लेखनाथ ढकाल | दृष्टिकोण | फागुन २२, २०८०
जन्मनु र मर्नु मानिसको जीवनका दुई महत्वपूर्ण घटना हुन । यि दुई घटनाको बिचको अवधि मानिसको आयु हो । हरेक दिन मानिसले समयको मापन गर्न घडीको उपयोग गर्छ, पात्रो वा क्यालेण्डर हेरेर अनेक काम र कार्यक्रमको लेखा जोखा निकाल्छ । काल(समय)को सबैले सहजै बोध गर्न सक्ने सटिक परिभाषा छैन । समय जीव, निर्जीव र सम्पूर्ण दुनियाँमा प्रभावी छ । मानोै समय अर्थात काल प्रभावी छैन, तब सारा संसार पूर्ण रुपले स्थिर हुनेछ । कुनै गतिविधि, परिवर्तन र क्रियाकलाप नभएको अवस्था हुनेछ । परिवर्तन वा घटना हुनु भनेको पहिलेको अवस्था र वर्तमान अवस्थामा हुने भिन्नता हो । यो समयको सूचक हो । समयको प्रभाव गति र परिवर्तन हो । आयु, अवधि, छिटो, ढिलो, पहिले, अहिले, भोलि, आज, इतिहास, वर्तमान, भविष्य आदि गति र समयसँग सम्बन्धित कुरा हुन । समय र गति प्रभावी छैन मानौ, जन्मेको बच्चा जस्ताको तस्तै रही रहन्छ मर्दैन पनि ।
संसार गतिशील छ, परिवर्तनशील छ । एउटा घटना एक पटक मात्र हुन्छ । कुनै घटना दोहोरी रहेको देखिन्छ जस्तै दिन र रात, तथापि त्यही रात दोहोरिएको होइन । सूर्य उदाउनु र अस्ताउनु पनि दोहोरी रहेको देखिन्छ तर अर्को दिन भइसकेको हुन्छ । मानिसहरुले यस्ता दोहोरी रहने प्राकृतिक घटनाहरुको हिसाब गरेर समयको मापन र गणना गर्ने बिधि बनाए, घडीको आविश्कार गरे । घण्टा, दिन, महिना, वर्ष आदि गणना गर्ने पात्रो तथा क्यालेण्डर बनाए । गणितको आविश्कार गरे । हुदै आउँदा कम्प्युटरको प्रविधि विकास भयो । हालको समयमा विकास गरिएको 'आर्टिफिसियल इण्टेलिजेन्स' प्रविधि र यसमा प्रयोग हुने जटिल गणितीय अलगोरिदमसम्म आयो । क्वाण्टम कम्प्युटिङ् प्रविधिको अभ्यास भइरहेको छ । यो प्रविधिको अनुसन्धानमा चीन, अमेरिका, क्यानडा आदि देशहरु ठूलो धनराशी खर्च गरी रहेका छन । आर्टिफिसियल इण्टेलिजेन्स तथा क्वाण्टम कम्प्युटिङ सिद्धान्तमा एक सेकेण्डको हजारौ भागको समयलाई पनि गणना गरिन्छ, उपयोगमा ल्याइन्छ । यि प्रविधिको उपयोगले हजारौ मानिसले पचासौँ वर्षमा गर्न कठिन पर्ने तथ्याङ्क प्रशोधन लगायतका अन्य कामहरु एक घण्टामा सम्पन्न गर्न सकिनेछ । यो सन्दर्भ समयको यति सानो मापनसँग सम्मबन्धित छ कि यो आँखा चिम्म गरेर कल्पना गर्दा पनि भेउ पाउन मुस्किल पर्छ ।
एउटा रात र एक उज्यालो अवधिलाई एक दिन भनियो । तेस्तै चन्द्रमाको गोलो आकार हुने र घट्दै जाने अनि फेरी उही गोलो आकारमा देखिने लगभग साढे उनन्तीस दिनको अवधिलाई एक महिना मानियो । आकाशमा देखिने ताराको अवस्था, सूर्य उदाउने र अस्ताउने घटना, पृथ्वीले सूर्यको चक्कर लगाउने अनि फेरी उस्तै अवस्था दोहोरी रहने घटनालाई मानिसले गहिरिएर लामो अवधिसम्म अध्ययन गरेर समयको मापन गर्ने विधि विकास गरे । पृथ्वीले सूर्यको परिक्रमा गर्ने अवधि लगभग ३६५ दिनलाई एक वर्ष मानियो । एक वर्षलाई १२ महिनामा विभाजित गरिएको हुन्छ । यही आधारमा पात्रो बनाइयो । सात दिनमा कुनै नियमित घटना दोहोरिदैन तर सात दिनको एक हप्ता मानेर पात्रोमा अङ्कित गरियो । यो प्रचलन यहुदीहरुको काम गर्ने र आराम गर्ने प्रचलनबाट आएको मानिन्छ ।
पहिले त सूर्यलाई पृथ्वीले परिक्रमा गर्ने कुरा थाहा थिएन । पृथ्वीलाई ब्रम्हाण्डको केन्द्र रहेको मानिन्थ्यो । एकपछि अर्को प्रकृतिको यथार्थ थाहा पाउँदै गएर सूर्यलाई पृथ्वीले परिक्रमा गर्ने यथार्थ मानिसले थाहा पायो । समयसँगै विकासक्रममा मानिसको ज्ञान विकास र परिममार्जित हुदै आयो । कतिपय मानिस पहिलेको धारणामा रहेको विश्वासलाई नै कायम राखी रहन्छन् । विश्वासमा पनि परिवर्तन हुने अवस्था स्विकार गर्दैनन् । पृथ्वी ब्रम्हाण्डको केन्द्र भन्ने जियोसेण्ट्रिक विश्वासलाई ग्लालिलियो, कोपरर्निकस आदिका अध्ययनले गलत सावित गरी दियो । पहिले जानेको अल्प ज्ञान वा भ्रमलाई विश्वास गर्ने गरिन्थ्यो । नयाँ तथ्यको उजागर हुदै आएपछि मानिसको विश्वास पनि परिवर्तन हुदै, परिमार्जित हुदै आयो । कतिपय मानिस पहिलेका विश्वासलाई नै सत्य मानेर रहेका छन । उनिहरुका अनुसार पहिले विश्वास गरिएका कुरा नै सत्य हुन, यस्ता मानिसले गति र परिवर्तनलाई आत्मसात गर्दैनन् । वेद, पुराण र प्राचीन विद्वानले भनेका कुरा देव वाक्य हुन ति परिवर्तन हुदैनन भन्ने मानिस अहिले पनि प्रशस्तै छन । ज्योेतिषीय क्षेत्रका भाग्य, साइत, राशीफल, कुनै दिन शुभरअशूभ आदि यस्तै अपरिवर्तनीय विचारका कुरा हुन । मानिस जन्मेको समयका आधारमा उस्को राशीको निर्धारण गरिने अनि जीवनभरको भाग्य, घटना, आयु आदिको जन्मकुण्डली बनाउने कुरा त हाल आएर आमा बाबुले चाहेको समयमा अस्पतालमा शिशुको जन्म गराउने कुराले नै हावा खुवाई दिएको छ । ज्योष्तिषीय भविष्यवाणी गर्ने कुरामा कुनै वैज्ञानिक आधार छैन । यो केवल भ्रमित मनोविज्ञानमा कायम रहेको छ ।
प्रकृतिमा ऋतुहरुको चक्र चली रहने, मानिसले गर्नु पर्ने कामलाई योजनाबद्ध गर्नु पर्ने आवश्यकताले पात्रो वा क्यालेण्डरको विकास भयो । यसले योजनाबद्ध रुपमा ऋतुहरुका चरित्र अनुसार काम गर्ने योजना बनाउँन सहयोग पु¥यायो । संसारका विभिन्न भागमा विकास भएका सभ्यता अनुसार विविध ढाँचाका क्यालेण्डरको प्रचलन विकास भयो । ग्रेगरियन क्यालेण्डर, चर्च क्यालेण्डर, हिब्रु क्यालेण्डर, इस्लामिक क्यालेण्डर, चिनीया क्यालेण्डर, जाभा क्यालेण्डर आदि ।
भूत, प्रेत, आत्मा, अदृश्य शक्ति आदि कुराको डरले घर गरेको मानिसलाई 'मनोवैज्ञानिक ब्ल्याकमेलिङ' गर्ने काम सामाजिक कुरीतिका रुपमा अझै कायम छ । कतिपय वेलामा त हाम्रा नेताहरु पनि ज्योतिषीको परामर्शको हवाला दिदै आफू मन्त्री प्रधानमन्त्री बन्ने योग रहेका बताउने गरेका समाचार सुनिन्छ । माता, तान्त्रिक, धामी, आदि देखिन्छन् तर यि कुनै वैज्ञानिक आधार नभएका भ्रामक विश्वासमा चलाइने कुरा मात्र हुन ।
सोह्रौ सताब्दीमा पोप ग्रेगरी तेह्रौंले विकास गरेको प्रणालीमा १२ महिना जसमा ११ महिना ३० तथा ३१ दिनका र एउटा महिना लगातार तीन वर्ष २९ दिन र चौथो वर्ष २८ दिनको हुन्छ । प्रचलनमा ल्याइएको यो प्रणालीको क्यालेण्डरमा वर्ष, महिना, दिनको समय पृथ्वी र चन्द्रमाको गति अनुसार ठ्याक्कै अचुक रुपमा भने केही सेकेण्डले मिल्दैनन् । चन्द्रमाको पुरा उज्यालो र पुरै छाया परेको समय चक्रलाई तिथि, घडि, पला, प्रहर आदि ईकाइको विकास गरेर गणना गर्ने प्रचलन अनुसार १२ महिना, ३६५ दिन, २९ देखि ३२ दिनसम्ममका महिना हुने पात्रो हाम्रो प्रचलनमा छ, यस अनुसार बिक्रम संवत, हालको समय २०८० छ । नेपाल संवत अनुसार हालको समय ११४४ हो । गे्रगरियन अनुसार २०२४ र हिब्रु अनुसार ५७८४ छ । विभिन्न सभ्यता अनुसार पात्रोको विकास र उपयोग हुदै आयो । सूचना प्रविधिको विकास, विश्वका सबै भूभागका मानिसले एउटै प्रकारको बजार र बैंकिङ प्रविधिको उपयोग गर्नु पर्ने अबस्था आएपछि क्यालेण्डर र कार्यतालिका बनाउँन नयाँ प्रविधिहरुको विकास भएको छ । ज्योतिषशास्त्रको विकास हुने समयको गणित आज अत्याधुनिक क्वाण्टम सिद्धान्तमा आइपुगेपछि खगोलीय घटनाहरुको गणना अचुक रुपमा संभव भएको छ । खगोलीय अन्वेषणमा पहिले कल्पना गर्न नसकिएको उचाई प्राप्त भएको छ । तारा, ग्रह, सूर्यको असर मानिस जन्मेको समयमा नै सबै भाग्य निर्धारण हुने भन्ने ज्यातिषीय कुरामा कतै वैज्ञानिक तथ्य फेला परेको छैन ।
प्राणी, बनस्पति र वातावरणले समयसँग प्रभावित रहेको देखाउँछन । यो परिघटनालाई हेरेर पहिलेका ज्यातिषिहरुले विभिन्न सिद्धान्त, सुत्र र सारिणी तयार पारे । जस अनुसार १२ राशी र निश्चित समयको अवस्थामा जन्मेको मानिसको नाम समेत सोही अनुसार राख्ने सुत्र बनाए । राशी अनुसारको जीवन पद्धति हुने, भाग्य निर्धारण हुने आदि कुरा बताउने गरे । आज पनि कतिपय ठाउँमा यो कुरामा विश्वास गरिन्छ । भाग्य रेखा हेर्ने, भविष्यवाणी गर्ने, साइत जुराउँने आदि काम अहिलेसम्म पनि ज्योतिषिहरुबाट हुने प्रचलन छ । गणितीय गणना अनुसार प्रकृतिका कतिपय घटनाहरुको भविष्यवाणी हुने कुरालाई प्रमाणका रुपमा लिएर ज्याषितीय फर्मूलाले निकालेको हिसावबाट मानिसको भाग्य र भविष्य पनि मिल्ने तर्क गरिन्छ । जीवन पद्धतिको भविष्यवाणी गर्ने काम केही मानिसको व्यवसाय रहेको छ । ज्योतिषशास्त्रलाई व्यवसायिक विधाका रुपमा पनि लिने गरिएको छ । जादु, टुना, राशीफल, तन्त्र–मन्त्र आदिबाट मानिसको समस्याको हल निकाल्ने प्रचलनमा कुनै वैज्ञानिक आधार भेटिदैन । यो केवल भ्रम र डरको मनोविज्ञानबाट मानिसलाई ठिक पार्छु भन्ने फण्डा मात्र हो । तथापि भ्रमलाई विश्वास गरेर बाँच्ने मानिसको जीवनमा यो विश्वास सम्बेदनशील बनेर रहेको पाइन्छ । भूत, प्रेत, आत्मा, अदृश्य शक्ति आदि कुराको डरले घर गरेको मानिसलाई मनोवैनिक ब्लाकमेलिङ गर्ने काम सामाजिक कुरितीका रुपमा विद्यमान छ । सामाजिक चेतनाको विकास, समाज सुधार र असल समाजिक सँस्कृतिको विकास गराउने काममा कुनै राजनीतिक पार्टी, नागरिक अगुवा, विद्वत वर्ग, मिडिया आदिले प्रभावकारी पहल नगरेको अवस्था छ । यहाँसम्म कि शैक्षिक संस्थाहरु समेत यस विषयमा हुनु पर्ने जस्ता प्रभावकारी छैनन् । कतिपय वेलामा त हाम्रा नेताहरु प्नि ज्योतिषिको परामर्शको हवाला दिदै आपूm मन्त्री प्रधानमन्त्री बन्ने योग रहेको बताउने समाचार सुनिन्छ । माता, तान्त्रिक, धामी, आदि देखिन्छन तर यि सबै भ्रामक विश्वासमा चलाइने कुरा मात्र हुन ।
गणित, विज्ञान, भाषा मानिसले सिक्नु पर्ने आधारभूत ज्ञान हुन । मानिसले ज्ञानको उपार्जन गर्ने कुरा जन्मेदेखिको सिकाइमा निर्भर रहन्छ । घर, परिवार र सामाजिक परिवेशले ज्ञानको विकासलाई प्रभावित पार्छ । सँस्कार, सँस्कृति र परम्पराका नाममा भ्रामक कुराले घर जमाएको परिवार वा समाजमा ज्ञानको खेती फस्टाउँदैन । पन्ध्रौं–सोह्रौ सताब्दी युरोपलाई पुनर्जागरणको युगबाट गुज्रेको मानिन्छ । यस युगवाट पुराना धार्मिक परम्परा, धार्मिक विश्वास र धार्मिक आधारमा हुने क्रियाकलापहरुको ठाउँमा नयाँ वैज्ञानिक विचारले विकास हुने अवसर पाउँन थाल्यो । औद्योेगिक क्रान्तिपछि ज्ञानको विकासमा पनि क्रान्ति आयो । ज्ञान–विज्ञानको खेतीमा ठूलो प्रगति भयो । प्राचीन र सभ्यताको मुहान मानिएको भनिएका कतिपय ठाउँमा ज्ञानको विकास र परिमार्जन हुने प्रकृया अपनाइएन, बरु पहिलेको ज्ञान र विचारलाई नै अटल विश्वास गर्ने सँस्कृतिको विकास गरियो । ज्ञान–विज्ञान र विश्वास परिवर्तन हुने कुरालाई अस्विकार गर्ने सोँच प्रतगामी हुने कुरा स्विकार गरिएन । नयाँ ज्ञान–विज्ञानको खेती गर्ने काममा युरोपेलीहरुलाई भेट्न नसकिएको कारण समयसँगै आउँने परिवर्तनलाई आत्मासात गर्न नसकिएको तथ्य समयले बताउँदै आएको छ । समय अनुसार सबै कुरा परिवर्तनशील छन । काल्पनिक र भ्रामक विश्वासलाई बोकेर हिड्ने समाजले प्रगति गर्न सक्दैन । यस्ता विचारका आधारमा उभिएका सिद्धान्त र फरमूलाहरुलाई परिमार्जन गर्ने सोँच नै नभएको अवस्थाले नयाँ चुनौतीको सामना गर्न असम्भव हुन्छ । ज्ञान विज्ञान आर्जन गर्ने दिमागलाई भ्रामक कुराले प्रदुषित पार्ने काम विल्कुल प्रतिगामी हुन्छ । बालबालिकाहरुलाई शिक्षाको उज्यालोबाट बञ्चित नपार्ने समाजले नै असल, योग्य र ज्ञानि नागरिक जन्माउन सक्नेछ ।