउँदै
आयो यति प्रिय किताब बनेर हामीमाझ
कला किताबमाथि यो पाठकीय कविता
कला लेखक मदन चित्रकारप्रति सलाम

नेपाली कलाको विगत कालखण्ड
अनेकौँ स्वर्णिम दिनहरू विगतको 
तिनको विवेचनात्मक विवरण 
मेहनत, अध्ययन, अनुसन्धान र लेखन 
गहिरो समर्पण लेखकको यसमा
विरानिँदै गएको नेपाली कला कर्म
बिर्सिँदै, मेटिँदै, हराउँदै गइसकेको
उज्यालो कलाको चहकिलो पाटो
अँध्यारोमा नस्ट, ध्वस्त, सखाब भएको
कति गर्वको कला धरातल, कला विरासत
बाँच्यो कला लेखनले, बचायो कला किताबले
धन्न कलालेखकको जाँगर जाग्योे
हाम्रा कलाकारप्रति श्रद्धा गर्ने अवसर मिल्यो
हामीलाई थाहा मिल्यो यही किताबबाट

नेपाली कलाको विगत उतार–चढावहरू
सङ्घर्षका प्रारम्भिक ती दिनहरू
तिनैताक सिर्जित कैयौँ अमर सिर्जनाहरू
यसरी रङ्गीन कलेवरमा देख्न पाउनु
यसरी पुर्खा कलाकारलाई पढ्न पाउनु
पढेर, हेरेर हृदयले मनन, महसुस गरेर
भावुक पनि भइन्छ छिनभर पाठक मन
नेपाली कलाको समृद्ध सुकिलो क्यानभास
नेपाली कलाको सचित्र दृश्य आँखामा
आहा हामी कला कलाकौशलले युक्त
हामी कतिसम्म कलाधर्ममा तल्लीन सन्तति

कलाको गरिमामय ओज स्थापित यसमा
नेपाली कलाको अद्यापि ओझेलमा 
मदन चित्रकारबाट हामी शुभचिन्तक सबै
यस्तै अलिखित कला इतिहासका पाटाहरू
अभिलिखित भएको दस्तावेजका पानाहरू
सचित्र पढ्न, देख्न पाउने अपेक्षा गर्छौँ
गर्छौँ र गरिरहन्छौँ सधैँभरि यसरी नै ।

नेपाली भाषामा पनि आइदियोस् यस्तै 
पढ्ने पाठक, विद्यार्थी र जिज्ञासुलाई
तृप्त पार्दै कलाको खुराक खुवाएर 
आवश्यकता छ कला लेखनको निरन्तर 
खाँचो छ सच्चा पाठकहरूको पनि 
यसभन्दा अझ बढी आवश्यकता छ
मदन चित्रकारजस्ता विज्ञ कला लेखकको
आखिर स्थापित यौटा पृथक किताब
ओझेलमा कला, ओझेलमै कला लेखन
यस्तो कालवेला कला समीक्षा, चर्चा र चासो
खेडरीमा परिरहेको कलाकर्म कलाकारको
रूखो विधाप्रति एक्लो आँट प्रशंसा लेखकको  
आफ्नै कर्मधर्मको मर्म बुझ्दै, बुझाउँदै
लेखनमा यति अनुकरणीय कृति आउँदा 
अहोभाग्य भएको छ नेपाली कलाजगत्
मदन चित्रकार, यहाँलाई हार्दिक बधाई छ !

(कलाकार, कला लेखक मदन चित्रकारद्वारा लिखित र सिर्जना कलेज अफ फाइन आर्टसबाट प्रकाशित ‘नेपाली आर्टः थट्स एन्ड म्युजिङ्स’ नामक कला किताबमाथि लिखित कविताको यो तेस्रो श्रृङ्खला)