गृहपालिका आठराईमा प्रा. डा. हेमनाथ पौडेल सम्मानित

गृहपालिका आठराईमा प्रा. डा. हेमनाथ पौडेल सम्मानित

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०७, २०८१

तेह्रथुम । कवि समालोचक एवम् निवन्धकार प्रा. डा. हेमनाथ पौडेल गृहजिल्ला तेह्रथुममा सम्मानित हुनुभएको छ ।

तेह्रथुमको ह्वाकुमा जन्म भई राजाधानीमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षा क्षेत्रको विकासमा अनवरत लाग्नुभएका पौडेललाई गृह जिल्लाको गृहपालिका आठराईमा शुक्रबार विशेष समारोहका बिच सम्मान गरिएको हो । 

आठराई गाउँपालिकाको सहयोगमा प्रगतिशील लेखक सङ्घ तेह्रथुम र साहित्य सङ्गम आठराईको संयुक्त आयोजनामा आठराईको सङ्क्रान्ति बजारमा भएको बृहत् साहित्यिक कार्यक्रममा प्रगतिशील लेखक सङ्घले प्रा. डा. हेमनाथ पौडेललाई सम्मान गरेको हो ।  

कार्यक्रममा गाउँपालिकाका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष बलिराज इङ्नाम र प्रगतिशील लेखक सङ्घका तर्फबाट कार्यक्रमका विशेष अतिथि महासचिव डा. देवी क्षेत्री दुलालले सम्मान पत्रसहित दोसल्ला ओढाएर पौडेललाई सम्मान अर्पण गर्नुभयो । 

सम्मान ग्रहण गर्दै कार्यक्रममा विशिष्ट अतिथिसमेत रहनु भएका प्रा। डा। पौडेलले आफ्नो गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी भएको बताउँदै यस सम्मानले साधनामा लाग्नका निम्ति अझै प्रेरणा प्राप्त भएको बताउनुभयो । उहाँले आठराई एक ऐतिहासिक ठाउँ रहेको भन्दै राजनीति, शिक्षा र साहित्यका क्षेत्रमा आठराईको अग्रणी भूमिका रहेको पनि उल्लेख गर्नुभयो । 

तेह्रथुमको आठराईबाट अघि बढेका पौडेलले दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरी नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँलाई सम्मान गरिएको हो । साढे ४ दशक अघिदेखि नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षाक्षेत्रमा कलम चलाउँदै आउनुभएका पौडेल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञपरिषद्को सदस्य एवम् काव्यविभाग प्रमुख समेत रहिसक्नु भएको छ । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार समेत रहिसक्नु भएका पौडेल माक्र्सवादी सौन्दर्य चिन्तकका रूपमा परिचित हुनुहुन्छ ।   

सोही कार्यक्रममा स्थानीय क्षेत्रमै रहेर साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै साहित्यकार रविमान लम्जेललाई समेत सम्मान गरिएको छ । चार दशकदेखि कलम चलाउँदै आउनुभएका लम्जेलका कविता, सहित्यिक इतिहास र दलित चेतनासँग सम्बन्धित कृतिहरू प्रकाशित छन् । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका ।उपाध्यक्ष बलिराज इङ्नामले पालिकाले भाषा, साहित्य र संस्कृतिको उन्नयनमा योगदान पुर्याइरहने बताउनुभयो । उहाँले डा। पौडेल र लम्जेल जस्ता विशिष्ट स्रष्टाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको पनि बताउनुभयो । 

यसैगरी प्रगतिशील लेखक सङ्घका महासचिव डा। देवी क्षेत्री दुलालले प्रलेस तेह्रथुमले यस किसिमका महत्त्वपूर्ण कार्यहरू गर्दै आएको बताउनुभयो । उहाँले प्रलेसका सल्लाहकार समेत रहिसक्नु भएका माक्र्सवादी समालोचक प्रा. डा. हेमनाथ पौडेल र साहित्यकार रविमान लम्जेललाई सम्मान गरेकोमा प्रलेस तेह्रथुमलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्रलेस तेह्रथुमको मुखपत्र 'प्रलेस २०८१' तथा साहित्य सङ्गम आठराईद्वारा प्रकाशित वार्षिक पत्रिका “संगम सुधा” को आठौं अङ्कको लोकार्पण गरिएको छ । लोकार्पित पत्रिकाको क्रमशः योगेश काफ्ले र पूर्णिमा रोकाले समीक्षा गर्नुभयो । कार्यक्रममा विशिष्ट कलाकार मातृका संग्रौलाले नाकबाट बाँसुरी बजाउने कला प्रदर्शन गरेर सबैलाई मनोरञ्जन प्रदान गर्नुभयो । 

सो अवसरमा कोसी प्रदेशका विभिन्न जिल्लाबाट भेला भएका नारी स्रष्टाहरूले कविता र गजल वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।  मोरङकी तिला लेकाली र सृष्टी सावित्रा, सुनसरीकी राधा सुवेदी, झापाकी भगवती ढुंगेल र लक्ष्मी अच्युत ढुंगाना, इलामकी टिङ्कु भट्टराई, तेह्रथुमकी सुष्मा दाहाल र रेजिना आपगाईं, पाँचथरकी लक्षिमा लामा तथा आठराईका  सनिसा भेटवाल, शारदा रिजाल र कृष्णप्रसाद थपलियाले आआफ्ना रचना वाचन गर्नुभयो । 

कार्यक्रममा बोल्दै प्रलेस तेह्रथुमका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष डीपी शर्माले आठराईमा बृहत् साहित्यिक कार्यक्रम गर्नुको औचित्यमाथि प्रकाश पार्नुभयो । उहाँले कार्यक्रममा दुई जना विशिष्ट स्रष्टाहरूलाई सम्मान गर्न पाएकोमा खुसी भएको बताउँदै कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका निम्ति सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनुभयो । 

प्रगतिशील लेखक सङ्घ तेह्रथुमका अध्यक्ष डीपी शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रम साहित्य सङ्गम आठराईका अध्यक्ष राजन तिम्सिनाले सञ्चालन गर्नु भएको थियो भने प्रलेस तेह्रथुमकी कोषाध्यक्ष दिलकुमारी बुढाथोकीले स्वागत मन्तव्य र त्रिमोहन माविका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।   

कार्यक्रममा अमेरिकाबाट अनेसासका पूर्व अध्यक्ष मोहन सिटौलाले लिखित शुभकामना पठाउनुभएको थियो भने आठराई गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बास्कोटा, तेह्रथुम बहुमुखी क्याम्पसका प्रमुख पोष्टराज लामिछाने, शिक्षक महासंघ तेह्रथुमका अध्यक्ष अभिनारायण पराजुली, प्रलेस कोसीका उपाध्यक्ष दिनेश थापा, उद्योग वाणिज्य सङ्घ आठराईका अध्यक्ष प्रेम पौडेल र स्थानीय समाजसेवी भीष्म थपलियालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अतिथिहरूलाई मायाको चिनो र तेह्रथुमको ढाकाटोपीद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका विभिन्न स्थानबाट क्याम्पसका प्राध्यापक र विद्यालयका शिक्षकहरू, राजनीतिक एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरू आदिको बाक्लो उपस्थिति थियो ।