नेपाल गजल प्रतिष्ठान:  'गजल मुशायरा' को  चौथो शृङ्खला १२ जेठमा

नेपाल गजल प्रतिष्ठान:  'गजल मुशायरा' को  चौथो शृङ्खला १२ जेठमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०९, २०८१

काठमाडौँ  । नेपाल गजल प्रतिष्ठानले हरेक दुई महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा' को  चौथो शृङ्खला यही १२ जेठमा गर्ने भएको छ ।

सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा दिउँसो १२स्३० बजे हुने यस पटकको शृङ्खलामा गजलकारहरू भुवन बोहोरा 'निस्तेज', आर्य आयुषा र त्रुपकलाई प्रस्तुत गरिने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।

खुला प्रवेश गरिएको मुशायरामा दुईवटा साङ्गीतिक गजल प्रस्तुतिसँगै डा। भोजराज घिमिरेको नयाँ गजल कृति 'नाद' को विमोचनसमेत गरिने प्रतिष्ठानका सचिव अनजान यात्रीले बताए ।

नेपाली गजलको परिष्कार अभियानमा सक्रिय प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत गजल प्रशिक्षण गर्दै आएको छ भने समयसमयमा साङ्गीतिक गजल मुशायरा पनि गरिरहेको छ ।

यसअघि गत १७ चैतमा प्रतिष्ठानले 'बृहत् साङ्गीतिक गजल गुञ्जन' सम्पन्न गरिसकेको छ । यस्तो बृहत् साङ्गीतिक गजल गुञ्जन हरेक वर्ष चैतमा गरिने बताइएको छ ।