ज्ञानेन्द्र विवश | साहित्य | असार ०९, २०८१
‘जताततै पेट्रोल पम्पहरू आज किन बन्द रहेछ भाइ ?’ पानीको बोतल किन्दै मैले पसले भाइलाई सोधेँ । किनभने पाटनदेखि दक्षिणढोका, गोकर्ण आइपुग्दासमेत पेट्रोल पम्पमा ताला लगाइएको छ । कतै पसल खुलेका छैनन् । बाइकमा तेल भरेर निर्धक्क हामी गाडीसँगै गुड्नुपर्ने तर तेलको व्यवस्थापन गर्न नसक्दा दिक्क बनेका छौँ । घर फर्किनु कि गन्तव्य जानुको दोसाँधमा पर्छौँ ।
तुरुन्तै पसले भाइको जवाफ मेरो कानैमा पर्छ– ‘पेट्रोलमा तीन रुपियाँ भाउ घटेको विरुद्धमा आन्दोलन रे । जति खाए पनि नपुगेर खान पल्केकाहरू ... ।’
‘जाबो तीन रुपियाँ घट्दा सारा पेट्रोल पम्प ठप्प पार्न सक्ने कत्रो एकता रहेछ पम्प वालाहरूको नि भाइ ?’ भन्दै दुई बोतल पानीको चालीस रुपियाँ दिएर फर्किन्छु । सँगैको फलफूल पसलबाट केही फलफूल पनि किन्छु ।
आज असार ३ गते सोमबारका दिन सरकारले बक्र इद पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । यही विदाको सदुपयोग हेतु सिद्धार्थ टोलबासी हामी तीन छिमेकी अपर्झटको यात्रामा निस्किएका छौँ । हामीलाई यात्रामा आरामदायी गाडी सुविधा राजदेवी सापकोटा दिदीले गर्नुभएको छ । उहाँ हाम्रो छिमेकी होइन तर छिमेकीपन भन्दा गहिरो मित्रताले हामी बाँधिदै छौँ ।
‘लौ आज हजुरहरूलाई घुमाउने मौका मिल्यो ।’ भन्दै राजमाया दिदी गाडी गुडाउनुहुन्छ । हँसिलो मुहार–मुद्रा, गलामा रुद्राक्ष माला, निधारमा चन्दन, टिका उहाँले लगाउनुभएको छ । गाडीको गतिसँगै गफगाफको गतिले पनि फड्को मार्न थाल्छ । गाडीमा छौँ हामी तीन परिवार नीरा दाहाल तिवारी, भावना श्रेष्ठ, कल्पना जोशी र म । बाइकमा रामबहादुर सापकोटा दाइ र प्रनिश तिवारीको साथ छ ।
तारकेश्वर ताकेर घरबाट गुडेका हामी गौशाला पुगेपछि फड्केश्वर धामको यात्राले फड्को मारिसकेको छ । ३४ डिग्री तापक्रमको गर्मीको धुपमा पानीमा खलक्क पखालिन पाए जिउँदै स्वर्ग पुगिन्थ्यो कि भन्ने बहुमतले निर्णय गरेको छ । त्यसैले हामी नदी–स्नानको मोहले अन्यत्र मोडिएका छौँ । अतः हामी वेगले मेलम्ची नजिकैको इन्द्रावती नदीमा डुबुल्किन हत्तारिन्छौँ ।
सार्वजनिक विदाको दिन भए तापनि सडकमा गाडीको अत्यधिक चाप छ । अलिकति गुड्दै फेरि गाडीले वेग मार्न सक्दैन । जाम छिचोल्न र तेल खोज्न मै निकै समय व्यतीत भइसकेको हुन्छ ।
‘बाइकमा पेट्रोल राख्नु छ पम्प खुलेको हेर्दै जानुपर्छ है ।’ नीरा बहिनीले भनेको कुरालाई शिरोधार्य गर्दै अगाडि बढ्छौँ । सबै पम्प बन्द नै छन् । हामी धेरै अगाडि पुगिसक्दा पनि तेल नपाएर यात्रामा अलपत्र पर्ने भयले त्रस्त हुन थाल्छौँ । साँखुमा त बोतलमा राखेको किन्न पाइन्छ भनेको सुनेर पनि कुरा सत्य हुँदैन ।
स्थानीयले पनि तेल पाइने पसलमा सोध्न, खोज्न सहयोग गर्नुभयो । तर कतैबाट पनि तेलको थोपा उपलब्ध हुन सकेन । तेल सिद्धिएर प्राणान्त हुनै लागेको बाइकको पछि बसेर हामी कहिले बसपार्कतिर फन्को मार्न पुग्छौँ । कहिले साँखुको मूल ढोकासम्म पुग्छौँ । तर कतै पनि तेल नपाइँदा निराश हुन्छौँ ।
\
अफसोसको कुरा साँखु–फड्केश्वर–मेलम्ची सडक खण्डलाई सिन्धुपाल्चोक जोड्ने बैकल्पिक राजमार्गको रूपमा बिस्तार गरिए पनि अद्यापि कालोपत्रे भएको छैन । विस्तार भएको लगभग एक दशकपछि पनि अझै सडक पूरै कालोपत्रे नगरिँदा सबैलाई सास्ती भोग्नुपर्ने बाध्यताको अन्त्य चाडै होस् भन्ने कामना । हिलाम्मे ओरालोमा पिच गरिएको भए निकै सुविस्ताले चाँडै नै मेलम्ची झर्न सकिन्थ्यो ।
नीरा बहिनीले ‘बाबु र म फर्किन्छौँ हजुरहरू घुमेर आउनुहोस् ।’ भन्दा हामी सबैमा निराशा छाउँछ । यस्तैमा एकजना भाइले एक लिटर तेल उपलब्ध गराएर हाम्रो यात्रालाई निरन्तरता दिन सघाए ।
तीतो मुखमा गुलियो जुलेवीले मुख मिठ्याउँदै जर्सिङपौवातिर लाग्छौँ । ‘त्यहाँ त जम्भुकोकको बोतलमा तेल बेच्न राखिएको हुन्छ’ भन्ने धेरैबाट सुनिएकोले मिठो आशा बोकेर उकालिन्छौँ ।
‘जय बज्रयोगिनी माता, जय साली नदी ।’ भन्दै राजमाया दिदीले गाडी दौडाउनुहुन्छ । गाढा हरियो रुख पात, हराभरा मकैबारी हेर्दै हामी उकालो लाग्छौँ । साँखु सिद्धिन लाग्दा केही पसलहरू आउँछन् । दिदी जानकारी दिँदै हुनुहुन्छ– ‘सेकुवा, छोइला, आलुतामा खान यहाँ काठमाडौँका स्वादेजिब्राहरू धाउँछन् । मैले पनि कति साथीहरूलाई यहाँ ल्याएकी छु ।’
दिदी आफू शाकाहारी तर माछा मासुका ‘हन्तकाली’ को आँत मार्न कदापि चाहनुहुन्न । भन्नुहुन्छ– ‘कसैको ज्यान लिएर खानु हुँदैन । खाने इच्छालाई दबाएर घुटुक्क थुक निल्न पनि हुँदैन । तर जाँडरक्सी र खैनी चुरोट चाहिँ नखाएकै राम्रो ।’
‘आहा कति राम्रो कुरा नि हाम्री प्यारी दिदीको ।’ भन्दै अर्की शाकाहारी नीरा बहिनीको बोली बल्ल सुरु हुन्छ– ‘हो नि, हामीले बाँचुन्जेल सुख र शान्ति पाउनुपर्छ । कसैको मन दुखाउनु, कसैलाई नराम्रो भन्नु र सोँच्नु उचित होइन । लोभ, घमण्ड किन र के का लागि गर्नु ? भगवान अर्को जन्ममा मनुष्य जन्म हुन नपरोस् ।’
गुड्दै ओरालो, उक्लिँदै उकालोको यात्रामा हामी साँघुमाथि सल्लाघारीको उकालो चढ्दैछौँ । ठाउँ–ठाउँमा खानेपानीको मुहानक्षेत्र लेखिएका बोर्डहरू राखिएका छन् । बस्नै चौतारीहरू पनि छन् । हामी पनि एकछिन बसेर फलफूल र पानी खान्छौं । झ्याउकिरीको आवाजले कानै खान खोज्छ । नथाकी एकोहोरो कराएरै टाउको फुटेर मर्छ रे यो किरा । यो आवाज र एकान्त जङ्गलको वातावरण अनि शान्त, शीतल परिवेशले अघाउँजी आनन्द प्रदान गर्छ ।
‘बसिरहौँ जस्तो, गाइरहौँ, नाचिरहौँ जस्तो शान्त र शीतल ठाउँ ।’ भन्दै कल्पना र भावना प्रकृतिपरी बनेर त्यही विलीन हुन खोज्छन् । हुन पनि सहरी घचारो भन्दा अलग्ग प्रकृतिको यो सुन्दर र सफा स्थानमा सहरबासीको मन स्वाभाविक रूपले स्वतः लोभिन्छ । जङ्गलको सानो कुनाबाट पर साँखुको सानो टुक्रा बजार देखिन्छ । घनाजङ्गलमा चराचुरुङ्गीहरूको चहरपहल मनोरम लाग्छ । फाट्टफुट्ट गाडी गुडिरहेका छन् ।
‘अब धेरै बेर यहाँ अल्मलिने काम नगरौँ ।’ भन्दै राम सापकोटा दाजु सबैलाई जाराक्क जुरुक्क उठाएर हिँडाउन जोड गर्नुहुन्छ । हुन पनि हामी पुग्नुपर्ने गन्तव्य टाढै छ । उहाँ फेरि भन्नुहुन्छ– ‘इन्द्रावतीमा पौडी खेल्ने, फड्केश्वरमा पूजा गर्ने अनि पेट पूजाको मुख्य काम बाँकी नै छ है सर, म्याडम ।’
सुलुत्त बगेको चिप्लो सडकको ठाडो उकालो सकिएपछि हामी जर्सिङपौवामा सानाठूला होटलहरूले भरिभराउ बजार पुग्छौँ । खानपानभन्दा पनि तेलको जोहो गर्नुपर्ने हुन्छ । गाडी साइड लगाएर तेलको खोजीमा लाग्नुको विकल्प छैन । वल्लोपल्लो, माथ्लो, तल्लो सबै पसल चहाछौँ । बल्ल दुई लिटर तेल पाँच सयमा लिएर नीरा बहिनी ठुलै विजयको शैलीमा खुसीले रमाउँदै आउनुहुन्छ । सबै जना जम्मा भएर अब मेलम्चीतिर झर्ने तर्खरमा हुन्छौँ ।
काठमाडौँको उखरमाउलो गर्मीले हिरिक्क भएका हामी जर्सिंङपौवाको शीतल वातावरणले बौरिन्छौँ । मास्तिरको जङ्गलमा हुस्सु लागेर एकैछिनमा झन् चिसोपन बढ्न थाल्छ ।
‘मान्छेलाई केही गर्दा पनि सुख हुँदैन । प्रकृतिले मौसमअनुसार तातो र चिसो पारेको छ । तर हामीलाई तातो पनि हुँदैन । चिसो पनि सहन सक्दैनौँ ।’ हाम्रो सामूहिक स्वर गाडीमा अनुगुञ्जित हुन्छ ।
चिया बगान जाने बाटो छोडेर जर्सिङ्पौवाबाट अलिकति उकालो लागेर हामी हाम्रो गन्तव्यको ओरालो नाङ्लेभारे हुँदै ओरालो झर्न थाल्छौँ ।
‘३०० वर्ष पुरानो चापको रुख चाँपभन्ज्याङ यही हो । यहीँबाट काठमाडौँ जिल्ला सिमाना सकिएर सिन्धुपाल्चोक जिल्ला सुरु हुन्छ ।’ दिदी राजमाया जानकारी दिइरहनुहुन्छ । अस्ति भर्खर मात्र पनि आफूहरू यता आएर फर्किएको सम्झना उहाँ सुनाउनुहुन्छ ।
लहलह मकैका बोटहरू हुर्कदै रहेछन् । पानी नपरेर सुकेका पातले मृत्युवरणको बाटो रोजि रहेझैँ लाग्छ । पानी नहुँदा जीवन, जगत, बोट बनस्पतिको अस्तित्व स्थायी रहँदैन । बाटोको पाखोबारीमा केराका बोट प्रशस्तै देखिन्छन् । धानबाली पनि लहलहाउँदो छ । तर बाटो कच्ची भएको हुँदा यात्रीलाई अलि असहज महसुस हुने रहेछ । तर यस्तो जोखिमको बाटोमा पनि राजमाया दिदीको कुशल ड्राइभिङ र नीरा बहिनीको आध्यात्मिक कुराले ओरालो छिनमै झरिसकिएछ ।
अफसोसको कुरा साँखु–फड्केश्वर–मेलम्ची सडक खण्डलाई सिन्धुपाल्चोक जोड्ने बैकल्पिक राजमार्गको रूपमा बिस्तार गरिए पनि अद्यापि कालोपत्रे भएको छैन । विस्तार भएको लगभग एक दशकपछि पनि अझै सडक पूरै कालोपत्रे नगरिँदा सबैलाई सास्ती भोग्नुपर्ने बाध्यताको अन्त्य चाडै होस् भन्ने कामना । हिलाम्मे ओरालोमा पिच गरिएको भए निकै सुविस्ताले चाँडै नै मेलम्ची झर्न सकिन्थ्यो ।