गजल मुशायरा-४:  भोजराज घिमिरेका यी दुई गजल राष्ट्रिय नाचघरमा गुञ्जायमान

गजल मुशायरा-४:  भोजराज घिमिरेका यी दुई गजल राष्ट्रिय नाचघरमा गुञ्जायमान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०८१

काठमाडौँ।  म उसै छँदै थेँ पागल, नहुँदा तिमी नजिकमा
नभई भएछु घायल, नहुँदा तिमी नजिकमा ।

हर साँझ दीयो जल्छ तिम्रो यादमा,
भिज्दै परेली गल्छ तिम्रो यादमा ।

गजलकार भोजराज घिमिरका यी दुई गजल क्रमशः  कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठका कर्णप्रिय धूनमा सुमधुर स्वरमा गुञ्जिँदा राष्ट्रिय नाचघर, जमलको सानो प्रेक्षालय 'वाह ! वाह११' ले पुलकित थियो ।

नेपाल गजल प्रतिष्ठानले हरेक दुई महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा'को  चौथो शृङ्खलाका सन्दर्भमा उक्त गजल गाइएको थियो । 

यस पटकको शृङ्खलामा गजलकारहरू भुवन बोहोरा 'निस्तेज', आर्य आयुषा र त्रुपकलाई प्रस्तुत गरिएको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।

मुशायरामा गजलकारत्रयले शास्त्रीय बहरबद्ध गजलहरू तरन्नुम र तहतमा वाचन गरेका थिए ।

खुला प्रवेश गरिएको मुशायरामा घिमिरेको नयाँ गजल कृति 'नाद' को विमोचनसमेत गरिएको थियो ।  घिमिरेको दोस्रो शास्त्रीय बहरबद्ध गजल कृति 'नाद' माथि समीक्षकहरू भुवन निस्तेज र घनेन्द्र ओझाले टिप्पणी गरेका थिए ।

समीक्षक निस्तेजले 'नाद' का गजलहरूमा विविध विषयभाव प्रस्तुत गरिएको भन्दै परिष्कृत र शिल्पयुक्त गजलहरू सङ्ग्रह गरिएको बताए । ओझाले गजलकार घिमिरेको जीवन, समाज, राजनीति, संस्कृति र प्रेमलाई हेर्ने दृष्टि र बुझ्ने कोण अलग भएको बताए । हरेक विषय र सन्दर्भलाई प्रतीकात्मक र दार्शनिक तवरले प्रस्तुत गर्ने गजलकारको शैलीको ओझाले प्रशंसा गरे ।

ओझाले गजलमा बहरका नाममा भइरहेको मानक नेपाली भाषा र वर्णविन्यासको विद्रुपीकरणबारे चिन्ता व्यक्त गरे । भाषामाथिको हस्तक्षेप र अतिक्रमणले सभ्यता र संस्कृति लोप हुने ओझाको भनाइ थियो । गजलका लागि बहर अनिवार्य भएको तर हामीले हाम्रै भाषाका मानकअनुसार बहर प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

गजलकार घिमिरेले गजल लेख्नु आफ्ना लागि नशा जस्तै भएको उल्लेख गर्दै गजलमा रमाउँदा आनन्द लाग्ने बताए । अध्ययन, अभ्यास र परिष्कार कहिल्यै नसकिने बताउँदै घिमिरेले आफू सधैँ परिष्कारका लागि तयार रहेको सुनाए । गजलप्रतिको मोहका कारण उक्त कृति आएको उनको भनाइ थियो ।

नेपाली गजलको परिष्कार अभियानमा सक्रिय प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत गजल प्रशिक्षण गर्दै आएको छ भने समयसमयमा साङ्गीतिक गजल मुशायरा पनि गरिरहेको छ ।

यसअघि गत १७ चैतमा प्रतिष्ठानले 'बृहत् साङ्गीतिक गजल गुञ्जन'  सम्पन्न गरिसकेको छ । यस्तो बृहत् साङ्गीतिक गजल गुञ्जन हरेक वर्ष चैतमा गरिने बताइएको छ ।