ज्ञानेन्द्र विवश | साहित्य | असार २३, २०८१
हिँड्नेका पाइला, बोल्नेका बोलीहरू । देख्नेका आँखा, नदेख्नेका निष्ठुरी मनहरू । हाँस्नेका उन्मुक्त हाँसो र रुनेका बर्बर आँसुका बाढीहरू । सुविधा–भोगिका लागि ऐस आरामका अनेकौँ सुख र सुविधाहरू । दुःखीका भागमा अभावकै कति–कति पीडा जन्य घाउ चोटहरू ।
देख्नुका मनोरम दृश्यहरू छैनन् । यो वर्षाद्मा पनि छैन ओत लाग्ने ओभानो ओछ्यान । बाढीले बगाएका निरश बस्तीहरू । पहिरोमा परेका घरखेत र जोखिम ज्यानका हैरानीहरू । हेरे पछिको सुखद अनुभव मिल्दैन रहेछ यस्तोमा देखे पछिको उर्वर मन पनि नहुँदोरहेछ । केवल थक्थकीका थकित र व्यथित मनोदशाहरूका रुवाउने परिस्थितिहरू ।
मनोरम प्रकृतिलाई देखेपछि हेर्नुको अर्थ सुखद हुन्छ । प्राकृतिक दृश्यका रङहरूले मनलाई उर्वर बनाउँछ । त्यसपछि सौन्दर्यपानले आह्लादमय अनुभूतिहरू उङ्खात लाग्न थाल्छ । त्यसपछि काँडाले घोचेको पनि हाइसञ्चो सुखको अनुभव हुँदोरहेछ । तर दुःखी मनको हेराइले हेर्दा फूलले पनि घोच्दोरहेछ । काँडाले पनि तर्साउँदोरहेछ । भिडमा पनि एक्लोपनको महसुस हुँदोरहेछ । हजारौँ खुसीहरूले पनि मन माफिकको मिठास महसुस नगराउँदो रहेछ ।
हेरे पछिको सुखद अनुभव, देखे पछिको उर्वर मनमा रूपान्तरित हुँदा दुःखले नेटो काट्छ, सुखले अँगालो मार्छ । परन्तु सोँचे जस्तो कहाँ हुनु ? चाहेको कुरा कहाँ पाउन सक्नु ? आशामा निराशा घोलेर पिउनु मात्र हो । केवल ‘मनको लड्डु घिउसँग खानु’ मात्र । हेरेर र देखेर मात्र कहाँ सुखद अनुभूतिको आभास पाउन सकिने रहेछ र ?
प्रथमतः मनको निश्चल, निर्मल पन अति आवश्यक हुने रहेछ । जहाँ सधैँ सकारात्मक पनले साथ दिइरहेको होस् । जहाँ जहिल्यै हेर्न पाउनुको सौजन्य र देख्नुको प्राप्ति सार्थक र उपलब्धिमूलक होस् । हेरेपछि केही न केही नयाँ पनको आभास मिल्न सकोस् । सुस्त मनमस्तिष्कमा ऊर्जा भर्न सकोस् । देखे पछिको उपलब्धिले मन उर्वर र उत्साहले फलिभूत हुन सकोस् । उज्यालोको उपस्थितिमा दृश्यमान संसारका सारहरू । आँखाले देखेर दिएका ज्ञानका नयाँ रहस्यमय भावहरू । नौलो आभासका सुन्दर आयामहरू । तिनैमा लिपिबद्ध जीवनका सौन्दर्य र सारहरू । हाम्रा मनले खोजेका कुराहरू तिनै सत्य, सुन्दर र सुखद मिलनका मुर्च्छनाहरू । जहाँ स्वतः गुज्जिन्छन् जीवनका रागहरू । मन छुने सङ्गीतका सुरहरू । लय र तालको सुललित संयोजनमा निर्मित जीवनका विम्बहरू त्यहाँ उद्घाटित भएका हुन्छन् ।
नदेखुँ भन्दाभन्दै पनि देख्न पुगिने आँखाको दोष कि देखिने दृश्यको । यो कुरा अनुसन्धानकै विषय होला । तर देखेर बित्याँस पर्नु पर्दैन आँखाले । हेरेर पश्चातापमा पर्नु पर्दैन आँखाले । राम्रो र नराम्रो कुराको मापन मनले गरिहाल्छ । मनका तराजुमा राखेपछि थाहा भइहाल्छ जीवनोपयोगी खुराकका कुराहरू ।
हेरौँको भोकमा, देखौँको इच्छामा व्याकुल मन आँखालाई सधैँ चनाखो पार्न लगाउँछ । चलिरहने बादल बुट्टाजस्तो मन चञ्चल चरित्र । अनेक रङ–सौन्दर्यको मिलनमा सुगन्धमय स्वरूपको उपस्थितिजस्तो । भोको पेटमा अघाउँजी खान पाएजस्तो । प्यासी आत्माले पिएर पानीको मुहानै सुकाइ दिएजस्तो ।
हतारहतार–हत्तारमै पनि देख्नुको कति दृश्यहरू । हेरेर छिनभरमै कति देख्नु आँखाले । आँखाले हेरेर नध्भ्याउने दृश्यका ताँतीहरू । तथापि कति कुरा हेर्ने र हेरेर ग्रहण गर्ने भन्ने कुरा व्यक्तिमै भर पर्छ । अनावश्यक कुरा किन हेर्नु र ! हेरेपछि जतिसुकै घिनलाग्दो भए पनि बरु त्यसबाट हामीले केही नौलो अनुभव पाउने चेष्टा गरौँ ।
चाहना भयो भने वा चाहेको कुरा खोजियो भने त्यो चीज पाउन सकिन्छ । सुरुमा केही कठिनाइ नै किन नहोस् तर धैर्य र साहसले लागियो भने पाउने कुरा पाउन सकिन्छ । नपाउने कुरा पो पाउन सकिँदैन ।
आखिर हेर्ने मन लाग्दोरहेछ । ‘लोभी नजर पापी मन’ भन्छन् । वास्तवमा कतिपय कुराहरू नदेखुँ भन्दा पनि देखिन्छ । कति कुरा नसुनुँभन्दा पनि सुनिन्छ । आखिर यो दोष कसको त ? देख्ने आँखाको हो कि, सुन्ने कानको हो ? यी सबै कुरा बुझ्ने मानसिकतामा भर पर्छ ।
परन्तु चाहनुको सीमा हुन्छ । इच्छा राख्नुको पनि हद हुन्छ । आकाशको तारा खसाउने चाहना व्यर्थको हुन्छ । जोखिम मोलेर हेर्ने चाहना र पुग्ने धोको जीवन–मरणको दोसाँधमा पुग्छ । हेर्न खोज्ने, पुग्ने र बाचा पूरा गर्ने मन मात्र भएर हुँदैन । त्यसका लागि प्रतिवद्धता र प्रेम पनि हुनुपर्छ । त्यसबाट पाउन सकिने लाभको प्रतिफल कति हुन्छ ? यसमा पनि गम्भीर हुनुपर्छ ।
जस्तो कि सगरमाथा शिखर चुम्ने चाहना वा फेँदीसम्म भए पनि पुग्ने इच्छा । यस्तो चाहना वा इच्छा संसारकै मानिसले राख्छन् । विश्वप्रसिद्ध पदयात्रा मार्गमा हिँड्ने धोको र सर्वोच्च शिखरमा पाइला टेक्ने योजनालाई तिनै साहसी मनहरूले पूरा गर्न सक्छन् । खुट्टा गुमाएका ज्यानले पनि सगरमाथामा विजयको झण्डा फराएर अविश्वसनीय कार्य गरेका छन् ।
जसबाट कुनै लाभ प्राप्त हुँदैन भने हेर्नलाई किन मरिहत्ते गर्नु र ? देख्नका लागि किन धेरै दुःख खानु र ? हेरेपछि सुखद अनुभव गर्न पाइयोस् । देखेपछि सारा दुःख बिर्सन सकियोस् । केही न केही हेर्नुको लक्ष्य पूर्ति होस् । हेरेको कुरा आँखा बिझाउने नहोस् । आँखालाई शीतल, मनलाई शान्त र हृदयलाई उर्वर शक्ति सञ्चय गर्ने क्षमता मिल्न सकोस् ।
आँखाले हेरेर मनले देखेर एक छिनको धित मर्ने काम हुनु हुँदैन कदापि । देखेपछि, आँखाकै डिलमा दृश्यलाई भेटेपछि त्यसबाट लिनुपर्ने कुराहरू धेरै लिन सकियोस् । त्यसले जीवन पथलाई सधैँ सकारात्मक हिँडाउन सकोस् । वुद्धि र विवेकलाई सही प्रयोग गरी जीवनको लक्ष्यले सार्थक गति लिन सकोस् ।
नविर्साैँ पनि झन् कसरी ? मन नौनीजस्तो पग्लिन सक्ने । मन चट्टानजस्तो कठोर हुन सक्ने । नहेरी बस्नै नसकिने, हेर्ने रहरले कुत्कुत्याउने रहेछ ।
आखिर हेर्ने मन लाग्दोरहेछ । ‘लोभी नजर पापी मन’ भन्छन् । वास्तवमा कतिपय कुराहरू नदेखुँ भन्दा पनि देखिन्छ । कति कुरा नसुनुँभन्दा पनि सुनिन्छ । आखिर यो दोष कसको त ? देख्ने आँखाको हो कि, सुन्ने कानको हो ? यी सबै कुरा बुझ्ने मानसिकतामा भर पर्छ ।
अन्ततः हेरे पछिको सुखद अनुभव, देखे पछिको उर्वर मनमा रूपान्तरित हुनुपर्छ ।