ज्ञानेन्द्र विवश | साहित्य | असार १५, २०८१
‘अविरल बग्दछ इन्द्रावती’ नाम आख्यानमा साहित्यकार रमेश विकलको कल्पना र यथार्थको सुन्दर मिलन पढेको झिनो मसिनो सम्झनाहरू छन् । तीस वर्षअघि बाहुन पाटीमा भएको वृहत् साहित्यिक कार्यक्रमको सम्झना पनि छन् । जहाँ कविवर केदारमान व्यथितलाई दर्जनौँ संस्थाहरूले सम्मान प्रदान गरिएको थियो सुनकोसी साहित्य प्रतिष्ठानबाट भाषा सेवी कृष्णप्रसाद पराजुली, मोहन दुवालको अगुवाइमा । सोही कार्यक्रमको निम्तो मान्न काठमाडौँबाट हामी तीन चार वटा बसमा भरिभराउ भएर त्यहाँ पुगेका थियौँ । रेडियोकर्मी दाहाल यज्ञनिधिलगायत सर्जकहरूसँगको यात्राका यादगार मिठा–मिठा यादहरू पनि अब धूमिल हुँदै गइरहेछन् ।
सम्झनाहरू यसरी बौरिँदै आउने रहेछन् कि इन्द्रावतीको नाउँले भाउ पाउने भयो । किनभने इन्द्रावतीमा अहिले मैले पुनः पाइला टेक्दा ती दिनहरू देखा पर्न थाले । इन्द्रावतीमा दाहाल दाइसँगै हामी केही साथीहरू उहाँकै निर्देशनमा पौडिँदै रमाउनु सम्म रमाएका । मेलम्ची र इन्द्रावती अनि बाहुन पाटीका यादहरू । तीन दशकअघि नै मेलम्चीबाट हिँडेर म एक्लै हेलम्बु, तार्के घ्याङ पुगेको । सम्झनाहरू धेरै छन् ।
मेलम्ची नगरपालिका १३ नं. वडा स्फटिकेश्वर पुगेपछि ‘साँखु–फड्केश्वर–मेलम्ची सडक खण्ड समाप्त हुने रहेछ । काठमाडौँलाई सिन्धुपाल्चोक मेलम्ची जोड्ने वैकल्पिक राजमार्गको रूपमा बिस्तार गरिएको यो बाटो कालोपत्रे नगरिँदा जोखिमले यात्रा गर्नुपर्ने बाध्यता रहेछ ।
मन र मुटु हत्केलामा राखेर कच्ची, चिप्लो झरियो ओरालोपछि बल्ल समथल स्थलमा । गाडी र मान्छे हामीले एकसाथ बल्ल सास फेर्यौँ । हेर्नुको रमाइलो आँखालाई तर गन्तव्य पुग्नको पीडा छँदै थियो एकातिर । धन्य हो राजमाया दिदी हाँस्दै, रमाइलो गर्दै, खुसी बाँड्दै हामीलाई इन्द्रावतीको काखमै पुर्याउनुभयो ।
मूल सडकमा झर्दा बजार गुलजार देखियो । खास गरी सामान ओसार्ने गाडीहरूले नै बाटो ध्वस्त पारेका हुन भन्ने हामीलाई लाग्यो । नत्र बाटो सुबिस्ताकै हो । कालोपत्रे गरिएको भए धेरै व्यवस्थित र सुविधाको यात्रा हुने थियो ।
‘लौ है हजुरहरू अब आइ पुगियो हामीले पुग्ने भनेको गन्तव्य । एक छिन बसौँ, बिसाऔँ अनि इन्द्रावतीतिर डुबुल्किन जाऔँला ।’ गाडीलाई सडकको किनारामा रोकेपछि दिदीले हामीलाई भन्नुभयो ।
‘ओ हो गर्मी छल्न आएका हामी यहाँ पनि उस्तै रहेछ गर्मीको मात्रा ....।’ भावना श्रेष्ठले भनेको कुरामा सबै जनाको सहमति स्वर गुन्जियो ।
‘काठमाडौँलाई पानी खुवाउने मेलम्चीको मुहान पाँच पोखरी हो । त्यहाँबाट बग्दै आएको पानी काठमाडौँ पुर्याउन धेरै खर्चिलो भइसकेको छ ।’ सापकोटा दाइको कुरा ।
धमिलो इन्द्रावतीमा पौडि खेल्ने, बाकटे हान्ने इच्छा मर्छ । तथापि दिदी बहिनीहरू गर्मीलाई खात खुत्त पखालेर पानीमा डुबुल्किन इन्द्रावतीमा लाग्न थाल्दा हामी पुरुष जति बगरतिर रमाउन थाल्छौँ । राम सापकोटा दाइ सिन्धुमै बाल्य र यौवन काल बिताउनुभएका व्यक्ति हुनु हुँदो रहेछ । त्यसैले उहाँले यहाँका बारे धेरै जानकारी बोलिरहनुभएको छ । कुरा सुन्दै, इन्द्रावती फाँटका बेग्लै दृश्यमा रमाउँदै छौँ हामी । नदी दोहन गरी बालुवा र गिटी निकालेर व्यापार फस्टाएको कुरा हामी कसैलाई पनि त्यत्ति चित्त बुझ्दो लागेन ।
जाल हानेर माझी दाइले माछा मार्दै गरेका छन् । तर माछा जालमा पार्न नसकेर हैरान रहेछन् । यहाँ पहिले माछा मारेरै जीवन गुजारा गर्ने माझीहरू रहेछन् । तर अब यो जातिको व्यवसाय यसमै फस्टाउन सकेन । माछा पनि पहिलेजस्तो नभएको तिनै माझी दाइले जानकारी दिए ।
अब हामी महादेवको दर्शन र पूजाआजामा लाग्छौँ । पुजारी रोहिणीप्रसाद ढुङ्गानाले हामीलाई जानकारी दिँदै हुनुहुन्छ– ‘चार सय वर्ष पुरानो पिपलको बोट हो यो । पिपलको बोटमा बर पनि छ हेर्नुस् त । ६४ मध्ये पाँचौँ ज्योतिर्लिङ्ग हो यो । यहाँहरुले सुनेजस्तो इन्द्रावतीबाट एकै फड्कोमा फट्केश्वर महादेव गएको भन्ने कुरा साँचो होइन ।’
स्फटिकेश्वर महादेव मन्दिर इन्द्रावती नदीको किनारमा अवस्थित प्रसिद्ध मन्दिर हो । यस मन्दिरको बारेमा हिन्दूहरूको धर्मग्रन्थ स्कन्द पुराणको ९३ र ९४ औँ अध्यायमा पनि उल्लेख गरिएको कुरा पुजारीले हामीलाई जानकारी दिनुभयो । उहाँका अनुसार पाँचपोखरीको मुहानबाट मेलम्ची बगेर आएको र बाघ पोखरीबाट इन्द्रावती आएको हो । मेलम्ची खोला इन्द्रावतीमा मिसिएपछि शान्त वेगमा बग्छ ।
खाजा पानीले पेट भरेपछि हामी फर्किने सुरसारमा लाग्छौँ । स्थानीय फर्सीको मुन्टा र निगुरोको तरकारी सबैलाई भाग पुग्ने गरी कोसेली किनेर डिकीमा राख्छौँ । यताको अर्ग्यानिक तरकारी काठमाडौँमा खाने स्वादले सबैको जिब्रो एक पटक मिठिन्छ ।
‘अब यहाँको सबै कार्यक्रम सकियो बाटो लागौँ । मेलम्ची बजार घुम्ने र ड्याम जाने समय यसपालिलाई भएन । अर्को पटक अलि समयमै आउँला है ।’ सापकोटा दाजुको आश्वासनसँगै हामी बाटो लाग्छौँ ।
पहिले आएको बाटा अलि अप्ठ्यारो भएकाले हामी अर्को बाटोको यात्रा थाल्छौँ । पिच नगरिएको अप्ठ्यारो उकालो लाग्दै गर्दा ढाँट खोलामा आँपहरू लटरम्म फलेका देखिन्छन् । बूढा भइसकेका आँपका रुखले पनि फल्नुपर्ने जिम्मेवारीलाई नबिर्सिएको देख्दा गजब लाग्छ । बोटभरि पातभन्दा बढी आँपहरू लटरम्मै फलेका छन् ।
ढलान गरिएको ठाँटीको उकालोमा पनि दिदीले सहजै गाडी गुडाउनुहुन्छ । बाइक, स्कुटरलाई उकालो काट्न हम्मे हम्मे परिरहेछ । ठाँटीकै उकालोमा रहेछ १३ वडा कार्यालयको भवन । केही पसल र घरहरू रहेको यो ठाउँ निकै अग्लो डाँडैमा अवस्थित छ । यहाँबाट चारैतिर पहाडी तरेली, गाउँघर, खेतबारी, बाटो, खोला रमाइलो दृश्य देख्न सकिने रहेछ । यहाँदेखि पिच गरिएकोले बाटो पनि बल्ल अब फिलिली सजिलो हुने छाँट देखिन्छ ।
मकैका पिपिरा घामले सुक्दै रहेछ । फर्सी र सिमीका झ्याङले थाङ्ग्रा खोज्दै रहेछ । बाख्राका पाठा पाठी यता र उता उफ्राउफ्री गर्दै रमाइरहेका छन् । भर्खरै बाटो पिच गरिएकोले पनि होला स्थानीय बालबालिकालाई रमाइलो लागिरहेछ । गाडीहरू हावा सरी हुइँकि रहँदा तिनको खुसीमा दुःख नभित्रिएला भन्न सकिन्न । किन कि गाडी गुडाएको गति बेठेगानको लाग्छ । यस्तै गुडाइले यति राम्रो बाटोको आयु छोटिँदै जाला भन्ने हामी खासखुस गर्छौँ ।
बाटोकै डिलमाथि यौटा रुख कटहरको बोटले आफ्नो पहिचान जोगाएर राखेको रहेछ । बोटमा पहेँला कटहर फलेर तुर्लुङ्ग झुण्डिरहेका छन् । बाटो हिँड्नेका लोभी आँखा त्यतै पर्ने रहेछ । कटहरको तरकारी खान मन पराउनेका लागि बोटमै कटहर देखेपछि नकिनी कहाँ चित्त बुझ्नु !
काँचो कटहरको तरकारी खान एक दुई वटा किनेर लगौँ है नीरा बैनी ? भन्दै राममाया दिदीले गाडी रोक्नुभयो ।
‘अँ हुन्छ नि दिदी एक–एक वटा सबैले लगौँ ।’ नीरा बैनीको कुरामा भावना र कल्पनाले पनि समर्थन जनाए । रुखबाट तीन वटा कटहर काटेर घरधनीले ल्याए ।
‘कति हो तीन वटाको ?’
‘एउटाको ५० दिनु न ।’
१५० रुपियाँ मूल्य तिरेर हामी काठमाडौँका लागि प्रस्थान हुन्छौँ ।
‘आहा कति रमाइलो ठाउँ, कति सुविधाको बाटो, कति सुन्दर डाँडा पाखाहरू । यतैको चिसो हावा पोको पारेर लैजान पाए पनि हुन्थ्यो ।’ भावना र कल्पनाको कुरा यसरी पोखिन्छ ।
तर यो प्राकृतिक छटालाई हामीले साथमै लैजान सक्छौँ । न हावालाई पोको पारेर काठमाडौँको गर्मीमा शीतल पार्न पु¥याउन नै सक्छौँ । केवल कुराका लागि कुरा मात्रै ।
कुरा गर्दागर्दै हामी चाँपभन्ज्याङको ओरालो झर्छौँ । अघि हामी यही भन्ज्याङको बाटो ओरालो झरेका थियौँ । अब अघिको ओरालो छोडेर हामी कच्ची उकालो लाग्छौँ । केही छिनमा हुस्सुले ढाकेर नजिकैको वस्तु पनि केही नदेखिने जर्सिंङपौवा पुगिएछ । बाफरे चिसोको कुरा गरी साध्य थिएन ।
फेरि कुरा निस्कियो ‘यो चिसोलाई पोको पारेर काठमाडौँ लैजान पाए ?’
अविरल इन्द्रावतीमा डुबुल्किँदै काठमाडौँको गर्मीलाई हामीले पखाल्यौँ । फड्केश्वरमा अघाउँजी भई रमाएर आजको एक स्मरणीय दिन व्यतीत गर्न पाएर हामी धन्य–धन्य भयौँ ।