युगकवि सिद्धिचरणको ११३ औँ जन्मजयन्तीमा श्रद्धाञ्जली सभाको आयोजना

युगकवि सिद्धिचरणको ११३ औँ जन्मजयन्तीमा श्रद्धाञ्जली सभाको आयोजना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०९, २०८१

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीको अघिल्लो दिन युगकवि सिद्धिचरण गुठीको आयोजनामा काठमाडौँको ओम्बहालस्थित युगकविको प्रतिमास्थलमा एक विशेष श्रद्धाञ्जली सभाको आयोजना गरियो । 

गुठीका अध्यक्ष पवित्र बज्राचार्यको अध्यक्षता, माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्री तामाङले युगकविको प्रतिमामा माल्यार्पण गरी युगलाई आँखा देखाउने युगकवि सिद्धिचरण शान्तिप्रेमी कवि भए पनि उनले व्यक्त गरेको ‘क्रान्तिविना हुँदैन शान्ति’ भन्ने उद्घोषले तत्कालीन समाजलाई जागृत गराएको विचार व्यक्त गर्नुभयो । साथै उहाँले आजको परिवर्तनमा युगकविको चेतना, विचार र लेखनले विशेष भूमिका खेलेको हुनाले उनका सिर्जनाहरू युगौँयुग अमर रहिरहने कुरामा जोड दिनुभयो । 

उक्त कार्यक्रममा विशिष्ट अतिथि बैरागी काइँलाले हरेक वर्ष युगकविको जन्मजयन्तीको अघिल्लो दिन युगकवि सिद्धिचरण गुठीले विशेष श्रद्धाञ्जली सभाको आयोजना गरी उपस्थित सम्पूर्ण महानुभावहरूबाट युगकविको प्रतिमामा माल्यार्पण गर्ने अवसर प्रदान गरेकोमा गुठीलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले हरेक वर्ष जेठ नौ गते युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार अर्पणलगायतका विभिन्न कार्यक्रमहरू गर्ने गरेको तर युगकविकी माहिँली छोरी सरिताको निधन भएको आज नौ दिन मात्र भएको हुनाले यस शोकको घडीमा उत्सवमय कार्यक्रम नगर्ने र त्यसलाई केही समय पछि सम्पन्न गरिने जानकारीसमेत दिनुभयो ।  

कार्यक्रममा प्रतिष्ठानका सहसचिव प्रा.डा. देवी नेपालले युगकविको बहुआयामिक व्यक्तित्वका बारेमा प्रकाश पार्दै युगकविको ‘चम्क युवक’ कविताले गङ्गालाललाई सहिद बन्न उत्प्रेरित गरेको, उनले प्रयोग गरेका ‘क्रान्ति’ र ‘हडताल’ शब्दले सर्वस्वसहित जेल पठाएको, महावीर स्कुलका पहिलो अङ्गे्रजी शिक्षक, ‘आवाज’ पत्रिकाका पहिलो सम्पादक, गोरखापत्रका प्रधान सम्पादक, राष्ट्रिय कविता महोत्सवका शुभारम्भकर्ता, कविता पत्रिका प्रकाशनका प्रारम्भकर्ता, बहुभाषाका ज्ञाता सिद्धिचरणका दुई दर्जनभन्दा बढी कृतिले युगलाई नै सही दिशानिर्देश गरिएको हुनाले उनको सम्मानमा राज्यले एक भव्य सङ्ग्रहालय बनाइदिनुपर्ने विचार व्यक्त गरी युगकविकै ‘शान्तिदूत’ कविता वाचन गर्नुभएको थियो । 

यस अवसरमा युगकवि सिद्धिचरणका विषयमा विद्यावारिधिसमेत हारिल गरिसक्नुभएका डा. फणीन्द्रराज निरौलाले युगकविद्वारा १९९५ मा लिखित जागरणमुखी कविता ‘चम्क युवक अब चम्क न चम्ब’ वाचन गर्नुभएको थियो भने लोककवि राजभाइ जकःमीले सिद्धिचरणको जीवनी, व्यक्तित्व र कृतित्व समेटिएको नेपाल भाषाको कविता प्रस्तुत गर्नुभएको थियो ।

स्रष्टा एवम् सञ्चारकर्मी भगवती बस्नेतले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको थालनीमा नै प्रमुख अतिथि माननीय मन्त्रीज्यूलाई युगकविको तस्बिर तथा मेरो प्यारो ओखलढुङ्गा अङ्कित टोपी र खादा लगाएर प्रतिष्ठानका तर्फबाट सम्मान गरिसकेपछि कार्यक्रमको शुभारम्भ रञ्जना श्रेष्ठको नेतृत्वमा ओखलढुङ्गा समाज काठमाडौँको समूहबाट प्रस्तुत ‘मेरो प्यारो ओखलढुङ्गा’ गीतबाट भएको थियो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष पवित्र बज्राचार्यले युगकविको सम्झनामा हरेक वर्ष गुठीले यस प्रकारको कार्यक्रम गर्दै आएको र गर्दै जाने विचार व्यक्त गर्नुभएको थियो ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको एक लाख राशिको ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष वरिष्ठ समालोचक एवम् अन्वेषक प्रा.डा. उषा ठाकुरलाई र चालिस हजार राशिको ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ ओखलढुङ्गाका युवा पत्रकार नवराज कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । साथै प्रतिष्ठानले प्रा.डा. देवी नेपालको सम्पादनमा ‘युगकवि सिद्धिचरणका गद्यकविता’ र डा. फणीन्द्रराज निरौलाको सम्पादनमा ‘युगकवि विषयक अन्तर्वार्ता सङ्ग्रह’ प्रकाशन गरिसकेको छ भने गायक तथा सङ्गीतकार शिशिर योगीको स्वर र सङ्गीतमा तयार भएको युगकविको कालजयी रचना ‘चम्क युवक अब चम्क न चम्क’ गीतलाई पनि सार्वजनिक गर्ने भएको छ । उक्त पुरस्कार अर्पण तथा पुस्तक विमोचनलगायतका कार्यक्रमहरू केही समयपछि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्भव भएसम्म ओखलढुङ्गामा गर्ने कुराको जानकारी प्रतिष्ठानका संरक्षक युगकविपुत्र रविचरण श्रेष्ठले दिनुभएको छ ।