ज्ञानेन्द्र विवश | साहित्य | बैशाख १४, २०८१
किताबमाथि समीक्षा होइन केवल ‘घुरको धुवाँ’ माथि यो सानो पाठकीय अभिमत । रङ्गमञ्च, पत्रकारिता हुँदै लेखकीय पहिचानमा उपस्थित राजेश खनाल । खनालकृत प्रस्तुत कृतिले मूलत तराई मधेसको जनजीवनलाई जीवन्त रूप दिएको छ । मधेसको मात्र होइन मिथिला संस्कृतिको सुगन्ध सुघ्न पनि ‘घुको धुवाँ’ पठनीय छ । आञ्चलिक शब्द–संरचनाको यो कृतिले तराईको विगत दिनहरूलाई अनुभूतिका सरल तर गम्भीर भाव–सौन्दर्यमा अभिव्यक्त गरेको छ ।
प्रस्तुत कृतिमा कृतिकारको अनुभूतिका अभिव्यक्तिहरू नदी जस्तै निरन्तर गतिमान छन् । तिनको सिलसिला र शैली, व्यतीत स्मृति–दंशका दशी कालजयी लाग्छन् । जहाँ बितेका बाल्य जीवनका रमाइला पलहरू आज फर्किएर हेर्दा पाठकहरूलाई पनि आनन्दानु भूति हुन्छ । व्यतीत यादहरूमा हराउनु, लहराउनु र तिनलाई सजाउनु भनेको एकप्रकारले जीवनमा ऊर्जा प्राप्तिको पल पनि हो ।
‘घुरको धुवाँ’ ले गर्मीमा पनि घुर ताप्नुको शीतल अनुभव प्रदान गर्छ । तराई प्रदेशको कुरा छाडौँ काठमाडौँमै अहिले गर्मीको उत्पात छ । यस्तो दिनमा पनि यो किताब पढ्नुको पाठकीय आकर्षण अलग्गै लाग्छ । पठन संस्कृतिले बिस्तारै विस्थापनको बाटो अवलम्बन गर्दै रहेको समयमा पनि पाठक मन यो किताबका अक्षर र अनुभूतिका प्रवाहमा हेलिँदै बग्न थाल्छन् ।
‘कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी’ को उपहार र लेखकको सप्रेमोपहार ‘घुरको धुवाँ’ लाई मैले प्रेमले पढेँ । यसरी पढिरहँदा मेरा आँखामा मधेसका दृश्यहरू चित्रमय बनेर आँखामा प्रदर्शित भइरहे । म आफैँले पनि मधेसमा बिताएका केही बाल्यकालीन स्मृतिहरू हठात् मनमा उपस्थित भए । ती दिन सम्झेर केही क्षण भावुक पनि बनेँ । तथापि राजेशजीको जस्तै मेरो त्यति लामो संस्मरण नभएकोले तुलना गर्ने कुरा भएन । त्यसैले पाएको उपहारलाई उपलिब्धका रूपमा लिएर मेरा पाठकीय मन किताबका अक्षर चर्न हतारिए ।
प्रस्तुत किताब समाजसेवी कर्मयोगी बद्रीविक्रम थापाको नाममा स्थापित स्मृति सेवा गुठीले प्रकाशन गरेको सन्दर्भले म झन् भावुक बनेँ । किनभने बद्रीविक्रम थापासँग मैले पनि दुईचार पटक भेट र भलाकुसारी गर्ने अवसरमा प्रभावित भएको थिएँ । भेटवार्ताका ती धूमिल क्षणलाई खनालजीका संस्मरणसँगै ताजा भएर आइदिँदा यस किताबभित्र नपस्नु भनेको बद्रीविक्रमजस्ता उदाहरणीय र अनुकरणीय व्यक्ति प्रतिको उपेक्षा पनि हुन सक्थ्यो । परन्तु थापासँगका संस्मरणहरू भने यसमा छैनन् ।
लेखकले पनि यस किताबमा आफूलाई अभिव्यक्त गरेर पाठकहरूलाई पनि भावुक बनाउँछन् । किनभने मधेसको जीवन र बाल्यकालीन जीवनको मिठो संगालो यसमा समाविष्ट छ । पढेर म आफैँ मधेसका खुल्ला फाँट, खेतखलियान, गाउँघर, हाटबजारतिर वेग हानेँ । मेरो पाठकीय मन किताबको समीक्षात्मक पाटोतिर ओरालो झरेर गहिराइतिर जाँदैन । यस कृतिले सुदूर अतीतको मधेसको जीवन, परिवेश, संस्कृति, सभ्यता, चालचलन आदिसँग साक्षात्कार गराउँछ ।
घुरको धुवाँ’ मा रङ्मगिएको औरही गाउँको चित्रण । अन्धडको टिकुनाले रमाइलो बालापानको स्मृति बिउँझाउँछ । भलुवाहीमाथि बगेको भावनाका भेलले मधेसको चित्रण गर्दै नाट्य मञ्चनको विगतलाई सम्झाउँछ । भोरहरवी भजनको शोले सनक, बाइजी नाचको झट्का र उही भलुवाही स्कुलको स्वास्थ्य शिविरले मधेसको सुन्दर तस्बिर उतारेको छ ।
त्यस बगाईमा लेखकसँगै तराईका ग्रामीण भेगतिर वेग मार्छन् । गफिन्छन्, रमाउँछन्, हँसाउँछन् आफैँमा किताबका प्रत्येक परिच्छेदहरूले । यसमा एक स्वप्न–संसारको दिव्यपलहरूका मिठा–मिठा यादहरूका दस्तावेज बनेर आएका छन् भावनाहरू । तिनमा घुर तापेर जाडो धपाउनुको न्यानोपनको आभास मात्र हुँदैन विगत कालखण्डका खण्डहर पक्षहरू एकपछि अर्को पिरामिड बनेर यौटा अर्कै आफ्नै जीवन भोगाइको स्मारक निर्माण भएका छन् ।
शान्त, सुन्दर र पृथकस्थानको दृश्यचित्र आँखाभरि महसुस हुन्छ । मैथिल संस्कृतिको उन्नतिले फड्को मारेको भूमिमा लेखकको बाल्यजीवनले ऊर्जावान बनाएको होला भन्ने लाग्छ । बाल्य पहेलीका रङहरू छन् । अनेक रूप, चरित्र पात्र र पाटाहरू यहाँ चित्रित छन् । उन्मुक्त भावना मिठो शैली र शब्दमा अभिव्यक्त छ । एउटा जीवनले भोगेको, देखेको र भेटेको घटनाका अनेक स्पन्दनहरू यहाँ स्पन्दित छन् । आञ्चलिक प्रतिविम्बको प्रतिनिधि प्रस्तुति यसमा भेटिन्छ ।
वस्तुतः ‘घुरको धुवाँ’ मा तत्कालीन मधेसको चित्र सजीव उतारिएको छ भन्ने लाग्छ । अतः यो कृति मधेसको ‘स्मृति–अभिलेख’ हो । यसमा लेखक राजेश खनालको प्रेमिल क्षणहरू छन् । दुःखले दिलाएका सुखहरू छन् । अनुभवले अभ्यस्त बनाएका आलेखहरू छन् । आफ्नै विगतलाई सम्झिएर लेख्नु र लेखेर इतिहास रच्नु ठुलो कुरा हो । ‘घुरको धुवाँ’ मा राजेशका ती दिनहरूले घुर तपाईको तातोपनमा मायाको मिठास बाँड्छन् । र, सुदूर अतीतमा पुर्याउँदै जीवन–यात्राको श्रृङ्खला देखाउँछन् । सकारात्मक पाठ सिकाउँछन् ।
कुटुबहालको वीरेन्द्र पुस्तकालयमा पढेका दिनहरू, सीताले बिँडी खाएको देख्दाको अचम्मका क्षणहरू, सुन्दर मामाका स्मृतिहरू, न्यारोगेजका सम्झनाहरू, सुकेको रोटी नाटकको तिर्सना, नाटक हेर्दा, खेल्दा, खेलाउँदाका किस्सा–कहानीहरू कति हो कति ! यिनैमा सँगालिएका विगतले पाठ सिकाएका कुरा अनि हिजो र आजको तुलना एक जीवन्त जीवनयात्राको सिलसिला ।
‘घुरको धुवाँ’ मा रङ्मगिएको औरही गाउँको चित्रण । अन्धडको टिकुनाले रमाइलो बालापानको स्मृति बिउँझाउँछ । भलुवाहीमाथि बगेको भावनाका भेलले मधेसको चित्रण गर्दै नाट्य मञ्चनको विगतलाई सम्झाउँछ । भोरहरवी भजनको शोले सनक, बाइजी नाचको झट्का र उही भलुवाही स्कुलको स्वास्थ्य शिविरले मधेसको सुन्दर तस्बिर उतारेको छ ।
वानर बनेर उफ्रिदाको अनुभव होस कि जिरोमाइलदेखि बाह्र बिघासम्मको पैदलयात्रामा पैसाको तनावले रन्थनिएको दिन । र, तिनैका पृष्ठभूमिमा सिर्जनाका बाढी सललल बगेका । मधेसको प्रिय तरकारी ‘परोर’ को रामकहानी छ । होस्टेल बस्दाका अनुभव, शिक्षक वर्ग र साथीहरूको नाम र बोली व्यवहारका ताजा सम्झना रोचक लाग्छ ।
यसैगरी काँइला मामाको सम्झनामा सुसेलिएका सुसाइहरू पनि कम मिठो लाग्दैन । हुन त विगत भनेको कस्तै दुःखले कटाएका दिनहरू भए तापनि वर्तमानमा सम्झिँदा आनन्द लाग्छ । जे होस् विगत भनेको वितेर गएको विर्सिएर सकिएको, पुरानिएर धमिलिएको मात्र हुँदैन तिनैमा हाम्रो जीवनवयका सग्लो इतिहास लुकेर बसेको हुन्छ । अनेक पाठ, शिक्षा र ज्ञानगुनका भण्डार हुन्छन् । वस्तुतः खनालजीले पनि तिनैबाट पाठ सिकेर, शिक्षा लिएर आफूलाई पेश गर्दा अनुभवका बग्रेल्ती चाङहरू मधेसकै पृष्ठभूमिबाट आवाद भएका हुन् । जहाँ उनको लेखनीले पनि गति लिएको छ ।
अन्ततः फुर्सदमा विगत सम्झेर आनन्द महसुस गर्नु एकातिर छ । तर तिनैलाई यसरी शब्दमा उनेर यौटा सँगालो बनाइदिँदा राजेश खनालजीले विगतलाई बचाएर अर्को नयाँ जीवन दिएका छन् । त्यस निम्ति पनि उनी बधाईका पात्र भएका छन् । ‘घुरको धुवाँ’ मा उनी अब उप्रान्त रुमलिने छैनन् र कहिले घुर बाल्लान र तापौँला भनी पर्खिरहनु पनि पर्ने छैन । बरु अब उनको उचाइ यात्राले गतिशीलता समातिसकेको छ । घुर तापेर बनेको न्यानो शरीरले जीवनका कस्तै कठिन र चिसा दिनहरूलाई पनि सजिलै कटाउने क्षमता निर्माण गरिसकेको छ । त्यसकै परिणाम हो प्रस्तुत कृति ‘घुरको धुवाँ’ को सिर्जना ।