लोकसंवाद संवाददाता | समाचार | फागुन १९, २०८०
पोल्याण्ड। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले युरोपेली मुलुक पोल्याण्डकालागि डा. उदयदेव आचार्यलाई पर्यटन प्रवर्द्धक (दूत) नियुक्त गरेको छ।
यसअघि पनि पोल्याण्डकालागि पर्यटन दूत रहेका आचार्य पुन: नियुक्त भएका हुन्। यसअघि पर्यटन दूत भन्ने गरिएकोमा यसपटक कार्यविधि परिवर्तन गरेर ‘पर्यटन प्रवर्द्धक’ नियुक्त गरिएको हो।
नेपाल घर तनहुँ जिल्लाका आचार्य विगत लामो समय देखि पोल्याण्डमा चिकित्सक पेसामा रहँदै नेपालको पर्यटन प्रवर्द्धनमा काम गर्दे आएका छन्।
मन्त्रालयको मन्त्री स्तरको यही फागुन १३ गतेको निर्णयअनुसार पोल्याण्ड लगायत विभिन्न देश, राज्य र सहरका लागि २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।