नन्दु उप्रेती एक दर्जन एकल कविता गुन्जिए

नन्दु उप्रेती एक दर्जन एकल कविता गुन्जिए

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १०, २०८१

काठमाडौं । कवि नन्दु उप्रेतीका एक दर्जन जीवनवादी कविताहरू काठमाडौँमा गुन्जिए।

जनसाहित्य संघ नेपालको  अविरल जनसाहित्य यात्रा कार्यक्रममा असार ८ गते शनिबार नन्दु उप्रेती कविका रूपमा उभिएका थिए ।
'ओ वीराङगना
के थियो तिम्रो नाम
कि तिम्रो कुनै नाम थिएन ?'

'के थियो तिम्रो नाम ?'  शीर्षकको राष्ट्रनिर्माता बेनाम वीराङ्गनाको सम्मानमा लेखिएको कविताबाट कवि उप्रेतीले कविता वाचन आरम्भ गरेर ुदेशको नक्सा र मेरो बुबाु कविताका निम्न पङ्तिहरूबाट वाचन समापन गरेका थिए 
'बाबू ! तिम्रो हातको नक्साको देशभन्दा
छातीभित्रको हाम्रो देश धेरै प्यारो थियो
छातीभित्रको हाम्रो देश धेरैे ठूलो थियो ।'   

कार्यक्रममा कवि स्वयंले आफ्ना नौवटा कविता वाचन गरेका थिए भने कवि डाक्टर राजेन्द्रप्रसाद अधिकारी, पवित्रा सुवेदी र अनुप उप्रेतीले एकएकवटा कविता वाचन गरेर कविलाई सहयोग गरेका थिए। 

कवि नन्दु  उप्रेतीका कविताहरूमाथि समीक्षा गर्दै वरिष्ठ समालोचक प्राज्ञ प्राध्यापक केशव सुवेदीले समाजका समस्या, देशका पीडा, जनताका दु:ख सुख, प्रकृति प्रेम, मात्तृ विशिष्टता, परदेशिएका सन्तानका कथा व्यथा, नाम नलेखिएका योद्धाहरूप्रति सम्मान,  युगचेतना र युगबोधको प्रस्तुती, सरलता भित्र बौद्धिकता , विचारको उत्कृष्टताका साथमा कलाको चमत्कारिकता उप्रेतीका कविताका गुण भएको बताएका थिए। कविता लेखनको ४० वर्षको यात्रा पार गरेका कवि उप्रेतीले उत्कृष्ट कविताहरू सिर्जना गरे पनि हालसम्म उनको कविता संग्रह प्रकाशित नहुँदा नेपाली कविता साहित्यलाई नै नोक्सान भइरहेको विचार राख्दै उप्रेतीका बाल साहित्य,अनुवाद,  नियात्रा साहित्य र साहित्य अनुसन्धानका आधादर्जन कृतिहरू प्रकाशित भैसक्नुले उप्रेती बहुमुखी प्रतिभा रहेको पुष्टि भएको चर्चा समेत गरे। 

सङ्घका अध्यक्ष कवि रामविनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा कविता प्रेमी बौद्धिक श्रोताहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि साहित्यकार एवं सांसद रघुजीपन्तले नन्दु उप्रेतीका कविताले जीवनवादी विचार अँगालेको चर्चा गर्दै कविता एवं कुनै पनि साहित्यमा यो पार्टी वा ऊ पार्टीको आबद्धता आवश्यक नरहेको तर सही विचारको उपस्थिति साहित्यमा हुनुपर्ने विचार प्रकट गरेका थिए । डा. हरिप्रसाद सिलवालले कविको साहित्य लेखनको चर्चा गर्दै कविको परिचय प्रस्तुत गरेका थिए भने रमेश पोखरेलले उप्रेतीका कवितामाथि संक्षिप्त विचार राख्दै धन्यवाद व्यक्त गरेका थिए। उनले प्रत्येक महिनाको दोस्रो शनिबार सम्पन्न हुने एकल कविता वाचनमा आगामी श्रावण महिनाको दोस्रो शनिबारका लागि कवि डाक्टर राजेन्द्रप्रसाद अधिकारीलाई प्रस्तुत गर्ने जानकारी पनि दिएका थिए ।