विपन्नलाई पढाउन पाल्पाका लम्सालद्वारा तीन विद्यालयमा निजी स्तरमा अक्षयकोष स्थापना

विपन्नलाई पढाउन पाल्पाका  लम्सालद्वारा  तीन विद्यालयमा निजी स्तरमा अक्षयकोष स्थापना

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार ०६, २०८१


पाल्पा ।  विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।

रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्यार्थी बाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न  अक्षयकोष खडा गरिएको हो । 

रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा रु एक–एक लाखका दरले रु अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताउनुभयो । उहाँकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई रु एक लाखका चेक हस्तान्तरण गरिएको हो ।