भारतीय लोकसभाको निर्वाचन : ३९२ देखि ४१३ सिटमा दाबा कसको हुन्छ !?

भारतीय लोकसभाको निर्वाचन : ३९२ देखि ४१३ सिटमा दाबा कसको हुन्छ !?

ज्ञानमित्र  |  दृष्टिकोण  |  जेठ ०८, २०८१

नेपालबाट एक जना मित्रले फोन गर्नु भयो र भन्नु भयो - 'होइन, तपाईं त भारत मैं होइन र, के छ यस पटकको भारतीय निर्वाचनको हाल खबर ? पहिला पहिलाको जस्तो धूम धड्का  छैन त यसपाली ! कतै मोदी गुल्टिने त होइनन ?

नेपाली जनमानसमा भारतीय निर्वाचनको चासो हुनु नौलो कुरा होइन। केहि दिन पहिला एक जना प्रख्यात नेपाली मीडियाकर्मीले पनि यसै विषयमा चासो राखेर कुरा गर्नु भएको थियो।

भारतको १८‌‍ औँ लोकसभा निर्वाचनको सात चरणमा सम्पन्न हुने प्रक्रियाका ५ चरण सम्पन्न भइसकेका छन। अर्थात कुल ५४३ सीट मध्ये ४२८  सिटका प्रत्याशीहरुको जीत हारको फैसला जनताले गरिसकेका छन। परिणाम भने १ जूनमा हुने सातौं चरणको निर्वाचन पछि ४ जूनमा हुने गणनाबाट विदित हुन्छ।

हो, यस पालीको निर्वाचनमा पहिला पहिलाको जस्तो तामझाम र हल्लाखल्लाका साथै जनमानसको अभिरुचि पनि फितलो रहेको छ। यसका तमाम कारण छन। कुनै पनि निर्वाचनमा माहौल तताउने, राजनीतिक बजारको जीवन्तता कायम गर्ने जिम्मा विपक्षी दलहरुको हुन्छ। यस अर्थमा भारतका विपक्षी दल बडो मजाले चुकेका छन्।

प्रमुख विपक्षी दल कांग्रेस विपक्षी इन्डी  गठबन्धनको सबैभन्दा लुते भएर देखा परेको छ। ५४३ सीट मध्ये कांग्रेस जम्मा ३२९ सीटमा प्रतिष्पर्धा गर्दैछ। कांग्रेसको इतिहासमै यो सबैभन्दा कम प्रतिष्पर्धा गर्ने निर्वाचनका रुपमा रेकर्ड बनाउन पुगेको छ।

इन्डी गठबन्धनमा कति दलहरुको सहभागिता छ, यो कांग्रेस जनलाई पनि थाहा छैन। गठबन्धनमा सहभागी भएका दल पनि एक आपस मै पनि भिडेका छन। ऐतिहासिक पार्टी कांग्रेसको दुर्गती त यसैबाट थाहा हुन्छ - (आप  केजरीवाल) जस्तो दलले दिल्ली लगायत अन्य राज्यमा त कांग्रेससँग गठबन्धन गर्यो तर पन्जाबमा भने उसले कांग्रेससँग गठबन्धन गर्न मानेन।

सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा ८० सीट मध्ये १७ सीट मै चित्त बुझाएर कांग्रेसले समाजवादी पार्टी (अखिलेश) सँग गठबन्धन गर्ने निरीह ता झेल्नु पर्‍यो। पश्चिम बंगालमा तृणमूल कांग्रेसले गठबन्धन गर्न मानेन।

मोदी र भाजपाले बहुमत ल्याउँछ अथवा कति  सीटमा विजय हासिल गर्छ त्यसको चर्चा न गरेर मोदीको विकल्पमा प्रधानमन्त्री नबने सपना देखिरहेका कांग्रेस लगायत केजरीवाल (आप पार्टी), अखिलेश (समाजवादी पार्टी ), लालू पुत्र (राजद ), ममता (तृणमूल कांग्रेस), स्टालिन (डीएमके), उद्धव ठाकरे (शिव सेना),  शरद पवार (एनसीपी),  दुईटै कम्युनिस्ट दल सीपीआईएम र सीपीआईले कति सीटमा चुनावी प्रतिष्पर्धा गर्दै छन र कति अंक ल्याई लोकसभा पुग्छन् त्यो हेर्नु रोचक हुन्छ।

 भाजपाले नेतृत्व गरेको एनडीएका सहयोगी दलले सबै गरेर ६०-६५ सीटमा विजय पाउने सम्भावना छ।बाँकी बचेका सीटमा त कमल नै फुल्ने सम्भावनालाई चुनावका विश्लेषकहरुले दावी गरिरहेका छन् ।  २०२४ को लोकसभा निर्वाचनमा भाजपा एक्लै ४४१ स्थानमा प्रतिष्पर्धा गरिरहेका छ । 

पहिला चर्चा कांग्रेसकै गरौ- यसलाई दुइ भागमा विभाजित गरी हेर्दा सजिलो हुन्छ (पहिलो ती राज्य जहाँ कांग्रेस भाजपासँग सोझै प्रतिष्पर्धा गर्दैछ अर्थात ती राज्य जहाँ कांग्रेस भाजपाको मुख्य प्रतिस्पर्धी छ र दोश्रो ती राज्य जहाँ कांग्रेस गठबन्धनको बलमा प्रतिष्पर्धा गर्दैछ।

आन्ध्र प्रदेश, आसाम, उडीसा, गुजरात, मध्य प्रदेश, छत्तीसगढ़, उत्तराखंड,  हिमाचल प्रदेश, कर्नाटक, गोवा, राजस्थान, तेलंगाना, हरियाणा, पञ्जाब, र केरल लगायत केही साना राज्यमा कांग्रेस मुख्य प्रतिष्पर्धामा छ।

यी राज्यमा कांग्रेसले आंध्र प्रदेशमा  ०-१ सीट (लडेको २३ सीटमा), आसाममा ०-१ सीट (लडेको १३ सीटमा), उड़ीसामा ०-१ सीट (लडेको २० सीटमा), गुजरातमा जीरो सीट (लडेको २३ सीटमा), मध्य प्रदेशमा ०-१ सीट (लडेको २९ सीटमा), छत्तीसगढ़मा ०-१ सीट (लडेको १३ सीटमा ), उत्तराखंडमा ०-१ सीट (लडेको ५ सीटमा), हिमाचल प्रदेशमा ०-१ सीट (लडेको ४ सीटमा), कर्नाटकमा ३- ५ सीट (लडेको २८ सीटमा) ), गोवामा जीरो सीट (लडेको २ सीटमा ), राजस्थानमा ०-२ सीट (लडेको २३ सीटमा - २ सीट आप पार्टीलाई दिएको), तेलांगनामा ५-६ सीट (लडेको १७ सीटमा ), हरियाणामा १- २ सीट (लडेको ९ सीटमा - १ सीट आपलाई दिएको ), पंजाबमा ४-५ सीट ( लडेको १३ सीटमा), केरलमा ७- ८ सीट ( लडेको १६ सीटमा - ४ सीट कम्युनिस्टसँग गठबंधन ) र अन्य साना राज्यबाट २-३ सीट जित्ने संभावना छ। यी राज्यबाट कांग्रेसले बढ़ीमा ३०-३५ सीट ल्याउन सक्छ। यस मध्ये केरल र पंजाबबाट कांग्रेसले जति बढ़ी सीट जीते उसकै सहयोगी दल आप र कम्युनिस्टहरुको सीट घटने हुन। यी दुबै राज्यमा भाजपा राम्रो हैसियत राख्दैन।

अब चर्चा ती राज्यको जहाँ कांग्रेस इण्डी गठबन्धनको भागबण्डामा पाएका सीटमा प्रतिष्पर्धा गर्दैछ -कांग्रेसले सबैभन्दा ठूलो राज्य  उत्तर प्रदेशमा ८० मध्ये जम्मा १७ सीटमा चुनाव लड्दै छ। अन्तिम समयमा आएर राहुल गान्धीले रायबरेलीबाट प्रतिस्पर्धी बन्ने  निर्णय गरेका थिए। यस सीट बाहेक कांग्रेसको अन्य कुनै पनि सीटमा कुनै किसिमको हैसियत छैन। दोश्रो राज्य बिहारमा कांग्रेसले  ४० सीट मध्ये भागबण्डामा ९ सीट पाएको हो। यहाँबाट पनि उसले अधिकतम १ सीटमा जीत हासिल गर्ने संभावना छ। पश्चिम बंगालमा कांग्रेसले ४२ मध्ये १४ सीटमा चुनाव लड्ने मौका पाएको हो। यहाँबाट १ सीट जितेर खाता खुल्यो भने कांग्रेसले उत्सव मनाउँछ।

झारखण्डका १४ सीट मध्ये ६ सीटमा लडी रहेको कांग्रेसले १्-२ सीटमा विजय हात पार्न सक्छ। तमिलनाडुका ३९ सीट मध्ये १८ सीट पाएर चुनाव लडेको कांग्रेसले ७-८ सीट जित्ने अनुमान गरिएको छ। भाजपाले यस पटक तमिलनाडुमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ, मोदी मैजिकले काम गर्यो भने कांग्रेसका सीट कम हुन सक्छन। अर्को ठूलो राज्य महाराष्ट्र जहाँ लोकसभामा ४८ सीट छन। सहयोगी दलहरुबाट यहाँ कांग्रेसले १७ सीट पाएर चुनावी प्रतिष्पर्धा गर्दैछ। शिव सेना र एनसीपीमा आएको विभाजन पछि हुन लागेको पहिलो चुनावमा इण्डी गठबन्धनको हैसियत कहाँ पुग्ने हो त्यो परिणाम आए पछि मात्रै थाहा हुन्छ। तर कांग्रेसले महाराष्ट्रमा १-२ सीट जिते भाग्य नै मान्नु पर्ने हुन्छ।

दिल्लीका सात सीट मध्ये ३ सीटमा लडी रहेको कांग्रेसलाई यस पटक पनि हात लागे शून्य नै हुने अवस्था छ।    

 यी राज्यबाट कांग्रेसले अधिकतम १३-१५ सीट जित्ने संभावना छ। कुल मिलाएर कांग्रेसको हात ४५-५० आउन सक्छन। यसमा पनि  केरल र पन्जाबमा यदि इण्डी गठबन्धनका सहयोगी दलले आशातीत सफलता अर्जित गरे भने र तमिलनाडुमा यदि भाजपाको कमल फक्रियो भने कांग्रेस इतिहास कै तल्लो सोपानमा आउन सक्छ। स्मरणीय छ २०१४ मा कांग्रेस मात्र ४४ सीटमा विजयी भएको थियो।

इण्डी गठबन्धनको सहयोगी दल समाजवादी पार्टीले उत्तर प्रदेशमा अधिकतम ५-७ सीट जित्न सक्छ।

जम्मा २० सीटमा चुनाव लडेर प्रधानमन्त्री हुने सपना पाली रहेका आपका केजरीवालको दलले पन्जाबमा जे जति सीट जित्छ त्यै नै उसको अंक तालिका हुन्छ। गुजरात (२ सीट), दिल्ली ( ४ सीट ), हरियाणा (१ सीट)  बाट कुनै आश छैन।

लालु सुपुत्रहरुले (राजद) लडी रहेका २३ सीट मध्ये खाता खोल्न सके नै ठूलो सफलता हुनेछ।

गठबन्धनमा रहेर पनि कांग्रेसलाई आफ्नो राज्यमा सहयोगी न बनाउने तृणमूल कांग्रेस की ममता बनर्जीले लड़ी रहेका ४२ सीट मध्ये १५-१७ सीट हात पार्न सक्छिन्।
कुनै गठबन्धनमा नरहेका उड़ीसाका नविन पटनायकले लडी रहेका २१ सीट मध्ये ७-८ सीट जित्ने सम्भवना  छ।

शरद पवारको एनसीपीले ५ सीटमा चुनाव लड़ी रहेको छ।  १-२ सीट सम्म जित्न सक्छन।

उद्धव ठाकरेको शिव सेनाले २१ सीटमा चुनाव लड़ी रहेको छ।  ३-५ सीट सम्म जित्ने अनुमान गरिएको छ।

जेएमएम (झारखण्ड ) ले ५ सीटमा प्रतिष्पर्धा गर्दै छ।  १-२ सीट सम्म सफलता पाउन सक्छ।

कम्युनिस्ट दल सीपीआईएम ले ५३ सीटमा प्रतिष्पर्धा गरेकोमा अधिकतम ४-५ सीट सम्म ल्याउन सक्छ।

अर्को कम्युनिस्ट पार्टी सीपीआईले २७ सीटमा चुनाव लडेर भारतको प्रतिनिधित्व गर्ने हौसला राखेको छ। यसले पनि २-३ सीटमा भने विजय हात पार्छ।

तमिलनाडुको ३९ सीट मध्ये २१ सीट लड़ी रहेको डीएमके ले १५-१७ सीट जितेर १८ ओ लोकसभाको तेश्रो ठूलो दल हुने प्रबल संभावना छ। हुन त तृणमूल कांग्रेस र डीएमके बीच लोकसभामा तेश्रो ठूलो दल हुने तीव्र प्रतिष्पर्धा छ।

यसै गरी आंध्र प्रदेशको क्षेत्रीय दल वाईएसआरका जगन मोहन  रेड्डीले २५ सीट मध्ये ७-८ सीटमा जित्ने संभावना रहेको छ। आंध्रमा भाजपाको सहयोगी दल टीडीपीका चंद्रबाबू नायडूले ठूलो सफलता पाउन गई रहेका छन।

दक्षिण भारतको अर्को राज्य तेलांगनामा  क्षेत्रीय दल बीआरएसका के चंद्रशेखर रावको दलले खाता खोल्न धौ धौ हुने स्थिति छ।

बसपाको मायावतीका लागि २०२४ को चुनाव २०१४ कै झै साबित हुन्छ। उनको दलले खाता खोल्ने सुरसार छैन।

कुनै पनि गठबन्धनमा नरहेका विभिन्न साना राज्यका क्षेत्रीय दल तथा निर्दलीयले १९-२० जित्न सक्छन।

कुल ५४३ सीट मध्ये एनडीए गठबन्धन बाहेकका विभिन्न साना ठूला दल तथा इण्डी  गठबन्धनमा रहेका दलले जित्न सक्ने सीट यिनै हुन।
कांग्रेस - ४५-५०
तृणमूल कांग्रेस ( १५-१७
डीएमके ( १५-१७
जगन मोहन रेड्डी - ७-८
नवीन पटनायक -७-८
उद्धव ठाकरे -३-५
शरद पवार -१-२
जेएमएम -१-२
अखिलेश यादव -५-७
केजरीवाल -५-६
तेजस्वी यादव -०-१
सीपीआईएम -४-५
सीपीआई -२-३
अन्य - १९-२०  
कुल - १३०-१५१ सीट

बाँकी रहेका ३९२ देखि ४१३ सीटमा दाबेदारी कसको हुन्छ ? एनडीएका सहयोगी दल मध्ये यस पटक सबै भन्दा ठूलो दल टीडीपी हुने सम्भावना छ। चंद्रबाबू नायडूले आंध्र प्रदेशमा १५ सीट जित्ने संभावना छ। बिहारमा नितीशले पनि १५ सीट जित्न सक्छन। बिहारको लोजपाका चिराग पासवानले ५, अन्य सहयोगीले ३,  महाराष्ट्रमा शिव सेना शिंदेले १०, एनसीपी अजित पवारले ३, कर्नाटकको जनता दलले २, उत्तर प्रदेशका सहयोगीले २-३, आसामका सहयोगीले २, र अन्य सहयोगी दलले ५-७ सीट जित्ने देखिन्छ। भाजपाले नेतृत्व गरेको एनडीएका सहयोगी दलले सबै गरेर ६०-६५ सीटमा विजय पाउने सम्भावना छ।बाँकी बचेका सीटमा त कमल नै फुल्ने सम्भावनालाई चुनावका विश्लेषकहरुले दावी गरिरहेका छन् ।  २०२४ को लोकसभा निर्वाचनमा भाजपा एक्लै ४४१ स्थानमा प्रतिष्पर्धा गरिरहेका छ ।