मानिसको चहलपहलले कत्ति नबिथोलिएका ललितपुरका उकाली–ओराली

मानिसको चहलपहलले कत्ति नबिथोलिएका ललितपुरका उकाली–ओराली

ज्ञानेन्द्र विवश  |  साहित्य  |  जेठ ११, २०८१

यात्री सधैँ यात्रामै हुन्छ । यात्राले कहिल्यै विश्राम लिँदैन । यात्रा अविरल चलिरहन्छ जीवनको गति नरोकिएसम्म । फुर्सद मिल्ना साथ गरिने यात्रा रमाइलो हुन्छ । नयाँ गन्तव्यको खोजीमा निस्किँदा पुरानै गाउँ ठाउँ पुग्दा पनि नवीन रूपमा देख्न पाइयो । सुविधा सम्पन्न बाटो नै रहेछ विकास भन्नु । बाटो राम्रो बनेपछि यात्रीको कमी हुँदैन रहेछ ।
लेलेमा मनकामनाको मन्दिर बनेपछि र बाटो पनि राम्रो भएपछि स्थानीय जीवन पनि चलायमान देखियो । यात्रीहरूको आऊ–जाऊले लेले अब टाढाको ठाउँ रहेन । मनकामनाको दर्शनसँगै टिका भैरव, तीन पाने भञ्ज्याङ हुँदै बागमती गाउँपालिका सम्म जाँदा अहिले सडक सुविधाले धेरै राहत दिएको पाइयो । तीन पाने भञ्ज्याङबाट हेटौडा पुग्न ७१ किलोमिटर रहेछ भने त्यहाँबाट सातदोबाटोको दूरी मात्र २० कि.मि. ।

फराकिलो सडक मार्गले छोएपछि बल्ल लेलेको जनजीवनले विकासको फड्को मारेको देखियो । सडललितपुरको दुर्गम मानिने दक्षिणी भेगमा सडक सुधारको काम धमाधम हुन थालेको रहेछ । सडकको दायाँबायाँ राताम्मे फुलेका फूलका वृक्षले आगन्तुकहरूलाई स्वागत गरिरहेझैँ लाग्थ्यो । अर्को नयाँ सहरमा आइपुगेको महसुस हुन्थ्यो ।


मनकामना माताको दर्शन गर्न आउनेहरूको ओहोर–दोहोर निकै भेटियो । दर्शनका साथै बनभोज खान र घुमघामका लागि शान्त, एकान्त स्थल रमाइलो ठाउँ लाग्यो । मनकामनासम्म पुग्ने बाँकी रहेको कच्ची बाटोलाई पनि पिच गरिएपछि ललितपुरको मनकामना पुग्न सबैलाई सुविस्ता हुन्छ । 

बाइकको वेगवतासमा पनि धुवाँ र धुलोको प्रकोपले पिरोल्न आएन । बाटामा जताततै घामले डढेका मकैका बोट देखियो । पानी प्यासले प्याक्प्याक्ति भएका बोटबिरुवा भेटियो । तथापि घरेलु र जङ्गली गुलाफ मजाले फुलिरहेको देखियो । मनकामनाको दर्शनसँगै गुराँससँग फोटो खिच्ने रहर पनि यहीँ आएर पूरा गर्न पाइयो ।

बाटामा काफल खोज्नेहरू, ऐँसेलु खानेहरू प्रशस्तै भेटियो । बाटोमा फलेको त देखियो तर टिपेर खान अप्ठयारो थियो । घुमन्तेहरू बेतोडले हुइँकिरहेका हुन्थे । गाउँलेहरू भने आरामले सुस्ताइरहेका थिए ।

वास्तवमा उपत्यका राजधानी सहरको सबै सुविधाले सम्पन्न सहर हो भन्न सकिँदैन । ललितपुरको दक्षिणपूर्वी इलाकाका बासिन्दाले सहरी सुविधा खासै पाएका छैनन् । राजधानी आउन र फर्किन ठुलै सास्ती र समय व्यहोर्नुपर्छ । सडक सञ्जालले दुर्गमका दुर्दान्त गाउँ ठाउँहरू सहरसँग जोडिइसके । तर ललितपुरका ग्रामीण बस्तीहरू पुग्न बाटोघाटो नै राम्रो बनेको छैन । फुर्सद मिलाएर भट्टेडाँडासम्म पुग्दा नै विजोगका अवस्था स्पस्ट देखिने रहेछ ।

तिनपाने भञ्ज्याङमा गाडी रोकिँदा त्यो भञ्ज्याङबाट चारैतिरको दृश्य देखिन्थ्यो निकै सुन्दर । परन्तु यो रमणीय दृश्य छिनभरकै लागि मात्र रहेछ भन्ने कुरा थाहा भयो । किनभने त्यहाँबाट पूर्व–दक्षिणका पहाड छिचोल्न बिल्ली बाठको यथार्थ अवस्था दृष्टिगोचर हुन्थ्यो ।

घुमन्तेको घुमाइ न हो । कहिले कठिनको ठाडोे उकालो । कहिले हुरूरू हुर्रिएर एकैछिनमा फेदी पुगिने ओरालो । छिनभर पनि अलिकति तेर्सो बाटो हिँड्न पाएन पाइलाले । देख्नको आनन्द एकातिर, पैतालालाई सास्ती अर्कोतिर । सजिलो बाटो हिँड्न पाएर पाइला रमाइरहेका बेला तुरुन्तै कि उकालो आइहाल्ने, कि ओरालोले स्वागत गरेर लैजाने ।
हरेक पाइला–पदचापमा बाटोसँग घुमन्तेको घमासान घम्साघम्सी । घुमाइको रमाइलोमा बाटोको अव्यवस्थाले कायल पार्ने । तथापि आँखामा मायालु स्पर्श गर्न आउने । दृश्यहरू भने कति मनोहर, कति हृदयग्राही ! यसले नै हो ठेसलाग्दा पनि नदुख्ने,  भोक र प्याससमेत बिर्साइदिने ।

पुरानो कान्ति राजपथ हुँदै टीकाभैरवबाट उकालो । हिमाली छटाका छवि लस्करै दन्तमोहनी मुस्कानमा दृश्यमान । पारी पहाड घना जङ्गलले भरिएको । भिर, झोर, झाडी, कुनाकाप्चा, घुम्ती, कुइनेटा आदि सबै छिचोलेर प्रकृतिमै सुन्दरताको रस चाख्ने धेरै पहिलेको धोको । स्थानीयपन र पहिचानको रसास्वादन । त्यसमा चखिलो मिठासको आभास । घुमन्तेका लागि त्यसमा हराउने लालसा पूरा हुने ।

तथापि दक्षिण ललितपुरका ग्रामीण बस्ती साह्रै विकट । मुख्य कुरा यसभेगका बासिन्दाहरूका लागि अझैसम्म सुविधाको बाटोघाटो छैन । गाडीले थचार्ने, पछार्ने, लडाउने गर्छ । तर स्थानीय यात्रीहरूले भने यसलाई सहजै पचाउँदै आएका रहेछन् ।

यहाँ लालीगुराँसका बूढाखाडा रुख वर्षौं अघि चट्टाने पखेरा चिरा पारेर ठडिएका । गुराँसे जङ्गलको घना फाँटले भट्टेडाँडा भरिएको देखिन्थ्यो । गुराँसका फूलहरूले डाँडै रङ्गिएका । उराठ, उजाड पाखा र पहिरो प्रकोपका दृश्य देखेर दुखित मन गुराँसका सौन्दर्यमा शीतल भयो । भर्खरै सकिएको जाडोले गुराँसका ज्यान जिङ्ग्रिङ पारेर गुराँस राम्ररी फुल्न नसकेको प्रस्ट देखिन्थ्यो ।

सुनसान र अनकन्टार पनि कतिसम्म भने त्यति ठुलो जङ्गलमा चराचुरुङ्गीको चिरिबिरी मुस्किलले सुन्न पाइयो । मान्छेको आवतजावत त झन शून्य ।

कम्तिमा गुराँस हेर्न त आउनुपर्ने हो मान्छे । मैले अनुमान गरेँ आउन र फर्किनलाई हैरान छ भने को मान्छे कष्ट सहेर यता आओस् र !देउराली, हो त्यहीँबाट देखियो दृश्य सुन्दरी ! हुस्सु खुलेपछिको सन्ध्याकालीन प्रकृति । कति मनोरम, कति आह्लादित । मनै पवित्र भएर चोखिनेजस्तो । हेर्नुको आनन्द कति मीठो । देख्नुको दृश्य कति सुन्दर ।

प्रकृतिको मौलिक वानस्पतिक सुगन्धमा लट्ठ पर्दै देउरालीदेखि बुरून्चुली हुँदै टीकाभैरवसम्मको ठाडो ओरालो खुरूरू, खुरूखुरू ओर्लिएको केही वर्षअघिको याद आयो । 
अहिले त धमाधम विकासे बाटो खनिँदै थियो । कति ठाउँमा राम्रै पिच गरिएको भेटियो । कति ठाउँमा विजोकको बाटो थियो । डोजरले कोतरेर कमजोर जमिन पहिरो प्रकोपमा जोखिमले अडिएको देखिन्थ्यो ।

फर्किँदा गोदावरीको फेँदी हुँदै उत्तरी कुनाबाट थैब निस्किँदा भने बल्ल बेग्लै आनन्द मिल्यो । कुनै पनि प्रदूषणको प्रभावले नपिरोलिएको । सहरी सुविधाले सम्पन्न तर गाडी, मानिसको चहलपहलले कत्ति नविथोलिएको । कुनै कुराले नचिथोरिएको एक सुन्दर, शान्त ग्रामीण बस्ती । ललितपुरको यौटा विछट्टकै सुन्दर बस्ती !

घना बस्तीको घनघोर घचारोभन्दा पर । मन रमाउने स्वच्छ हावाले पल–पल चुमिरहने । आँखा अघाउँजी पहाडी तरेली नाचिरहने । गाउँघर पुरानै शैली र संरचना । खेतका गरा, बारी र टारहरू । सर्वत्र हरियालीको मुस्कान ।

जहाँ रमाउँदै अझै पनि पिङ खेलिरहेका बालबच्चा भेटिए । लसुन उखेल्दै गरेका र साग टिप्दै गरेका र गाँजरमुला उखेल्दै गरेका काममा पसिना बगाइरहेका गाउँले देखिए । उत्तरतिर हाँसिरहेको हिमाली छटा । घना बनजङ्गलको सुन्दरता खुलेको । बाटो सफा र गाउँ सुन्दर थियो । रुखपातमा धुलोमैलोको लेपन थिएन । बरु हरियालीमा रमाइरहेको धरती । त्यही सुन्दर धरतीमा हाँसिरहेका जीवनको स्पन्दन । र, मायालु आभासमा मन्द मुस्कान पस्किरहेका ।

अरूको खुसी खोसेर बाँचिरहेका ज्यान थिएनन् । आफ्नै खुसीमा मस्तले निर्भय हाँसिरहेका ग्रामीण जीवन थियो । साँँच्चै व्यस्त सहर नजिकैको सङ्लो समाज थियो गाउँघर ।
बारीका डिलमा अनेक रङ बोकेर मुस्काइरहेका फूलहरू । तर बारीभरि लगाइने फूलहरूको खेती अब निमिट्यान्नै देखियो । कान्लामा रायो सागका लहलह पातहरू । बारीका पाटामा भोगटे, आरु, अम्बाका रुखहरू सेताम्मे फुलिरहेका । अनि सिमी, फर्सी, स्कुस र अरू अनेक तरकारीका बोटविरुवाहरू हुर्किएरहेका । कति चाहिँ फल्नुसम्म फलेर थकित–थकित भइकन पनि बारीभरि, कान्ला, पर्खाल र बाटासम्मै लम्किएका सुकेका झ्याङहरू । जाँदाजाँदै ज्यान गएका लहराह पनि अझै फल्छु, बाँच्छु अझै धेरै भनी लम्किँदै गर्दा बोट सुकेर प्राणपखेरू गइसकेको ।

आहा ! यहीँ भेटियो प्रकृति र जीवनको चोखो प्रीतिकर मिलनका दृश्यहरू ।

वास्तवमा प्रकृतिमै छ ज्ञान–गरिमाको विशालता । मौन सन्नाटामा पनि जिन्दगीका सुमधुर सङ्गीत र शिक्षा । प्रेरणादायी प्रकृतिलाई पाएर आज गद्–गद् ।