निष्ठुरी मन : आशा र निराशा, भ्रम र सत्य, शान्ति र अशान्ति सङ्गम

निबन्ध

निष्ठुरी मन : आशा र निराशा, भ्रम र सत्य, शान्ति र अशान्ति सङ्गम

ज्ञानेन्द्र विवश  |  साहित्य  |  असार २९, २०८१

पानीका भारी बोकेर आकाशै ढाकेका बादलका कालोमुस्लो लहरहरू । मडारिँदै, बटारिँदै हावामा बयलिँदै चलायमान चरित्र । असारका मौसमी रूपहरू यी । हेर्दा देखिने बेग्लै रङहरू यी । मौसम परिवर्तनका बाहक यी । यिनैमा छन् पानीका भण्डार भेलबाढीका हुँकारहरू । हेर्दा सुन्दर पनि । देख्दा राम्रो पनि । तर यिनैले विनाश लीला गरेर उत्पात मच्चाउँछन् । खडेरीलाई सिञ्चन गरी जीवनदान पनि दिन्छन् ।

यो हो असारको खास मास । पानी दर्किदै बल्ल किसानमा जागेको आश । खेतमा पानीको बास । भ्यागुता कराउने रात । झ्याँकिरीले कनै खाने उत्पात । किसानको आयो बल्ल सास । प्रकृति प्रेमीलाई मधुमास । नबुझ्नेलाई झ्याउ लाग्ने बात !

कहिले तिनै मेघगर्जन बादलको खाँचो । कहिले तिनैको मुसलधारोमा आपत–विपतको ठुलो सङ्कटले जाने सात्तो  । मान्छेलाई प्रकृतिले जे गरे पनि सुख छैन । जसो गरे पनि जश पाउनु छैन ।

एकछिन हेरौँ न बादलका चक्का र चाका । अनेक बुट्टा र बनौटका आकृतिहरू । इन्द्रेणी रङका उपस्थितिले आँखालाई प्रदान गर्ने सौन्दर्यको मिठो  झँकार । खुसीले उडिरहेका चरा । हतारमा हिँडिरहेका मान्छे । प्रकृतिको यौटा अलग्ग विम्ब । सुन्दरताका निशानी पनि । छिनभरमै सुन्दर बस्तीलाई बगाएर बगर पार्ने पनि यिनै ।

मान्छेको मन जस्तै बुझ्नै नसकिने बात । मान्छेलाई अनुहार हेरेर मात्र चिन्न नसकिए जस्तै । बादललाई हेरेर रमाउनु र रुवाउनुको ठेगाना नहुने रहेछ । बैंसले उन्मत्त भएपछि बादलले आफ्नो असली रूप देखाउँदोरहेछ । मान्छेका मनलाई छिनभर रङरोगनको आनन्दमा भुल्याएर बस्ती नै सखाप पार्ने कस्तो निष्ठुरी चाल हो बादल ?

वास्तवमा आफूलाई पुगिसरी भएपछि अरूको मतलव नहुँदोरहेछ । अरूको आशा र आँसुको पनि कुनै अर्थ बाँकी नरहँदोरहेछ । संवेदना शून्य हुँदै–हुँदै मान्छेको मन क्रमशः फलाम जस्तो, फूल जस्तो हुन पुग्दोरहेछ । कठोरमा अति नै कठोर पनि र कोमलमा अति नै कोमल पनि ।

आफैँ जाती, असल र आफू सर्वेसर्वा भएको मान्छेलाई मन पर्दाेरहेछ । झिनामसिना कुरा र मान्छेको के कुरा आफूलाई भएपछि अरूलाई नभए पनि हुँदोरहेछ । अरूको वास्ता गर्नुपर्ने आवश्यकता नठानिँदोरहेछ । जस्तो कि आफू अघाएपछि अरू सबै अघाएको ठानिँदोरहेछ । 

यसरी मान्छेको मन कहिले फलाम जस्तो, फेरि कहिले फूल जस्तो हुन पुग्दा फलामले पनि फूलको कोमल कमनीय आभास दिँदोरहेछ । फूलले पनि कुनै बेला फलामको जस्तो, काँडाको जस्तो रूप देखाउँदोरहेछ । मान्छेको मन न हो कहिले नौनी जस्तो पग्लिहाल्न सक्ने । आशा र निराशा, भ्रम र सत्य, शान्ति र अशान्तिबीचको दोसाँधबाट गुज्रिँदै बाँचेका मान्छे ।
 

हामी कति अर्काको आशामा बाँचेका मान्छे ? हामी कति अरूको भ्रममा रमाइरहेका मान्छे ? हामी कति सुखको खोजीमा मरिहत्ते गरिरहेका मान्छे ? अशान्तिको अग्निज्वाला मनभित्रै बालेर शान्तिको खोजीमा भौतारिरहेका छौँ ।

आखिर पाउनु केही छैन । पुग्नु कहीँ छैन । भेट्नु कोही छैन । गुमाउनु केही छैन । रमाउनु मात्र पनि केही होइन । दुःखी आत्मा लिएर भड्किरहनु पनि उचित होइन । ‘स्वान्त सुखाय’ जीवनको एक अध्याय समीचिन लाग्छ ।

पाउनु त पाउनु कति र के पाउनु ? पुग्नु त पुग्नु कहाँसम्म पुग्नु ? कति असन्तोषी मन ? कति लोभी नजरको छनक ? सधैँ धोको पेटको ख्याल । सधैँ हत्ते र हैरानीको कैरन । अरूको निन्दा र चासोमै गफ र गन्थन । व्यर्थको विवाद र मानमर्दनको पर्दाभास ।

आखिर मान्छेको मन न हो । विराट वैभवले जतिसुकै पुगिसरी भएर पनि मानवीय मन कठोरै रहन पनि सक्दोरहेछ । जतिसुकै इमान्दारीपूर्वक काम गरेर पनि जश नपाइदोरहेछ । बरु अपजशको भारी बोक्नै नसकिने । दिनदिनै तनावको बोझ मरिकुच्चे बोक्नुपर्ने रहेछ । 

यस्तो बेला कोही कसैले पनि दुखेको दिलमा सेकताप गरिदिँदैन रहेछ । सम्झाऊ आफैँ । चित्त बुझाऊ आफैँ । आखिर आफूबाहेक को छ र यो संसारमा । केवल एक्लै–एक्लै । आएको एक्लै । जानु छ एक्लै । 

आफू अघाएपछि अरू भोकैै छन् भन्ने कुराको पनि ख्याल नहुँदोरहेछ । आफूले ढलिमली गरेको आफ्नै राज मन पर्दाेरहेछ । अरूको पिरमर्कामा अलिकति पनि संवेदना नजाग्दोरहेछ । सौन्दर्यको हत्या गर्ने मान्छेको मन यहीँ भेटिने रहेछ । सौन्दर्यलाई पूजा गर्ने मन यहीँ देखिने रहेछ ।

धन्य असल मान्छे तिमी, तिम्रो छत्रछायाँ कहिलेसम्म हो ? तिम्रो राजकाज कतिन्जलेसम्म रहने हो । तिम्रो कठोर मन कहिले कोमल हुने हो । फलाम जस्तो मन कहिले फूल जस्तो सुकोमल हुने हो ? 

यस्तो स्वभाव रहेसम्म बचेखुचेका स्वाभिमानहरू स्वतः समाप्त हुँदारहेछन् ।

स्वार्थले सुकिला–मुकिला भएका स्वनामधन्य ज्यानहरू अरूको सफा मनलाई पनि मैलाधैला नै देख्छन् होला । तुलना गर्ने कसले र फरक छुट्याउने आँट कसको हुन्छ र ! उही आँखा र उही दृष्टि न हो । हेराइ र सोँचाइ फरक हुनै सक्दैन । बुझाइ र बोलाई पनि पृथक हुनै सक्दैन ।

समय नदी जस्तै अविरल बगिरहेछ । समय उही र उस्तै रहिरहँदैन रहेछ । फूल जस्तै फुल्छ, ओइलाउँछ र झरेर मर्छ । अनि त्यसको पहिचान सकिन्छ । फूलको सौन्दर्य र सुगन्ध सधैँका लागि समाप्त हुन्छ ।

अतः बाँचुन्जयालसम्म मात्र हुन्छ प्रेमको प्रकम्पन । र, जीवनको धढ्कन । मृत्युशैय्यामा पुगेपछि ऐय्याआत्थो, हाँसो, खुसी, लोभलालच सबै सकिन्छ ।

आफू बाँच्दा अरू पनि बाँच्नुपर्छ भन्ने सोँच्नुपर्छ । माया गर्नेलाई मायाको मिठासले चुम्नुपर्छ । घृणा गर्नेलाई पनि स्नेहले स्पर्श गर्नुपर्छ । शत्रुलाई पनि मित्रवत बोली र व्यवहारले स्वागत गर्दा मन फर्किन सक्छ । आखिर फलाम पनि गालेपछि पगाल्न सजिलो हुन्छ । मान्छेको मनलाई पनि पगाल्न सक्नुपर्छ ।

यद्यपि हेर्ने मन पवित्र भइदिए मात्र हुन्थ्यो । हेर्ने मन असल मान्छेको जस्तै चोखो भइदिए हुन्थ्यो । रिसाउनु र खुसाउनु मात्र कतिन्जेल र ? कहिले रिसाउनु र कहिले खुसाउनु त मान्छेको स्वभाव नै हो । तर सधैँभरि उही बोली र व्यवहारले मान्छेको मन दुख्दोरहेछ । कोमल मनमा चोट पाल्दोरहेछ । जुन चोटको खोट निकै गहिरो हुँदोरहेछ ।

हाँस्नु, हँसाउनु, बोल्नु, बोलाउनु, भेट्नु, भेटिनु र बाँच्नु, बचाउनुको दिव्य पल जीवनको अति उत्तम कर्म हुन सक्छ । मान्छेले यति कुरा बुझेर पनि किन बुझ पचाउने रहेछ । मान्छेको मन पगाल्न निकै कठिन रहेछ । 

शक्तिको अगाडि भक्ति मन भइहाल्दोरहेछ । ठुलाबडाको सामुन्ने मान्छे सानोको सानै रहिरहँदोरहेछ । फलाम जस्तो मान्छेको मन नभई दिए हुन्थ्यो । मान्छेको मन फूल जस्तो भइदिए कति जाति हुन्थ्यो ।

हाँसिरहेका मुस्कानको के कुरा रोइरहेका आँसुको श्राप लाग्न सक्छ । आशालाई निराशाको खाडलमा जाकिदिने निष्ठुरी मनको भलो अब नहुन सक्छ ।
हेर्नेले हेरिरहेका हुन्छन् । देख्नेले देखिरहेका हुन्छन् । सत्य र झुटोको फैसला होला, नहोला मान्छेको मन बद्लिन समय लाग्ला । आस्था र आराधना, विश्वास र अविश्वास मान्छेको मनको कुरा हो । 

परन्तु डुब्न लागेको घाम जस्तै शक्तिहीन भएर पनि । मिठो आशा छ भोलि बिहानको । सेलाएको उत्साहमा उमार्नु छ नयाँ दिनको बिहानीमा नवीन उमङ्ग । अनि पाइलामा, आँखामा र मनमा भेट्नु छ दृश्यहरूका नवीनतम् खुसीहरूका उज्याला किरणहरू । तिनै किरणका प्रभावमा निर्मित रङ र रूपका

अनेकौँ आकृतिका सौन्दर्यहरू ! 

र, रमाउनु छ निर्धक्क तिनै सौन्दर्यका सुहागहरूमा । तिनै परागहरूमा लहराउनु छ ।

तथापि नदीका दुई किनाराका दुई रुखहरू जस्तै आमन्ने–सामन्ने भएर पनि कहिल्यै भेटिन नसक्ने । कहिल्यै मिलनको खुसीमा सुखद पलको अनुभूति गर्न नपाउने । जतिसुकै चोट भए पनि खुसीको कल्पनामा उत्सव मनाउनै पर्ने रहेछ । दुःखको दहमा चोबलिएर पनि हाँस्न सक्नुपर्ने नै रहेछ ।

थाहा छैन, यो खुसी पनि कति टाढा हो !? निष्ठुरी मन पनि झन् कति निष्ठुर हुँदै गइरहेको हो !? मान्छेको मन झन्–झन् कति निष्ठुर हुँदै गइरहेको हो ।