परदेशी घर आएको छ

परदेशी घर आएको छ

सुरेश राई  |  साहित्य  |  असार १६, २०८१

आँसु आँसु आँसु 
हर्ष आँसु !
आज वर्षौं पछि बगेको छ
समय फेरि 
स्वाट्टै फर्किएर
मेरो अंगालोमा अडिएको छ

लहरे फूलले बल्ल बल्ल
पर्खाल समात्न पाएको छ
हो आज वर्षौं पछि 
परदेशी घर आएको छ

ऊ आएको छ
जो बाहेक सबैलाई मेरो
मनको झ्याल ढोका बन्द छ
जसको लागि भनेर सधैं 
शृङ्गार मेरो बुलन्द छ

ऊ आएको छ
यो कोठाभित्र आज
हावा जो मन्द मन्द छ
यो हावामा आज वर्षौं पछि 
पुरुष वैंशको सुगन्ध छ

ऊ आएको छ
फेरि रंगीन रातहरू फर्कनेछन्
टुटेका टुक्रा  कपालहरू
एक आपसमा मिसिने छन्
प्रेम र पसिनाहरू 
अब बिस्तारा भरि छल्किनेछन्

खुसी खुसी खुसी
हृदयतस् खुसी !
आज धेरैपछि छाएको छ
हो आज वर्षौं पछि 
परदेशी घर आएको छ 

बाम्राङ ,खोटाङ