मिश्रित निर्वाचन प्रणाली’को दोष कि ‘चरम अस्थिर मानसिकता’ र ‘गुप्त प्रलोभन’ को ?

मिश्रित निर्वाचन प्रणाली’को दोष कि ‘चरम अस्थिर मानसिकता’ र  ‘गुप्त प्रलोभन’ को ?

कल्याण गुरुङ  |  दृष्टिकोण  |  चैत १३, २०८०

नेपालको राजनीतिमा ‘अस्थिर सरकार’ वा ‘अस्थिर गठबन्धन’को दोष सजिलैसँग सतही रूपमा अलिकति पनि विचार नगरीकन प्रतिनिधि सभाको ‘मिश्रित निर्वाचन प्रणाली’ माथि थोपरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न हतारिने गरेको देखिन्छ ।

यसरी हतारमा झट्ट बोल्दा वा लेख्दा यसले समाजमा कस्तो दूरगामी मनोवैज्ञानिक, सामाजिक र राजनीतिक असर परिरहेको छ, त्यसबारेमा गम्भीर विचार गर्न क्षणिक पनि ध्यान नदिने अर्को गल्ती पनि सँगसँगै गरेको देखिन्छ।

केही मानिसहरूका अवगुणहरू लुकाउने, केही मानिसहरूका कमजोरीहरूलाई ढाकछोप गर्ने, केही मानिसहरूका अस्थिर र विचलित मानसिकतामा पर्दा लगाउने, सहमति र सहकार्यको संस्कृतिलाई आत्मसात् नगर्ने प्रवृत्तिलाई चोख्याउने र केही मानिसहरूका नियोजित र गुप्त स्वार्थहरू सिद्ध गर्ने गलत प्रयत्नहरूलाई वैधानिकता दिने मतियार कुनै पनि प्रकारको ‘निर्वाचन प्रणाली’ कसरी हुन सक्छ र ?

के प्रतिनिधि सभाबाट ‘मिश्रित निर्वाचन प्रणाली’ हटाएर प्रतिनिधि सभा सदस्यको चयन ‘प्रत्यक्ष निर्वाचन प्रणाली’बाट गर्दैमा प्रतिनिधि सभामा एउटा दलको मात्रै बहुमत आउने, सरकार स्थिर हुने वा गठबन्धन स्थिर हुने वा देशको राजनीतिमा वा गठबन्धनमा वा विभिन्न राजनीतिक दलहरूमा वा संवैधानिक प्रक्रियाहरूमा समस्याहरू नआउने हुन्छ र ? यसको ग्यारेन्टी कसले गर्न सक्छ र ?

अहिलेको तरल अवस्थामा देखिने र नदेखिने सबै प्रकारका षड्यन्त्रहरूबाट हामी सबै चनाखो र सजग हुनु आवश्यक छ । 

दोष ‘मिश्रित निर्वाचन प्रणाली’को होइन, दोष ‘चरम अस्थिर मानसिकता’ र ‘गुप्त प्रलोभन’को हो ।

दोष ‘मिश्रित निर्वाचन प्रणाली’को होइन, दोष ‘मिश्रित निर्वाचन प्रणाली’को पवित्र उद्देश्यहरू र असल विशेषताहरु विपरीत यसको ‘चरम दुरुपयोग’ गर्ने ‘कर्ता’हरू र ‘कर्म’ हरुक हो ।

संसारमा गुण नै गुण भएको र अलिकति पनि अवगुण नभएको कुनै यस्तो निर्वाचन प्रणाली छ र ? निर्वाचन प्रणालीमा भएको गुणहरूलाई अवलम्बन गर्दै र यसमा भएका कमीकमजोरी र दोषहरूलाई सुधार गर्दै अगाडि बढ्नु बुद्धिमानी हुनेछ ।

सबै निर्वाचन प्रणालीमा गुणहरू र दोषहरू हुन्छन् । सबै निर्वाचन प्रणालीका आ-आफ्नै विशेषता र उद्देश्यहरू हुन्छन् । निर्वाचन प्रणालीलाई स्वीकार गर्दा नै यसका गुणहरू, दोषहरू, विशेषताहरु र उद्देश्यहरूलाई पनि सँगसँगै स्वीकार गरिएका हुन्छन् ।

देशको राजनीतिमा वा गठबन्धनमा वा विभिन्न राजनीतिक दलहरूमा वा संवैधानिक प्रक्रियाहरूमा समस्या आउँदा हरेक पटक निर्वाचन प्रणाली फेर्ने हो भने यसले देशको कस्तो भविष्यको भविष्यवाणी गर्नेछ ? एक छिन गम्भीर भएर सोचौँ ।

नेपालमा अहिले दुई सदनात्मक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) संसदीय व्यवस्था रहेको छ । आजको दिनसम्म यो संवैधानिक यथार्थ हो ।