हरिविनोद अधिकारी | दृष्टिकोण | असार १३, २०८१
मैले २०८०साल फागुन ५ गते यस्तो लेखेको थिएँ २००औँ यो निरन्तर लेखका सम्बन्धमा यस लोकसंवाद अनलाइन पत्रिकामा ।
......र अन्त्यमा, मैले यो पुराना यादहरु जसलाई २०० भागसम्म लेख्दै रहेँ र केही समय सम्मलाई यो धारणालाई विराम गर्ने अठोट गरेको छु । अर्थात् आफूलाई चिन्नु छ र आफूलाई आफैँले समीक्षा गर्नुछ । पछि लेख्ने नै छु । र यक्षको युधिष्ठिरलाई सोधेको यो प्रश्न र वन बासी युधिष्ठिरले तलाउ नजिकै दिएको उत्तर सन्दर्भमा राख्दै बिट मार्ने अनुमति माग्छु ।
यक्ष सोध्छन् - हे महाराज, तिमीलाई केकुरा यो संसारमा अचम्म लाग्छ त ? अनि युधिष्ठिरले भन्छन्
अहन्यहनि भूतानि गच्छन्तीह यमालयम् । शेषास्थविरमिच्छन्ति किमाश्चर्यमतः परम् ।।
दिनहुँ मान्छे मरिरहेका छन्, बाँकी पनि मर्छन् अपरिहार्य छ । तै पनि मर्ने चिन्ता नलिई मानिस किन अनेक (खराब) कामहरु गरिरहन्छ । मलाई सबैभन्दा अचम्म लाग्ने कुरा यही हो यक्ष ।
मेरो पनि यो कुरामा सहमति छ र पनि बुझेर नबुझेर किन लोभले समाएको होला? किन आफूलाई त्यो अचम्मसँग साक्षात्कार गर्न नसकेको होला ?
करिब ४ वर्षसम्म मेरा व्यक्तिगत, मनोगत तथा आफ्ना अनुभव, धारणाहरू लोकसंवादका पाठकहरुले पढ्नु भयो, त्यसका लागि धन्यवाद दिन चाहन्छु । मेरा भावनाहरूलाई विना सम्पादन अनलाइन मार्फत् प्रकाशन-प्रसारण गरेर मेरा प्रिय भाइ भूपराज खड्काले गुण लगाउनु भएकोमा म आफूलाई धन्य सम्झन्छु । मेरो सहकार्य अन्य रचना मार्फत् रहिरहने छ भन्ने अनुरोध गर्दछु । धन्यवाद ।....
आज फेरि २०१औँ लेख माला मार्फत् टुटेको शृङ्खलालाई निरन्तरता दिन खोज्दैछु । केही अङ्क निरन्तरता दिएर बिट मार्ने कोसिसमा छु पनि ।
जीवनको अनेक निर्णायक घटना र मोडमध्ये विवाह पनि एउटा महत्वपूर्ण निर्णायक घटना हो । विवाह सामाजिक तथा पारिवारिक हिसाबले संस्थागत मान्यता हो । प्रकृतिको नियम भनौँ त, आपसमा मिलेर बस्नका लागि, दुई अनजान व्यक्तिहरुको आपसमा सम्बन्ध रसायन गरेर , दुई जीवन एक भएर बस्ने, मिलेर बस्न र सन्तान उत्पादनका लागि विवाहको महत्व हुँदै हो, तर त्यतिमात्र होइन, दुई मुटुको एउटै धडकन बनेर जीवन रथ चलाउने पनि हो रहेछ । मेरो विवाह २०३१साल असार १४ गते सिन्धुली जिल्लाकै खुर्कोट भन्ने ठाउँमा देवकी देवी आचार्यसँग भएको थियो, त्यो अवसरको गणना गर्दै जाँदा अहिले ५० वर्ष पुगेछ । त्यसले त एउटा आधा शताब्दीको समय पो पार गरेछ ।
त्यसैले म विद्यालयमा हुने कविता महोत्सवमा भाग लिन्थेँ , अब ती अभिलेखमा कतै छैनन् । म अलि अव्यवस्थित नै हुँ , त्यसैले त्यसपछिका रचनाहरू पनि त कहाँ मसँग सुरक्षित, संरक्षित र सञ्चित छन् र ? कविता, कथा लेख्दै रहेँ, लेखहरु लेख्दै रहेँ । कति विभिन्न पत्र पत्रिकाहरूमा छापिए, कति त कागजमा आफैँ विलीन भए तर लेख्ने काम मेरो नियमित रह्यो । केका लागि लेखेँ , त्यसको पनि मसँग जबाफ छैन, किन लेख्न मन लाग्छ, त्यसको पनि कुनै जबाफ छैन ।
त्यसै त ५० वर्ष बितेको पक्कै होइन तर लाग्छ आँखा झिमिक्क गर्दा नै बितेको पो हो कि जस्तो पनि लाग्दो रहेछ । यस बिचमा हाम्रा बा आमा कहाँ जानु भयो ? अनन्त यात्रामा जानु भयो हाम्रै माझबाट । त्यो अनन्त यात्राका भावी यात्री हामी पनि हौँ भन्ने हेक्का छ । अतीतमा फर्केर धेरै आफूलाई धिक्कार्नु या प्रशंसा गर्नुपर्ने त्यस्तो केही गरिएको जस्तो लाग्दैन । त्यो त अरुले गर्ने मूल्याङ्कन हो । हुन त आफ्नो मूल्याङ्कन आफैँले गर्दा खोट देखिँदैन । र समीक्षा गरेर प्रायश्चित गर्ने या मैले यसो गरेँ, उसो गरेँ भनेर आफूलाई केन्द्रमा राखेर आत्मरति बखान गर्ने गरी भन्नु पर्ने पनि केही भेटिएन । त्यस्तो पनि केही गरिएन ।
म सात दशकको भएँ र मेरी जीवन साथी पनि करिब करिब सात दशकको यात्राको नजिक नै छिन् । मैले आफ्नो समीक्षा गर्दा हाम्रा पाँच दशकमा के उपलब्धि भयो भनेर गणना गर्दा कुन पक्षलाई सम्झने ? सामान्य रुपमा आफ्ना भाइ बहिनी, छोराछोरीको लागि उनीहरुको पठन पाठनमा ध्यान दिएको कुरा भन्न लायक होइन, ती त कर्तव्य निर्वाह गर्नुपर्दा पनि स्वतः आउने रहेछन् । फेरि हामी घर छोडेर परदेशमा आफूलाई स्थापित गर्नुपर्ने पुस्तामा पर्यौँ । जसरी पनि बाँच्दै रह्यौँ आफ्ना कर्मले । तर जीवनलाई सहज तरिकाले सोच्दै रह्यौँ ।
अतीतमा फर्केर आजका दिनसम्म आउँदा आफूलाई धेरै असफल भन्न पनि मन छैन, सफल त हुनै सकिएन । सफल हुनै सकिएन भनेको न त कुनै त्यस्तो सामाजिक क्षेत्रमा समाजलाई सहयोग हुने काम गर्न सकियो, न त हाम्रो सफलताको मानक हो धेरै सम्पत्ति कमाएर आफू भौतिक सुख सयलमा बाँच्ने । अचेल स्वस्थ रहनु ठुलो सम्पत्ति मानिएको छ र भनिएको पनि छ, स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो । धनका अनेक अर्थ लगाउन सकिएला तर सन्तति धन नै , नाता गोताबाट पाउने सकारात्मक सहयोग नै सबैभन्दा ठुलो धन हामीले मान्यौँ ।
मैले विद्यालयदेखि नै केही लेख्नुपर्छ भन्ने मान्यता लिएको थिएँ, त्यसको पृष्ठभूमिमा हुनुहुन्थ्यो स्वर्गीय गुरु साम्बभक्त शर्मा सुवेदी । उहाँले पठन संस्कृतिलाई ममा केही भए पनि दिनु भएको थियो । त्यसैले म विद्यालयमा हुने कविता महोत्सवमा भाग लिन्थेँ , अब ती अभिलेखमा कतै छैनन् । म अलि अव्यवस्थित नै हुँ , त्यसैले त्यसपछिका रचनाहरू पनि त कहाँ मसँग सुरक्षित, संरक्षित र सञ्चित छन् र ? कविता, कथा लेख्दै रहेँ, लेखहरु लेख्दै रहेँ । कति विभिन्न पत्र पत्रिकाहरुमा छापिए, कति त कागजमा आफैँ विलीन भए तर लेख्ने काम मेरो नियमित रह्यो । केका लागि लेखेँ , त्यसको पनि मसँग जबाफ छैन, किन लेख्न मन लाग्छ, त्यसको पनि कुनै जबाफ छैन । स्वान्त सुखाय भन्नु पर्छ ।
मेरा सन्तति तन्तुलाई लाग्यो, यही वैवाहिक स्वर्ण महोत्सवका उपलक्ष्यमा सद्य प्रकाशित मेरो कृति कुन्ती उपन्यासको लोकार्पण गर्ने । त्यसको प्रकाशनको जिम्मा लिएका हुन् मेरा प्यारा विद्यार्थी हिमाल रेग्मीले अक्षराङ्क प्रकाशन मार्फत् । त्यो पनि तयारी भएको झन्डै भएछ ४ वर्ष, कोरोनाकालमा त्यो प्रकाशित हुनै सकेन । मलाई मेरा कृतिहरूको पुस्तकाकार स्वरुपमा प्रकाशित गर्न बारम्बार झक झोर पार्नेहरू हुनुहुन्छ प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुलप्रसाद कोइराला, स्वर्गीय जीवनचन्द्र कोइराला, डाक्टर नवराज लम्साल, वरिष्ठ पत्रकार तारानाथ दाहाल , अध्येता तथा ओरेन्टल प्रकाशनका प्रमुख हरि गौतम । धेरैलाई लाग्थ्यो मेरा धेरै पुस्तक छापिएका होलान् तर त्यस्तो थिएन ।
भर्खर मात्रै कुन्ती नामक आत्मालाप उपन्यास प्रकाशित भएको हो । त्यो पनि भवितव्यका रुपमा । यसबारे पछि अन्य कुनै बेलामा लेखौँला तर यसपटक स्वर्ण वैवाहिक महोत्सवको उपलक्ष्यमा मेरा पाँचजना छोरा छोरीहरुले अचानक पुस्तक लोकार्पण गर्ने विचार गरेछन् र त्यो दिन असार १४ , २०८१लाई नै छानेछन् । पुस्तक प्रकाशन गर्ने हिमाल रेग्मीलाई धन्यवाद, मेरो पुस्तकमा आफ्नो भूमिका स्वरुप धारणा राख्ने भाइहरु डाक्टर नवराज लम्साल र भाइ वरिष्ठ पत्रकार तारानाथ दाहाललाई धन्यवाद दिन चाहन्छु । यसमा लोकार्पणको व्यवस्था गर्ने मेरा छोराछोरीहरु सिद्धिविनोद, करुणा, अरुणा, अर्चना र पुलकितलाई पनि यसबेलामा धन्यवाद भन्नै पर्छ । बडो जिज्ञासापूर्वक मेरो पुस्तकमा लेखिएका उनीहरुका नाम देखेर पुलकित हुने मेरा नातिनीहरु विश्रुता, सुदेष्णा, आरुषि, प्रसिद्धि र अदितिलाई मैले आशीर्वाद दिने र मेरा सन्ततिहरूलाई मैले दिने सन्देश के हो भने जे काम गर्ने हो बेलैमा गर्नू, भावी दिनमा म जस्तो अल्छी नहुन र जीवनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न तिमीहरु सफल हुनु ।
मलाई के पनि थाहा छ भने जसरी बा आमा अहिले हामीसँग हुनुहुन्न तर उहाँहरुको स्मृतिले हामी सधैँ आफूलाई मार्गदर्शन भएको ठानेका छौँ, त्यसैगरी हामी पनि एकदिन तिमीहरूसँग हुँदैनौँ । तिमीहरुले पनि हामीलाई सम्झने मात्र हो । अहिलेसम्म हामीले तिमीहरुलाई कुनै तिर्नुपर्ने ऋण लगाएका छैनौँ, कुनै त्यस्तो हाम्रा कारणले समाजमा मुख देखाउन नहुने अवस्था सृजना गरेका छैनौँ । जानेर त्यस्तो गल्ती गरेका छैनौँ तर प्रसङ्गवश नजानेर भएका गल्तीमा माफी, यदि थाहा भए माफी माग्न पनि हामीलाई कुनै अप्ठेरो छैन ।
वैवाहिक स्वर्ण महोत्सव आउँछ जान्छ अरु बाँचिए ती वर्षहरु अरु थपिन्छन् तर बाँचुन्जेल समाजका लागि केही दिन सकियोस् , परिवारका लागि मार्गदर्शन गर्न सकियोस् र मरण सहज होस् भन्ने कामना गर्नुपर्छ । मृत्यु अपरिहार्य हो र त्यो एकदिन बाजा नबजाइ आउँछ र लान्छ । कसरी कहाँबाट कुन निहुँमा लान्छ , त्यो थाहा हुने कुरा भएन । अहिलेसम्मको जीवनलाई पनि आशीर्वादका रुपमा लिनुपर्छ र जति दिन बाँचिन्छ, त्यो पनि मानव जीवनका लागि स्वास्थ्य विज्ञानको उपलब्धि मान्नुपर्छ । हामी किशोरावस्थामा हुँदा औसत उमेर ४१ वर्ष थियो भने अहिले औसत उमेर ७३ वर्ष हुन पुगेको छ । त्यसका मुख्य कारण औषधि विज्ञानको चमत्कार नै हो । हामी बाँच्न चाहन्छौँ र स्वास्थ्य विज्ञानले हाम्रो चाहनालाई साथ दिएको छ । भनिन्छ, कृति, यसमात्र अमर रहन्छ । भोलिका दिनमा सन्ततिले आफ्ना पुर्खाको नाम लिँदा आदरका साथ लिऊन् भन्ने कामना गर्नु धृष्टता होइन कि ?