रामप्रसाद सेढाँई | साहित्य | चैत १४, २०८०
यात्रा हो जीवन। धर्तीमा बाँचुन्जेल कतै बाध्यताले, कतै आवश्यकताले अनि कतै शोखले अनेक खाले आरोह-अवरोहमा जीवन लाई समाहित गरिदिनुपर्छ।
यसरी गरिने अनेकौं यात्राले निस्सार र एक तमासको दिनचर्या व्यतीत गरिरहेको मानिसको जीवनलाई रोमाञ्चक, घुर्मिलो र तरोताज बनाइदिन्छ । जीवनका रङहरू अरु रङ्गिला, रहर लाग्दा र मोहक बनाइदिन्छ ।
यात्राले बोझिलो मन र पट्टयार लाग्दो दैनिकीबाट केही समयका लागि 'रिफ्रेश' महसुस गराउने त छँदैछ, अर्कोतिर मलाइ के लाग्छ भने यसरी गरिने यात्राहरू आफैमा सिकाइ हुन , अनुभव हुन, यात्रा गर्दा आफू पुगेको ठाउँको इतिहास ,भुगोल तथा सभ्यता अनि त्यस ठाउँका जनताको जीवन स्तर, आय स्तर, अनेकन रुप रङका अन्जान मानिसहरु अनि उनीहरुले बाच्ने जीवन शैली, खानपान तथा नौलो भुगोलसँग साक्षात्कार, समाजिक रहन सहन, आर्थिक अवस्था , भाषा भेष , रितिरिवाज, संस्कार , भौगोलिक बनावट , त्यस ठाउँको ऐतिहासिक तथा सास्कृतिक महत्त्व , पर्यटकीय स्थलहरु आदिको बारेमा एकमुष्ट जानकारी पाउन सकिन्छ। त्यसैले पनि मलाई यात्रा प्रिय लाग्ने गर्दछ ।
भौगोलिक विकटतासँगै दुःख पीडा र अभावमा अत्यन्तै न्यून स्तरको जीवन व्यतीत गरिरहेका वास्तविक नेपाली र नेपालको वास्तविक चित्र बुझ्न कम्तीमा एकपटक कर्णाली पुग्नुपर्छ र कर्णाली अनि त्यहाँको मानिस तथा भुगोलसँग साक्षात्कार गर्नुपर्छ, अनि मात्र नेपालको बारेमा केही जान्न र बुझ्न सकिन्छ भनी सुनिएको थियो।
आफ्नै मनले पनि त्यतातिर जान चाहिरहेको थियो। यता हामी सुगम शहरतिर रहेर आधुनिक सुख सुविधा उपभोग गर्ने बानी परेकाहरुलाई हतपत त्यता दुर दराजका दुर्गम तिर जान कि त मन लाग्दैन कि त मन भएर पनि अवसर मिल्दैन। पटकपटक जान तिव्र इच्छा रहेको तर मौका नजुरेको कर्णाली यात्राको उचित अवसरको पर्खाइमा रहेकै बेला बिशेष कामको सिलसिलामा त्यो सुअवसर प्राप्त हुँदा मन त्यसै त्यसै पुलकित भएर आयो।त्यसैले यस लेखमा मैले पहिले सुनेर बुझेको कर्णालीका बारेमा आफुले यात्रा गर्दा देखेको,भोगेको, बुझेको कर्णाली र यसको सेरोफेरोमा रहेर केही अनुभव पस्किने प्रयास गरेको छु।
विश्वकै केन्द्र भाग मानिने पवित्र कैलाश पर्वत लाई शिरोभागमा राखेर मानसरोवर प्रस्रवित कर्णाली सानातिना नदीनाला, खोला झरना आदिलाई आफूमा समाहित गरेर कतै हुङ्कार गर्दै, कतै सीत्कार गर्दै अनि कतै शान्त हुँदै समुन्द्र भेट्न निरन्तर दौडिरहेछ.... तर कर्णाली वासी जनता त्यो दुर्गम पहाडी भु-भागमा जति नै उकाली-ओराली गरेपनि आजसम्म जीवनको खुसी र अर्थ भेट्न सकिरहेका होइनन् । यसर्थ बगिरहेको कर्णाली नदि र स्थिर कर्णालीको भूगोलमा धेरै असामान्जस्यता छ भन्न सकिन्छ ।
आज एक्काइसौं शताब्दीको दुनियाँमा भौतिक जीवनको उन्नति तथा भौगोलिक विकासका रजगज हेर्दा कर्णालीवासी रित्ता र जीवन देखि निराश लाग्छन्, सहज जीवन यापनको कुनै विकल्प नभेटेपछि थकित देखिन्छन् ।
कर्णाली
कर्णाली शब्द सुन्नासाथ पश्चिम नेपालको एक लामो नदि र त्यही नदिको नामबाट नामाकरण हुन पुगेको भूगोल, पहुचका दृष्टिकोणले अत्यन्तै विकट र दुर्गम, भौगोलिक बनावटका हिसाबले अग्ला अग्ला पहाड , हिमाल र अत्यन्तै भिरालो जमिन भुभाग, मानव बिकास सूचकांकमा सबैभन्दा पछि परेको, अभाव र गरिवीले आक्रान्त पारेको अत्यन्तै भावशुन्य जिवन बाच्न विवश सोझा-साझा र निरीह नेपाली जनता बसोबास गर्ने एक भुगोलको चित्र हामी माझ झलक्क प्रतिबिम्बित हुन आउँछ ।
यस प्रदेशमा बसोबास गर्ने जनताहरुले भौगोलिक बनावटका कारण भोग्नुपरेको पीडा एकातिर छ भने अर्कोतिर नीति निर्माताहरूले समेत नीति तथा योजना बनाउदा ती भुइँ तहका कुनै पनि मानिसहरु (सीमान्तकृत समुदाय , आदिवासी जनजाति, दलित, गरीब , पिछडिएका वर्ग) प्राथमिकतामा नपरेको, तिनको उत्थान हेतु दिगो र ठोस योजना ल्याउन नसकेको , जनताको जीवन स्तर तथा भौगोलिक अवस्था अनुरुप विकासको उपयुक्त मोडेल हाल सम्म लागू गर्न नसकेको, राज्यले नजर अन्दाज गरिदिएको, समग्रमा कसैको पनि राम्रोसँग ध्यान नपुगेको प्रदेश । अझ यसो भनौं दुःखको अर्को नाम नै कर्णाली हो ।
गत २५ बर्ष देखि नै चर्चामा आएको ७५०० मेगावाटको पञ्चेश्वर , पश्चिम सेती लगायत माथिल्लो कर्णाली) को सम्भावना बोकेको यस कर्णाली प्रदेश नेपालको एक प्राचीन सभ्यताको उद्गम भुमि हो जुन कर्णाली नदि किनारको आसपासमा हुर्केको थियो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु अगाडि बाइसे ,चौबीसे राज्य ताका आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको कर्णाली इतिहास र सभ्यताको धनी छ।
तर के यति मात्रै हो त कर्णालीको परिचय ? अर्थात दुःख पीडा अभाव अशिक्षा र बेरोजगारी मात्रै छ त कर्णालीमा ? विल्कुल होइन, कर्णाली त्यो बाहेक अरु पनि धेरै केही हो । कालो बादल भित्र चाँदीको घेरा भने झैं कर्णालीको अर्को पाटो पनि छ। कर्णाली जति विकट र दुर्गम छ त्यतिकै मात्रामा प्राकृतिक श्रोत साधन र अथाह खनिज सम्पदाले भरिपूर्ण छ। अपार जलविद्युत उत्पादन (३४ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने तथ्यांकले देखाएको रहेछ।
विगत २५ बर्ष देखि नै चर्चामा आएको ७५०० मेगावाटको पञ्चेश्वर , पश्चिम सेती लगायत माथिल्लो कर्णाली) को सम्भावना बोकेको यस कर्णाली प्रदेश नेपालको एक प्राचीन सभ्यताको उद्गम भुमि हो जुन कर्णाली नदि किनारको आसपासमा हुर्केको थियो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु अगाडि बाइसे ,चौबीसे राज्य ताका आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको कर्णाली इतिहास र सभ्यताको धनी छ।
आफ्नै भाषा,आफ्नै संस्कृति, आफ्नै व्यापार व्यवसायले सम्पन्न थियो। खस भाषाको उद्गम स्थल सिन्जा उपत्यका , प्राकृतिक सुन्दरता, जल , जङ्गल , अमूल्य जडिबुटी (विश्व प्रसिद्ध यार्चागुम्बु , शिलाजित, पाँच औले आदि) को प्रचुरता, अनुपम सुन्दरता बोकेको मुगुको रारा ताल, सैपाल हिमाल, चन्खेली हिमाल (जुन पुरानो एक रुपैंयाको नोटमा देख्न सकिन्छ), डोल्पाको से फोक्सुन्डो ताल , सुर्खेतको देउती बज्यै मन्दिर, बुलबुल ताल, काँक्रे बिहार आदि । यसरी कर्णाली आफ्नो गर्भ भित्र पर्यटन तथा बिकासका सम्भावनाका अनेकौं भ्रुणहरु साथमा बोकिरहेको छ ।
कर्णाली नदी
काठमाडौँ बाट एक रात एक दिन बसमा गुडेपछि दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर भन्ने स्थानमा मान सरोवर आसपास बाट प्रस्रवित कर्णालीको चिसो पानी स्पर्श गर्न पाइन्छ। हाल सम्म मानव जन्य गतिविधिले कुनै असर नगरेको नदि कर्णाली नै हो। कर्णालीका सहायक नदीहरु हुम्ला कर्णाली , मुगु कर्णाली , तिला , सानी भेरी , ठुली भेरी , सेती र बुढी गङ्गा हुन् ।
कर्णाली नदि तिब्बतको माप्चोचोङ्गो नामको हिमनदीबाट निस्केर मानसरोवर नजिक हुँदै बगेर नेपालको मुगु जिल्लाको करन खोला अर्थात मुगु कर्णालीसँगै मिसिन्छ। यहि करन खोलाको नामबाट यसको नाम कर्णाली रहेको अनुमान गर्ने गरिएको छ। मुगुबाट मुगु कर्णाली र हुम्लाबाट हुम्ला कर्णाली बाजुरा र हुम्लाको सिमाना हुँदै बग्दै आए पश्चात् जुम्लाबाट बग्दै आएको तिला नदि कालिकोटको जितेगाडा स्थित लालिघाटमा मिसिन्छ। त्यसपछि दैलेख र अछामको सिमानाबाट कैलाली चिसापानी हुँदै भारतमा पुगेपछि घागरा नदिको नामले चिनिन्छ । यो कर्णाली नदिको कथा हो। २०७२ सालमा देश संघीय संरचनामा गएपछि बनेका ७ प्रदेश मध्य एक कर्णाली प्रदेश हो। सुर्खेतको बिरेन्द्रनग लाई यो प्रदेशको राजधानी कायम गरिएको छ। यही कर्णाली नदिको नामबाट नै यो प्रदेशको नामाकरण गरिएको छ ।
अब कर्णाली राजमार्गको कथा -काठमाडौ बाट जुम्ला सम्म २३२ किलोमीटर लामो कर्णाली राजमार्ग २०४८ सालमा शिलान्यास भएर २०६३ मा उद्घाटन भएको थियो। कर्णालीको विकास रेखा ठानिएको यो राजमार्गमा यति दुर्घटना हुन्छन् कि अहिले यसले मृत्यु मार्ग नयाँ नाम पाएको छ। नेपालका सडकहरु मध्ये अत्यन्तै डर लाग्दो एक सडक खण्ड हो यो।
काठमाडौबाट मुगु सम्म ५०० कि.मि. भन्दा लामो दुरी छ । यो दुरी पार गर्न हामीलाई चार दिन लागेको थियो। चितवनको नारायणी पुल तरेर पुर्व पश्चिम राजमार्गमा हुइँकिदै बाँकेको कोहलपुरबाट सुर्खेतसम्म करीब एक दिन एक रातको गाडीको बाटो हिँडेपछि कर्णाली राजमार्ग सुरु हुन्छ।
सुर्खेतबाट करिब १५० कि.मि. को यात्रा पछि कालिकोटको सदरमुकाम मानमा बजार पुगेकाे थिए । कर्णालीको लाइफ लाइन मानिएको कर्णाली राजमार्गको कोहलपुर सुर्खेत सडक खण्ड राम्रै रहेछ। दैलेख तिर लागेपछि बाटो एकोहोरो मात्र छ। झन कालिकोटको सदरमुकाम मानमा हुँदै पिलि तिर लागेपछि डरलाग्दो सडक रहेछ।
यदि कसैले पहिलो पटक यो राजमार्गको यात्रा गर्दैछ भने मुटुले ठाउँ छोड्ने रहेछ । जतिसुकै मै हु भन्नेहरुको पनि पहाडका अग्ला चट्टानका बिचबाट निर्मित सडक अनि भौगोलिक बनावट देखेर होस हवास नै उड्छ र उसले एकपटक कुलदेवताको स्मरण गर्दै घरपरिवार सम्झन पुग्दछ यसकारण कि सकुशल फर्केर घर पुगिने हो कि होईन भनेर । तल हेर्यौ छङ्गाछुर भिर, त्यसको फेदमा कता हो कता सुसाइरहेको निलो कर्णाली, माथी हेर्यो आकाशै छेड्ला झै गरि ठडिएका अजङ्गका हिमाल तथा पहाड । यस रुटमा सवारी चलाउने चालकको सानो मात्र गल्ती पनि यात्रुहरुको लागि कर्णालीको माछाको सिकार हुन काफी हुने रहेछ। त्यसैले यो बाटोमा राती यातायात संचालनमा रोक लगाइएको रहेछ।
हामी चढेको बस यहीँ सडक मार्ग हुँदै गुडिरहेको थियो । मेरो पनि मुटुले ठाउँ छाडिदिन्थ्यो बेला बेलामा । कालिकोट सदरमुकाम मानमाबाट जुम्लातर्फबाट अगाडि जादै गर्दा कालिकोटको पिलि बजार आउँछ ,जहाँ द्वन्द्वकालको बेला २०६२ श्रावण २३ गते तत्कालीन युद्ध रत माओवादीहरूले गरेको भीषण आक्रमणमा परि यहि कालिकोट जुम्ला सडक खनिरहेका ६३ जना नेपाली सेनाको जवानहरुले सहादत प्राप्त गरेका थिए। कयौं माओवादी लडाकु हरुको पनि मृत्यु हुन पुगेको थियो । त्यस युद्धको विभीषिकाबाट उठेर बल्ल पिलिले नयाँ स्वरुपमा आफुलाई गुल्जार गरिरहेको रहेछ। स्मरण: रहोस् , समग्र कर्णाली नै द्वन्द्वकालमा हिंसाको चपेटामा सबैभन्दा धेरै परेको थियो।
सिन्जा उपत्यका रारा तालको केही प्रसङ्ग
पिलिबाट अगाडि बढेपछि जुम्ला र कालिकोटको सिमानामा नग्मा बजार रहेछ । यहाँ बाट दाहिने तिर लागेपछि जुम्ला सदरमुकाम चन्दननाथ आउँछ भने हिमा नदिको किनारै किनार अगाडिबाट जुम्लाको सिन्जा उपत्यका हुँदै मुगु जाने रहेछ । हामी मुगु जानुपर्ने । सिन्जा उपत्यका हिमा नदिको किनारै किनार लम्बाइमा फैलिएको मार्सी धानको खेती हुने लम्बेतान फाट हो। हाल नेपालमा बोलिने नेपाली भाषा जसलाई खस भाषा भनिन्छ त्यसको उद्गम स्थल यही सिन्जा उपत्यकालाई मानिन्छ। (दशदेखि चौधौं शताब्दी बिच उत्पाती भएको खस भाषा जसलाई पर्वते/नेपाली भाषा पनि भनिन्छ कसरी सम्पुर्ण नेपाल तथा पुर्वमा भुटान, भारतको दार्जिलिङ सिक्किम हुँदै अरुणा चल क्षेत्र तथा पश्चिममा उत्तर प्रदेशका कुमाउ गडवाल सम्म फैलियो त्यसको अलग्गै चर्चा हुनसक्छ) यहाँ रहेको कनकासुन्दरी मन्दिर , पाण्डव गुफा विराट दरवार जस्ता ऐतिहासिक स्थलको अवलोकन गर्दै र सिन्जा उपत्यका लाई आँखा भरी हेर्दै मुगुको राराताल पुग्दा बाटोमा पाएका सम्पुर्ण पीडा र कष्ट बिर्सेर अलौकिक दुनियाँमा पुगे झै अनुभूति भयाे ।
मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय नब्बे मिटर उचाइमा रहेको छ। १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको औसत लम्बाइ पाँच किलोमीटर र चौडाइ तीन किलोमीटर तथा गहिराई एक सय ६७ मिटर भएको रारा तालको सौन्दर्यको बर्णन गरिन सक्नको रहेछ। यसको प्राकृतिक सुन्दरता लाई लिएर हाल सम्म अनेकौं कविता कोरिएका पढेका स्मरण हुन पुग्यो ।
अनेकौं डकुमेन्ट्री बनेका छन् । राजा महेन्द्रले त्यतिकै यस ताललाई स्वर्गकी अप्सरा भनेका होइन रहेछन् । राराले एक दिनमै विभिन्न रुप परिवर्तन गर्छ। बिहान कन्चन निलो पानी दिउँसै हुँदै गएपछि अर्कै देखिन्छ । बेलुका अर्कै। विभिन्न हिमाल र आकाशको प्रति छाया देखिने कन्चन निलो पानीको विशाल तालको बिचमा डुंगा मार्फत पुग्दा लौकिक दुनियाका सारा कुरा बिर्सेर साच्चिकै इन्दृयातित र अलौकिक दुनियाँमा पुगेको महसुस हुन पुग्यो ।
रारा प्रकृतिको काखमा यति मद मस्त भएर सुतेकी रहेछन् कि जसको दृश्य पानले जो सुकै लाई पनि मदहोश तुल्याउँछ र यसको बयान शब्दमा असम्भव प्रायः हुन्छ। जसरी एक प्रेमिल जोडि एकापसमा अलग हुन मन गर्दैनन् त्यसरी नै घाम लागेको घमाइलो दिनमा यिनको सामीप्यबाट टुट्न गाह्रो लाग्ने रहेछ । समय बितेको पत्तै हुन्न। दिनको १२:०० बजे पछि हावा चल्न थाल्छ र पानीको रङ्ग पनि परिवर्तन हुन पुग्दछ। तर विडम्बना सडक यातायात र अन्य भौतिक पूर्वाधारको अभावले रारा ताल सम्मको पहुँच अत्यन्तै कठिन बन्ने गरेकाे अनुभूति हुन्छ ।
खास गरि पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण स्थल मानिएका रारा ताल अनि यसको सुन्दरता, जुम्ला स्थिति चन्दन्नाथ मन्दिर, खस भाषा र संस्कृतिको उद्गम स्थल सिन्जा उपत्यकाको ऐतिहासिक महत्त्व, डोल्पाको से फोक्सुन्डो ताल, हुम्लाको लिमी उपत्यका, त्यहाँका जनताले व्यतीत गरेको प्राकृतिक जीवन शैली, चौरी पालन,भेडा पालन, कतिपय प्राचीन रुढीवादी जस्तै बहुपति प्रथाहरू, प्रकृतिसँगको सामिप्यता, छेउमै जस्तो देखिने कैलाश पर्वत , मानसरोवर जाने पदमार्ग, सुर्खेत स्थिति देउती बज्यै मन्दिर , बुलबुल ताल, ऐतिहासिक काक्रेबिहार लगायत आदिको महत्व बुझाइ पर्यटक आकर्षण गर्न सके यस भेगकै कायापलट हुन जाने कुरामा दुई मत छैन ।हाल सम्म मानवीय गतिविधिका कारण कुनै असर नपरेका , आफ्नो वास्तविक र प्राकृतिक स्वरुपमा अवस्थित रहेका, प्रदुषण र कोलाहल बाट मुक्त यी र यस्ता क्षेत्रहरुमा पर्यटक आउन चाहान्छ्न । तर यसको लागि यी स्थलहरुको प्रचार प्रसार तथा संरक्षण र सम्बर्द्धन गर्दै सडक तथा हवाई यातायातका साथै अन्य भौतिक पुर्वाधारको उचित प्रबन्ध गरि स्वदेशी तथा बिदेशी पर्यटक लाई आकर्षण गर्न जरुरी छ।
कर्णाली प्रदेशका जनताका कथा
लगातारको गाडिको यात्रा, धुलो धुवा, अनिदो ज्यान छ। खाना खाने बितिकै गाडीमा बजेको संगीतको धुनसितै साथिहरु भुसुक्क निदाउँछन । म भने बगिरहेको कर्णाली र त्यस आसपासका रमाइला तथा डरलाग्दा, चकित बनाउने अनेकौं दृश्य, अजङ्गको पहाड पर्वत हरियाली जङ्गल, कर्णालीको भौगोलिक बनावट तथा मानिसका गतिविधि, नियाल्छु ।
किनकी मलाई कानले सुनेको कर्णाली आफ्नै आखाले देख्नु छ। कर्णालीलाई आफ्नै शरीरले स्पर्श गर्नु छ, अनि यसका जिज्ञासा मेटाउनु छ। म फेरि हेर्न थाल्छु - सम्म जमिन कतै छैन। तल निलो कर्णाली बगिरहेको छ, माथी भिरालो पाखो वारि छ, उब्जनी केही छैन। बर्ष दिन सम्म दुख गरेर मुस्किलले तीन महिनालाई खान पुग्दैन। बाकी समय जीवन गुजारा गर्न कि बिदेश कि छिमेकी देश भारत जानुपर्ने अनिवार्य बाध्यता छ यिनीहरुको। खरले छाएका, एकपाखे झुप्रा झुप्री घरहरु, धुस्रा फुस्रा तर मिहिनेती मानिसहरू, कतै अफ्ठ्यारो बाटोमा खच्चडमा सामान लादेर लेक बेसी गर्दै गरेका मानिसहरू, कतै हुक्का र चिलिम तान्दै भेडा बाख्रा चराउन हिडेका वृद्ध वृद्धा, कतै ओख्लिमा कोदो फापर फल्दै गरेका कलिला नानी, कतै सडकमा काठको गाडी जस्तै खेलौना बनाएर कुदाउँदै रमाइरहेका बालबालिका, कतै भोक मेटाउन भोकभोकै चामलको भारी बोक्दै गरेका मानिस , कतै बालबालिका समेतसँगै लगेर पाइला मात्र अढ्याउन मिल्ने पहरोको बाटो छिचोल्दै टाउकोमा भारी बोकेर आफ्नो गन्तव्य तिर लम्केका मानिसहरु, कतै स्कुल जान लागेका विद्यार्थीहरु। भ्याएसम्म र मिलेसम्म म कतै फोटो खिच्ने, कतै उनीहरुसँगै गफिने गर्छु। तर सबैतिर के पाउँछु भने मीठो मुस्कान । मलाई लाग्यो शहर बासीले जस्तो यिनीहरुले दुःखमा पनि हाँस्न बिर्सेका रहेन छन् भन्ने लाग्यो ।
बिहानको समय छ, पुस माघको महिना मौसम चिसो छ ।हाम्रो बस एकनासले धुलो उडाउँदै अगाडी बढिरहेछ, उमेरले करीब आफ्नो जीवनका सत्तरी वसन्त कर्णालीको कहालीलाग्दो कहरमा बिताइसकेकी, शरीरमा हाड र छाला मात्र बाकी रहेकी, एक वृद्ध महिला कतैबाट बिपरित दिशा तिर खाली खुट्टामा थोत्रो मैलो एकसरो लुगा लगाएर जाँदैछन्, हाम्रो बसले उडाउँदै ल्याएको एक मुस्लो धुलो उनीतिर हुत्त्यायो र उनलाई पुरै छोप्यो, बिना प्रतिक्रिया उनी अगाडी बढिरहेकी छन। मलाई लाग्छ उनको यो प्रतिक्रिया बिहीन प्रतिक्रियाको ठुलो अर्थ छ। कपाल जिङृङ छ, शरीरमा फटेका लुगा छन् ।ऊनलाई गहिराे गरि हेर्दा अत्यन्तै निम्न परिवारकी कर्णालीको एक प्रतिनिधि पात्र हुन भन्ने सहज अनुमान गर्छु। केन्द्र या संघीय राजधानी काठमाडौंले बिकासका जतिसुकै ठुला गुड्डी हाँके पनी कर्णाली बासीको असली जीवन स्तर यहीँ नै हो भन्ने बुझ्न केही गाह्रो थिएन । माथी दुःखको बस्ती छ। तल फेदमा कर्णाली बगेको छ । कर्णाली बासी को मिठो खाने,राम्रो लगाउने,स्वस्थ जीवन जिउने, उच्च शिक्षा हासिल गर्ने, सुख भोग गर्ने सारा सपना कर्णालीसँगै बगेर कता बिलाउँछ कता !?