लेखक हिरण्य  भोजपुरेलाई सम्मान, कवि करुणा राईलाई पुरस्कार

लेखक हिरण्य  भोजपुरेलाई सम्मान, कवि करुणा राईलाई पुरस्कार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०९, २०८१

काठमाडौँ । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई/दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.स. २०७९–२०८० का लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेलाई भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई भोजपुर प्रतिभा पुरस्कार अर्पण गरेको छ । गत शनिबार धरानमा आयोजित कार्यक्रममा वरिष्ठ कवि कुन्ता शर्माले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन् । सम्मान तथा पुरस्कार अर्पण गरेपछि बोल्दै कार्यक्रमकी प्रमुख अतिथि शर्माले कवि, लेखकको लेखन, चरित्र र व्यवहारमा तालमेल हुनुपर्ने विचार व्यक्त गरेकी थिइन् ।

सम्मानको राशि १५ हजार नगद, सम्मानपत्र र दोसल्ला रहेका छ भने पुरस्कारको राशि सम्मान पत्रसहित  ३५ हजार नगद रहेको छ । भोजपुरे अमेरिकामा रहेका कारण भोजपुरेका तर्फबाट कवि शशी लुमुम्बूले भोजपुरेको सम्मान ग्रहण गरेका थिए ।  

प्रतिष्ठानका महासभिव नरेश काङमाङ राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ साहित्यकार शरण राईले सम्मानित प्रतिभा भोजपुरेको व्यक्तित्व तथा कृतित्वका बारेमा र कवि सुदीप पाख्रिनले पुरस्कृत प्रतिभा कवि करुणा राईको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम कलरब, धरानको संयोजनमा आयोजना भएको थियो ।